Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हो प्रधानमन्त्रीलाई इन्फेक्सन भएर हस्पिटलको बेडमा पुर्‍याउने गरी चतुर्दशीसम्म टीका लगाइदिन भन्ने सल्लाहकार?

Posted on October 30, 2018October 30, 2018 by Salokya

प्रधानमन्त्री केपी ओलीको इच्छाशक्ति तगडा छ। वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याउनुमा पनि सबभन्दा धेरै योगदान ओलीकै छ। तर ध्यान दिनु पर्ने कुरा के हो भने प्रधानमन्त्री हुनुभन्दा धेरै अघिदेखि नै उहाँ बिरामी हुनुहुन्छ। ११ वर्षअघि उहाँको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। किड्नी ट्रान्सप्लान्ट गरेको व्यक्तिको स्पेसल केयर हुनुपर्छ। यस्ता व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। तर दुई तिहाईको दम्भ भएका कुन चाहिँ सल्लाहकारको लहैलहैमा लागेर होला, प्रधानमन्त्रीले नेपालको इतिहासमै पहिलोपल्ट दशैँको टीका दशमीको दिनमात्र नभएर चतुर्दशीको दिनसम्मै लगाइदिए। माथिको फोटो टीका लगाउन बालुवाटारमा भेला भएको भिडको हो।

यी फोटो पनि बालुवाटारमा टीका लगाउनेहरुको भिडको हो।

पहिले राजाले मात्र टीका लगाइदिन्थे। त्यो पनि दशमीको दिन। राजसी ठाँटमा टीका लगाउने मोह पछि प्रधानमन्त्रीहरुलाई पनि जाग्यो। यस पटक भने प्रधानमन्त्रीलाई धपेडीले गल्ने गरी पाँच पाँच दिनसम्म टीका लगाउने तारतम्य जुटायो उनको सचिवालयले। धेरै मान्छे आए टीका लगाउन।

उहाँकै निजी चिकित्सक डा. दिव्या सिंहले भनेकी छिन्, टीका लगाउने धेरै मान्छे आए, उनीहरुबाट मौसमी रुघाखोकीको जीवाणु सर्‍यो।

सामान्य मानिसहरुलाई पनि यसले असर गर्छ। प्रधानमन्त्री त झन् स्पेसल केयर चाहिने किड्नी ट्रान्सप्लान्ट गरिएका व्यक्ति। यस्तो व्यक्तिहरुले शरीरको प्रतिरोधात्मक क्षमता लठ्याउने औषधि जीवन भर खानु पर्छ। किनभने अरुको शरीरबाट राखिएको किड्नीलाई शरीरले स्वीकार्दैन र नष्ट गर्न खोज्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।

प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। ‘डोज’ तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र तत्कालै मृत्यु समेत हुनसक्छ।

तर यो सब कुराको मतलब सल्लाहकारहरुलाई भएन। उनीहरुले प्रधानमन्त्रीलाई जतिसक्दो धेरैलाई निवासमा बोलाएर टीका लगाइदिने कार्यक्रम बनाए। देशभर चिन्ता हुने गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा असर पर्नुको दोष उनीहरुकै थाप्लोमा जान्छ। उनीहरुले यो कतिको महसूस गरेका छन् कुन्नि।

यस्तो थियो उनको सचिवालयले तयार पारेको दशैँ टीका सेड्युल

अहिलेसम्मका कुनै प्रधानमन्त्रीले नगरेको काम किन गराउनु परेको होला सल्लाहकारहरुलाई? ठूलो विकास निर्माणको काम वा अरु महत्त्वको काम भए त एउटा कुरो, टीको लगाइदिने काम। ह्वाँ भने ईश्वरको नाममा शपथ खान नहुने, अनि दुर्गा भवानी ईश्वरकै प्रसादको रुपमा टीका चाहिँ के खान लगाइदिन परेको?

शुक्रबार प्रधानमन्त्रीलाई चेकअपका लागि टिचिङ अस्पताल लगिएको थियो। त्यतिबेलै अस्पतालमा भर्ना गर्नुपर्ने कुरा पनि भएको थियो। आइसियुको बेड पनि तयार पारिएको थियो। तर प्रधानमन्त्रीको स्वास्थ्यमा भन्दा ‘बाहिर के मेसेज जान्छ’ भन्नेमा चिन्ता भएछ। त्यसैले बालुवाटारै फर्काइएछ। अनि बालुवाटारबाट आइतबार स्वास्थ्य अवस्था सुधारोन्मुख भएको प्रेस नोट जारी गर्दै बसेछन्। सुधारोन्मुख भएको भए किन सोमबार एकाबिहानै किन अस्पताल कुदाउनु पर्थ्यो? प्रधानमन्त्रीको स्वास्थ्यमा हेलचक्र्याइँ त गर्न भएन नि।

2 thoughts on “को हो प्रधानमन्त्रीलाई इन्फेक्सन भएर हस्पिटलको बेडमा पुर्‍याउने गरी चतुर्दशीसम्म टीका लगाइदिन भन्ने सल्लाहकार?”

  1. madan bajracharya says:
    October 30, 2018 at 8:56 pm

    ओलीको निजि चिकित्सकको भनाई बाटै स्पस्ट भयो ओली किन बिरामी भयो भनेर/ किदनी फेरेको ओलीलाई आफु संक्रमित हुने स्थिति बात जोगिनु पर्छ भनेर जानकारी नभयको त् पक्कै होईन तापनि …./ त् लापरवाही उसैको हो/

    भन्नुको मतलव उ बिरामी भयकोमा कुनै नकारात्मक कुरा गर्न खोजेको होईन/ तर जसरि लुतेमत पाउनेको भिडको स्वार्थपूर्ण संगति बात ओलिज्युले पाउनु भयको दुई तिहाई बहुमत संक्रमित हुँदै गयकोमा ओलिज्युको ध्यान गयन, ठिक तेसरिनै ओलिज्यु बामपथी भयर पनि अतिसंस्कारवादीहरुको (बामपन्थी अबधारणा अनुसार अफिमचीहरु) शिधांत अनुसार सुद्ध हुन् फोहर बग्ने गंगामा डुबुल्की” लगाउनै पर्ने कुरा त्याग्नु पर्नेमा उल्टै तेसैमा लठ्थिनु भयो त् ओलिज्यु आफु मात्रै होईन नागरिकको दुई तिहाई बहुमत पनि अस्वस्थ हुँदै गयको छ/

    Reply
  2. Shankar says:
    October 30, 2018 at 7:33 am

    पहिले माथि पुग्न गाह्रो , मान्छे माथि पुगिसकेपछि धेरै को रोजीरोटी , दुनो सोझाउने , फाइदा लिने आदि स्वार्थ ले मानिसलाई भगवान सम्म बनाइदिन्छ | मान्छेलाई भगवान बनाउने पनि तिनै मान्छे हरु नै हुन्छन |
    माथिबाट तल झरे , फेरी ति मान्छे हरु ले जुम्रा ले मोरेको सिनो छोडे जस्तो छोड छन् |
    तेसैले मान्छेको जिबन भुल भुलैया , कोइ गन्हाउने चाक् लिएर आसिर्बाद दिएको दियेयेइ छ , कोइ थापेको थापेइ छ |
    दुवै नसामा छन् ,|

    फुर्सत मा किनारा मा बसेर सोच्नु , कति नाटकीय लाग्छ |
    हिजो मर्नेबेलामा , आफ्नो आची समेत धुन नसक्ने गिरिजा कै राजनीति चाहिएको , आज किड्नी फेरेर , स्वस्थ हुदा उखान टुक्का मात्र हाल्ने ओलीकै राजनीति मा बन्धक नेपाल ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme