Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुरक्षाको जिम्मा लिनेहरुको नालायकी : मोदी आउँदा ट्रेकिङ रुटमा पदयात्रीलाई प्रतिबन्ध, दुई दिन मन्दिर बन्द

Posted on May 12, 2018May 12, 2018 by Salokya

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज मुस्ताङको मुक्तिनाथ मन्दिर जाँदैछन्। एकदम राम्रो। मुस्ताङ पुग्ने पहिलो विदेशी प्रधानमन्त्री बनेका छन्। धार्मिक पर्यटनको प्रचार हुन्छ। फाइदा लिन सक्नुपर्छ हामीले। तर मोदीको भ्रमणका क्रममा सुरक्षाको जिम्मा लिनेहरुको नालायकीका कारण पदयात्रीहरुलाई चाहिँ नकारात्मक असर पर्ने काम भएको छ। मोदीको भ्रमणका क्रममा सुरक्षाको नाममा मनाङबाट थोरङला पास हुँदै मुस्ताङको मुक्तिनाथ छिर्ने पदयात्रीहरुलाई दुई दुई दिन रोक लगाउने निर्णय गरिएछ। 

एकदम प्रख्यात अन्नपूर्ण ट्रेकिङ रुटमा अहिले सिजनको बेला यसरी दुई दुई दिन रोक लगाउने कुबुद्धि कसले सुझाएको होला, अचम्म लाग्छ। अहिले त्यहाँ प्रशस्तै विदेशी र स्वदेशी पर्यटकहरु छन्। पर्यटकहरु निश्चित समय मिलाएर आएका हुन्छन्। दुई दिन यसरी बाटो छेकिदिँदा अलपत्र पर्नेको जिम्मेवारी कसले लिने? कसैले सोच्नु पर्दैन?

५ हजार ४१६ मिटरको उचाइमा रहेको थोरङलाबाट झरेर ३ हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथ छेउको बाटो हुँदै म पनि यो ट्रेकिङ रुटमा एक पटक हिँडेको छु। विदेशी पदयात्रीहरुलाई एक दिनको बाटो हो यो।

थोरङलाबाट ढुंगा खसालेर मुक्तिनाथमा पर्ने जस्तो हावा सोचेछन् कि के हो। त्यो बाटो हिँड्न दिँदा हेलिकप्टरमा आएर मुक्तिनाथमा पूजा गर्ने मोदीको सुरक्षामा कतै असर पर्ने पटक्कै हैन। निर्णयमा हेर्नुस् न त्यहाँ मोदीको भ्रमणलाई ‘सुरक्षित र भरपर्दो’ बनाउन रे। भर चाहिँ यसरी सबै बाटो बन्द गरेर कसैलाई हिँड्न नदिएपछि पर्ने रैछ कि के हो?

थोरङला पासबाट मुक्तिनाथ जाने बाटो

त्यस्तै केही जोखिम चाहिँ मुक्तिनाथ वरपरका डाँडामा कोही बसे हुने हो। त्यो पनि सुरक्षाकर्मीलाई अलि राम्रोसँग खटाए भइहाल्थ्यो। त्यस्तै केही परे विशेष सावधानीका लागि मोदी आउने एक घण्टा अगाडि बाटो छेके त भइहाल्थ्यो। दुई दुई दिन पदयात्रीलाई रोकै लगाउनु पर्ने के त्यस्तो विशेष कारण परेछ, कसरी यो निर्णयको बचाउ गर्छन् होला, अचम्म लाग्छ। मोदी पनि पदयात्रीहरु जस्तै हिँडेरै आउने भए त लौ त भनेर मान्न हुन्थ्यो। त्यो पनि हैन, आकाश मार्गबाट आउने हुन्।

 

धन्न आलोचना बढेपछि स्थानीय प्रशासनले  छेन्गुर, झोङ, पोटाक हुँदै कागबेनी जाने वैकल्पिक रुटमा भने पदयात्रीलाई हिँड्न दिने निर्णय गरेछ। यो भनेको मुक्तिनाथ नपुग्दै दायाँतर्फ मोडिएर जाने अर्को रुट हो।

अर्को हचुवा काम चाहिँ दुई दुई दिन मुक्तिनाथ मन्दिरै बन्द गर्ने भनेर गरेछन्। हो, विशिष्ट व्यक्तिको मन्दिर भ्रमण हुँदा उसको सुविधाका लागि केही घण्टा मन्दिरमा अरुलाई पस्न नदिनु सामान्य हो। पदको सुविधा लिएको मानौँ न त्यसलाई। हाम्रै राष्ट्रपति र पूर्वराजा भारतका मन्दिर जाँदा पनि त्यसो गरिएकै हो। तर एक दिन अगाडिदेखि मन्दिर बन्द गरेर केको तामझाम र भक्ति गरिएको हो, बुझ्नै सकिएन।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme