Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’बाट राजीनामा दिएका हरिबहादुर थापा ‘अन्नपूर्ण पोस्ट’का सम्पादक

Posted on July 31, 2018August 1, 2018 by Salokya


नेपालको ब्रोडसिट मिडियामा उथलपुथलको क्रम जारी छ। कान्तिपुर दैनिकबाट सुधीर शर्माले राजीनामा दिएपछि नारायण वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरेपछि सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका थिए। कान्तिपुरको पछिल्लो वार्षिकोत्सवमा सम्पादक नियुक्त गरिए पनि उनको नाम प्रिन्टलाइनमा कहिल्यै आएन। नारायण वाग्लेलाई नियुक्त गरेको दिनदेखि नै काम गर्न छाडेका थापाले ११ दिनअघि आफ्नो राजीनामा स्वीकृत भएको ट्विटरमा लेखेका थिए। २६ वर्षसम्म कान्तिपुरमा काम गरेका थापाले भावी दिनमा पत्रकारितामा सक्रिय उपस्थिति रहने बताएका थिए। नभन्दै मंगलबार थापा अन्नपूर्ण पोस्टमा सम्पादक नियुक्त भएको अनौपचारिक खबर आएको छ। औपचारिक खबर शायद् भोलि अथवा पर्सिको पत्रिकामा छापिन सक्छ। अन्नपूर्णको प्रकाशक संस्था नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिको बोर्ड बैठकले औपचारिक नियुक्त दिन बाँकी छ।

अन्नपूर्ण पोस्टमा युवराज घिमिरेको कन्ट्र्याक्ट सकिएपछि रिन्यु नहुने भएपछि घिमिरेले राजीनामा दिएका थिए। त्यसपछि राजाराम गौतम  गएको साउन ८ गते सम्पादक नियुक्त भएका थिए। गौतम पनि पहिला कान्तिपुरमा नै काम गर्थे। साउन ८ गते नै कन्ट्र्याक्ट सकिए पनि व्यवस्थापनले रिन्यु नगरी हरिबहादुर थापालाई ल्याउन लागेको थाहा पाएपछि गौतमले राजीनामा दिएका हुन्।

खासमा अन्नपूर्ण पोस्टका हालका साहु रामेश्वर थापा पनि कान्तिपुरबाटै टुक्रिएर आएका हुन्। कैलाश सिरोहिया र विनोदराज ज्ञवालीमा फुट आएपछि सिरोहियाले ज्ञवालीलाई कान्तिपुरको सेयरवापतको ७५ करोड रुपैयाँ दिई विदा गरेका थिए। उक्त रकमका लागि सिराेहियाले नयाँ साझेदारका रुपमा क्याप्टेन रामेश्वर थापालाई भित्र्याएका थिए। तर थापा र सिरोहियाको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन।

अन्ततः कान्तिपुर पब्लिकेशनलाई साढे दुई अर्ब रुपैयाँ मूल्यांकन गर्दै रामेश्वर थापालाई ६१ करोड रुपैयाँ दिएर विदा गर्ने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भयो। थापाको २४.६ प्रतिशत सेयर थियो। तर थापाले रकम नपाउँदै प्रिन्ट लाइनबाट उनको नाम हटेपछि उनको बहिर्गमन तीतो भएको थियो।

एउटै हाउसबाट छुट्टिएका हुनाले दुई प्रकाशनबीच चर्को प्रतिस्पर्धा छ। यही मौकामा कान्तिपुरमा २६ वर्ष बिताएका हरिबहादुर थापालाई अन्नपूर्णले स्वागत गरेको हो। थापासँगै कान्तिपुरबाट केही पत्रकार पनि अन्नपूर्ण जाने कुरा आएको छ। तर को को पत्रकार जाने भन्ने चाहिँ अहिले नै खुलिसकेको छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme