Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडियामा रोचक प्रतिस्पर्धा : कान्तिपुरमा भारतीय म्यानेजर आउँदै गर्दा नयाँ पत्रिका सस्तो

Posted on July 14, 2018 by Salokya


नेपालको मिडिया बजारमा रोचक प्रतिस्पर्धा हुन थालेको छ। उता देशको एक नम्बर पत्रिका कान्तिपुरमा भारतीय म्यानेजर आउन लागेको र त्यही विवादमा दुई प्रधान सम्पादकहरुले राजीनामा दिएर नयाँ सम्पादकले कार्यभार सम्हालेकै दिन यता नयाँ पत्रिकाले आफ्नाे बिक्री मूल्य ५० प्रतिशतले घटाएको छ। अब नयाँ पत्रिका किन्न १० रुपैयाँ हैन ५ रुपैयाँ भए पुग्नेछ।

त्यसो त नेपालका चलेका पत्रिकाहरुले मिलेमतोमा सात वर्षअघि (डिसेम्बर १३, २०११) दोब्बरले भाउ बढाएर १० रुपैयाँ बनाउँदा नयाँ पत्रिका त्यसमा सहभागी थिएन। कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टले मिलेमतोमा भाउ बढाएका थिए। तर नाकाबन्दीका बेला खर्च धान्न गाह्रो भएको भन्दै नयाँ पत्रिकाले पनि भाउ १० रुपैयाँ बनाएको थियो। अहिले एक्कासी समाचार र विचारमा नयाँपन दिने र बिक्री पनि राम्रै भइरहेको नयाँ पत्रिकाले भाउ घटाउँदा प्रतिस्पर्धी पत्रिकाहरुको प्रतिक्रिया के हुने हो, हेर्न बाँकी छ।


कान्तिपुरले भारतको टाइम्स अफ इन्डियाको प्रकाशक कम्पनी बेनेट कोलमेन एन्ड को लिमिटेडमा डाइरेक्टर अफ रेस्पन्समा कार्यरत रजनिश रिखीलाई अध्यक्ष कैलाश सिरोहियाभन्दा मुनि महाप्रबन्धक रहने गरी ल्याएर काम थाल्नुअघि नै नयाँ पत्रिकाले रणनीतिक चाल चलेको हो। त्यसो त अहिलेसम्म कान्तिपुरले भारतीयको नाम सार्वजनिक गरिसकेको छैन। तर ती व्यक्ति रजनिश नै भएको चर्चा भने चलिसकेको छ।

रजनिश यसअघि हेडलाइन्स टुडेको एड सेल्स एन्ड बिजनेस हेड थिए भने त्यसअघि हिन्दी च्यानलहरु आजतक, दिल्ली आजतक र तेजको चिफ रेभेन्यु अफिसर थिए। उनी बिसिसिएलको भाइस प्रेसिडेन्ट पनि भइसके।

मूल्य घटाउने घोषणा गर्दा नयाँ पत्रिकाका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्णज्वाला देवकोटा, जो एक जमानाका कान्तिपुरमै काम गर्थे, ले लेखेका छन्-

‘नयाँ पत्रिका’को सफलताको वास्तविक हकदार पाठक नै हुनुहुन्छ । मूल्य घटाएर हामीले हाम्रो सफलतामा पाठकलाई पनि हिस्सेदार बनाएका छौँ । ‘हरेक घरमा नयाँ पत्रिका’ हाम्रो अहिलेको संकल्प हो । हामीलाई विश्वास छ, केही साताभित्रै ‘नयाँ पत्रिका’ छापा माध्यमको इतिहासमै नेपालमा सबैभन्दा बढी बिक्री हुने पत्रिका बन्नेछ ।

संस्थाका हिसाबले यो निर्णय पक्कै चुनौतीपूर्ण छ । पछिल्ला दिनमा कागजको मूल्य करिब ४० प्रतिशत बढेको छ । तर, विज्ञापनको दायरा फराकिलो बनाएर पाठकलाई सहुलियत दिन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । निश्चय नै नयाँ पत्रिका टिम महत्वाकांक्षी छ ।

सातै प्रदेशबाट प्रादेशिक संस्करण सुरु गर्ने पहिलो राष्ट्रिय दैनिक बन्दा पनि हामी चुनौतीकै सामना गर्दै थियौँ । र, आज मूल्य घटाउने निर्णय पनि झन् चुनौतीपूर्ण छ । तर, आदरणीय पाठकको सद्भाव भएसम्म हामी यस्ता धेरै चुनौती सामना गर्न तयार छौँ । थोरै मूल्यमा उत्कृष्ट पत्रिका हाम्रो संकल्प हुनेछ ।

नयाँ पत्रिकाको कदमले मिडियामा फेरि प्राइस वार होला कि नहोला त्यो हेर्न बाँकी छ। तर इतिहासमा प्राइस वारकै कारण एक जमानामा कान्तिपुर तीन रुपैयाँ पाइन्थ्यो भने दि हिमालयन टाइम्स त एक रुपैयाँ मै पाइन्थ्यो। काठमाडौँ पोस्ट त कान्तिपुर १० रुपैयाँ भइसक्दा पनि तीन रुपैयाँ मै पाइन्थ्यो। विक्रम संवत् ५० को दशकमा यस्तै प्राइस वार हुँदा लोकपत्र दैनिक एक रुपैयाँमा बिक्री भएको थियो।

अहिले कान्तिपुर, नागरिक, अन्नपूर्ण, नेपाल समाचारपत्रलगायत सरकारी गोरखापत्रको भाउ पनि १० रुपैयाँ नै हो। अङ्ग्रेजी पत्रिकाको भाउ भने सस्तो छ। दि हिमालयन टाइम्स, काठमाण्डु पोस्ट, रिपब्लिकाको मूल्य पाँच रुपैयाँ मात्रै हो।

कान्तिपुर र नयाँ पत्रिकाको स्वघोषित ट्यागलाइन पनि रमाइलो छ। कान्तिपुर लेख्छ- नेपालमा सर्वाधिक बिक्री हुने राष्ट्रिय दैनिक। अनि नयाँ पत्रिका लेख्छ- पछिल्लो समय देशको सबैभन्दा लोकप्रिय राष्ट्रिय दैनिक।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme