चार वर्षअघि नेपालमा हालका राष्ट्रपति हैन प्रथम राष्ट्रपति रामवरण यादव थिए। त्यतिबेला एउटा रमाइलो ‘जाड काण्ड’ भएको थियो। फेसबुकको मेमोरी फिचर्सले पुराना कुराहरु सम्झाउने क्रममा यो ब्लग पनि सम्झाइदियो। धेरैले बिर्सिसके होलान्, मैले पनि बिर्सिसकेको थिएँ। आउनुस् यो पुरानो ब्लग एक पटक फेरि पढेर रमाइलो गरौँ।
राष्ट्रपति रामवरण यादवले जाडबारे वक्तव्य कहिले निकाल्नु हुन्छ होला? अहँ। तर जब इकान्तिपुर, नागरिकन्युजजस्ता नाम चलेका अनलाइनसहित अन्यले पनि एकोहोरो रुपमा वक्तव्यमा जाड उल्लेख भएको लेखे भने ?
हेर्नुस् त-
वास्तवमा यसमा राष्ट्रपति र राष्ट्रपति कार्यालयको केही दोष छैन। राष्ट्रपतिको वक्तव्यमा त ‘वर्षैभरी आइरहने चाडपर्व र जात्राहरू नेपाली संस्कृतिका मौलिक विशेषता हुन्’ भनिएको छ। चाडसँगै पर्व पनि जोडिएको छ। तर समाचार आउने बेलामा चाडको ठाउँमा जाड भइदियो। कसरी भयो त यस्तो?
राष्ट्रपतिको वक्तव्य यस्तो थियो-
सम्माननीय राष्ट्रपति डा.राम वरण यादवले बडा दशैँ तथा विजयादशमी –२०७१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
१. नेपाली मात्रको शारदीय पर्व बडा दशैँ तथा विजयादशमी–२०७१ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि मगंलमय शुभकामना व्यक्त
गर्दछु ।
२. एकपछि अर्को गर्दै वर्षैभरी आइरहने चाडपर्व र जात्राहरू नेपाली संस्कृतिका मौलिक विशेषता हुन् । यिनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध–सूत्रको काम गरेका छन् । एक अर्को समुदायका चाडपर्वहरू मिलेर मनाउनु नेपाली समाजको विशिष्ट चरित्र रही आएको छ । सांस्कृतिक सद्भाव, सहयोग र सहयात्राको यस्तो सुन्दर परम्पराप्रति हामी सबैले गर्व गर्नु पर्दछ ।
३. देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो र अन्य प्रकृतिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति हार्दिक सहभाव व्यक्त गर्दै उनीहरुको दैनिक गुजारा सहज तुल्याउने तथा बसोबास र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न म सबैसंग आग्रह गर्दछु ।
४. नेपाली जनताले अपार उत्साह प्रदर्शन गरी चयन गरेको दोस्रो संविधान सभाले निश्चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्शाएको क्रियाशीलताले हामी सबैलाई आशावादी तुल्याएको छ । आफूले जनता सामू गरेको कबूल पूरा गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरू यस पटक चुक्ने छैनन र तोकिएको मितिमै संविधान निर्माण गर्न सक्षम हुनेछन् भन्ने सबैको आशा रहेको छ । मलाई विश्वास छ, संविधान प्राप्त गर्ने सवालमा यस पटक मुलुक र देशवासीलाई निराश पारिने छैन ।
दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !
धन्यवाद !
सबै नेपालीको जय होस् ।
नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले असोज १६ गतेको रात्रिसेवामा राष्ट्रपतिको वक्तव्यलाई समाचार बनाउँदा चाडको ठाउँमा जाड लेखिदिएछ-
रासस त चिप्लियो चिप्लियो, चाडलाई जाड लेखेकोसम्म नहेरी आँखा चिम्लिएर राससको समाचार जस्ताको तस्तै हाल्दा अनलाइन न्युज पोर्टलहरुले पनि मार खाए।
जस्ताको तस्तै पनि कसरी भन्ने तपाईँले ध्यान दिएर हेर्नुभयो भने चार वटैले भाषा केही फरक गरेका छन्। जनाए, बताएका छन्, जनाएका छन् र जनाउनुभएको छ लेखिएको छ। तर चाडको साटो जाड चाहिँ सबैतिर एउटै पो छ।
भारतमा चिनिया राष्ट्रपति Xi Jinping लाई इलेभेन जिनपिङ भनेर उच्चारण गर्दा एक समाचारवाचकको जागिरै गएको थियो। राष्ट्रपतिको वक्तव्यमा रहेको चाडलाई जाड लेख्नेलाई नेपालमा खासै केही हुन्न होला। तर यसलाई जाड कान्ड भनेर याद राखे राम्रो होला 🙂