Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

श्रीलंकामा शुक्रबारे सरप्राइज : दुई जनाले नै भन्छन् मै हुँ प्रधानमन्त्री

Posted on October 27, 2018 by mysansar


नेपालमा शुक्रबार शुक्रबार पारेर ठूल्ठूला घटना हुने गर्थ्यो। सीताको देश नेपालमा त्यस्तो नभएको धेरै भए पनि रावणको देश लंकामा भने आज त्यस्तै सबैलाई अचम्ममा पार्ने घटना भइदियो। अहिलेको अवस्थामा त्यहाँ दुई जनाले आफू प्रधानमन्त्री भएको दावी गरिरहेका छन्। एक जना हुन् रणिल विक्रमसिंघे, अर्का हुन् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे। दुवैले आफ्नो ट्विटरमा श्रीलंकाका प्रधानमन्त्री लेखेका छन्।


राजापाक्षेको ट्विटर।


विक्रमसिंघेको ट्विटर।

शुक्रबार नाटकीय घटनाक्रमको सुरुवात यसरी भयो। सुरुमा सिरिसेना आवद्ध मोर्चा युनाइटेड पिपल्स फ्रिडम अलाइन्सले विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीसितको गठबन्धन सरकारलाई छाड्ने घोषणा गर्‍यो।

त्यसको केही समयपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे। उनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण पनि गराए।

रोचक तथ्य चाहिँ के भने सिरिसेनाले तीन वर्षअघिको राष्ट्रपति चुनावमा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेलाई पहिलो चरणमै हराएका थिए। अहिले आफैले हराएका उम्मेदवारलाई उनले प्रधानमन्त्रीको कुर्सीमा राखेका छन्।

अर्को रमाइलो तथ्य चाहिँ सिरिसेना राजापाक्षेको मन्त्रिपरिषद्‍मा स्वास्थ्य मन्त्री थिए।

श्रीलंकाका राष्ट्रपति नेपालको जस्तो संवैधानिक हैन। त्यहाँका राष्ट्रपतिसित कार्यकारी अधिकार हुन्छ। राष्ट्रप्रमुख, सरकार प्रमुख र सेना प्रमुख राष्ट्रपति नै हुन्छ। राष्ट्रपतिले नै मन्त्रिपरिषद्को अध्यक्षता गर्छ र मन्त्रीहरु नियुक्त गर्छ। सिरिसेनालाई राजापाक्षेले नै मन्त्री नियुक्त गरेका थिए।

सन् २००५ देखि एक दशकसम्म राष्ट्रपति बने राजापाक्षे। लिट्टेलाई हराई गृहयुद्ध अन्त्य गरेपछि भएको चुनावमा उनको पार्टीले दुई तिहाई भन्दा बढी सिट जित्यो। त्यसैको बलमा उनले दुई कार्यकाल मात्रै राष्ट्रपति हुन पाउने संविधानको प्रावधान संशोधन गरे। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सिरानी बन्दरानायकेलाई हटाएर आफ्नै कानुनी सल्लाहकारलाई राखे।

तेस्रो कार्यकालका लागि चुनाव लड्ने सम्बन्धमा कानुनी प्रश्न उठाइएको मुद्दालाई सर्वोच्चले खारेज गरिदियो। अनि तेस्रो कार्यकालका लागि उम्मेदवार बने राजापाक्षे। उनको प्रतिस्पर्धामा उत्रन कयौँ नाम आएका थिए। तर अन्त्यमा विपक्षीहरुले साझा उम्मेदवारका रुपमा जसलाई खडा गरे त्यसले राजापाक्षेलाई झस्काइदियो। ती थिए उनकै मन्त्रिपरिषद्का सदस्य सिरिसेना। राजापाक्षेले उनलाई मन्त्री पदबाट बर्खास्त गरी पार्टीबाट निश्कासन गरे।

सन् २०१५ मा चुनाव भयो। सिरिसेनाको जित भयो। राजापाक्षे हारे। उनले कूको प्रयास समेत गरेको आरोप लाग्यो। तर न सेनाले उनको आदेश मान्यो, न महान्यायाधिवक्ताले। बाध्य भएर उनले शान्तिपूर्वक सिरिसेनालाई सत्ता हस्तान्तरण गरे। सिरिसेनाको जितका लागि युनाइटेड नेसनल पार्टीका रणिल विक्रमसिंघेको सहयोग महत्त्वपूर्ण थियो। संविधानको १९ औँ संशोधन गरी प्रधानमन्त्रीको केही कार्यकारी अधिकार फिर्ता गरियो। राजापाक्षेको झण्डै दशक लामो शासनको अन्त्य पनि भयो।

सन् २०१५ मै संसदीय चुनाव भयो। प्रधानमन्त्रीका उम्मेदवार बन्न राजापाक्षेले प्रयास गरेका थिए। तर सांसदमा मात्र उठे र जिते। श्रीलंकाको इतिहासमा पूर्व राष्ट्रपति भएर सांसद बन्ने उनी मात्र हुन्। विक्रमसिंघेको पार्टी संसदीय चुनावमा सबभन्दा ठूलो पार्टी बन्यो। १०६ सिटसहित जुन बहुमतभन्दा सात सिटले कम हो। सिरिसेना आवद्ध मोर्चा युनाइटेड पिपल्स फ्रिडम अलाइन्सको ९६ सिट रह्यो। विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीसितको गठबन्धन सरकार बन्यो।

तर विगत केही हप्तादेखि राष्ट्रपति र प्रधानमन्त्री बीच सरकार चलाउने विषयमा खटपट भइरहेको थियो। राष्ट्रपति सिरिसेनाले आफ्नो हत्या भारतीय गुप्तचर एजेन्सी रले गर्न खोजेको आरोप लगाएका थिए। पछि त्यस्तो रिपोर्टको उनले खण्डन गरे।

लिट्टेलाई सखाप पार्दा युद्ध अपराधको आरोपसमेत लागेका राजापाक्षेले एक दशकसम्मको सत्तासुख भोगेर त्यसबाट विमुख भएको तीन वर्षपछि नै फेरि प्रधानमन्त्रीको रुपमा कमब्याक गरेका छन्। गत फेब्रुअरीमा भएको स्थानीय निर्वाचनमा उनको नयाँ पार्टीले नसोचेको रुपमा सबभन्दा धेरै मत ल्यायो। अब श्रीलंकाको राजनीतिमा आउँदा दिनमा के कस्ता नाटकीय घटनाक्रम देखिने हुन्, हेर्न बाँकी छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme