Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमरेड विप्लव, निर्मला प्रकरणका दोषी खोजेर दण्डित गरिन्न तपाईँको एकीकृत क्रान्तिमा ?

Posted on October 8, 2018 by सूर्य खड्का

कमरेड विप्लव ,

तपाईँ कहाँ के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर सुने पढेको छु की तपाईँ पुनः जनयुद्ध २ को आधिबेहरी सृजना गर्न लागि पर्नु भएको छ । तपाईँको दल नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई सरकारले सर्वोच्च न्यायालयको आदेश विपरीत समात्दै, थुन्दै, र छोड्दै हतकडीमा देश दर्शन गरेका आधा दर्जन बढी श्रृखलाहरुका बिचमा तपाईँको दल र दलका नेताको बारेमा नेगेटिभ नै सही जनस्तरमा राम्रो मार्केटिङ सरकारले नै गरिदिएकोसम्म म अपडेट छु ।

पछिल्लो समय देशमा वाम सरकार मात्रै होइन, नेकपाकै सरकार छ । नेकपाकै सरकार भाको देशमा निर्मला पन्त नामकी एक बालिकाले बलात्कृत भएर मृत्युवरण गर्न परेको पनि आज महिनौँ भैसक्या छ । दुई दुई थान छानबिन आयोग बने पनि दोषी को भन्ने सुईको आको छैन । त्यसैले मैले यो पत्र आम नागरिकका रूपमा तपाईँ नेतृत्वको दलका नाममा लेख्दैछु ।


कमरेड जनयुद्ध २ को तपाईँ साँच्चै तयारीमा हुनुहुन्छ भने कृपया निर्मला पन्तको जवानीमा धावा बोल्ने बलात्कारी र ज्यान लिने हत्याराहरूलाई कानुनी कारबाहीको कठघरामा उभ्याएर तपाईकै शब्दको जनयुद्ध २ को विधिवत श्रीगणेश गर्नुहोस् । यसका आधार र कारणहरू देहाय बमोजिम पेस गर्दछुः

१. तपाईका दाबीमा प्रचण्ड नेतृत्वको नेकपाले २०६४ मंसिर ५ को शान्ति सम्झौता मार्फत जनयुद्धलाई शान्तिमा अवतरण गराउने नाममा धोका दिएको हो भने, र, तपाईँ साँच्चै तपाईँ त्यसको नेतृत्व दिन दिलदेखि ईमान्दार भएर लाग्नु भएको हो भने कृपया, निर्मला पन्तका बलात्कारी र हत्यारालाई पहिला कारबाही गर्नुहोस् ।

जनताको सबैभन्दा ठुलो आड भरोसा रहेको केपी ओली सरकारले जनतालाई हात्ती आयो फुस्सा मै सीमित गरिदियो । जब जनताले आफ्नो मतसँग साटिएको सरकारबाट कुनै न्याय पाएनन् भने जनता तपाईँलाई सम्झिरहेका छन् । के तपाईँ यस घटनाका दोषीलाई तपाईँको जनअदालतबाट कारबाही गरेर कानुनी कठघरामा पठाउन सक्नु हुन्छ ? सक्नुहोस कमरेड, बदलिएको समयमा जनयुद्ध २ गर्ने नवीन तरिका र बाटो यही नै हो ।

२. जनता नै शक्तिका स्रोत हुन भनेर नै तपाईहरु जनयुद्धका लागि तयारी गर्दै हो भने कृपया जनताको न्याय मरेको, जनताको सुरक्षा सङ्कटमा परेको, बालिका अधिकार बलात्कृत हुँदै मारिएको तथा जनताको नाङ्गो आँखाले हत्यारा चिन्दा चिन्दै पनि सरकारको छानबिन भने कुहिरोको काग बनिरहेकोले यही मुद्दाको किनाराबाटै जनयुद्धको सुरुवात गर्नुहोस् । जनयुद्ध शब्दलाई जनतासँग जोडेर इन्साफ दिने यो उत्तम मुद्दा हो । के तपाईँको दल यसका लागि तयार हो ?

३. उसो त छैन भन्दा देशमा सरकार छ । केप ीओली ३० को दशकको झापा क्रान्तिदेखि प्रचण्ड २०५२ यताको जनयुद्धको आलोकमा शान्ति र सम्वृद्धिका सत्ता गाथा गाइरहेका छन् । दुई दर्जन मन्त्रीहरू झण्डा हल्लाएर सरकारी तलब भत्ता हसुरीरहेकै छन् । तर साँच्चो अर्थमा देशमा सरकार छैन । सरकार छ, नेकपा सीमित नेता कार्यकत्र्ताको, तिनका अरौटेभरौटेहरुको । जनताले खोजेको आफ्नो सरकार, त्यो अहँ छैन यहाँ । त्यसैले त निर्मलाहरूका आफन्त जनता अहिले लज्जित छन्, उनीहरू अहिले क्रोधित र अशान्त छन् । जनताको त्यो लज्जा, क्रोध र अशान्तिलाई सम्बोधन गर्ने हो यदि तपाईँको नयाँ एकीकृत क्रान्तिले भने पहिले निर्मला प्रकरणका बलात्कारी र हत्यारालाई गर्नुहोस् कारबाही ।

४. यो देशको संविधान नमान्ने तपाईहरुलाई निर्मलाका हत्यारा चिन्न, समात्न र ठोक्न जनताले साथ दिनेछन् । कञ्चनपुरका जनताको घर आँगनमा तपाईँ आफ्नो पार्टीपंक्तिको शक्तिलाई एकीकृत र गोलबद्ध गरेर परिचालित गर्नुहोस् । जनताको साथले ढिलोमा २४ घण्टाभित्रै तपाईहरु हत्यारा र बलात्कारी समात्न सफल हुनुहुनेछ । के त्यो आदम्य साहस र जाँगर छ कमरेड तपाईँहरूको दल र स्वयम् तपाइसँग ?

५. केपी ओली प्रधानमन्त्री र प्रचण्ड सत्तारुढ दलका सर्वमान्य शक्तिशाली नेता बनिरहेको वर्तमानमा तपाइहरूले उहाँहरू र उहाँहरूको राजनीतिक तथा शासकीय पथलाई गलत र असफल प्रमाणित गर्न अब नयाँ हतियार युद्ध सुरु गर्नु बेकार छ । बस, थालनी यही निर्मलालाई न्याय दिने प्रकरणबाट गरिदिनुहोस, मुद्दाको चाँग स्वतः लाग्नेछ । के त्यसरी जनताको दुखमा जनताको सारथ ी बनेर युग सुहाउँदो जनयुद्ध गर्ने इमान र योग्यता छ त कमरेडहरूसँग ? छ यदि भने नगर्नुहोस् विलम्ब ।

६. निश्चय नै युद्धका बेला गीता पाठ गरिँदैन । तर जनतसंगै जोडिने हो र उनीहरुर्कै पिडाका पहाड पन्छाएर अघि बढ्ने यदि हो भने फेरि तपाइहरूले हतियार बिना नै २०६२ अघिको भन्दा दमदार, असरदार र परिणाममुखी जनयुद्धको नयाँ इतिहास निर्माण गर्न सफल हुनुहुनेछ । के औलाका चालमा संसार शेयर गर्न सकिने वर्तमानमा युगानुकुल यो जनपक्षीय जनयुद्धको लागि तपाईहरु तयार हो ? हो भने यही केसलाई बनाउनुहोस् प्रस्थान विन्दु । होइन, कुनै अमुक हतियारका भरमा उही पुरानै जनताका टाउका गिड्ने नै तपाईँहरूको जनयुद्ध २ को लक्ष्य हो भने हामीले के भन्नु पर्छ र ? केपी र प्रचण्डको सत्ताबाटै हजार उत्तर मिलिरहेकै छन् ।

७. निर्मला प्रकरण त एक सानो मुद्दा मात्रै हो । सरकार जनताको आकासिएको महँगीको विरुद्धमा छैन । सीमामा मिचिएका सीमाका भूगोलहरूमा छैन । सरकार भत्के, उप्केका सडकहरूमा छैन । भाँचिएका पुल पुलेशाहरुमा छैन । सरकार कालोबजारीयाहरुको विरुद्धमा नि छैन । सरकार छ, केवल सिंहदरबारका चार किल्लाभित्र । यस्तो बेला तपाईहरुका लागि सिङ्गो नेपाल खुल्ला छ, जनताका समस्याको प्रतिनिधित्व गरेर सरकार छ भन्ने जनतालाई कुराले होइन, कामले विश्वास दिलाउने अवसर । के त्यो अवसर उपयोगमा चुक्ने की जित्ने त कमरेड विप्लव ? के हो एकीकृत क्रान्तिको खाका र खजाना ?

८. कमरेड हिजो जनताले फूलमाला लगाएर स्वागत गरेकाहरू र चुनावी मतादेशमा श्रेष्ठता हासिल गरेका नेकपाको सत्ता नै यसरी दिनहुँ जनविरोधी र जनतासँगको एकाकार यात्राबाट टाढिँदै गएका बेला उही साम्यवादी झण्डा र आदर्शको तपाईँ नेतृत्वको नेकपाप्रति निश्चय नै जनताका अनेकौँ आशङ्का र प्रश्नहरू छन् ।
हिजोको जनयुद्धका प्रचण्ड, बादलहरूको यो निरीह सत्तारुप देख्दा जनता पक्कै पनि तपाईहरुप्रति आश्वस्त हुने अवस्था छैन नै । त्यसमा पनि एकै डयाँगका मुलाको रूपमा नेकपाको विरासत तपाईँ र ओली प्रचण्डहरू वीच तानातानको अवस्था छ । यस्तो बेलामा जनताबाट टाढिने सत्ताभन्दा जनतासँग एकाकार हुने पङ्क्ति नै असली जनताको नेकपा हुने पक्का हो । त्यो जनतासँग एकाकार हुने मौकामा अब हतियार युद्धको धंगधंगीबाट मुक्त भएर जनताको मुद्दामा न्याय गर्न अघि बढ्ने की नबढ्ने त कमरेड ? वामले वामलाई सिध्याउने सत्ताधारी वामको नियत त चिन्नु भएकै होला, त्यसैले जनताको वीचबाट जनविरोधी वामसत्ताको पत्ता काटेर जनताको मनमा रा जगर्ने हिम्मत गर्ने कि कमरेड ?

९. हिजोको जनयुद्ध तपाईहरु समेतले सेनाका विरुद्ध, प्रहरी र सरकारी अधिकारीका विरुद्ध लड्नु भो । तर के पाउनु भो ? अब कस्का विरुद्ध लड्ने अनि कुन मूल्यमा लड्ने ? क्रान्ति यदि जनताका नाममा नै हो भने जनताका वैरी जनताले चिनेका छन् । स्थानीय तहबाटै जनताका वैरी विरुद्ध जनतालाई हात लिएर थाल्नुस् कारबाही । त्यस्तो जनताको शक्तिका सामु हतियार भन्दा कयौँ गुना शक्तिशाली हुनेछ जनताको साथ । जनताको त्यो साथ प्राप्तिका लागि पूर्व सर्त हो कमरेड निर्मला प्रकरणमा न्याय दिनुहोस् जनजनलाई ।

१०. जनताका वैरी अहिले स्थानीय तहका भ्रष्ट जनप्रतिनिधि हुन, निर्मलाहरूका बल्कारी र हत्याराहरू त हुँदै हुन । भ्रष्ट प्रवृत्तिका सरकारी कर्मचारीहरू हुन, विकास निर्माणको नामका विचौलिया र ठेकेदारहरू हुन, समाजसेवाको आवरणका एनजिओ, आईएनजिओवालाहरु हुन । तिनका दाता, खाता र खन्चुवाहरू हुन्।

सक्नुहुन्छ भने तपाईँ नयाँ क्रान्तिमा प्रहारको निशानामा तिनलाई पार्नुस् । तर सुरुवात निर्मलालाई न्याय दिएर मात्रै गर्नुस् । बेकारमा सुरक्षा अंगसंग सिंगौरी खेलेर हिजोको जनयुद्धमा गरिएका अकारण शक्ति क्षयको गल्तीको पुनरावृत्ति गर्ने दुस्साहस नगर्नुहोला है कमरेड ? क्रान्तिकारीले अब सुरक्षा अंगसंग होइन, जनतालाई ढाल बनाएर आफै मोटाउनेहरू विरुद्ध पो छेड्ने हो नि जेहादी हैन र ?

११. सकडमा नेकपा, सत्तामा नेकपा । तर खोइ खतरामा छ देशको राष्ट्रियता । डा. सिके राउत छुट्टै मधेस देशको वकालत गरिरहेका छन् । सिकेका पछाडि मानावाधिकारको नाममा ठुलो विदेशी लगानी र ढाडस रहेको दिनको घाम जत्तिकै छर्लङ्ग छ । तै पनि यहाँ कोही विरोधमा छैन । अनि सत्ताका नेकपा सिकेका प्रहर्शनहरुको रमिते बनेका बेला तपाईहरु यो देशका फरक फरक भूगोल र जीवनका मनहरूलाई जोडन अग्रसर हुनु भएन भने भोलि देशै नरहने खतरा सामुन्नेमा छ । के त्यसका लागि तपाईहरु सीकेपन्थीहरुको सफाया सुरु गर्न निर्मलाहरूलाई इन्साफ दिएर अघि बढ्न सक्नु हुन्न ?

१२. भूगोल, जीवन र जनताको पहिचानलाई जोगाउँदै दैनिकीलाई भावनात्मक रूपमा जोडिएन भने संसारमा कुनै पनि नामको क्रान्ति सफल हुँदैन भन्ने पक्कै पनि तपाईँ जत्तिको कालीन छविको ईमान्दार वाम नेतालाई हेक्का छदैछ। त्यसमा पनि हिजोका युद्धका कमीकमजोरीको सिङ्गो पाठशाला तपाईहरु नै जीवन्त हुनुहुन्छ । सिद्धान्तका लागि जीवन होइन भने तपाइहरूले निर्मलाहरूलाई न्याय दिएर, सुरक्षा दिएर, विश्वास दिएर, भ्रष्टहरूलाई कारबाही गरेर, सुरक्षा अङ्गलाई निश्चित सीमामा संयम राखेर र आम जनतालाई गोलबद्ध गरेर नै नयाँ अभियान सुरु गर्नुस् । यही छ शुभकामना । अन्यथा के भन्नु र कमरेड । निर्मला प्रकरण नै तपाईँको जनयुद्धको टेस्ट केस बनोस्, सुखद बनोस् । के त्यो सम्भव छ त कमरेड ?

अहिलेलाई यति नै । बाँकी फेरि फेरि माइसंसारमा नै।

उही तपाईँको जनयुद्ध २ को टाढाको रमिते
सूर्य खड्का
तामाकोसी-४ दोलखा

2 thoughts on “कमरेड विप्लव, निर्मला प्रकरणका दोषी खोजेर दण्डित गरिन्न तपाईँको एकीकृत क्रान्तिमा ?”

  1. Shankar says:
    October 9, 2018 at 5:33 pm

    फेरी जनयुद्द सुरु गरेर नेपालि जनता , फाट फुट नेता , कर्मचारी , सिक्श्यक नै मार्ने हो , नेपालि बिकास संरचना धोस्त पार्ने हो भने फेरी पनि हाम्रो बिसाल मित्र रास्ट्र भारत ले पूर्ण समर्थन गर्ने छ , प्रचण्ड , र बि बि लाइ जस्तै हिरो बनाइदिने छ |
    तर तेही बाटो पक्डेर सहि बाटोमा आए देश ले काचुली फेर्ने छ , बलात्कारी भ्रास्ताचारी दण्डित
    हुनेछ , न भए यी महान क्रान्तिकारी को लाइसन्स बोकेर हिडेका जो आफै देश मा लुट मचाइ रहेछ , छ कुनै उपाय ?

    Reply
  2. मुकेश यादव says:
    October 9, 2018 at 11:35 am

    कामरेड बिप्लोप लाइ के जाति चुसन मा फुर्सद छैन कहाँ हजुर को याचना सुनने ? सब जलाएर खाक मा राज करने सपना देखने बिप्लोप सर र डाहाड़े शालिग्राम जमकट्टेल त् तपाई को घर आगो लाउन चाहन्छन /

    अझ कति न बुझनु भएको सर ? अरबौं को ठेका कि जनता को सेवा? खाओवादी र गिरिजा को कांग्रेस र ओली जी को एमाले लाइ त्यही मात्र ध्यान छ

    १. कति तरुनी माकान करन पाइने
    २. कति मौज मस्ती करने पाइने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme