खासमा मिडियाको चाबी कोसँग हुन्छ?
नारायण वाग्लेको प्रश्न।
जवाफमा सुधीर शर्माले भने, ‘चाबी सम्पादकीय टिमको नेतृत्वको हिसाबले सम्पादकसँग रहने हो। तर सम्पादकीय टोलीसँग पनि केही साझेदारी हुन्छ। र अझ अलि बढी साझेदारी प्रकाशकसँग हुन्छ। प्रकाशकसँग कहिलेकाहीँ चाबीको कुरा नमिल्दाखेरी चाबी नै बुझाएर नारायणले जस्तो छोड्नु पर्ने पनि हुन्छ।’
यो प्रश्न उत्तर ६ वर्षअघि प्रज्ञा प्रतिष्ठानको डबलीमा नेपाल लिटरेचर फेस्टिभलका क्रममा भएको थियो। ६ वर्षपछि उनै नारायण वाग्लेलाई चाबी बुझाएर सुधीर शर्मा कान्तिपुरको सम्पादकीय नेतृत्वबाट हटेका छन्।
त्यो बेला सुधीर शर्माले जवाफमा अगाडि भनेका थिए,
“पत्रिकाको ओनरसिपको हिसाबले प्रकाशक नै रहने हाम्रो सिस्टम हो। तर सँगसँगै भइदिनथालेको के छ भने अब सम्पादकमा या प्रकाशकमा मात्रै चाबी हुँदा त राम्रै हो। त्यो स्वभाविक पनि हो। तर अब चाबी अन्यत्रै पनि जान थालेको छ। संक्रमण कालले हो कि के हो थाहा छैन, राजनीतिक दलहरुमा पनि चाबी पुग्न थाल्या छ। र अरुसँग भएको चाबी खोस्ने चलन पनि सुरु भा छ। कहिलेकाहीँ हाम्रो सीमाभन्दा बाहिर पनि चाबी जाने गर्या छ। त्यसले गर्दा यो चाबी एकदमै दह्रोसँग राख्नुपर्ने सम्पादकहरुलाई चुनौती भा छ।”
यो बहसमा तत्कालीन कान्तिपुरका सम्पादक सुधीर शर्मा, नागरिकका सम्पादक किशोर नेपाल र दि हिमालयन टाइम्सका अजयभद्र खनाल सहभागी थिए भने मोडरेटर नारायण वाग्ले थिए।
अहिले सान्दर्भिक हुन सक्ने देखिएकोले त्यतिबेलाको बहसको अडियो यहाँ राखेको छु-
मिडियाको चाबी कोसँग हुन्छ भन्ने कुरा कान्तिपुरको सम्पादक बर्हिगमन र भित्र्याउने प्रक्रियामा पनि स्पष्ट देखिएको छ। भारतीय नागरिकसँग सम्पादकलाई उत्तरदायी बनाउनु मिडियाको चाबी कहाँ पुग्नु हो? त्यसैले सुधीर शर्माले यो अडियोमा भनेजस्तो कान्तिपुरको चाबी अब सीमापार पुगेको छ। भारतीय नाकाबन्दीको पक्षमा खुलेआम वकालत गर्ने लेखक नारायण वाग्ले भारतीय व्यवस्थापकभन्दा मुनि बस्न तयार हुनु जति स्वभाविक हो यो नेपाली पत्रकारिताका लागि त्यति नै दुःखद पनि हो।