Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : मलमासको अन्त्यमा

Posted on July 28, 2018 by mysansar

– केडी रेम्नीसीङ –

‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान ।

आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् । तर के जान्छ र उनको यदि आफैँ जल्न आउँछ भने उनको पैसा सिद्धयाउने, मोज गर्ने अन्तमा आफ्नो बाटो लाग्ने । धरान जस्तो रहरले आकाश चुम्ने शहरमा यस्ता दुधालु गाई भेटाउनु भाग्यको कुरा हो सिमरन जस्ता केटीका लागि । सिमरन समयमै भानुचोक आइपुगिन् । इन्द्रको बाइक पछाडि चढेर पुगिन् पिण्डेश्वरी, पञ्चकन्या र बुढासुब्बा । इन्द्रकै आग्रहमा बुढासुब्बाको दुई धागा बाधिए देब्रे नाडीमा । साँझ उसले दिएको आइफोन उपहार स्वीकार्दै पुगिन् आफ्नो कोठा ।

कोठामा हुनेवाला भाउजू आइसकेकि रहिछे । साढे दुई वर्ष भयो दाइ भाउजूको परिचय भएको । आदर्श प्रेम गर्छन् उनीहरू, मगनी नि भयो यो पाली । प्रेमपछि सबैले प्रेम विवाह गर्छन् तर उनीहरू प्रेमपछि नि मागि विवाह गर्दैछन् । फोन आयो इन्द्रको, भाउजूले शंका गरी, सोधी ‘नानी कोहीसँग चक्कर छ चलेको छ कि क्या हो ।’

जवाफमा हाँसेर भनी ‘फसाउनु र खाइदिनु मात्र हौ । यस्ता केटाहरू, आफैँ जल्न आउनेलाई काँध हाल्न सकिँदैन रामराम भन्ने मात्रै हो ।’

चुप लागिन् हुनेवाला भाउजू । सायद आफूले पूर्णरुपमा भाउजूको दर्जा प्राप्त नभइसकेकोले नि होला । दाइलाई फोनमा भनिन् ‘सायद नानीले गलत गर्दैछिन्, यस्तो उस्तो भन्छे तर केटीको जिन्दगी सादा कागज हो । दाग लागेपछि मेटिन्न । फसाउछु भनिन्छ, फसिन्छ । मैले सम्झाउने आँट गरिनँ, सक्नुहुन्छ भने सम्झाउनु ।’

‘गाउँ जान लागेको, बाटो खर्चले नै नपुग्ने भो ।’ सिमरनले फोनमा समस्या पोख्दै थिइन् । बेला–बेला फोनमा रिचार्ज गरिदिने हुनाले सकरात्मक आशाले फोन गरेकी थिइन् सिमरनले । आशा अनुरुप नै इनद्रले कति चाहिने कुरा सोध्यो ।

‘दश हजार, तर फर्किने वित्तिकै फर्काउछु ।’ सिमरनको जवाफमा भानुचोकमा भोलि भेट्ने र त्यहीँको सिनेमा हलमा चलेको नेपाली फ्लिम अन्दाज हेर्ने र पैसा पनि दिने सल्लाह भयो उनीहरूको । एक प्रकारले दुवैले मौकाको फाइदा उठाउँदै थिए । ‘छिट्टै फर्किनु है, मलाई एक्लो फिल हुन्छ ।’ भन्दै इन्द्रले सिमरनको हातमा दश हजार होइन बीस हजार थमाइदिए ।

‘हजुरको श्रीमतीसँग बस्नु न’ भन्दै पैसा लिइन्, ‘थ्याङ्कस् ।’

होटलको एक कुनामा फ्लिम पछिको चाउमिन टाइममा संवाद हुँदै गर्दा इन्द्रले उनको परिवारको एक रहस्य खोले, ‘तिम्रो र मेरो यो दोस्तीले हामी श्रीमान् श्रीमतीको बोलचाल कम भएको करिव तीन महिना भयो । सधैं लिएर आइज, घरमै राख भन्छे । साथीमात्र हौँ भनेको तर नबुझेपछि दुईचार रेस्लिङ गइसक्यो हाम्रो ।’ सिमरनको मन हलचल भो । ‘सरी, हामी बिस्तारै टाढिनुपर्छ ।’ सिमरन लाउरे टोलतिर बिस्तारै विलाइन् । इन्द्रले देखेसम्म उनको आँखालाई सिमरनको पछि लगाए ।

गाउँ गइन् सिमरन केही समयको लागि, इन्द्रले धरान बसेर फोन बारबार गर्ने तर नेटवर्कको कारण सम्पर्क गाह्रो हुने । एकदिन सिमरन कोलाम साइबर क्याफेमा पुगिन् । फेसबुकमा केही सेल्फी अपलोड गरिन् । उति नै खेर देखा पर्यो इन्द्र, ‘कता हराको? फर्किने बेला भएन?’ जवाफमा कलेजको एक्जाम हुने बेलामा मात्र धरान झर्ने कुरा गरिन् । उताबाट चाँडै तिम्रो गाउँ आउँदैछु भन्ने कुरा निस्केपछि सक्छौ भने आऊ भनेर नपत्याएको भाव पोखिन् ।

फेसबुक च्याटको एक हप्तापछि आफ्नो ढोकामा इन्द्र आइपुगेको देखेपछि सिमरन एकछिन त सपना विपनामा अन्यौलता छायो तर यो यथार्थ नै भएको स्वीकारेपछि उही पुरानो पुनरावृत्ति भयो । त्यो रात इन्द्रले घर छोडेपछि सिमरनले एकपल्ट मनैदेखि सोचिन् आफ्नो जीवनलाई । उनले आफ्नो शरिर चोखो रहेकोमा मात्र गर्व गरिन्, बाँकीमापश्चात्ताप गरिन् । उनको सधैंको मनको कसम सम्झिन्, मन र शरिर त्यसलाई हो जोसँग जीवन बिताइन्छ ।

धरान फर्किँदासँगै फर्कने कुरामा दुवैको सहमति भयो तर यो कुराको गोप्यता कायम राख्न दुवैले केही साथको त्याग गर्नै पर्यो । बस समाउने ठाउँसम्मको एकल यात्रा पछिसँगै भए दुवै । जाँदै गर्दा इन्द्रको अचानक प्रस्ताव आयो भेडेटार घुम्ने । निश्चिन्त समर्थन गरिन् सिमरनले, इन्द्रले सोचेभन्दा सजिलो तरिकाले । भेडेटारको दृश्यावलोकनपछि नजिकैको पाथीभरा मन्दिर घुम्न गए तिनीहरू । पाथीभरा मन्दिरभन्दा पनि त्यहाँसम्म पुग्ने बाटो बढी रोमाञ्चक रहेछ । पाथीभरा मन्दिरमा झूण्डिएर रहेको अनगिन्ती घण्टीहरूको एकनासको टिनिनी आवाजले वातावरण मदमस्त भो । फर्किदैँ गर्दा अचानक इन्द्रको आवाज आयो जुन सिमरनको लागि अकल्पनीय थियो ‘आई लव यु सिमरन ।’

सिमरन तुरुन्त बोलिन् ‘आई डन्ट नो’

दुवै चुप लागे केही वेर, अनि सामान्य कुराकानीको सुरुवात गरे इन्द्रले । ‘मलाई गलत नसम्झनु तर किन–किन तिम्रो याद मात्र आइराख्छ सदा–सदा । तिम्रो यादमा जलेर म कति पनि बस्न सक्दिनँ, तिम्रो घरसम्म आएँ, तिमीबाट टाढा एकछिन पनि बस्न नसकेर । तर अन्यथा नठान सिमु ।’ सिमु शब्दले सिमरन भावुकमाथि भावुक भई ।

आज राजारानी जाने र भोलिमात्र धरान फर्किने सल्लाहमा सिमरनले केही अस्वीकारोक्ती व्यक्त गरिन् तर इन्द्रको जवरजस्तीलाई टार्न असफल रहिन् । राजारानीको दृष्यावलोकन पछि भोलिपल्ट साँझ भेँडेटारसम्म फर्किए बास बस्न । भेँडेटारको एक होटल बुक गरे । बेलुका खाना अघि एक–एक विएर खाए । खानापछि अर्को एक–एक अनि सेयरमा एक । पुरै पुग्यो सिमरनलाई, तर इन्द्रको प्यास मेटिन बाँकी नै रह्यो ।

विहानै विउँझिए दुवै, सिमरनले होस सम्हाली तर उनी थिइन् इन्द्रको बाहुपासमा । अकल्पनीय वास्तविकता । इन्द्रले बिएर खाएर बाँकिरहेको प्यास पनि मेटेको थियो । सम्पूर्ण आफू गुमाएर उनी कुनै संसारमा थिइन्, सायदै । मलमासको अन्त्य भएको थियो गत रातै । (साभार : लेखकको ब्लग)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme