बुधबारदेखि मलमास सुरु भएको छ। यसलाई पुरुषोत्तम मास वा अधिकमास पनि भन्ने गरिन्छ। मलमासमा पूजापाठ, पवित्र कामहरु नगर्न भनिन्छ। त्यसैगरी सबैभन्दा बढी चर्चा चाहिँ लोग्ने र स्वास्नी सँगै बस्न हुन्न भन्ने छ। यो सम्बन्धमा फिनल्यान्ड निवासी जान्हबी हमालले लेखेको ब्लग June 22nd, 2015 मा प्रकाशित भएको थियो। अहिले मलमास सुरु भएको बेला सान्दर्भिक भएकोले त्यो ब्लग पुनः प्रकाशन गरिएको छ।
कुरा केहि दिन अघिको हो। हिजोआज म बिरामी बिदामा छु। त्यसैले अलि ढिलो उठ्नु मेरो दिनचर्या बनेको छ। त्यो दिन पनि उठ्दा बिहानको ८ बजेको रहेछ। मोबाइल हेरें, ५ वटा ’मिस्ड कल’ रहेछन्। आमाले गर्नु भएको। हतार हतार ’कल ब्याक’ गरें। ‘फोन किन नउठाएको अगि?’, ‘हेलो’ पनि भन्न नपाउदै वहाँले भन्नु भयो। केहि जरुरि परे जस्तै।
‘म उठेकै थिइन। केहि जरुरी थियो र, आमा?’
‘पर्सिबाट पुरुषोत्तम मास सुरु हुँदैछ। नयाँ दम्पतिले संगै बस्नु हुन्न रे यो मासमा। बुहारी तिन दिनको लागि माइती जाँदैछिन्।’
‘ए, ठिकै छ नि, ऊ नाउन्नजेल आफ्नो ख्याल गर्नु होला राम्ररी।’
‘त्यो त हो, तर मेरो आशय त्यो हैन।’
‘अनि कसो हो त उसो भए?’
‘तिमीले पनि बार्ने हो कि ? यसपालीको मलमास निकै कडा छ रे।’
‘यहाँ? फिनल्याण्डमा? मेरो माइती त उति टाढा नेपालमा छ, अहिले कसरि जाउँ?’, मैले ठट्टा गरें।
‘श्रीमान श्रीमती संगै बस्नु हुन्न, अनुहार नै हेर्न हुन्न भनेर बुढापाकाले भन्नुको अर्थ शायद शारीरिक सम्बन्ध र गर्भाधानसंग सम्बन्धित हुन सक्ला।’
म छक्क परें, मेरी आमाले कति सजिलै यो कुरा भन्नु भयो। हुन त यस भन्दा पहिले पनि आमाले मलाई प्रजनन स्वास्थ्यसंग सम्बन्धित परामर्शहरु बेलाबेला दिनु भएको छ। पढेलेखेकी आमा हुनुको फाइदा हो यो। नत्र, म अनुमान गर्छु, कति प्रतिशत नेपाली आमाहरुले खुलेर आफ्ना छोराछोरीहरुसंग प्रजनन स्वास्थ्यसंग सम्बन्धित कुरा, परामर्श गर्लान? शायद धेरै कम। नयाँ पुस्ताका बाबुआमाहरुमा चाही अलि परिबर्तन आएको छ कि?
‘ठिकै छ, म विचार गरुँला।’ मैले यसमा धेरै बहस गर्न जरुरि देखिन।श्रीमान संग आफ्नो अपार्टमेन्टमा नबसी एक महिनासम्म अरु कसैको घरमा बस्न जानु या अर्को कोठा खोजेर बस्नु मेरो लागि ब्यबहारिक कुरा थिएन। हेलसिन्कीमा भनेको समयमा भाडामा कोठा पाउन निकै कठिन छ। आमाले दिनुभएको विकल्प चाहिं संबभ छ। तर के त्यो जरुरि छ? यी कुराहरुमा कति सत्यता छ? मैले यो कुरालाई त्यति महत्व दिईन र केहि बेर मै बिर्सें पनि।
तर निकै आश्चार्य त्यति बेला लाग्यो जति बेला मैले मेरा हेलसिन्की बस्ने नेपाली साथिहरुबाट थाहा पाएँ कि उनीहरु मध्ये धेरैले मलमास छल्न कम से कम तिन दिन भने पनि साथीहरु वा आफन्त कहाँ बस्ने निधो गरेकाछन्। ‘किन?’ किन कि नेपालमा उनीहरुका आमाहरुलाई कडाइका साथ पुरोहितबाजेहरुले त्यसै गर्न सुझाएका रहेछन्। सके १ महिना, नसके १५ दिन, नभए ७ दिन त्यो पनि नसक्ने ले ३ दिन चै अनिबार्य बार्नु पर्ने रे! अनि पहिले पहिलेका बर्षहरुमा यहीं बस्ने अरुहरुलेपानी त्यसै गरेका थिए रे, त्यसैले। त्यति मात्रै कहाँ हो र? नेपाली पुरुषहरुसंग बिवाह भएका फिनीश महिलाहरुले समेत ५ वा ७ दिन बार्नु पर्ने निर्देशन पाएछन्। ‘साँच्ची?’ अब भने अन्धविश्वास भनेर यो कुरालाई बेवास्ता गरिरहन सकिन। जतिसुकै पढेलेखेको भएपनि सामाजिक मूल्य मान्यताहरुले मानिसमा धेरै असर पार्ने रहेछ। धेरै जनाले भनिसके पछि झुटै भए पनि ‘ए हो कि क्या हो?’ भनेर एक पटक सोच्न बाध्य बनाउँदो रहेछ।
पुरुषोत्तममासको कथा मैले मेरी भाउजुबाट सुनेकी थिए। ‘मानिसहरुले पुरुषोत्तममासलाई हेला गरेर मलमास भन्छन, मन पराउदैनन, तर यो मास धार्मिक रुपले धेरै महत्वपुर्ण छ, यस्तै, यस्तै…’। आधिकारिक धारणा खोज्न ‘गूगल सर्च’ गरें – के हो अधिकमास/पुरुषोत्तममास? के के छन् यससंग सम्बन्धित सामाजिक तथा धार्मिक मान्यताहरु? ‘गूगल’ ले धेरै परिणामहरु सतहमा ल्याइदियो। धेरै ‘लिंकहरु’ मध्ये केहि खोलेर सरसर्ती पढें।
”हिन्दु पंचांग अनुसार सुर्यबर्ष ३६५ दिन १५ घडी २२ पला ५७ बिपलाको हुन्छ भने चन्द्रबर्ष ३५४ दिन २२ घडी १ पल र २ बिपलाको हुन्छ। यी बर्षमानहरुमा प्रति बर्ष १० दिन ५३ घडी २१ पल अर्थात् लगभग ११ दिनको अन्तर हुन्छ जसको कारण करिब ३२ महिनाको अवधि मा १ अधिकमास जोडिन्छ। यस बर्षको अधिकमास जुन १७ तारिखबाट शुरु भई जुलाई १६ सम्म रहन्छ। पौराणिक मान्यता अनुसार कुनै ग्रह वा देवी देवताले यो मासको अधिपत्य लिन नमाने पछि श्रीकृष्ण भगवान स्वयम् ले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास पनि भनिन्छ।”
धेरै जसो वेबसाइटहरुमा यो महिनामा भगवान बिष्णु वा श्रीकृष्ण को पुजाआजा, ब्रत अनुष्ठान, दान आदि गर्ने गरिएको बताइएको थियो। त्यस्तै शुभ कार्य जस्तै बिवाह, ब्रतबन्ध आदि गर्न नहुने बताइएको थियो। तर श्रीमान श्रीमती संगै बस्न नहुने कुरा कतै देखिन। ‘अब कसलाई सोधुँ?’ वैष्णवहरुको लागि पुरुषोत्तममासको ठुलो महत्व हुन्छ। त्यसैले मैले हेलसिन्की इस्कोंन (ISKCON) मन्दिरका प्रमुख तपोदिव्यम दास गुरुजीलाई फोन गरे। ‘गुरुजी, म पुरुषोत्तम मासको बारेमा बुझ्न चाहन्छु।’ उनले भने, ‘ पुरुषोत्तममास भौतिक कुराहरुको लागि त्यति शुभ समय होइन। जस्तै, गाडी किन्ने, नयाँ कम्पनि खोल्ने, घर जग्गा आदि किन्ने, बिवाह गर्ने, सन्तान प्राप्तिको लागि गर्भाधान गर्ने, आदि कार्यको लागि यो समय राम्रो हुँदैन, यसले शुभ फल दिंदैन। तर धार्मिक दृष्टिकोणबाट यो समय अति उत्तम समय हो। यो मास भगवान श्रीकृष्णको पुजा, ध्यान, किर्तन, महामंत्रको जप र कृष्णभावना जागृत गर्ने कामहरुमा आफुलाई संलग्न गराउनुपर्ने समय हो। यो बेलामा गरिएका हरेक धार्मिक कार्यहरुको फल १ हजार गुना बढी हुन्छ। यो महिना अध्यात्मिक दृष्टिले निकै शक्तिशाली र शुभ महिना हो।’
‘मैले त अधिकमासमा नवविवाहित दम्पति एकै घरमा संगै बस्न हुँदैन भन्ने सुनेको छु, के यो सत्य हो?’
‘वैदिक धर्मले त त्यसो भन्दैन’, उनले प्रष्ट पार्दै भने, ‘बिवाह र गृहस्थी मानब जीवनका अभिन्न अंग हुन्। जसरि हामी सामान्य रुपमा खाना खान्छौं, कार्यालय जान्छौं, त्यसै गरि बैबाहिक जीवन सुचारु गर्न सक्छौ। यो समयमा बिवाह गर्नु हुँदैन, तर अधिकमास पुर्व बिवाह गरेकाहरु संगै बस्न सक्छन्। खाली यत्ति हो कि यो मासमा गर्भ धारण गर्नु सुखप्रद हुँदैन। जन्मने शिशु तथा आमाको लागि कष्टपूर्ण हुनसक्छ भन्ने धार्मिक मान्यता रही आएकोछ। म पनि एक पारिवारिक व्यक्ति हुँ। म र मेरी श्रीमती मिलेर यस यो पुरुषोत्तममासमा अझ धेरै कृष्णभावना सम्बन्धित कार्यमा लाग्ने सोचमा छौं। अझ धेरै भजन किर्तन, जप, दान धर्म गर्ने छौं।’ ’पुरुषोत्तममासबारे बिस्तृत बर्णन पुरुषोत्तम महात्म्य तथा पद्म पुराणका साथै श्रीमद भागवतमा पनि पाउन सकिन्छ,’ उनले सुझाए। ISKCON हेलसिन्की मन्दिरका प्रमुख गुरु तपोदिव्यम दास जी फिनिश नागरिक भएर पनि वैदिक तथा पुर्बिय दर्शनका प्रखर बिद्द्वान हुन्।
गुरुजी प्रति हार्दिक आभार! उनले मेरो मनको भ्रम र दुबिधा निवारण गरिदिए। कम्तिमा म निर्धक्क आफ्नै घरमा बस्न सक्छु। नत्र ‘केहि अनिष्ट होलाकी?’ भन्ने त्रासले मनमा घर गरिरहन सक्थ्यो महिनैभरि।
नेपाली समाजमा अहिले दुई खाले मान्यता ब्याप्त छ; पहिलो, धर्मको नाममा हुने हर कुरा सहि हो भनेर अन्धाधुन्ध त्यसको पछि लाग्ने। दोस्रो, धार्मिक कुराहरु सबै अन्धविश्वास र रुढिबादी हुन् भनेर बेवास्ता गर्ने वा निन्दा गर्ने। कुनै बिषयको निष्कर्षमा पुगिहाल्नु अघि त्यसबारे खोज्नु, पढ्नु, बुझ्नु वा जानिफकारहरुसंग सोध्नु महत्वपुर्ण हुन्छ। हाम्रो सनातन धर्मले सिकाएका सबै कुरा अन्धविश्वास हुन्नन्। धर्मले मानिसलाई नियम र अनुशाशनमा बाँध्ने काम गर्छ। धर्मले सुविचार, प्रेम, सदभाव र सकारात्मक सोच विकास गर्नु पर्छ न कि अनावश्यक भय र त्रास फैलाउने काम। हाम्रो हिन्दु धर्मग्रन्थहरुले हामीलाई सधै असल ज्ञान र पाठ सिकाइरहेका हुन्छन। समस्या के मात्र हो भने हाम्रो समाजका पण्डित, पुरोहित र धर्मगुरुहरुले सत्यलाई बिगारेर, बंग्याएर आफ्नो अनुकुलता अनुसार ब्याख्या गर्ने गरेका छन्। आधिकारिक धारणा, ज्ञान के हो नबुझी मनगढ़ंत तरिकाले धर्मको ब्याख्या गर्नाले धेरै भ्रम सिर्जना भएका छन् र गलत परम्पराहरु स्थापित हुँदै गएका छन्।
अधिकमास अन्धविश्वास हैन तर ’यसपालीको मलमास कडा छ, श्रीमान श्रीमतीले एक अर्काको मुख समेत हेर्न हुन्न’ भन्नु चाही अन्धबिस्वास हो। घरकी बुहारीलाई बर्षभरि कामकाजमा खटाएर चाडबाड वा यस्तै बाध्यात्मक परिस्थितिमा मात्रै माइती जान छुट दिने सामाजिक मानसिकताले यस्ता कुराहरुको पृष्ठपोषण गरेको हुन सक्ला शायद। अझ अचम्मको कुरा, स्वदेशमा मात्रै नभई बिकसित र आधुनिक भनिएका देशमा बसोबास गर्ने पढेलेखेका पुस्तालेपनि यस्तो चालचलनलाई प्रशय दिंदै आइरहेका छन्। पुरुषोत्तममासको सन्दर्भ एउटा उदाहरण मात्रै हो।हाम्रो समाजमा धर्मसंग जोडेर यस्ता कैयौं चलनहरु चलाइएका छन् जसले हाम्रो दैनिक जीवन कष्टकर बनाइदिएको छ, जस्तै जन्म र मृत्यु संकारका धेरै पक्षहरु, रजस्वला, छोरा वा छोरीको जन्म, जातजाति प्रथा, बलि प्रथा, आदि। धेरै कर्मकाण्डहरु यस्ता छन् जुन हामीले फगत ‘हाम्रा बाबुबाजे देखि गरि आएका’ वा ‘यस्तो रे’ भनेको भरमा गर्दै आएका छौं। धर्मको नाममा कसैलाई दुख दिनु स्वयं धर्मकै बिरुद्ध हुन्छ। हाम्रो सनातन धर्मको असल पक्ष, मूल्य मान्यताको जगेर्ना गरौँ तर कुसंस्कारहरुलाई बढावा नदिउँ। आजकाल विभिन्न धर्मग्रन्थका किताबहरु बिबिध भाषामा पढ्न पाइन्छ। सके जति आफै पढौं, केवल पण्डित, पुरोहितले यस्तो भनेका छन् भनेर भ्रमको पछि नलागौं। हाम्रा धर्मग्रन्थहरु हजारौं बर्ष पहिले लेखिएका हुन्। समय धेरै परिवर्तन भैसक्यो। त्यसैले कतिपय मान्यताहरुलाई समय सापेक्ष ढंगले परिमार्जन गर्दै जान जरुरि हुन्छ। त्यसैले पुरुषोत्तममास ’मलमास हो, कालो समय हो’ भनेर प्रचार नगरौ, यसका सकारात्मक पक्षलाई हेरौं, आफ्नो मन, बचन, कर्म शुद्द गरौँ, दान गरौँ, सहयोग गरौँ । महाभुकम्पले धेरै नेपालीहरु पिडित छन्। यो पुरुषोत्तममासमा उनीहरुलाई केहि दान/सहयोग गरि पुण्य कमाउने हो कि?
पौराणिक काल मा बा नेपाल मा केहि समय अगि सम्म , बा नेपाल मै बस्दा यहाको चलन भनेर येसो मानिदिने को संख्या अधिक नै छ | येस्ता धेरै चलन अरु धर्म र सम्प्रदाय मा पनि न भएको चै होइन |नया ढंगले खिल्ली उडाउनु सायद आफ्नै मनोरन्जनको लागि होला |
न भए नेपाल मा माउबादी को आन्दोलन पछि जात, पात , येस्ता चलन हरु र अरु धरै कुरुतिलाई पनि धोति लाइदियेको सर्बबिदितै छ | धर्म र चलन किताब मा छ , कहा समाज ले अक्ष्यराश फलो गरेको छ ? गर्नु न गर्नु आफ्नो व्यक्तिगत स्वतन्त्रता को कुरा हो | आफुलाई हिन्दु भन्नेले प्रायश येस्ता चलन , र कुरुतिलाई र आफ्नै धर्मलाई पनि कडा रुप मा फलो गर्दैन |यो बास्तबिकता नै हो |
म त भन्छु मानिस ले इश्वर बनायो , न कि इश्वर ले मानिस | धेरै धर्म बने , कुरीति थपिए |
मन्द बुद्दिहरु तेरो भन्दा मेरो धर्म राम्रो भन्ने बहस गर्छन | अरुको खिल्ली उदाउदा मन रंजित गर्छन हालाकी मार्क्स ले भने जस्तो धर्म अफिम जस्तै नै हो |
यो आधिक मास र मलमास भन्ने नै आन्धबिस्वास हो. वर्ष मा एक महिना सम्म पात्रो नमिल्दा त त्येस्लाई पो मिलाउनु पर्छ. अब यो मास मा कसै को गर्ब बस्यो भने त्रास मा बाच्नु पर्ने. जन्मेको छोरा छोरीको भबिस्य को पनि जिन्दगि भरि चिन्ता हुने भयो. आधिकमास मा गर्ब बसेको मानिसलाई मात्र थाहा हुन्छा त्यो पिडा. पण्डितलाई सोद्नु भन्दापनि किताब आफै पाद्नु सारै बुद्धिमता हो. तर किताब मा छ भनेपनि त्यो सत्य हो भन्ने कसरि विश्वास गर्ने त ? हिन्दु किताब मा नै परस्पर बिरोधि पुस्तक हुन्छन. कुनै पुस्तान्ले महिला हरु देवी सरह हुन् भन्छन आनी कुनै पुस्तकले महिला वा स्वास्नी दासी हो भन्छन. त्यसैले अबको बाटो बिज्ञान हो. सत्य को खोजि बिज्ञानले बाहेक आरुले गर्न सक्दैन.
समाज बिस्वब्यपी भैसक्यो. त्यसैले पूर्वको राम्रा पश्चीम को धर्म नराम्रो भन्नु नै गलत हो. सबै धर्म लै बिज्ञान को कसी मा राखी अध्यन गर्न सकेमा सत्य नजिक पुगिञ्छ . यो मलमास वा आधिक मास दुवै आब आन्धबिस्वास मात्र हो.
यहि देखार एक महिना माइत लखेट्नु परो कि क्या हो ? साथि हरु पोखरा जाम कि जाम भन्दै छन, के के जाती देखेर आका छन रे, उतै जानु परो कि के हो?
अयोग्य भय पनि पद ओगट्ने, आफ्नो कारणले अरु निर्धन, पिडित र योग्य भय पनि अबशर बिहिन बनेमा तेरो पुर्व जन्मको फल भन्नेहरुले “आस्था” (बिना प्रश्न र प्रतिबाद चुपचाप स्विकार्नु) धर्मको नाममा “पेशा” गर्नेको हतियार बनायकोछ/ यस्तैले धर्म र आस्थाको नाममा मनाउन लगायको सति प्रथा बाल बिबाह बहुबिबाह जातले कोहिको मैलो र फोहरी हात पनि धोक्नु पर्ने र जातकै कारणले मन्दिरमा प्रवेस गर्न मात्रै नपाउने होईन पानि पनि छुन नपाउने आछुत हुने जस्तो कुपरम्परा आज पनि मान्ने पर्ने भयको भय अहिले कहिले मात्रै त्यागेको धर्मको अस्तित्व मान्ने कुनै हुँदैनथ्यो/
तेसैले धर्म र आस्थाको नाममा धर्मको नाममा पेसा गर्नेले “नपाने पापी हुने” भनेको माथि उल्लेख गरेको जस्तो कयौं गलत परम्परालाई राज्यले “मानेमा अपराधि” बनिने कानुन बनायर निषेध गरेको छ/ तापनि आज पनि राज्यको नजरमा नपरेको कयौं गलत परम्पराहरु अझै चलिरहेकैछ/
“कुन कुरा गर्नु ठिक बा पुण्य हो र कुन कुरा गर्नु पाप बा अपराध हो ” भन्ने कुरा समय र परिस्थतिले तय गर्छ भनेर नेपालमै जन्मेको बिस्वले मानेको कुनैले भनेको छ/ अब हाम्रो देसमै जन्मेको हाम्रै पुर्खालेनै देखेकोले भनेको पत्याउने कि कसैले नदेखेकोले भनेको कुरा आँखा चिम्लेर पत्याउने आआफ्नो बिचार/