Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कञ्चनपुरमा ज्यानै जाने गरी गोली किन चल्यो? प्रदर्शन किन भइरहेको? त्यहाँ भएको के हो?

Posted on August 25, 2018August 28, 2018 by Salokya


कञ्चनपुर विगत केही हप्तादेखि समाचारको केन्द्र भइरहेको छ। शुक्रबार त त्यहाँ एक बालकको ज्यानै जाने गरी प्रहरीले गोली चलायो। पाँच जना घाइते छन्। दुई दिनदेखि त्यहाँ कर्फ्यु लागिरहेको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले पनि उत्तेजक गतिविधिमा नलाग्न त्यहाँका बासिन्दालाई अनुरोध गरेको छ।

आखिर त्यहाँ भएको के हो? किन त्यसरी उत्तेजित भई स्थानीय प्रदर्शनमा उत्रिरहेका छन्। यदि तपाईँले नियमित समाचारमा ध्यान नदिई छुटाउनु भएको छ भने अहिलेसम्मका घटनाक्रम थाहा पाउन पढ्नुस् यो विवरण।

घटना के हो?
यो घटनाको सुरुवात साउन ११ गते १३ वर्षीया बालिका निर्मला पन्तको भीमदत्त नगरपालिका वडा नम्बर १९ स्थित उखुबारीमा विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेपछि भएको हो। उनलाई बलात्कारपछि हत्या गरिएको थियो।

साउन १० गते उनी पढ्न भनी साथी रोशनी भनिने आँचल बमको घरमा गएकी थिइन् बिहान। दिउँसो २ बजेर १५ मिनेटमा उनी रोशनीको घरबाट निस्किन् भनिएको छ। तर उनी आफ्नो घर पुगिनन्। त्यो दिन उनी बेपत्ता भइन्। भोलिपल्ट बल्ल लाश फेला पर्‍यो।

प्रदर्शन कहिलेदेखि?
एक १३ वर्षकी कलिली बालिका, त्यसमाथि विभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा भेटिएको शव। सुन्ने र सामाजिक सञ्जालमा राखिएका फोटोहरु हेर्ने सबैको रगत उमाल्ने घटना थियो। भीमदत्त नगरपालिकामा प्रदर्शन लाश फेला परेको दिनदेखि नै फाट्टफुट्ट सुरु भइसकेको थियो। त्यही दिन करिब ४ सय जनाले भीमदत्त नगरपालिका भवन अगाडि प्रदर्शन गर्ने क्रममा झडप हुँदा दुई जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका थिए। २२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो। भोलिपल्ट निर्मलाको परिवार र प्रशासनबीच सात बूँदे सहमति भयो। सहमति अनुसार साउन १४ गते निर्मलाको शव बुझी दाहसंस्कार गरियो। काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली साउन १३ गते टोली खटियो।

कहिलेदेखि स्थानीय अझ आक्रोशित भए?
घटनाको गम्भीर रुपमा अनुसन्धान प्रहरीले नगरेकोबाट स्थानीय बासिन्दा आक्रोशित थिए। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसदको रोष्ट्रममा उभिएर बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको बताएका थिए। हेर्नुस् भिडियो उनले वर्ष २२ का जीवन घर्तीमगर र वर्ष १७ का दीपक नेगीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका थिए।

पक्राउ परेका दुवै जना पछि छुटे। राजधानी दैनिकका अनुसार पक्राउ परेका मध्ये एक जना एचआईभी संक्रमित अर्का एक जना मानसिक सन्तुलन ठीक नभएका युवा हुन्। यस्तो अवस्थामा कञ्चनपुर प्रहरीले गृहमन्त्री थापालाई झुटो सूचना दिनुका पछाडिको नियत माथि पत्रिकाको प्रश्न छ।

स्थानीय बढी आक्रोशित भएको चाहिँ प्रहरीले हत्यारा भनी एक मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सार्वजनिक गरेपछि भएको हो। घटना भएको चौथो सातामा बल्ल प्रहरीले निर्मलाको गाउँकै ४१ वर्षीय दीलिप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गर्‍यो। आफ्नै कान्छा भिनाजुको हत्यामा ९ वर्ष कैद भुक्तान गरी निस्किएका विष्ट मानसिक सन्तुलन गुमेका व्यक्ति हुन्। पत्याउनै नसकिने व्यक्तिलाई हत्याराको रुपमा सार्वजनिक गरिएको भन्दै आक्रोशित स्थानीयले भोलिपल्टैदेखि प्रदर्शन चर्काएका हुन्।

के थियो प्रहरी प्रतिवेदनमा?

स्थानीय के भन्छन्?
स्थानीय बलात्कार तथा हत्याको घटनामा हाइप्रोफाइल व्यक्तिको संलग्नता भएको भन्ठान्छन् जसलाई प्रहरी र प्रशासनले जोगाउन खोजेको उनीहरुको आरोप छ। जसको घरमा निर्मला पढ्न गएका थिए, त्यो घरमा दिदी र बहिनी मात्र बस्ने र दिदीको सम्बन्ध जिल्लाका एसपीसित राम्रो भएको र यही कारण ढाकछोप गर्न खोजिएको उनीहरुको आरोप छ। केही मिडियामा यो विषयमा समाचार पनि आएको छ। घरमै हत्या गरेर लाश मात्र उखुबारीमा फ्याँकेर नाटक गरिएको आरोप पनि स्थानीयको छ। निर्मलाका पिताले पनि मिडियाहरुमा प्रहरीले उभ्याएका दीलिपसिंह विष्टले यो घटना गराएको मान्नै नसकिने बताएका छन्। मृतक निर्मलाका पिता यज्ञराज पन्तले भनेका छन् ‘प्रहरीले जिप्रकामा लगेर दिलीप विष्टका विरुद्ध किटानी जाहेरी दिनुपर्यो भन्दै दस्तखत गर्न लगायो, मैले उ माथि शंका पनि छैन, उसलाई चिनेको पनि छैन कसरी किटानी दिउँ भनेर सोधेपछि हामीसँग दिलीपले घटना स्वीकार गरेको भिडियो छ भन्यो। तर हामीलाई भिडियो हेर्न दिइएन। राजधानी दैनिकमा प्रकाशित समाचार अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो।

कन्डम लगाएर बलात्कार?
प्रहरीले जुटाएको प्रमाण पनि शंका मान्नुपर्ने खालका छन्। कमजोर शारीरिक स्थितिसमेत भएका र मानसिक सन्तुलन गुमेका व्यक्तिले बलात्कार गरेको शङ्का त छँदैछ त्यसमा पनि कण्डम नै प्रयोग गरेको भनिएको छ। पिताको प्रश्न छ,‘छोरीको साइकल फालेको नजिकै एउटा कपडाको टुक्रा र कण्डम थियो। प्रहरीले यही हो प्रमाण भन्यो। तर त्यो २६ दिनसम्म पानीमा नभिजेर माटो पनि नलागेको अवस्थामा कसरी रहन सक्छ?’ त्यस्तै घटना भएको स्थानभन्दा करिब सय मिटरको दूरीमा नै घर छ। उखुबारी छेउमा भए पनि पक्की रोड बीचमा छ। मानिसको आवतजावत सहजै हुन्छ। त्यस्तो ठाउँमा निर्मला चिच्याउँदा किन कसैले सुनेनन् भन्ने पनि प्रश्न छ।

चर्कियो आन्दोलन
दीलिपलाई प्रहरीले मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको भोलिपल्टदेखि चर्किएको आन्दोलनले कडा रुप लिँदै गयो। भदौ ६ गते बुधबार प्रहरीले ३० राउन्ड अश्रुग्यास फायर गर्नुपर्‍यो। प्रहरीसँग झडप हुँदा १३ जना घाइते भए। तर अझै पनि केन्द्रबाट यो घटनालाई गम्भीरताका साथ हेरिएन।

भोलिपल्ट भदौ ७ गते बिहीबार स्थिति अझ बिग्रियो। सडकमा आगजनी गरेर विरोध प्रदर्शन भयो। प्रहरीले गोली नै चलायो जसका कारण ६ प्रदर्शनकारी र २ प्रहरी घाइते भए। स्थानीय प्रशासनले साँझदेखि भोलिपल्ट बिहानसम्म कर्फ्यु नै लगाउनु पर्‍यो।

सरकार बन्यो गम्भीर
कर्फ्यु नै लगाउनु पर्ने र गोली चलेको घटनापछि सरकार गम्भीर भयो। जिल्लाका सिडिओ कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई फिर्ता बोलाइयो। सरकारले गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ को प्रतिनिधिसमेत गरी ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरियो।

भीम रावलको बोलीपछि मान्छे मर्ने गरी चल्यो गोली
सरकारको यो कदमपछि शुक्रबार बिहान लगभग शान्त भइसकेको थियो माहौल। कर्फ्यु पनि हटाइसकिएको थियो। तर ऋषि धमलासितको अन्तर्वार्तामा नेकपा नेता भीम रावलले कांग्रेसले प्रदर्शनलाई उक्साइरहेको भनेपछि फेरि माहौल बिग्रियो। नेविसंघले यसको विरोधमा प्रदर्शन थालेपछि त्यसै पनि आक्रोशित स्थानीय भड्किए। त्यसपछि प्रदर्शन उग्र हुँदा फेरि गोली चल्यो र जे नहुनुपर्ने थियो त्यही भयो। बेलुका करिब साढे पाँच बजेतिर प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका वडा नम्बर १८ का १९ वर्षीय बालक सानू खुनाको मृत्यु भयो। २२ जना घाइते भए। गोली प्रहारबाट १.कविन्द्र सिंह २.सगुन सुवेदी ३.दामोदर खत्री ४. उमेश देउवा ५.चेतन भट्ट ६.मनोज खड्का ७.युबराज भट्ट ८.दामोदर खत्री ९.इश्वर जोशी १०.बिरेन्द्र नाग्री ११.किशोर जोशी १२.चेतराज भट्ट १३.हिमान्शु भट्ट १४.प्रेम ठाकुर १५. जितेन्द्र श्रेष्ठ १६.सुरेश चतौत १७.सागर बिष्ट १८.नैनसिंह कार्कि १९.मनोज बिष्ट २०.घनश्याम रावत २१.रमेश सावद २२.पदम बिष्ट घाइते भएका छन्। घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यस्तो थियो भीम रावलको अन्तर्वार्ता

1 thought on “कञ्चनपुरमा ज्यानै जाने गरी गोली किन चल्यो? प्रदर्शन किन भइरहेको? त्यहाँ भएको के हो?”

  1. Pingback: कञ्चनपुर : मान्छे मरेपछि बल्ल सरकार भयो गम्भीर, यति काम पहिल्यै गरेको भए ! « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme