Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपराध गर्‍यो, यसलाई फाँसी दिऊँ मात्रै भनेर महिला सुरक्षित हुने छैनन्

Posted on July 29, 2018 by mysansar

-सुधन महत-


हाम्रो मुलुकमा हिजो-आज नलेखिएको कुनै कथा छ भने त्यो एकान्तको छ। समाजको परिवर्तनसंगै हामीले बिशेषत: हाम्रा छोरी, चेलीहरुले भोगेको र देखेको ईतिहासका अनेक जीजिविषाको फिल्टर्ड अस्तित्व कतै छ भने त्यो एकान्तमा छ।

एकान्त र मौनता परिस्थिअनुरुप असल र खराब, भय र रौष, आशा र निराशामा बद्लिरहन्छन्। जस्तो चैत्यको मौनता र मशानको एकान्त, एकान्तको रासलिला र मुख छोपिएको मौनता पछाडिको हिंसा, यी चलायमान् छन् समयको गतिसंगै, यात्रा सन्तुलनमा जारि रहनुपर्दछ अन्यथा दुर्घटना अवश्यम्भावी छ। यो लेख मुख्यत: हिजोअजा दिनहुँ मात्रामा छापामा आईरहने नारीप्रतिको यौनहिँसाको सानो विश्लेषण र तिनमा एकान्त, मौनता र राज्यको भूमिका केलाउने कोशिश गरेको छु।

मेरो नजिकको एकजना महिला साथी छिन्, उनलाई एकान्तमा रहंदा पुरुषको अचानकको आगमनले भयाक्रान्त बनाउछ भन्छिन्। उमेरको निकै वसन्त पार गरिसक्दा र शिक्षा तथा चेतनाको दिप्ती उनमा प्रशस्त रहंदा समेत उनको स्पन्दनको एक कुना अझैं डराईरहन्छे रे पुरुषार्थको गलत प्रयोगदेखी। बालापनमा एकान्तमा पुरुषको नबुझिने वासनाको शिकार भएकी उनलाई त्यो एकान्तको छायाँले अझै सताईरहेको हुन्छ भन्छिन्। १०।१२ बर्षको छदाँ उनलाई ति पुरुषले एकान्तमा वालसुलभता आत्तिने गरी गरेको व्यबहारले मानसिक रूपमा पारेको विक्षिप्तता आज पर्यन्त मेट्न गार्हो भएको छ भन्थिन्।

सहरको डिस्को थेकमा होस् या गाउँको पुजामेलामा, त्यहाँ रमाईरहेको कति धेरै भयभित रहंदा हुन् त्यो मनोरंजन समाप्त पश्चातको एकान्त देखी, शुन्यता देखी? राज्यले त्यो भयग्रस्त हृदयको आवाजलाई सम्बोधन गर्ने कसरी?

नारीलाई साधारणतया: कमजोर ठान्नु, घर गृहस्थीमा सिमित रहनु कर्तव्य ठानिनु र अन्य विभिन्न प्रकारका भेदभावहरु कुनै प्राकृतिक प्रणालीको कुरा हैन यो त सदियौं देखिको विकासक्रम अन्तर्गत आजको संक्रमणकालीन पुजीवांदी व्यवस्था सम्म आईपुग्दा समष्टिमा निर्माण र विस्तार भएको सामाजिक भौतिक संरचना हो जहाँ वर्तमानमा पूंजीवादको चरम व्यापकताले झन् मानवीय संबन्धमा स्खलन, प्रेमको बजारीकरण र उत्पादन संबन्धमा महिलाको सिमित पहुँचताले पैदा गरिदिएको बिकराल आयामहरु हुन्। आज नारीप्रतिको यौन हिंसा बर्गीय विभाजनको परिणाम मात्र हैन न त यो अमानवीय र समाज बिरोधी मानसिकता मात्र हो बरु यो त समाजको उपरी भौतिक संरचनामा इतिहासको विकासक्रममा पुरुष सत्ता स्थापना पश्चात् निरन्तर रूपमा चलिरहेको लिंगीय विभाजनको समस्या हो। पुरुषले ईतिहासको निरन्तरतामा आर्जेको पुरुषवादी दम्भलाई प्रश्रय गर्ने शक्तिको प्रदर्शन हो। हामीले समाजको वर्तमान संरचनाद्वारा कसरी नारी प्रतिको तमाम् हिंसा हुने गर्दछन् भन्ने विश्लेषण यदि गर्यौं भने वैकल्पिक समाज र व्यवस्थाको कल्पना गर्न सक्दछौं जहाँ नारीको समानता, सहभागिता र त्यसको फलस्वरूप हिंसा शुन्य समाज निर्माण हुनेछ।

६० काटेको वृद्धलाई ७।८ बर्षकी फूलझैं सुन्दर नातिनीलाई यौनजन्य कुण्ठाको साधन बनाउन केले प्रेरित गर्यो? दिनहुँ घटिरहेको यस्तै प्रकृतिको घटनालाई यदि अपवादको रूपमा मात्र लियौं भने हाम्रो पुरुषार्थ मात्र डुक्रेको ठहरिन्छ नकी कुनै गम्भीर संश्लेषण। जीवनको उत्तरार्द्धमा पुगेको मानिसमा एकान्तलाई आतंकित पार्ने गरी त्यो कुसोचको अभ्युदय कसरी हुन पुग्यो? यो तिनको व्यक्तिगत जघन्य अपराध मात्रै हो या समाजको संरचनाद्वारा उत्पादित प्रतिनिधि घटना?

अपराध गर्यो यसलाई फाँसी दिउँ मात्रैले आउने अन्य एकान्तहरु सुरक्षित हुने छैनन्। सजायं एउटा पाटो हो र त्यो अत्यन्त कडा हुनैपर्दछ त्यसमा दुईमत छैन तर सजायंको भयले अपराध कम मात्र हुन्छ, निमिट्यान्न हुन्न र यस्ता कुकृत्य निमिट्यान्न हुन नसक्ने समाजको निर्माण र विकास हामी यदि गर्दैछौं भने यो आधुनिक विश्वमा बाचेको हाम्रो देशको पितृ-सत्तात्मक राज्य-व्यवस्थाको अर्को विजय मात्र हुनेछ जहाँ समानताका नाराहरुले एकान्तमा आत्महत्या गर्नेछन् र यौन-हिंसा प्रती हाम्रो मौन सम्मती ठहरिनेछ। यसर्थ महिला समानताको पक्षमा लड्ने जो कोहिले यौन हिंसाको न्यूनीकरण हैन अन्त्यको नारा घन्काउन जरुरी छ र सोही अनुरुपको समाज परिवर्तन तर्फ लाग्नु पर्ने छ।

समाजशास्त्रीय र मनोबैज्ञानिक अध्ययनको बिषय हुन सक्दछ समाजमा यौनकुण्ठाको घटनाहरु। यौन कुण्ठा प्रदर्शन नियन्त्रणमा कानुनका दफाहरू सजायं उल्लेख गरेर भरिन सक्छन् तर कुण्ठा उत्पादनको पुरुष मस्तिष्क कारखाना र कुण्ठा निर्माण गर्न सहयोग पुर्याउने व्यवस्थामै परिवर्तन नगरेसम्म यसको अन्त्य हुन कठिन छ। यहाँ भारतमा बलात्कारीलाई फाँसी दिईने सजाय र त्यहाँको बलात्कारको तथ्यांक मननयोग्य छ।

हामीले समस्याको मूल जरो कहाँ छ त्यो पत्तो लगाउनु प्रथमत: आवश्यक हुन्छ। यौन संबन्धमा हामीले विविध संस्कृति, मूल्य मान्यता, पुस्तक, मिथद् आदीद्वारा दिईने चेतना, विवेक वा शिक्षामा कमजोरी छ अथवा हाम्रो समष्टि दर्शन र प्रचलित समाजको संरचनामै दोष छ?

पत्र-पत्रिका माध्यम हुन् घटनाका तर पूर्ण तथ्यांक होईनन्। यौनहिंसाको घटना घर-पिछे, टोल पिछे, गाउँ पिछे भईरहँदो हो नियमित रूपमा। समाचार नभएका घटना थुप्रै छन् समाचारमा आएका भन्दा। एकान्त जताततै ब्याप्त छ र पुरुष-शक्ति कहीं कतै एकान्तको प्रतिक्षामा रहँदो हो हरदम आफ्नो कुण्ठा अभिव्यक्त गर्न। के पुरुषले एकान्तको दुरुपयोग गर्ने नसक्ने सामाजिक संरचनाको निर्माण असम्भव छ? एकान्तमा नारीहरु विस्फारित नजरले हैनन् कि मन्द मुस्कानसाथ रमाउन सक्ने सुन्दर एकान्तको निर्माण सम्भव छ? ६० बर्षको व्यक्तिमा स्वाभाविक रूपमा उब्जने यौन तृष्णालाई मनोरोग हुनबाट जोगाउने कुनै उपाय छ?

म ति साथी सम्झन्छु र सम्झन्छु तिनको एकान्तपन अनि कठोर मौनता। प्रकृतिले मानवको निम्ति बनाएको धर्तीमा हामीले विभेदको समाज निर्माण गर्यौं। पुरुषले शक्तिको प्रतिक बन्ने लहडमा आफ्नो हर आवश्यकता पूर्तिको माध्यम नारीमा उपयोग गर्यो, कुण्ठाको शिकार निम्ति समेत उपयोग गरिरहेछन् आजको आधुनिक यूगमा, सुषुप्त र खुला रूपमा।

हिंसाको शिकार समाचार हुदाँ पीडक कठघरामा उभिन्छन् तर त्यसले पिडितको मानसिक आघात केही मात्र कम हुन्छ तर यहाँ त हजारौं एकान्तलाई अँध्यारोको गर्भमा लुकाईन्छ र पिडित जीवनभर मौनतामा मरिरहन बाध्य हुन्छन्। त्यो अँध्यारोमा प्रकाश दिने कसरी?

के हाम्रो मान्यता, संस्कृती, सिकाई पर्याप्त छन् उज्यालोको लागी? अथवा खोट छन् हाम्रा मान्यताहरुमा र सुधार गर्नुपर्दछ तिनमा वा नयाँ मान्यताहरु केही थप्न जरुरी छ? बन्न लागेको संबिधानमा यी कुराहरु सम्बोधन गरिनुपर्दछ। दोषीलाई सजायं कम गरेर अमिल्दो नाटक मन्चन गर्नु सट्टा त्यसलाई अझ बढाएर सकेसम्म समाजमा त्यस्तो घटना नघट्ने गरी संरचना निर्माण गरिनु पर्दछ। तर अपराध घट्छ, सजाय हुन्छ अथवा मानौं फाँसी नै हुन्छ तर के यस्तो एकपक्षीय सजाय मार्फतको सुधारको यत्नले हाम्रो समाजलाई झन झन् निरिह त बनाईरहेको छैनौ जहाँ सजायको तह बढ्दै जाँदा हिंसाको घट्दो अनुपातको सट्टा त्यसमा त्यसको बढोत्तरी भईरहेको होस्। जसको कारण छोरी, चेली झन् झन् अँध्यारोको गर्तमा, आँसुको आहालमा डुबिरहनु परेको छ।

यसर्थ सुन्दर समाजको निर्माणार्थ सचेत रुपमा घटना नियन्त्रण र न्युनिकरण भन्दा अन्त्य गर्ने तर्फ उन्मुख हौं जहाँ कोही नारीलाई भय नलागोस् समाजको एकान्तदेखी जहाँ प्रकाश पुग्न गार्हो नहोस् र प्रकाश छेक्न हामी पितृसत्तात्मक व्यबस्थाको प्रतिनिधि उद्यत नहोऊ। (Mar 22, 2015 मा पहिलो पटक प्रकाशित)

1 thought on “अपराध गर्‍यो, यसलाई फाँसी दिऊँ मात्रै भनेर महिला सुरक्षित हुने छैनन्”

  1. madan man bajracharya says:
    July 30, 2018 at 9:47 am

    नेपालमा बढी रहेको यौन, घातक हतियारको प्रयोग गरेर कसैको हत्या बा घाईते बनाउने, जथाभावी र ट्राफिक नियम बिपरित गाडी चलायर मान्छे किचाउने र घाईते भयमा उपचार खर्च तिर्न बात बच्न गाडिने ब्याक गरेर किचाउने अपराध बढेको मूल कारण फितलो कानुन र न्यून सजाय नै हो/ अरु देसमा तेस्तो अपराध गरेमा के सजाय हुन्छ त्यो अध्ययन गरेर नेपालमा तेस्तो अपराध गर्नेलाई बरु फाँसी को सजाय्नै पायको भय हुने भनेर रुनै पर्ने सजायको ब्यबस्था गर्नु पर्छ/

    नेपालमा ठुलो ठुलो अपराध गर्न नहिच्किचाउने अर्को कारण पनि छ; त्यो हो अपराधि सिट मिला पत्र गराउने; उजुरी नपरे अपराध भयको कानुन मिच्चियको जानकारीमा आय पनि प्रहरी निस्क्रिय हुने/ अपराध भयको बा कानुन मिच्चियको जानकारी भयमा उजुरी नपरे पनि प्रहरीले कार्यवाही गर्नु पर्छ र प्रहरीले अपराधको आरोपमा समाईसके पछि अदालतले मात्रै निर्णय गर्न सकिने नियम बनायको खण्डमा राजनैतिक पहुँचको आधारमा कुनै पनि अपराध गर्न नहिच्किचाउने समेत तर्सिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme