Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेकर्डका लागि : एमाले र माओवादी एकीकरणको ६ बुँदे संयुक्त घोषणा

Posted on May 17, 2018 by mysansar

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं।

सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।

२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान ग¥यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।

३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडि बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छौँ।

उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्द्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।

४) हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।

५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं।

६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पु¥याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पु¥याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं ।

के.पी. शर्मा ओली

अध्यक्ष, केन्द्रीय कमिटी

नेपाल कम्युनिष्ट पार्टी

 

पुष्प कमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष, केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी

मितिः २०७५।२।३।५

1 thought on “रेकर्डका लागि : एमाले र माओवादी एकीकरणको ६ बुँदे संयुक्त घोषणा”

  1. madan man bajracharya says:
    May 18, 2018 at 6:16 pm

    भारत र मधेशाबादिले चाहे अनुसार संबिधान संसोधन गर्न सदनमा दुई तिहाई मतको समर्थन चाहिन्छ/ अस्ति भयको चुनावमा भारत र मधेशबादीले चाहे जस्तो संबिधानमा संसोधन गर्न तयार हुने दलहरुले चुनावमा नेपालि नागरिकहरुको बहुमतको समर्थन होईन नराम्रै सिट तिरस्कार पाउने कुरा निश्चित भयको अबस्थामा चुनाव अघि सम्म मधेशबादिको माग अनुसार संबिधान संसोधन गर्न नमानेको यमालेको प्रमुख बिरोधिनै भयको मावोबादी यकायक यमाले सिट यकिकृत हुने निर्णय गरे/

    दस बर्से बिद्रोह गर्दै गरेको बेला अनुहार पनि नचिन्हिने प्रचन्द्रको अहिले पनि नीतिगत व्यक्तित्व स्पस्ट भैसकेको छैन/ उसैको बोलीमा उसले कुनै बेला नीति र निर्णय बदल्न सक्छ/ तेसैले यो यकिकरण मावोबादी वा यमालेको भारत र मधेशबादिको माग अनुसार संबिधान संसोधन गर्ने बा नगर्ने भन्ने नीति र बिचारमा परिबर्तन भयर भयको हो बा कुनैको ग्रायण्ड डिजाईन अनुसार भयको हो त्यो अहिलेनै ठम्याउन सकिंदैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme