Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कर्पोरेट रवि : हङकङमा ७ सय डलर नतिरी देख्नै पाएनन् कसैले

Posted on October 3, 2018October 3, 2018 by mysansar


नेताहरुले आफ्ना गुनासाहरु नसुनिदिँदा विरक्तिएका सर्वसाधारण एउटा सुटबुटमा ठाँट्टिएर टेलिभिजनमा प्रस्तुत हुने ठिटोलाई असाध्यै विश्वास गर्छन्। विश्वकै शक्तिशाली देश अमेरिकामा त्यहीँको नागरिक भएर लोभलाग्दो जीवन बिताउन सक्ने अवसरलाई चटक्क छोडेर सर्वसाधारणका ती गुनासाहरुलाई सशक्त ढंगले सम्बन्धित ठाउँहरुमा पुर्‍याउँदै जाली, फटाहा र भ्रष्टाचारीहरुको दोहोलो काढ्दै आइरहेका छन् जनताका छोरा रवि लामिछाने। उनै रवि हङकङसम्म आइपुग्दा जनताको छोरा नभएर कर्पोरेट रविमा परिणत भएको हङकङका नेपालीहरुले महसूस गरे। हुनत हङकङको तातो हावानै त्यस्तै हो कि? विश्वकै प्रमुख व्यापारिक शहर हङकङ जहाँ हाम्रो गाउँको हरिबहादुर ‘ह्यारी’ हुन्छन् त संगीता ‘सोनी’ र कमला ‘क्यामी’। शायद यस्तै परिवेशले गर्दा रवि लामिछाने पनि हङकङ आइपुग्दा कर्पोरेट भएका पो हुन् कि?

दिनभर टन्टलापुर तातो घाममा १२-१४ घण्टा कडा परिश्रम गर्दा मुश्किलले पाइने पारिश्रमिक बराबरको ७०० हङकङ डलर नबुझाई कसैले देख्नै पाएनन् रविलाई अन्तर्क्रिया कार्यक्रममा। अत्याधिक प्रवेश शुल्कको खबर बेलैमा नपाउदा ढोकैमा पुगेका कतिले लाजगाललाई छेक्न अमिलो हुँदै दिनभरि कमाएको रकम बुझाएर भित्र छिरे। तर सुकिला मुकिलाहरुले भरिएको रेष्टुरेन्टमा आफ्नो लागि बस्ने कुर्सी नै पाएनन्। तर पनि चित्त बुझाउनेहरु धेरै नै थिए र ढुक्क थिए जनताको छोरालाई भेट्न पाउने र एक दुई कुराहरु राख्न र खरो कुराहरु सुन्न पाउने आशमा। तर प्रमुख अतिथि, हङकङका नेपाली महावाणिज्यदूत भन्दा ढिलो गरी कार्यक्रम हुने भनिएको समयभन्दा डेढ घन्टा ढिलो आइपुगेका रविले जब सगौरव आफू एउटा व्यापारिक रेमिटेन्स कम्पनीको ब्रान्ड एम्बेसडर हुन पाएको बताउँदै एम्बेसडरको धर्म सहित आफ्नो मन्तब्य दिए, उनलाई हेर्न र सुन्न पुगेकाहरुले पहिलो गाँसमै ढुंगा परेको झैँ अनुभूति गरिरहेका थिए। उता रवि भने मच्ची मच्ची उक्त ब्यापारिक कम्पनीको हङकङमा शाखा नरहेको जानकारीसहित एउटा शाखा खोलिन पर्ने जिकिरका साथसाथै हाइटेक हुँदै मोबाइल एप्लिकेसन छिट्टै शुरु गरिने जानकारी दिँदै थिए।

रविले आफ्नो मन्तव्यमा गलत सूचनाले गर्दा राम्रै मान्छेलाई पनि कतै भ्रष्टाचारीको बिल्ला भिराई दिइने हो कि, गलत ब्यक्तिहरुको साथ दिन पुगिन्छ कि भनी डरलाग्छ भने। तर उनले आफ्नो कार्यक्रमको इन्ट्री नै कस्ता ब्यक्तिहरुको झुन्डसँग भएको थियो, हेक्का नै गरेनन्। आधा रात कटिसकेपछि रविको हङकङ हेर्ने मूढतालाई युनलङबाट आएका कसले पूरा गरिदियो? तिनको इतिहास जान्ने फूर्सद शायद उनलाई भएन। दक्षिण कोरियासम्मै पुगेर भिसा हातमा हालिदिने ब्यक्तिले हङकङमा कतिवटा मुद्दा खेपिरहेको छ भन्ने कुरासँग के को सरोकार उनलाई? वर्तमानमा रमाइरहँदा इतिहास किन कोट्याउनु? सायद यस्तै लाग्यो कि उनलाई।

देउताले भन्दा धेरै खादाले पुरिएर मन्दिरमा उभिँदा आध्यात्मिक सन्तुष्टि मिलेको होला रविलाई। तर देउतालाई नै मन्दिरमा कैद गर्न सक्नेहरुले थाहा नपाइकनै उनलाई पनि कैद गरिरहेको शायद हेक्का नै भएन कि उनलाई। श्रमिकहरुको पसिना चुस्दै फुलेका ठेकेदारहरुको भित्री कुराहरु बुझ्नु अगावै तिनीहरुको गुनगानसहित “सीधा कुरा जनतासँग” को हङकङ श्रृङ्खला चलाएका रविलाई तिनका दोषहरु अब देखाइदिँदा रवि के अब जनताको छोरा भएर उभिन सक्लान्? आज हङकङमा सँगै कुम जोडेकाहरुलाई भोलि त्यो खरो प्रश्नहरु सोधिएला? कुनै संस्थासँग जोडिएकै भरमा समाजमा वरिष्ठको रवाफ देखाउँदै श्रीमती कुट्नेले रविसँग सँगै कुम जोडिएको फोटो श्रीमतीले देख्दा अब कुन आँटले तिनले म पति पीडित छु भन्ने आंट गर्ला?

रवि लामिछाने एउटा ब्यक्ति मात्रै नभएर सिंगो संस्था नै हुनपुगेको यो समयमा उनले सार्वजनिक स्थानमा मात्र नभई ब्यक्तिगत रुपमा गरेका कुराहरुको पनि जवाफदेही हुनु पर्दछ भन्ने मान्यताले गर्दा उनलाई विदेश वा अन्य ठाउँहरुमा जाँदा झन् सचेत रहनुहोला भन्ने आशयले लेखिएको सचेतना मात्रै हो यो। आज रविले हङकङमा त्यस्ता ब्यक्तिहरुसँग लागेर हिँड्दा र काँधमा काँध जोडेर सँगै फोटो खिचाउँदा भोलि ती फोटोहरु त्यस्ता ब्यक्तिहरुको लागि चारित्रिक प्रमाणपत्र नबनिदियोस् र त्यसको अपजस रविमाथि पर्न नजाओस् भन्ने यो शुभचिन्तकको आशय हो। आशा छ, रविले यी कुराहरुलाई मनन गर्नेछन् र निष्कलंक र निष्पक्ष भई सदा सतिसाल झैँ खडा रहनेछन्।

एक शुभचिन्तक, हङकङबाट ……।

6 thoughts on “कर्पोरेट रवि : हङकङमा ७ सय डलर नतिरी देख्नै पाएनन् कसैले”

  1. मुकेश यादव says:
    October 4, 2018 at 7:15 pm

    यस छामिलाने ले पहिला पनि यसतो करेको छ / यस्ता छामिलाने प्रवृत्ति मौलाएर छुट्टि छ /

    रिमिटेंस कम्पनी को नुन खाएको यो छामिलाने ले के के न करछ भनेर आफनो मिहिनेत करेर कमाएको पैसा तिरेर मुरगा बन्नु परने ?

    बन्धु हो यस् छामिलाने ले कता कता बाट दमडी लिएर ब्रेण्ड एम्बेसेडर कहलाएको छ थाहा पाउने मित्र हरु यहाँ रिपोर्ट करनु होला

    बकरा को छाल ओढेको ब्वाँसो हो यो छामिलाने

    Reply
  2. अरेन्द्र गुरुङ says:
    October 3, 2018 at 9:37 pm

    गैर मेम्बरलाई ७०० डलर र सहाराको मेम्बरहरु संग ५०० डलर ऊठईएको कार्यक्रममा फोकटमा छिर्ने बानिलागेकाहरुले कसरी पैसो तिरोस् त? नरेन्द्र गुरुङ जी तपाई सहाराको साधारण सदस्यमात्रै भएको भएपनि तपाईलाई यो कुरा थाहाहुन पर्ने हो ।

    Reply
  3. Binod Ranabhat says:
    October 3, 2018 at 3:59 pm

    पहिला फिलिम आय को तियो त त सारै बिग्रिस बद्रि भनि अब रबि जी बिग्रियो भन्नि न आइ दिय हुनी थियो धेरै नेपाली जनता को आशा को किरण बनेर फेरी धोका भयो भनि धेरै सराप लग्न सक्छ तेसै ले हासो को पत्र न बनु होला नत्र हाती आयो हाती आयो फुस्सा हुन्छ

    Reply
  4. Suresh Gurung says:
    October 3, 2018 at 1:29 pm

    को को नै हो, के के नै होला भन्ठानेर गाका थिए। ठिक्क पर्यो। I I personally do not admire this guy, and I don’t know why.

    Reply
  5. Paplu Dev says:
    October 3, 2018 at 10:07 am

    आफुलाई त पहिले देखि नै मन नापरनी मान्छे हो रबि , कुरा ठिकै गरे नि personally he is not fair, कता कता चिल्ला कुरा गरेर फाइदा लुटीरा जस्तो लग्छ. यो मेरो बयक्तिगत राय मात्र हो है .

    Reply
  6. नरेन्द्र गुरुङ says:
    October 3, 2018 at 7:10 am

    म पनि यस कार्यक्रममा पुगेको थिए एक डलर पनि नतिरी यो कार्यक्रम भनेको खासै साहारा क्लबको मेम्बर र समितिहरुको लागि भेटघाट गर्न राखिएको मात्र थिए । अचानक राखिएको कार्यक्रमले गर्दा हङकङमा ठुलो स्थान लिन समस्या भएकोले यसैले त्यहा ६० जना जति मात्र बस्ने ठाउँ हरु रहेकोले रेस्टुरेन्टको खाना र ड्रीन्क गरेको बिल त क्लबले पेड गर्ने कुरा भएन होला । रबि लामिछानेलाई भेट्न च्यारिटी हाइकिङको कार्यक्रम छुट्टीको राखेका थिए त्यहा भेट्नको लागि कसैलाई रकम त लिएको थिएन त रेस्टुरेन्टमा भेट्न पाएन भन्दैमा यो आरोप लगाउने मानसिकता हामी नेपालीहरुको धेरै पुरानो रोग हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme