Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी खिचेँ मैले ‘कल्चर एन्ड टुरिजम’ मा पहिलो पुरस्कार जित्ने फोटो

Posted on July 12, 2018 by mysansar


पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७५ का अधिकांश पुरस्कृत फोटोहरु फोटो पत्रकारहरुले जिते। तर कल्चर एन्ड टुरिजममा पहिलो पुरस्कार जित्ने पत्रकार थिएनन्। पुरस्कृत फोटो पनि अनौठो खालको थियो। अहिलेसम्म जीवित देवी कुमारीका राम्रा फोटोहरु मात्रै देखिरहेकाहरुलाई मुख बिगारेको यो फोटो नौलो थियो। फोटो खिच्‍ने किरण श्रेष्ठले यो फोटो खिच्दाको अनुभव यसरी बयान गरेका छन्।

-किरण श्रेष्ठ-
पेशाले म गैरसरकारी संस्थामा काम गर्छु तर फोटो खिच्ने भूत भने ममा निकै पहिलादेखि नै सवार थियो। यहाँसम्म कि रातको १ बजे पनि फोटो खिचेको छु। यो अनुभव सुनाउँदा लाग्छ म पागल नै हुँ। यो मेरो पागलपना भन्दा पनि मेरो प्यासन हो कि जस्तो लाग्छ। फोटो कसरी खिच्ने भन्ने कुरामा, मलाई लाग्छ म अझै पनि अन्जान छु किनकि मैले फोटो खिच्नको लागि कुनै कक्षा वा तालिम लिएको छैन। कसरी उत्कृष्ट फोटो खिच्ने भन्नेमा म त्योभन्दा पनि अन्जान छु। तर मलाई यति थाहा छ कि म कुनै पनि अवसरलाई मेरो क्यामेराको कैदी बनाउन छोड्दिनँ। सायद त्यसकै नतिजा हो कि नेपाल फोटो प्रतियोगीता २०७५ मा संस्कृति तथा पर्यटन विधामा पहिलो पुरस्कारसहित सम्मानित भएको।

उक्त पुरस्कृत फोटो खिच्ने सन्दर्भ पनि मज्जाको छ। जागिरको सिलसिलामा म दोलखा बस्छु। अहिलेसम्म भोटो जात्राको राम्रो फोटो मैले खिचेको थिइनँ। त्यसैले समय मिलाएर जात्राको दिन काठमाण्डौ आइपुगेँ। हतार-हतार लुगाको झोला फ्याँकेर क्यामेरा ब्याग भिरेर जाउलाखेल हान्निएँ। तर अफशोच मेरो सपना यसपालि पनि साकार भएन। थोरै ढिला भएछ। साइरनजडित गाडीले विशिष्ट व्यक्तिलाई भोटो देखाउने कार्यक्रमबाट फिर्ता लगिसकेछ।

भोटोको फोटो खिच्ने रहर थियो। साकार भएन। फोटो खिच्दै जाउलाखेलतिरै टहलिरहेको थिएँ। संगै मच्छिन्द्रनाथको रथ र कुमारी पनि थिए। म त्यही फोटो खिच्दै थिएँ। भिडभाडमा सजिलो त थिएन, तर कुमारीको फोटो खिच्न निकै बेर त्यहीँ रहेँ। फोटो खिच्दै हेर्दै गर्थेँ म। तर कुनै पनि गतिलो फोटो आएन। कहिले टाउको फर्केको, कहिले टाउको झुकेको, कहिले यता, कहिले उता। फेरि पनि फोटो खिच्न छोडिनँ। फेरि फोटो हेरेँ। झन् यसपालि त मुख नै बङ्ग्याएको फोटो आएछ।

Imagination… What I want to do, it isn’t matter. I have a dream to play with my colleagues. But I am being a living goddess. And I have a so many boundaries.

तर त्यति बेला नै सोच आयो कि एउटा १०–१२ वर्षकी नानी दिनभर घाम, पानी गर्मी नभनि कसरी बस्न सक्छिन्? झ्याउ लाग्दैन? साथीहरुसँग खेल्न मन लाग्दैन? धेरै कुरा सोचेँ अनि घर फर्किएँ।

त्यो रात मैले अनलाइनमा कुमारी बन्ने प्रकृया र प्रथाको बारेमा पढेँ। आफै पनि नेवार भएकोले केही कुरा त पहिलै थाहा थियो तर त्यति धेरै डरलाग्दा, असहज प्रकृयाबाट छनौट हुन्छ भन्ने कुराको जानकारी ममा थिएन।

त्यस पछि मैले यो फोटोमा क्याप्सन राखेर नेप्लिज इन फोटोग्राफी फेसबुक पेजमा पठाएँ। रुटिन अफ नेपाल बन्द पेजमासमेत अरुबाट फोटो हालियो। उक्त फोटो अन्तराष्ट्रिय ३५ फोटो अवार्ड २०१८ मा समेत पठाएँ। धेरै प्रतिकृयाहरु आए। बाल अधिकारदेखि व्यक्तिगत रुपमा गालिगलौज समेत। उक्त फोटोमा व्यक्तिगत रुपमा मैले नेवार संस्कृति कुमारी प्रथाको कुनै पनि विरोध गरेको थिइनँ। मात्र एउटा १०–१२ वर्षकी नानी जसको अन्तरमनमा के खेल्दो हो त्यसको कल्पना मात्र गरेको थिएँ र सोही कुरा क्याप्सन बनाएर राखेको थिएँ। पछि फोटो पत्रकार क्लबले फोटो प्रतियोगिता गर्दैछ भन्ने सुनेँ र त्यही क्याप्सनलाई थप परिमार्जित गरेर पठाएँ। भोटोको फोटो खिच्ने रहर थियो, कुमारीको खिचेर आएँ। त्यही फोटोले नेपाल फोटो प्रतियोगिता २०७५ मा पुरस्कृत बनायो।

यता पुरस्कार वितरण कार्यक्रमको अनुभव पनि नौलो पाराको नै भयो। फोटो पत्रकार क्लबले आयोजना गरेको छैटौँ नेपाल फोटो प्रतियोगिता जहाँ एक हजार भन्दा बढी व्यवसायिक फोटो पत्रकारहरु अनि पाँच हजार सोह्र वटा तस्विरहरु तर म एक्लो। लाग्थ्यो कागको हुलमा बकुल्ला झैँ। करिब ३०० जनाको उपस्थिति मेरो लागि सिर्फ भिड जस्तो मात्र लाग्थ्यो। प्रायः सबै व्यवसायिक फोटो पत्रकार। लगभग सबैजसोको एक आपसमा चिनजान तर म व्यवसायले फोटो पत्रकार नभएर होला, कोहीसँग चिनजान पनि थिएन। त्यसैले कार्यक्रममा पनि कुनामा एक्लै गएर बसेको थिएँ। सौखिन फोटोग्राफर भएकोले होला, प्रतियोगितामा पुरस्कृत हुन्छु भन्ने सोचेको पनि थिइनँ। तर जब संस्कृति तथा पर्यटन विधाको प्रथम पुरस्कृत व्यक्तिको घोषणा गरियो, एक पटक त चिच्याएँ। तर हलमा जुन पहिलाको विधाहरुमा पुरस्कृत हुनेलाई तालीको गड्गडाहट थियो, त्यो चैँ अलि कम थियो। सायद एउटा गुमनाम व्यक्तिले त्यो विधाको परस्कार थापेको कारणले होला। तर आगामी वर्षहरुमा एउटा पूर्व विजेताको हैसियतमा त्यस ठाउँसम्म पुग्दा धेरै फोटोग्राफरहरुलाई चिन्नेछु र अर्को पटक पनि जित्ने कोशिस गर्नेछु।

उक्त कार्यक्रममा विजेता तथा छनौटमा परेका १४० वटा फोटोहरु नेपाल कला परिषद बबरमहलमा यही साउन १५ गतेबाट २४ गतेसम्म प्रर्दशनीको लागि राखिने छ।

1 thought on “यसरी खिचेँ मैले ‘कल्चर एन्ड टुरिजम’ मा पहिलो पुरस्कार जित्ने फोटो”

  1. Tara Nath Pokharel says:
    July 28, 2018 at 7:13 pm

    पुरस्कार जित्न व्यवसायिक हुन पर्दैन । सौखिन भए पनि तिब्र इच्छाशक्ति चाहिँ चाहिन्छ । त्यो तपाइँमा देखियो । बधाइ छ किरण सर ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme