Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज ऐतिहासिक दिन : नेपालले पहिलो ओडिआई क्रिकेट खेल्दै, कहाँ कसरी हेर्न सकिन्छ खेल?

Posted on August 1, 2018 by Salokya


आज नेपालको खेल क्षेत्रका लागि एउटा ऐतिहासिक दिन हो। आज नेपालले पहिलो पटक ओडिआई अर्थात् वन डे इन्टरन्यासनल क्रिकेट खेल्दैछ। यसअघि पनि नेपालले क्रिकेट खेल्थ्यो तर त्यसले ओडिआइको मान्यता पाएको थिएन। आज र पर्सि नेदरल्यान्डससित उसकै मैदानमा नेपालले ओडिआई खेल्दैछ। ५०-५० ओभरको यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यो खेल टिभी र कम्प्युटर/मोबाइल दुवैमा लाइभ हेर्न सकिनेछ। कहाँ र कसरी हेर्ने त?

टेलिभिजनमा लाइभ हेर्नका लागि कान्तिपुर टेलिभिजन। कान्तिपुरले यसको प्रसारण अधिकारका लागि ४० हजार अमेरिकी डलर तिरेको इएसपिनले जनाएको छ।

कम्प्युटर वा मोबाइलमा युट्युबबाट लाइभ हेर्न सकिनेछ। युट्युबको लिङ्क तल छ।

त्यसैगरी नेदरल्यान्डसको भिडियो प्ल्याटफर्म लाइभब्रोडकास्ट डट एनएलबाट पनि लाइभ हेर्न सकिनेछ। त्यसका लागि साइटमा रजिस्टर भने गर्नुपर्नेछ। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

यदि तपाईँ भिडियो लाइभ हेर्न सक्ने ठाउँमा हुनुहुन्न र टेक्स्टबाट बल बाइ बल लाइभ हेर्न चाहनुहुन्छ भने क्रिकइन्फोको अपडेट जति उपयोगी अरु हुनेछैन। क्रिकइन्फोको लाइभ पढ्न यहाँ क्लिक गर्नुस्।

क्रिकेट धेरै नबुझ्नेका लागि केही प्रश्नउत्तर

कसरी पाएको हो यो स्टायटस?
अस्ति नै मार्च महिनामा जिम्बाब्वेमा वर्ल्ड कप क्वालिफायर प्रतियोगिता भएको थियो। यो प्रतियोगिताको फाइनलमा खेल्ने दुई टिम २०१९ को विश्वकपमा छनोट हुन्थ्यो। तर नेपाल समूह चरणबाटै बाहिरिएपछि त्यो सम्भावना समाप्त भयो। तर नेदरल्याण्ड्सबाहेक क्वालिफायरका उत्कृष्ट तीन एसोसिएट टिमले ओडिआई स्ट्याटस पाउने प्रावधान थियो। स्कटल्याण्ड र युएईले समूह चरण पार गरेर सुपर सिक्समा स्थान बनाउँदै उक्त उपलब्धि हासिल गरिसकेको थियो। बाँकी एउटाका स्थानका लागि नेपाल, हङकङ र पपुवा न्युगिनीको खेल निर्णायक बन्यो। नेपालले पपुवा न्युगिनीलाई त हरायो नै, नेदरल्यान्डसले पनि हङकङलाई हरायो। त्यसैले सातौँ स्थानका लागि नेदरल्यान्डससितको खेल हुनु अगावै नेपालले ओडिआई स्टायटस पाएको थियो।

के छ महत्त्व?
नेपालले पहिलो पटक यस्तो मान्यता पाएको हो। यसअघि छोटो समयका लागि सन् २०१४ मा नेपालले टि २० इन्टरनेसनलको मान्यता पाएको थियो।

सधैँका लागि यो स्टायटस पाएको हो?
होइन। यसलाई अस्थायी ओडिआई स्टायटस भनिन्छ। आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस प्राप्त गरेको हो अर्थात् सन् २०१८ देखि २०२२ सम्म यो कायम रहने छ।

स्थायी ओडिआइ स्टायटस ककसको छ त?
विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीको पूर्ण सदस्यता पाएको १२ वटा टेस्ट खेल्ने देशहरुसित स्थायी ओडिआई स्टायटस छ। ती हुन्, अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, बंगलादेश, अफगानिस्तान, आयरल्यान्ड।

अस्थायीमा चाहिँ को छ त?
सन् २००५ देखि आइसिसीको एसोसिएट सदस्यहरुमध्यबाट पनि चार वटालाई अस्थायी ओडिआई स्टायटस दिने निर्णय भयो। नेदरल्यान्डस, युएई र स्कटल्यान्डसहित नेपालले अस्थायी स्टायटस पाएको हो।

अब हुन्छ के त?

  • नेपालले खेल्ने खेलहरुले पनि ओडिआई मान्यता पाउनेछ। (सबै खेलले भने हैन, ओडिआई मान्यताप्राप्त राष्ट्रसित खेलेका खेलले मात्र)
  • खेलाडीहरुका रेकर्ड यसअघि ओडिआईभन्दा मुन्तिरको ‘लिस्ट ए’ मा मात्र रहने गरिन्थ्यो भने अब चाहिँ ओडिआई मान्यता नै पाउनेछ।
  • वर्ल्ड क्रिकेट लिग सँगै चार दिनको इन्टरकन्टिनेन्टल कप समेत खेल्न पाउनेछ। इन्टरकन्टिनेन्टल कप जित्न सके टेस्ट स्टायटससमेत पाइन्छ।
  • यस्तै एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालले सहजै सहभागिता पाउन सक्छ। जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।
  • ओडिआई मान्यता पाउने टिमले आइसीसीबाट पनि ठूलो फण्ड (वार्षिक ७ करोडसम्म) सहयोग पाउनेछ। यो रकमबाट नेपालले स्तरीय विदेशी प्रशिक्षक ल्याउने, खेलाडीहरुको तलब भत्ता लगायत सेवा सुविधा नियमित दिने, अभ्यास खेलका लागि विदेश भ्रमण गर्न सहज हुने फाइदा पनि हुन्छ। तर यो सबका लागि सरकारबाट हस्तक्षेप भएको भन्दै आइसिसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुनुपर्छ। नत्र फन्ड आइसिसीले नै चलाउँछ।

2 thoughts on “आज ऐतिहासिक दिन : नेपालले पहिलो ओडिआई क्रिकेट खेल्दै, कहाँ कसरी हेर्न सकिन्छ खेल?”

  1. Ratna Thapa says:
    August 1, 2018 at 10:31 am

    सुखद समाचार | हेर्ने पर्छ लाइभ |
    हाम्रा केटाहरुले घर बारीमा दुइ चार डल्ला के फ्याँकेका थिए, आज ओ.डी.आइ. मा मुलुकको शान देखाउने छन | जीत र उत्कृष्ट प्रदर्शनको अग्रिम शुभकामना |

    Reply
  2. Shankar says:
    August 1, 2018 at 9:46 am

    के खेलकुद र अरु येताउतिको कुरा गर्नु , तेत्रा तेत्त्रा आन्दोलन र परिबर्तन भयो भनिन्छ , तर नेपाल को कुनै अफिस को कार्यसैली , भ्रास्ताचार , धाँदली ३ गुणा बढेको छ , हिजो का प्रजातन्त्र लेउन र गणतन्त्र लेउन जिउ ज्यान गरका भनिएका प्रचण्ड , ओली , बाबुराम , बिद्या भण्डारी हरुको को रबैया हिजोका सामन्त राना , शाह हरु भन्दा कम छैन | गिरिजाले जस्तै , प्रन्च्दले पनि छोरी लाइ धाँदली गरेर्रै भएपनि लेराइ छोड्यो | यो भारत मा गान्धी न भैं हुने , पाकिस्तान मा भुट्टो , नेपाल मा कोइराला , दहाल के हो यो ?
    तेस्रो विश्वको जनता भेडा हो कि ?
    बिकासको गफ मात्र , अफिस हरु उस्तै , देश को रुढिबादी , चाल चलन उस्तै गरिब मरेको मरेइ यहि हो एमालेको जनबाद र प्रचण्ड को प्रचण्ड पथ?
    एउटा छोटो बाटो बन्न लागेको बर्सौ सकिंदैन , बनेको भोलि भत्कन्छ ( जस्तोकि किर्तिपुर छिर्ने नया बाटो नै भनम ), पुरा देश गोविन्दको भोक हड्ताल मा , गोनिन्द्ले ठेक्का लिएको छ ?
    के क्रिकेट , बिस्वकाप को कुरा गर्नु ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme