Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेकपा कै नेता र कार्यकर्ताको विरोध तगडा : प्रतिपक्षीको भूमिका पनि फेल भो कांग्रेस

Posted on October 5, 2018 by Salokya

नेपाली कांग्रेस पछिल्लो निर्वाचनमा खुम्चिएर प्रतिपक्षी बन्न बाध्य भयो। तर प्रतिपक्षीको भूमिकामा पनि फेल हुँदैछ कांग्रेस। अब हेर्नुस् न, कतै देख्नुभएको छ सरकारको प्रभावशाली विरोध गरेको कांग्रेसी नेताले? संसद अधिवेशनको अन्तिम दिन प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको भाषण चर्चामा हुनुपर्ने हो, त्यही पनि नभए प्रतिपक्षी दलको कुनै नेताको। तर अहिलेसम्म पनि चर्चा चाहिँ देश डुब्न लाग्यो भन्दै माझीको खोजी गर्ने माधव नेपालको भाषणको भइरहेको छ। माधव नेपाल नेकपा कै नेता भएर सरकारको विरोध गरिरहेका छन्। प्रतिपक्षी भने हेरेको हेर्‍यै। प्रतिपक्षीको भूमिका पनि सत्तापक्षले नै लिनेलाई पो अधिनायकवाद भनेका हुन् कि देउवाले। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भो। हत्यारा पत्ता लगाउन अहिलेसम्म सकेको हैन। जानाजानी प्रमाण नष्ट गर्न प्रहरी नै लागेको प्रष्ट भइसक्यो। तर कसलाई बचाउन प्रहरी त्यसरी लागेको हो भनेर खोज्न र दोषीलाई कारबाही गराउन प्रतिपक्षीले हो जोडदार माग गर्नुपर्ने। तर यो जिम्मा पनि सत्तापक्षले नै पूरा गर्दैछ।

बिहीबार सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गर्‍यो। बर्खास्तका लागि आन्दोलन गर्नुपरेको भन्दै अनेरास्ववियुका नेता कुर्लिए।

उता तत्कालीन एमाले प्रतिपक्षीमा हुँदा हेर्नुस् त के गरेको थियो। नवराज सिलवालको पक्ष यसरी लियो कि उनलाई चुनावमा उठाएर सांसदै बनाइदियो। सुशीला कार्कीको बचाउ गर्दै संसदमा तत्कालीन प्रतिपक्षी नेता ओलीले भाषणै गरे। कांग्रेस नेतृत्वको सरकारको तगडा विरोध गर्नमा अगाडि थियो प्रतिपक्ष। कांग्रेसले त अब प्रभावकारी प्रतिपक्षी कसरी बन्ने भनेर पनि नेकपासँगै ट्युसन लिनुपर्ला जस्तो पो स्थिति भो त अहिले।

अब नेकपा त सत्तामा पनि सडकमा। सरकारमा पनि प्रतिपक्षमा पनि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme