Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केको ३३ किलो सुन हुनु, ३ हजार ८ सय किलो सुनको केस पो रहेछ

Posted on May 3, 2018May 3, 2018 by Salokya


केही सातादेखि निरन्तर चर्चामा आइरहेको विषय थियो ३३ किलो सुन कान्ड। कसैले साढे ३३ किलोसम्म लेखेका थिए। चलनचल्तीमा भने ३३ किलो सुन काण्ड भनेरै चिनिन्थ्यो। तर जब आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्‍यो, तब पो थाहा भयो- केका ३३ किलो हुनु, यो त ३ हजार ८ सय किलो सुनको पो केस रहेछ।

दायर गरिएको अभियोग पत्रमा ३७ लाख ९९ हजार ५५९ ग्राम सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको उल्लेख छ। तोलाको हिसाब गर्नेहरुलाई यो सुनलाई किलोमा गनेको सुन्दा नै अचम्म लाग्छ। यो त किलोमात्र हैन हजारौँ किलोको पो हिसाब रहेछ। ठ्याक्कै तोलामा हिसाब गर्दा ३ लाख २५ हजार ७५६ तोला हुन आउँछ। किलोको हिसाब गर्दा ठ्याक्कै ३ हजार ७९९ किलो ५५९ ग्राम। टनको हिसाब गर्दा ३.७९९ टन। आम्मामा। आजको भाउको हिसाब गर्दा १६ करोड अमेरिकी डलर। त्यसैले त बिगोवापत् नै १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको दावी गरिएको छ।

नेपालको दैनिक सुनको माग भनेको ६० किलोसम्म हो। त्यो हिसाबले मासिक १८०० किलो सुन भए पुग्छ। यो त ३८ सय किलो पो त। यो एक पटकमा आएको सुन त पक्कै हैन।

अभियोग पत्र दायर गरिए पनि त्यसको डिटेल आइनसकेकोले यति धेरै सुन कहिले कहिले र कसरी तस्करी गरियो, त्यो खुलेको छैन। (अपडेट : बिहीबार आएको जानकारी अनुसार सन् २०१५ को जुलाईदेखि हालसम्म ५२१ पटक गरी सुन आएको रहेछ। विस्तृत विवरण) विदेशबाट एक केजी सुन ल्याएर बिक्री गर्दा तस्करहरुलाई ५ देखि ८ लाख रुपैयाँसम्म फाइदा हुने हिसाब छ। अब यसलाई ५ लाखकै मात्र हिसाब गर्ने हो भने पनि ३८ सय किलो सुनको फाइदा १.९ अर्ब रुपैयाँ हुन आउँछ। सिङ्गो काठमाडौँ महानगरपालिकाको बजेटै जम्मा १० अर्बको हो। अन्तर्राष्ट्रिय बजारमा यति सुन किन्दा नै १७ अर्ब पर्छ। अनि यति धेरै रकम त्यो जाबो गोरे भन्ने चुडामणि उप्रेतिको नाकमा मात्र गएर ठोकिन्छ होला त? को छ त यसको पछाडि? ठूला माछाहरु को हुन्? कि यो केस पनि अदालतमा प्रमाणित हुन नसक्ने गरी गरिएको हचुवा अनुसन्धानमा सीमित हुने हो?

यो हाइप्रोफाइल केसमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको छ। यति धेरै प्रतिवादीहरु त बनाइयो। तर कसरी प्रमाणित गर्ने होला नि उनीहरुको अपराध? अभियोग लगाउँदैमा पुग्ने हैन। प्रमाण पनि दरिलो जुटाउनै पर्‍यो, हामी कहाँ त अदालतले दायाँ खुट्टाको साटो बायाँ खुट्टा भनेर सफाइ दिएको उदाहरण छँदैछ।

अघिल्लो पटक ३३ किलो सुन कान्डमा पनि हाइप्रोफाइल तानिने आशाका बीच नवराज सिलवाल नेतृत्वमा भएको अनुसन्धानले मुख्य नाइके ठहर गर्‍यो १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का जो आजसम्म पक्राउ पर्न सकेका छैनन्। अहिले अभियुक्त भएका केहीको त त्यतिबेला पनि अनुसन्धानमा कनेक्सन देखिएको हो। तर हाल सांसद भइसकेका सिलवालको ‘मन कमलो’ भइदियो। हाल यो कान्डमा फरार रहेका एसएसपी श्याम खत्री त उतिबेला पनि अदालतमा मुद्दा परी धरौटी तिरेर रिहा भएका हुन्।

छोटकरीमा बुझ्नुस् अहिलेको काण्ड

को-को प्रहरी परे?
यो कान्डमा अभियुक्त बनाइएका सबैभन्दा हाइप्रोफाइल हुन्- एसएसपी दिवेश लोहनी। महानगरीय अपराध महाशाखा प्रमुख र भावी आइजीको लाइनमा थिए उनी। हिजो बयान दिन पुगेका उनलाई आज पक्राउ पूर्जी थमाएर अदालतमा पेश गरिएको थियो। अदालतमा मुद्दा दायर पछि बाहिर निस्कँदै गर्दा पत्रकारलाई किक हानेर पनि चर्चामा आए उनी

उनीभन्दा माथिल्लो दर्जाका तर अवकाश पाइसकेका पक्राउ परेका व्यक्ति हुन् पूर्व डिआइजी गोविन्द निरौला। उनी पहिला एयरपोर्टमै खटिएका थिए। मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी विकासराज खनाल जो आइजी सर्वेन्द्र खनालका आफन्त पर्छन्। उनी दुई वर्षअघि एयरपोर्टमै खटिएका थिए। डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल जो एसएसपी दिवेश लोहनीमातहत थिए। सञ्जेल र गोरे आफन्त पर्छन्।

किन मोरङमा मुद्दा दर्ता?
यो केसमा मुद्दा दर्ता चाहिँ किन मोरङमा भयो त? फागुन १९ गते विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोर्पिओमा सनम शाक्यको शव फेला परेको हुनाले जहाँ शव फेला पर्‍यो त्यहाँको प्रहरीले अनुसन्धान गरी मुद्दा अदालतमा दर्ता गर्ने हो।

सनम शाक्य को त?
यो केस सतहमा आउनुको मुख्य कारण सनम शाक्यको हत्या हो। सनम शाक्य सुन व्यापारी हुन्। फागुन ७ गते (९ गते पनि भन्छन् कोहीले) काठमाडौँ एयरपोर्टबाट बाहिरिएको ३३ किलो सुन बाहिरिएपछि हराउँछ। त्यो हराएपछि पत्ता लगाउन गोरे ग्याङले यातना दिने क्रममा सनम शाक्यको मृत्यु हुन्छ। शाक्यको शव व्यवस्थापन गर्न गोरे र प्रहरीबीच कुरा भएर बार्गेनिङसम्म भएको भनिएको छ। घटना सामसुम पार्ने प्रयास भएको थियो तर शाक्यको परिवारले गृह मन्त्रालयदेखि प्रमसम्मलाई ज्ञापन पत्र दिई छानबिन गर्न आग्रह गरेपछि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गर्छ। जसले प्रहरीकै हाइप्रोफाइलहरुलाई नियन्त्रणमा लिन्छ।

कति जनाको मृत्यु भयो?
यो प्रकरणमा तीन जनाको मृत्यु भइसकेको छ। सबैभन्दा पहिला मृत्यु भएको थियो सानु वनको। माघ २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गुड्दै गरेको ट्याङकरमा ठोक्किएर मृत्यु भएको थियो। यिनैले ३३ किलो सुन एयरपोर्टबाट बाहिर्‍याएको भनिएको छ। हराएपछि उनलाई पनि यातना दिइएको थियो। दोस्रो मृत्यु सनम शाक्यको हो जो सुन तस्करी समूहका एकाउन्टेन्टका रूपमा काम गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको भनिएको छ। तेस्रो मृत्यु ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रूपमा कार्यरत थिए प्रेमलाल चौधरीको भएको हो। चैत ३० गते बिहान ३३ केजी सुन काण्डको अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका चौधरीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारभित्र सुरुवालमा लगाएको इजार प्रयोग गरी बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको अवस्थामा प्रहरीले फेला पार्छ।

गोरे को ?

यो सब प्रकरणका मुख्य अभियुक्तका रुपमा गोरेलाई उभ्याइएको छ। मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ पशुपति टोल स्थायी घर भएका चुडामणि उप्रेतीलाई गोरे र रुपेश नामले पनि चिनिन्छ। उनी स्थानीय तहका फुटबल खेलाडीसमेत हुन्। उनी मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा उनी पनि एक मुख्य खेलाडी थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले शङ्का गरेका थिएनन्। भारतीय आर्मी र खाडी देशको प्रहरीमा समेत काम गरिसकेको भनिन्छ उनलाई। दुबईमा हुँदादेखि उनले सुन तस्करीको काम थालेका थिए। अहिले उनी कता छन्, अत्तोपत्तो छैन।

सुन खै त?
ह्यात्तेरी, कस्तो प्रश्न सोध्नुभएको। यो सुन कहाँ छ भन्ने पत्ता लागेको भए न गोरेले सनम शाक्यलाई मार्थ्यो। न उनको शव व्यवस्थापन गर्न जाँदा प्रहरी आफै फँस्थे, न यत्रो बबाल हुन्थ्यो। सुन त कसले पच गरेर यहाँको वा विदेशको बजारमा बेचेर अहिलेसम्म त मान्छेको घाँटी, नाडीमा झुण्डिसक्यो होला।

12 thoughts on “केको ३३ किलो सुन हुनु, ३ हजार ८ सय किलो सुनको केस पो रहेछ”

  1. Sk says:
    May 17, 2018 at 10:16 pm

    यातना दिएको video Facebook मा कुन चै ले upload गरेछ : https://www.facebook.com/bibekg39/posts/10213883061705193

    Reply
  2. madan bajracharya says:
    May 7, 2018 at 9:24 am

    निर्मलज्यु/
    प्रतिक्र्यको निमित धन्यबाद/ नेपाली आत्म निर्भर बनाउन सहयोग गर्ने ठुला ठुला आयोजना योजना बनाउन चाहिने बिदेशी मुद्रा कुनै पनि गलत तरिकाले भारत पुग्ने सुन तस्करी आदि जस्तो कुकार्य हुँदै गर्नुको पछाडी नेपाललाई भारत आश्रित मुलुक बनाउने कुनै ग्राण्ड डिजाईननै भयको देखिन्छ/

    तेस्तो नभयको भय, भारतले बिदेशमा बसेको भारतीयले 50 किलो चांदी र ५ किलो सुन ल्याउन पाउने नियम बनायको लगतै नेपालीले बिदेशमा कमायको बिदेशी मुद्रा भारत पुगिने यक महिना बिदेशमा बसेको नेपालीले १५० किलो चांदी र १५ किलो सुन ल्याउन पाउने नियम बनाउने नै थियन, नेपालमा भारतीय उत्पादनको बजारलाई प्रतिस्थापन गरेर नेपाललाई आत्म निर्भर बनाउने भृकुटी कागज कारखाना, बाँसवारी जुत्ता कारखाना, नेपालमै गाडी बनाउने कारखाना, जडिवुटी काराखाना आदि बन्द बा चल्ने नसक्ने अबस्थामा पुर्याउने बा बेचिन्दैन्थ्यो, भारतीय नाकाबन्दीलाई भारतले सोचे जस्तो सफल बनाउन बाधा पुर्याय्ने नेपाल बायु सेवा निगमलाई घाटा हुने धमिजा लगायत भ्रस्टाचार काण्ड गरेर लगभग धरासाही नै हुने अवस्थामा पुर्याउन्दैन्थ्यो/

    Reply
  3. निर्मल says:
    May 5, 2018 at 10:57 am

    मदनजी,
    तपाईका केहि कुरामा सहमति जनाउद्छु तर केहि तथ्यहीन उडन्ते कुरोमा चाहि मेरो विमति छ|
    पैला विमति के मा?
    नेपालमा बिदेशी मुद्रा नभएर भन्ने अक्षरश साँचो होइन| यो पुरानो घोकाई हो| नेपालमा टन्नै बिदेशी मुद्रा भित्रिन्छ| तर त्यसको सही र सदुपयोग भैराछैन| अझ बढी ल्याउन पनि सकिन्छ| सत्तामा जो आए पनि एउटा पछि अर्को अनुत्पादकीय नेपाली मिसन र राजदुतावास खोलेर र थपेर आफ्नो मान्छेलाई जागिर खुवाउने उदेश्यले, भ्रमणको नाउमा, इत्यादि गरेर बिदेशी मुद्राको ब्रह्मलुट भैरहेको छ| ६० देखि ८५% हाम्रा बिदेशका मिसन अनुत्पादकीय छन भन्दा हिच्किचाउन पर्दैन| हाम्रा अधिकतम विज्ञहरु जो टीभी र प्रिन्ट मेडियामा आफ्नो भाषा कला देखाउछन यो कुरो बुझेपनि औल्याउदैनन किनभने उनीहरु पनि त्यही फल चाख्ने वा आफन्तलाई चखाउने आशातीत रहन्छन वा भोग गरेका हुन्छन|
    अहिलेको तथ्यांक मान्नु हो भने पनि ४० लाख नेपाली बाहिर जागिरमा छन भन्छन| मेहनतको कमाई नेपालमा पैसा पठाउछन| पुर्ण व्यवस्थापन गरिने हो भने सबै बिदेशी मुद्रामा नै आउछन| बंगलादेशमा जस्तो बिदेशमा गएका कामदारले स्वदेशमा पैसा पठाउदा केहि लाभ दिन सकिए बिदेशी मुद्रा आर्जन अझ वृद्धि हुने थियो| तर त्यसलाई पनि स्क्याम गरे कठोर सजाय हुने व्यवस्था हुनपर्छ, कडा अनुगमनका साथ्| सिधा कुरा र रबि लामिछानेज्युलाई मात्र यो जिम्मेवारी दिएर भएन, उनले मात्र कत्ति गरून? सरकारी निकाय र जनता पनि सचेत हुनपर्यो| सानो उदाहरण, तपाई एयर्लाइन्समा अनुभव भएको व्यक्ति, थाई एयर्लाइन्स र थाई एम्बेसीले नेपालीले तिरेको भिसा शुल्क मात्र बर्षेनी कति बिदेशी मुद्रा नेपाल बाहिर लैजान्छ अनुमान त्यसै गर्न सकिन्छ| माथिल्लो स्टार होटलहरुले नेपालको प्राकृतिक दृश्य देखाएर निम्त्याएर बिदेशी मुद्रा आर्जन गर्छन, सराहनीय छ| बिज्ञापन र अरु खर्च भन्दै लुब्धो, लालची र कामचोर सरकारी कर्मचारीहरुका मिलेमतोमा कति बिदेशी मुद्रा बाहिरै पुर्याउछन, त्यसको पनि लेखाजोखा कसैले गर्ला कुनैदिन| पर्यटन बोर्डको फुर्ति अर्कै छ| हालैमा अदालतले दिएको सजाय एउटा नमुना मात्र हो भने हुन्छ| लुकाएर छिपाएर गरेको धाँधली कति हो कति| तपाइकै पुर्ब जागिरदाता संस्थाको पहिलो नाउँ ठुटे पारेपछि पनि धेरजसो काम गर्नेले अर्को बाटो लागे यद्यपि गोलमालको मोलमाल न हट्या छ न घट्या नै|क्रम जारी छ| चार पांच वटा प्रफिटेबल मानिएका गन्तब्यमा पहिले केन्द्रित भएर कुशलता अपनाउन भन्दा गन्तब्य बढाएर फेरी धमिजा र धमिरा गन्हाउन तयारीमा छ| भनेपछि
    खोइ त बिदेशी मुद्राको सदुपयोग| भए पनि राष्ट्र बैंकमा थन्काएर राखिदिने कुनै लगानी योजना बिहीन?
    सहमति के मा भने गिरिजाले यो मुलुकलाई डुबाए| प्रचण्डले राष्ट्रपतिमा सहयोग नगरे पछि त झन् बौलाए| मधेसमा जथाभावी नागरिकता दिने गिरिजाको निर्णयको दुरगामी नकारात्मक प्रभाव छदैछ, महाभूकम्प पीडित नेपालीले एकैसाथ नाकाबन्दीको पीडा खप्न किन पर्यो यो पनि नेपाली जनताले बल्ल बुझ्दैछ| ज्ञानेन्द्रलाई लखेटन र लोकतन्त्र ल्याउन उंहाको योगदान छ तर ती सब आफ्ना नीजी फायदा र रिसइबी चखाउने उदेश्यले गरिएका हुन्, न कि सर्बोपरि मुलुकको हितलाई मध्य नजर राखेर| एउटा सन्तुलित सोच राख्ने नेपालीले गिरिजालाई कुनै दृष्टिले हेरेपनि हीरो मान्ने स्थिति छैन जब मुलुकलाई उनले लाभ भन्दा धेरै हानी पुर्याएका छन| खोइ त ग्राण्ड डिजाइन को खुलासा?

    Reply
  4. Nabin says:
    May 4, 2018 at 7:50 am

    कति सरल र सबैले बुझ्ने गरि छर्लंग पारेर लेखिदिनु भाको हो? धन्य छ तपाइलाई ! पत्रकार त यस्तो पो हुनुपर्छ |

    Reply
  5. bishleshak says:
    May 3, 2018 at 11:18 pm

    यो काण्ड को अर्को पाटो पनि छ. जनता सामाजिक, धार्मिक र आर्थिक कारण ले सुन मा लगानी गर्न चाहन्छ. तर सरकार ले सुन को आयात लै बैंक मार्फत सिमित गरेर मोनोपोली सिर्जना गरेको छ. ब्येक्तिगत रुप मा झिन्तिगुण्टा बाट ५० ग्राम ल्याउने पनि निषेध गरेको छ. भनेपछि बजार मा माग र पूर्ति को बीच ठुलो भिन्नता छ. यो भिन्नतालाई पूर्ति गर्ने कोहि न कोहि त आउछ आउछ. यसले अपराधिक गतिबिधि लै झन् फाइदाजनक बनाउछ भने सर्वसाधारण जसले सिमित सुन जगेडा गर्न चाहन्छ उसलाई ब्लैक मार्केट मा धकेल्छ. त्येसैले झिन्तिगुण्टा बाट ५० ग्राम ल्याउने पाउने फेरी ब्यबस्था गर्नु पर्छ. यसले बजार मा माग र पूर्ति बीच केहि हद सम्म दुरी कम गर्छ र अपराधिक गतिबिधि लै आर्थिक प्रोत्साहन गर्दैन. त्यसो नगर्ने हो भने एस्तो काण्ड भैरहन्छ.

    Reply
  6. madan man bajracharya says:
    May 3, 2018 at 10:48 pm

    सुन तस्करी र नेपालले बिदेसी मुद्रा सिट साटेर ल्यायको भारतीय मुद्रा खुला सतहिको सुबिधा दुरुपयोग गरेर भारतमै पुर्याउने गरे बात नेपाल र नेपालीले दुख गरेर कमायको बिदेशी मुद्राको उपयोग देसलाई आत्म निर्भर बनाउने आयोजनामा खर्चिन नसकेकोले नै नेपालको बिकाश हुन् नसकेको हो/

    सबैले बुझेकै कुरा हो भारत सिट को नेपालको ब्यापार घाटा अरवौं होईन खरवौको छ/ यत्रो परिमाणमा भयको व्यापार घाटा मात्र नेपाल बात भारत निर्यात हुने र भारत बात नेपालले आयात गर्ने व्यवसायमा अन्तर भयकै मात्र भयको पक्कै होईन यसको कारण सुन तसकरी र भारुको खुला सतही गर्न दिनु पनि हो/

    नेपालले भारतलाई भारतीय मुद्रामा जत्ति भुक्तानि गर्नु पर्छ तेती भारु नेपालले कमाउन सकेको छैन/ त् नेपालले बिदेशी मुद्रा भारतको बैंकमा साटेर लियको भारु नै भारतलाई भुक्तानि गर्दै आयको छ/ यस्तो अबस्थामा पनि नेपालले भारुलाई खुला सतही गर्न दिने सुविधामा केहि नियन्त्रण गर्ने पर्ने देखिन्छ/

    भारतले बारम्बार भन्दै आयको छ कि नेपालमा करोडौं भारतीयहरु बसोबास गर्छन/ ती करौडौ भारतीयले नेपालमा बिदेशी मुद्रा होईन नेपाली रुपिया कमाउञ्छन/ ति करौडौं भारतीयले नेपाली रुपिया बुझायर दिनमा १०० भारु मात्रै खुला सतहिको सुविधामा बैंकमा साटेर महिनामा 3००० करोड भारु भन्दा बढिनै भारत लाग्दै गरेकोछ र उनीहरुले भारत लाग्दै गरेको तेत्रो रकम नेपालको सरकारले भारतको बैंकमा बिदेशी मुद्रा बुझायर साटेको भारुकै यक ठुलो हिस्सा हो/ त् नेपाली र नेपालमा बसोबास गर्ने भारतीयलाई दैनिक उपभोग गर्न आबस्यक बस्तु भारतको बजारमा किन्न पुग्ने जत्तिको भारु मात्रै खुला सतही गर्न दिनु पर्छ/ भारतले भारतीय रुपिया नेपालमा ५०० /१००० को भारुको नोटमा बन्देज लगाउनुको तात्पर्य पनि यक किसिमले ठुलो परिमाणमा भारुलाई नेपालमा जान बात रोक्नु नै हो/ त् नेपालले पनि तेस्तै नीति किन नलिने?

    भारुलाई नेपाललाई खुला सतही गर्ने छुटको कारणले तस्कर र पदमा रहंदा अबैध तरिकाले कमाउने कर्मचारी र नेताहरुले तेसरी कमायको रकम भारतको बैंकमा डिपोजिट गरेर, शेयर आदिमा लगानी गरेर र भारतमा घर जग्गा किनेर लुकाउन मदत गरिरहेको छ/ तेसैले नेपालीले भारतको बैंकमा डिपोजिट गरेको रकम र भारतमा किनेको घर जग्गा शेयर आदिको बैधानिक श्रोत भयको नभयको कुरामा पनि छानविन गर्नु पर्छ र खुला सतहिको नाममा बिदेशी मुद्रा सिट साटेको भारुलाई देस बाहिर जान पनि रोक्न कुनै नियम बनाउनु पर्छ/ यसो गरेमा सुन तस्करी र भ्रस्टाचार नियन्त्रण गर्न पनि केहि सहयोग पाउने हुन्छ/

    Reply
  7. मोहन सुनुवार says:
    May 3, 2018 at 7:05 pm

    ग्रीहेमंत्री राम बहादुर थापाले एर्पोट बाट टन का टन सुन तस्करी हुन्छा भनेर भन्दा एकजना सचीपले अपती जानआएको थियो | त्यो सचीबलाइ पनी समात्नु पर्ने भयो |

    Reply
  8. hari says:
    May 3, 2018 at 9:48 am

    यसको त फिल्म नै बनौन पर्ने देखिन्छ

    Reply
  9. madan man bajracharya says:
    May 3, 2018 at 6:14 am

    सुन र बिदेशी मुद्रा उस्तै उस्तै हो/ हाम्रो नेपालमा ठुलो ठुलो आयोजना आफैले गर्न नसकेको हामि सिट चाहिने बिदेशी मुद्रा नभयरै मात्रहो/ जतिञ्जेल हामीले पर्याप्त मात्रामा बिदेशी मुद्रा कमाउन सक्दैन तेतिन्जेल नेपाललाई आत्म निर्भर बनाउने नेपालको ठुलो ठुलो जलश्रोत आयोजना र उद्योगहरु हामिले संचालन गर्न सक्दैनौ/ हामि आत्म निर्भर हुन् नसके बा हामि आफैले ठुला ठुला जलश्रोत आयोजना र उद्योग संचालन गर्न नसके हामि जहिले पनि भारत आश्रित मुलुकमै घिचारिनु पर्ने हुन्छ/ अब सुन तस्करी कै कुरा गरूँ/
    ०१. सुन ल्याउने नेपालमा जाने भारतमा/
    ०२ सुन नेपालि मुद्रामा बाहिर किन्न सकिंदैन डलर युरो मै किन्नु पर्ने हुन्छ/
    ०३. लाखौँ नेपालि बिदेशमा रोजगारीको निमित गयकोछ/ तिनीहरुले मैन्हामा कमाउने करौडौं को ठुलो हिस्सा सुनको रुपमा नेपालमा आउँछ र त्यो सुन भारत पुग्छ/ भन्नुको मतलब नेपालीले बिदेशमा कमायको बिदेशी मुद्रा भारत पुगिरहेको छ/

    गिरिजा प्रधान मन्त्रि बनेको बेला भारतले यनआरआई (बिदेशमै स्थाई बसोबास गर्ने भारतीय) ले ५० किलो चांदी र ५ किलो सुन भारतमा ल्याउन पाउने नियम बनायाको लगतै गिरिजाले यक महिना बिदेशमा बस्ने नेपालीले आय श्रोत देखायर १५० किलो चांदी र १५ किलो सुन ल्याउन पाउने नियम बनायो/ यक महिना बिदेशमा बस्ने नेपालि लाई बिदेशमा स्थाई बसोबास गरेको भन्न मिल्दैन र यक महिना मात्रै बिदेशमा बस्ने कुनै नेपालीले १५० किलो चांदी र सुन किन्न पुग्ने बिदेशी मुद्रा कमाउन सक्दैन र तिनीहरुले ल्याउने सुन र चांदी पुग्ने त् भारतनै थियो/ त् गिरिजाले यस्तो नियम कसलाई कंगाल बनाउन र कसलाई मालामाल गर्न बनायो भन्ने प्रश्न उहिलेनै उठ्नु पर्ने थियो/ गिरिजाले तेस्तो नियम बनाय देखिनै नेपालमा ठुलो परिमाणमा सुन तस्करीको सुरुवात भयको देखिन्छ/

    म सन् १९९३ देखि सन् १९९५ सम्म शानेवानीको वितिय प्रवन्धक को पदमा कार्यरत थिय/ आफ्नो जिम्मेवारी पुरा गर्न म निगमको हंगकंग बिमानमा उडानको दिन जानु पर्थ्यो/ तेती बेला मैले जे देखे त्यो म तल बर्णन गर्छु/

    निगमको काठमान्डू जाने बिमानमा कमसेकम २० जना जत्ति यक महिना हंगकंगमा बसेको हरायक यात्रुले १५० किलो चांदी र १५ किलो नेपाल लग्थ्यो/ तिनीहरुले ल्यायको सुन चांदी किन्न पुग्ने आय श्रोतको चिठ्ठी चाहि अर्कैले बोक्थ्यो/ तेस्तो चिठ्ठीमा कसैको घर पसलमा यक महिना काम गरे वापत १५० किलो चांदी र १५ किलो सुन किन्न पुग्ने तलव दियको कुरा लेखियको हुन्थ्यो र नेपालको बिमान स्थलमा तेस्तो कागजलाई बैधानिकता दिनु दिलाउनु नेपाली बदनाम हुने नेपालीले कमायको बिदेशी मुद्रा सुनको रुपमा भारत पुर्याउने ठुलै षड्यन्त्र भयको देखिन्छ/ अहिले पनि यात्री परिमाणमा सुन चांदी तस्करि हुनु बात गिरिजाको तरिकाले सुन चांदीको रुपमा नेपालीले कमायको बिदेशी मुद्रा भारत पुर्याउने तरिका अब अर्कै तरिकाले निर्वाध चलिरहेको देखिन्छ/ त् यो कुरालाई मात्र तस्करी गरेको रुपमा होईन रास्ट्र प्रति गद्दारी गरेको रुपमा पनि लिनु पर्छ जस्तो लाग्छ/

    Reply
  10. Navin Rayamajhi says:
    May 3, 2018 at 4:03 am

    कतै यो काण्ड हाती आयो हाती आयो फुस्सा हुने त् होइन?

    Reply
  11. shyan says:
    May 3, 2018 at 2:07 am

    अब यसलाई ५ लाखकै मात्र हिसाब गर्ने हो भने पनि ३८ सय किलो सुनको फाइदा १९ अर्ब रुपैयाँ हुन आउँछ रे पासा येसो हिसाब गरे हुने नि १ अर्ब ९० करोडको हिसाब लाइ १९ अर्ब भन्दिने?

    Reply
    1. Salokya says:
      May 3, 2018 at 2:45 am

      १.९ अर्ब भनेको हो। के देख्नुभो तपाईँले 😛

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme