Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिउँसो दिउँसो अफिसमा, राति राति जेलमा : अब यस्तो पनि सम्भव हुनेछ

Posted on August 13, 2018August 13, 2018 by Salokya

दिनभर अफिसमा काम गर्ने, अफिसबाट घरमा आई आराम गर्ने। अनि राति निस्कने।
राति निस्केर कहाँ जाने?
जेलमा!

किन नि जेलमा?
किनभने अदालतले उसलाई कसुरदार भनेर सजाय दिएको छ। त्यो सजाय भुक्तान गर्न राति जेलमा बस्नुपर्छ। यसरी दिनमा बाहिर निस्कन पाउने र राति जेलमा बस्नुपर्ने गरी पनि सजाय भुक्तान गर्न सकिने व्यवस्था भएको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ आउँदो भदौ १ गतेदेखि लागू हुने भएको छ।

ऐनको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने बारे उल्लेख छ। अर्थात् विकएन्डमा होलिडे मनाउने होइन, जेलडे मनाउने। शुक्रबार र शनिबार जेलमा बस्नुपर्ने।

तर लामो लामो जेल सजाय भएकोले यस्तो सुविधा पाउने छैनन्। एक वर्षसम्म कैद निर्धारण भएको कसूरदारले मात्र यस्तो सुविधा पाउने छन्।

‘गरेको कसूर, उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका र आचरण समेतलाई विचार गर्दा नियमित रुपमा कैदमा राख्न उपयुक्त नदेखिएमा सो को कारण खोली अदालतले सप्ताहको अन्तिम दिन मात्र वा दैनिक रुपमा रात्रिकालीन समयमा मात्र कारागारमा बस्न पर्ने गरी कैद निर्धारण गर्न सक्नेछ’ उपदफा १ मा उल्लेख छ।

अर्थात् यस्तो सुविधा दिने नदिने भन्ने निर्णय गर्ने अधिकार अदालत अर्थात् न्यायाधीशको हातमा हुनेछ।

तर यी १२ अपराधमा कसुरदार ठहरिएकाले यस्तो सुविधा पाउने छैन-

(क) कर्तव्य ज्यान,
(ख) जवर्जस्ती करणी,
(ग) मानव बेचबिखन तथा ओसारपसार,
(घ) हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थ,
(ङ) भ्रष्टाचार,
(च) शरीर बन्धक लिने वा अपहरण गर्ने,
(छ) डाँका,
(ज) खोटा टक वा खोटा टिकट चलन,
(झ) विदेशी विनिमय,
(ञ) लागू औषधको सेवन बाहेकका सो सम्बन्धी अन्य कसूर,
(ट) प्राचीन स्मारक सम्बन्धी,
(ठ) वन तथा वन्यजन्तु सम्बन्धी ।

अदालतले सजाय निर्धारण गर्दा कसूरदारले पालना गर्नु पर्ने शर्तहरु तोकिदिन सक्नेछ। शर्त पालना नगरेमा वा सो अवधिमा फेरि अर्को कैद सजाय हुने कुनै कसूर गरेमा आफूलाई भएको कैदको पूरा अवधि कारागारमा बसी भुक्तान गर्नु पर्ने हुन्छ।

यो ऐनका अधिकांश प्रावधानहरु यो वर्षको भदौ १ गतेदेखि मात्र लागू हुने भनिए पनि यो व्यवस्था चाहिँ सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर लागू हुने भनी तोकेको मितिदेखि कार्यान्वयनमा आउने छ। अर्थात् सरकारले राजपत्रमा अर्को वर्ष सूचना प्रकाशित गर्‍यो भने अर्को वर्षमात्रै प्रयोगमा आउनेछ।

यसैगरी ऐनमा कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्ने व्यवस्था छ।

“खुल्ला कारागार” भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्ने उल्लेख छ।

यो त भयो न्यायाधीशको अधिकारको कुरा। जेलरलाई पनि केही अधिकार दिइएको छ।

तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको अठार वर्ष भन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा कारागारले सार्वजनिक कामको श्रममा लगाउन सक्छ। यसको हिसाब चाहिँ तीन बराबर एक हुन्छ। अर्थात् सार्वजनिक कामको श्रममा लगाइएको कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले निजको कैद कटृा हुने व्यवस्‍था ऐनमा छ।

तपाईँलाई यो नयाँ व्यवस्था कस्तो लाग्यो? तल कमेन्टमा लेख्नुहोला। अथवा तल भोट गर्नुहोला-

3 thoughts on “दिउँसो दिउँसो अफिसमा, राति राति जेलमा : अब यस्तो पनि सम्भव हुनेछ”

  1. raj says:
    August 13, 2018 at 2:32 pm

    कहि नभएको नियम नेपालमा । यस्तो हो भने बाहिर बात काम गर्न आएकाहररुलाई त आनान्द भो । सानु अपराध गर्ने , जेलमा रात कताउने, दिनमा बाहिर काम गर्ने। महङ्गीको जमानामा कोठा भादानि तिर्न नपर्ने । कि कसो ।

    Reply
  2. madan man bajracharya says:
    August 13, 2018 at 1:52 pm

    भन्नुको मतलव देस टुक्राउन खोज्ने, जातको कुरा उठायर शोसन र उत्पिडन गर्ने, बोक्सी भन्दै प्रताडन गर्ने र गाउ निकालानै गर्ने, सम्पति कब्जा गर्ने, सार्वजनिक सम्पति तोड फोद गर्ने, संसद भवनमै तोडफोड गर्ने, नक्कली सर्तिफिकेट वाला, जवरजस्ती चन्दा उठाउने,जुवा खेल्ने खेलाउने, ठुलै परिमाणमा ट्यांकर बात सिधै पेट्रोल डिजेल चोर्ने, ठुलो रकम को बैंकिंग अपराध गर्ने, नागरिक नभयकोलाई पनि नागरिकता दिलाउने, आदिलाईले जेललाई निशुल्क होटेल र भोजनालय बनाउन पाउने भयो/ यस्तो नौटंकी कानुन बनाउनु भन्दा सिधै भने भैगयो नि पहुँच भयको र राजनीतिको नाममा अपराध गर्नेहरु ………/ कतै यो कानुन सिके रावत जस्तै र जनयुद्धको समयमा अपराध गरेको ठहर हुने हरुको निमित जेल सजायको नाममा पुरस्कृत गर्नको निमित बनायको त् hoiin

    Reply
  3. RAW says:
    August 13, 2018 at 1:09 am

    होइन यी कैदी सबलाइ पहाड फोड्न बाटो बनाउन ह्य्द्रो पआवेर तिर काम लगाए हुन्थ्यो नि (सिक्री लगाएर) कमसे काम् लगानी त कम हुन्छ , लाबोर कास्ट फ्री मा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme