प्रकाशको हिसाबले संसारका सबै वस्तुहरुलाई, प्रकाश दिने (luminous) र प्रकाश परेपछि टल्किने (non-luminous) गरी, मुख्य २ भागमा बाँड्न सकिन्छ। सूर्य, तारा, बिजुली, आदि luminous हुन् भने चन्द्रमा, रुख, ढुंगा, माटो आदि non-luminous हुन्। luminous वस्तुहरुले प्रकाश फालिरहेका हुन्छन् भने non-luminous वस्तुहरुले आफूमा परेका प्रकाशका कतिपय किरणलाई सोस्छन भने कतिपयलाई बिभिन्न मात्रा, कोण र दुरीमा फर्काइरहेका हुन्छन अथवा परावर्तन गरिरहेका हुन्छन्। वस्तुको प्रकार र सतह अनुसार परावर्तन हुने किरणको मात्रा तथा प्रकार पनि १-१००% को हिसाबले फरकफरक हुन्छ।
प्रकाशमा शक्ति हुन्छ र त्यो मुलत बिभिन्न प्रकारका किरणको रुपमा निस्कन्छ। यसरी निस्कने थुप्रै प्रकारका किरणहरु मध्ये थोरै प्रकारकामात्र हामीहरुले हाम्रो आँखाले रंगको रुपमा देख्दछौं। प्राकृतिक रुपमा पृथ्वीमा आउने प्रकाशको प्रमुख श्रोत हाम्रो सूर्य नै हो। सूर्यबाट निस्कने अथाहा विकिरण (Electromagnetic radiation) जस्तै:- गामा (Gamma rays), अल्ट्राभायोलेट (ultraviolet), इन्फरेड ( Infrared), (X-rays), (Microwaves), (Radio waves), र देखिनेखाले प्रकाश (Visible light) आदि को हाम्रो बायुमंडल (atmosphere) तर्फ लगातार वर्षा (bombard) भैरहेको हुन्छ।
ती मध्ये कतिपय त जीवको अस्तित्व नै नस्ट गर्न सक्ने प्रकारका पनि हुन्छन्। तथापि बायुमंडलमा हुने बिभिन्न प्रकारका ग्यासहरु जस्तै:- पानीका कणहरुयुक्त ग्याँस, कार्बन डाइअक्साइड, ओजोन, आदिले धेरैजस्तो हानिकारक किरणलाई बायुमंडलमै सोसेर वा छेकेर तल आउन दिंदैनन्। यति हुँदाहुँदै पनि कतिपय हानिकारक, नदेखिने, र मुख्यतया आँखाले पनि देख्न सकिने प्रकाशका किरणहरु पृथ्वीमा आइरहेकै हुन्छन्।
प्रकाश यात्रागर्दा नदीको भेल अथवा छाल जस्तै बनेर तलमाथि हुँदै यात्रा गर्छ। यसरी तलमाथि गर्दा भेलको एउटा उठेको भागबाट अर्को उठेको भागसम्मको दुरीलाई छालको दुरी (wavelength), र छाल तल धसिने र माथि उठ्ने क्रमलाई छालको रफ्तार (frequency) भनिन्छ। frequency कम हुँदा wavelength बढी हुन्छ भने बढी हुँदा कम हुन्छ। प्रकाश अनुसार पनि wavelength र frequency बढी या घटी हुन्छ। सबै प्रकारको प्रकाश अथवा सबै wavelength र frequency को प्रकाश मानब आँखाले देख्न सकिन्न। निश्चित wavelength भित्रको हामीले देख्न सक्ने प्रकाशलाई visible spectrum भनिन्छ।
wavelength र frequency अनुसार उही प्रकाश पनि फरकफरक रंगको देखिने, देख्दै नदेखिने, कम या बढी असर गर्ने हुन्छ। हाम्रा आँखाले देख्ने आधारभूत रंगहरु रातो, निलो र हरियो हुन। अन्य रंगहरु त यिनीहरुलाई मिसाउँदा बन्छन्। विज्ञानको भाषामा भन्दा हामीले कुनै वस्तु, कुनै अमुक रंगको देख्ने भनेको, त्यो वस्तुले आफूमाथि परेको प्रकाशलाई परावर्तन गरेको प्रकाश देख्ने हो। बिभिन्न प्रकारका प्रकाशका किरण जब कुनै वस्तुमा पर्छन, कतिपय किरणलाई उक्त वस्तुले सोस्छ भने कतिपयलाई फर्काइदिन्छ। कुनै वस्तुमा ठोक्किएपछि प्रकाशको भेलको दुरी, फ्रीक्वेन्सी र कोण पनि परिवर्तन हुन्छ।
जब हामी कुनै वस्तुलाई कुनै अमुक रंगको देख्छौं, त्यसको अर्थ उक्त वस्तुले अन्य किरणलाई सोसेर त्यो देखिने रंगमात्र परावर्तन गरेको हो भन्ने बुझ्नु पर्दछ। द्रष्टब्यको लागी-यदि हामीले कुनै वस्तु रातो देक्छौ भने उक्त वस्तुले अन्य रंगका प्रकाशका किरणलाई सोस्यो, तर रातोलाई फर्कायो।
सेतो रंग र कालो रंगको कुरा अलि बेग्लै छ। यदि कुनै वस्तु सेतो देखिन्छ भने उक्त वस्तुले सबैखाले प्रकाशलाई परावर्तन गर्यो भन्ने बुझ्नु पर्दछ भने यदि कुनै वस्तु कालो देखियो भने त्यसले सबै रंगको प्रकाश सोस्यो भन्ने बुझ्नु पर्दछ।
प्राय प्राणीका आँखाले कुनै पनि वस्तु देख्ने प्रक्रिया करिब उस्तै हुन्छ। प्रकाशका किरणहरु वस्तुमा ठोकिन्छन, सोसिने जति सोसिन्छन नसोसिने जति परावर्तन भएर छारिंदा प्राणीका आँखामा पनि पर्छन, र केही निश्चित प्रक्रिया पुरा भएपछि उक्त वस्तु हामीले पनि देख्छौं अनि अन्य प्राणीले पनि देख्छन्।
तथापि मानिसको आँखाले, जनावरको आँखाले, चराको आँखाले, र किरा फट्यांग्राको आँखाले हेर्दा यो संसारका वस्तुहरु एकदमै फरकफरक रंगका र अनौठा देखिन्छन्।
जीव बिकासको इतिहास हेर्दा जीवहरुमामात्र होइन कि जीवका अंगहरुमा समेत आवश्यकता अनुसार परिवर्तन र बिकास (evolution) भैरहेको छ। प्राणीहरुमा करिब ६ करोड बर्ष पहिलेबाट आँखाको बिकास (evolution) हुन थालेको हो। तिनीहरुको बर्ग, आबश्यकता , रहने वातावरण, र केही निश्चित पद्दति (pattern) अनुसार प्राणीमा करिब १० प्रकारका आँखाहरु बिकसित भएका छन्। बेग्लै बर्गको साथै एकै बर्गका प्राणीमा पनि तिनीहरुको जीवनचर्या अनुसार आँखाको बनौट र काम गर्ने तरिका फरक हुन्छ, साथै बिभिन्न प्रकारका आँखामा कुनै अमुक वस्तु फरक आकार, फरक रंग, र फरक दृश्यको देखिन्छ।
दृश्य किन फरक देखिन्छ, र कुनकुन प्राणीले कस्तोकस्तो देख्छन भन्ने कुरा आँखाको रेटिनामा हुने कोन्ज (cones) र रड्ज (rods) हरुका प्रकारको साथै तिनीहरुमा हुने प्रकाशका संकेत बुझ्ने कोषहरु (light receptors /photo receptors) को संख्याको आधारमा लगभग थाहा हुन्छ। कुन प्राणीले कस्तो देख्छ त भन्ने कुराको उत्तरको लागी केही प्राणीको आँखाको बनौट र देख्ने तरिकालाई कोट्याउनै पर्ने हुन्छ।
मानब आँखाको नानीमाथि सबभन्दा बाहिरी सतहमा कोर्निया भन्ने पातलो पारदर्शी झिल्ली हुन्छ, त्यसले कुनै पनि वस्तुको चमकबाट आँखामा पर्ने प्रकाशलाई नानीको बिचमा हुने प्युपल (pupil) भनिने प्वालमार्फत भित्र पठाउँछ। प्युपलको पछाडि लेन्ज हुन्छ, त्यसले सम्भाव्य सबै उपाय अपनाएर फोकस मिलाएर देखिएको वस्तुको प्रतिमा आँखाको पछाडि हुने आँखाको सबभन्दा मुख्य अंग रेटिनामा पठाउँछ। रेटिनामा रड्ज (rods) र कोन्ज (cones) नामक प्रकाश सम्बेदनशील दुई प्रकारका लाखौँ कोषहरू हुन्छन्। कोन्जमा हुने कोषहरुले रंगिन किरणको रंग, चहकिलोपन, प्रष्टता आदिको संकेत थाहा पाउँछन भने रड्जले काला, सेता तथा मधुरा वस्तुहरुका प्रकाशको किरणको संकेत थाहा पाउँछन्। अनि rods र cones दुबैले आफूले भेटेका प्रकाशका संकेतहरुलाई बिद्दुतीय संकेतको समाचारमा बदल्छन, र दृश्य प्रणाली (optic nerve) मार्फत मस्तिष्कमा पठाउँछन्। यसरी प्राप्त भएका संकेत समाचारलाई मस्तिष्कले पुनः प्रोसेस गरी, तस्बीरमा बदली हामीलाई आँखामार्फत देखाउँछ।
आधारभूत रुपमा जनावर र चराको देख्ने प्रक्रिया पनि त्यस्तै हुन्छ, तथापि कस्तो रंग, कति प्रकारको रंग, र कस्तो आकार भन्ने कुरा भने rods र cones को प्रकार, तिनीहरुमा हुने कोषको संख्या र सक्रियता, अनि केही मात्रामा आँखाका आकार प्रकारमा पनि भर पर्दछ। जस्तै :- घोडा, गाई, मृग,खरायो आदिमा २ प्रकारका cones मात्र हुन्छन, त्यसैले तिनीहरुले २ प्रकारका रंग मात्र देख्दछन्। तर यिनीहरुका आँखा टाउकाको दायाँबायाँ हुने भएकोले मान्छेले भन्दा एकदम फराकिलो कोणमा देख्न सक्दछन्। तर देख्ने दृष्टि हाम्रोभन्दा कम हुने भएकोले हामीले ६० मिटर टाढाको वस्तु जति प्रस्ट देख्छौं यिनीहरुले २० मिटरमा मात्र !
मान्छेमा ३ प्रकारका cones हुन्छन त्यसैले हामीले ३ रंग देक्छौँ। तर दिनमा सक्रिय हुने (diurnal) चराहरुमा ४ प्रकारका cones हुने भएकोले यिनीहरुले मान्छेले भन्दा १ बढी अथवा ultraviolet रंग सहित ४ प्रकारका रंग देख्दछन्। यिनै थप प्रकारका cones र धेरै light receptor र अन्य केही थप कारणले केही चराहरुले magnetic field सहित ७ प्रकारका रंग सम्म देख्ने कुरामा बैज्ञानिकहरुको दह्रो बिश्वास छ।
हाम्रा आँखाले ठीकठीकै राम्रो देख्ने रंगीन वस्तु ultraviolet रंग पनि देख्ने चराको आँखाले हेर्दा अचम्मैको, लोभलाग्दो, बिछट्टैको, सुन्दर देखिन्छ।
त्यसको अलावा सिकारी चराहरुको एउटै आँखामा २ प्रकारका २ ओटा फोबी (fovea) हुन्छन्। ती मध्ये एउटाले नजिकका वस्तुहरु प्रस्ट र बिस्तृत रुपमा हेर्ने Macro lens को काम गर्छ भने अर्कोले टाढाका वस्तु नजिक देखाउने Zoom lens को। त्यही भएर यस्ता चराहरुले टाढैबाट सिकार देख्न र सही निसाना लागाउन सक्दछन, र धमिलो बातावरणमा पनि राम्रोसंग देख्न सक्दछन्।
फोबी (fovea) भनेको रेटिनामा हुने एकदम बढी resolution भएको भाग हो। मान्छेको एउटा आँखामा एउटामात्र fovea हुन्छ।
अर्को तर्फ उल्लु जस्ता रातिमा सक्रिय हुने (nocturnal) चराहरुमा कडा तथा रंगीन प्रकाश देख्न प्रमुख भूमिका खेल्ने cones हरु त्यति बिकसित र सक्रिय हुँदैनन, तर rods हरु एकदम बिकसित र सक्रिय हुन्छन्। त्यसैले रातिमा सिकार गर्न यिनीहरुलाई कुनै समस्या पर्दैन। यिनीहरुका आँखा अगाडि हुन्छन र ठुला हुन्छन। साथै जिउ तथा टाउको नचलाइकन पनि यिनीहरुले १८० डिग्री कोणको दृश देख्न सक्छन्।
हामीले आँखा र टाउको नचलाउँदा ४० डिग्री सम्म देख्न सक्छौं, प्रस्ट रुपमा त मात्र १० डिग्री।
माछा जस्तै प्राय जलचर (aquatics), सर्प जस्तै प्राय घिस्रेर हिड्ने (reptiles), भ्यागुता जस्ता प्राय पानी र जमिन दुबैमा बस्ने (amphibians) को दृश्यको प्रकृति पनि चराको जस्तैजस्तै हुन्छ। तर बाँदर, लंगुर आदिको भने मान्छेको जस्तै हुन्छ।
धेरैजसो किराका आँखा देख्दै कडा, अनौठो रंगका, डल्ला जस्ता कम्पाउण्ड आँखा हुन्छन्। यदि सूक्ष्मदर्शक यन्त्रले हेर्यो भने त्यो डल्लोमा सयौँ ६ चोसे अथवा घनाकार (cubic) लेन्जहरु हुन्छन्। कुनै पनि दिशाबाट आएको प्रकाश यी बिभिन्न दिशामा फर्केका कुनैनकुनै लेन्जमा पर्छपर्छ। यसरी लेन्जमा परेको प्रकाश फोटो रिसेप्टरमा जान्छ र बिभिन्न प्रक्रियामार्फत यिनीहरुले देख्छन्। किराहरुमा फोटो रिसेप्टरहरुको संख्या एकदम कम हुने भएकोले अन्य प्राणीले जस्तै प्रस्ट देख्दैनन, तर मान्छेले नदेख्ने अल्ट्राभायोलेट रंग भने यिनीहरुले देख्छन्। त्यो बाहेक यदि मान्छेको दृष्टिलाई १०० मान्ने हो भने यिनीहरुको १ हुन्छ। फूलले अल्ट्राभायोलेट लाइट परावर्तन गर्ने हुनाले त्यही लाइटलाई पछ्याउंदै फूलसम्म सजिलै पुग्न सक्छन। सूर्यको किरणको आधारमा दिशा पत्ता लगाउन सक्छन्। साथै यिनीहरुका अन्य अंगमा गन्ध थाहा पाउने र नाजिकता बोध (feel) गर्नसक्ने क्षमता पनि हुन्छ जसले शत्रुबाट बच्न समेत सहयोग गर्दछ।
एकदमै सूक्ष्म जीव (microorganism) हरुका एकदम साधारण आँखाले उज्यालो र अँध्यारोमात्र अलिअलि छुट्याउन सक्छन, र त्यसकै आधारमा जीविका चलाएका हुन्छन।
मोटामोटी रुपमा निम्न वर्गका निम्न प्राणीले यस्तो रंग देख्छन्।
प्राणी देख्न सक्ने रंग
मान्छे, चिम्पान्जी, अफ्रिकी बाँदर- मान्छेले जस्तै ३ रंग
दक्षिण अमेरिकी बाँदर – मान्छेलेझैं, तर रातो राम्रोसंग देख्दैन
घोडा – मुख्यतया २ रंग, अलिअलि रातो
कुकुर, बिरालो – ३ रंग, तर एकदम मधुरो रुपमा
खरायो – हरियो र निलो
लोखर्के – पहेंलो र निलो
सर्प – इन्फ्रारेड र अन्य केही रंग
प्राय भ्यागुता – करिब २ रंग
प्राय माछा मुख्यतया -२ रंग
अक्टोपस -निलोमात्र
माउरी -निलो, पहेंलो, अल्ट्राभायोलेट
माकुरा -हरियो, र अल्ट्राभायोलेट
चरा – चरा अनुसार ५ देखि ७ रंग
Jun 29, 2014 मा पहिलो पटक प्रकाशित
Microorganism ka साधारण आँखा रे 😉