यो धेरै अगाडि हैन, १२ वर्षमात्रै अगाडिको फोटो हो। त्यतिबेला अहिलेभन्दा बेसी वर्ल्डकप लाग्थ्यो काठमाडौँमा। गल्लीका घरघर विश्वकपमा सहभागी देशका झण्डाले ढाकेका हुन्थे। अनि बेचिन्थ्यो नेपाली समय अनुसारको टाइसिट। अहिले यस्तो टाइसिट कसैले बेच्दैन। अनलाइन पाइन्छ सबै। गुगलमा world cup मात्र टाइप गर्यो भने जुन ठाउँमा बसेको हो, त्यही देशको समयसहित खेल तालिका, लाइभ स्कोर, अङ्क तालिका सबै हेर्न पाइने सुविधा अहिले छ। अहिलेको विश्वकपसित पहिलेका विश्वकपहरुको तुलना गरी एकछिन पुराना कुरा सम्झिउँ न त।
ब्ल्याक एन्ड ह्वाइट टिभीदेखि एचडीसम्म
सन् १९८६ को वर्ल्डकपको बेला धेरैसित टिभी थिएन। केहीले ब्ल्याक एन्ड ह्वाइट टिभीमा हेरेका थिए। सन् १९९० को वर्ल्डकपसम्ममा त धेरैको घरमा टिभी भइसकेको थियो। राति अबेरसम्म जागै बसेर वर्ल्ड कप लाइभ हेर्नका लागि फुटबलप्रेमीहरु तम्तयार हुन्थे। त्यतिबेला टिभी च्यानलको भने अरु विकल्प थिएन नेपाल टेलिभिजनबाहेक। नेपाल टेलिभिजन हेर्न टेलिभिजनको दुई वटा सिङ तान्ने एन्टिना वा डाइपोल वा भर्याङ जस्तो एन्टिना र बुस्टर भए पुग्थ्यो।
तर अहिले जमाना फेरिएको छ। शायदै नेपाल टेलिभिजनमा कसैले वर्ल्डकप हेरे होला। किनभने विकल्प छ एचडीको। स्याटेलाइट च्यानलहरु। नेपाली च्यानलहरु नै एचडी भइसके। यस पटक कान्तिपुर टिभीले एचडीमा वर्ल्डकप लाइभ गर्यो। केबल टिभी वा डिटिएचबाट मात्र हैन इन्टरनेटबाट समेत टिभी हेर्न सकिने भयो यसपालि। अब भविष्यमा के होला त? के आगामी वर्ल्डकपहरु हामी फोरकेमा हेर्छौँ होला त?
लोडसेडिङ बिनाको वर्ल्डकप
यस पटकको विश्वकपको एउटा सुखद परिवर्तन कुलमान घिसिङका कारण भयो। कसैले सोच्दै नसोचेको हिसाबले लोडसेडिङ हटेपछि धेरै समयको अन्तरालमा लोडसेडिङ बिनाको वर्ल्डकप हेर्न पाइयो। नभए वर्ल्डकपका कुन खेलमा लोडसेडिङ हुन्छ कुनमा हुँदैन भन्ने अलग्गै तालिका आवश्यक हुन्थ्यो।
५५ इञ्चको स्मार्ट टिभी
बीचमा टोलटोल र चोकचोकमा प्रोजेक्टर लगाएर वर्ल्डकप लाइभ हेर्न थालियो। यस पटक त वर्ल्डकप हुनुअघि नै काठमाडौँका सिडिओले सूचना नै निकालेर तर्साए। तैपनि केही ठाउँमा त प्रोजेक्टर राखेर नै हेरियो। तर उतिबेला जस्तो प्रोजेक्टरको रौनक अहिले रहेन। हरेक वर्ल्डकपमा टिभीको राम्रै व्यापार हुन्छ। यस पटक सबैभन्दा चल्तीको टिभी रह्यो ५५ इञ्चको स्मार्ट टिभी। एचडी क्वालिटीमा घरमै स्पष्टसित मजाले टिभीमा लाइभ हेर्न छाडेर प्रोजेक्टरको धमिलो स्क्रिन पनि शायद नरुचाएका हुनसक्छन् धेरैले। तर समूहमा बसेर हल्ला गर्दै फुटबल हेर्नुको रमाइलो बेग्लै हुन्छ। त्यसैले रेस्टुरेन्टहरुमा र चोकचोकमा प्रोजेक्टर हराइसकेको भने छैन।
तत्काल समाचार
त्यतिबेला वर्ल्डकपको समाचार, फोटो पाउन पनि गाह्रै थियो। राति अबेर हुने खेलको समाचार भोलिपल्ट हैन, पर्सिपल्टको पत्रिकामा छापिन्थ्यो। राम्रा राम्रा फोटोहरु हेर्न त स्पोर्टस् स्टार नामको खेल पत्रिका नै कुर्नुपर्थ्यो। लाइभ खेल छुट्यो भने हाइलाइट्सका लागि नेपाल टेलिभिजनकै कार्यक्रम कुर्नुपर्थ्यो। अहिले भने फिफाको वेबसाइटमा तत्कालका तत्काल फोटो हेर्न पाइन्छ। गुगलले पनि लाइभ अपडेट राखेको थियो। फिफाको युट्युब च्यानलमा खेल सकिएको केही समयमा नै हाइलाइट्स हेर्न पाइन्छ। नेपाली अनलाइनहरुले खेल सकिएलगत्तै समाचार राखे। पितुर्के विश्लेषण सामाजिक सञ्जालमा प्रशस्त हेर्न पाइन्छ भने विज्ञहरुको गतिलो विश्लेषण विदेशी अनलाइनहरुमा। खेल सकिएपछि र हुनुअघिको पत्रकार सम्मेलन फिफाको युट्युब च्यानलमा लाइभ हेर्न पाइन्थ्यो। कुन देशको पत्रिकामा के छापियो भनेर त ती देशका पत्रिकाको फोटोसहित माइसंसारमै पढ्न पाइयो।
प्रविधिमै पनि फरक
हाम्रोतिर मात्र हैन फुटबलकै प्रविधिमा पनि फरक भइसक्यो। गोल भयो कि भएन थाहा पाउन गोललाइन टेक्नोलोजी, विवादास्पद निर्णय नहोस् भन्नका लागि भिडियो एसिस्टेन्ट रेफ्रीले भिडियो रिप्ले गर्दै गर्ने निर्णय, फ्रिकिक दिँदा रेफ्रीले लाइन कोर्ने जस्ता नयाँ कुरा फुटबलमा थपिएका छन्।
तपाईँले पनि यस्तै केही फरक अनुभव गर्नुभएको भए कमेन्टमा लेख्न सक्नुहुन्छ।
विश्वकप फुटबल खेल विगतमा नेपाल टेलिभिजनबाट देखाइँदा खासगरि सूर्य टोबाकोका रचनात्मक विज्ञापन पनि बिर्सन सकिँदैन । खासगरि झोलुंगे पुलमा अड्किएको मानिसको उद्धार तथा नुवाकोट दरबार यात्रा र बाँसुरी बादक ।
पितुर्के न्युज नै भनिनहाले हुन्थ्यो कि !
सन् २००२ को फिफा वोर्ल्ड्कप फाइनल हेर्न ओखल्ढुङ्गा बजारबाट-कटुन्जे-घोराखोरी- साघुटार-दुरागाउ हुँदै रामेछापको मन्थलीसम्म करिब २०-२२ घण्टा पैदल हिंडेको याद आयो।