अघिल्लो पटक अर्थात् २५ औँ प्रहरी महानिरीक्षक बनाउने क्रममा जस्तो घिनलाग्दो खेल नेपाल प्रहरीको इतिहासमै कहिल्यै भएको थिएन। कार्यपालिका र न्यायपालिकामात्र हैन व्यवस्थापिकासमेत यो खेलमा मुछियो र विवादमा आयो। जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन दबाब दिने नेपाली कांग्रेसले चुनावमा इतिहासमै सबैभन्दा कमजोर प्रदर्शन गर्यो। नवराज सिलवाललाई मन्त्री बनाउने वाचासहित चुनाव प्रचारमा उत्रिएको वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमत हासिल गर्यो। हुन नसकेका आइजी सिलवाल देउवा सरकारको पालामा गिरफ्तार हुने डरले लुक्दालुक्दै अन्ततः बल्ल सांसद बनेर सुखको सास फेरे। २६ औँ महानिरीक्षक बनाउने क्रममा पनि खेल चाहिँ रोचकै रह्यो।
यो फोटो बहालवाला आइजी र एआइजीहरुको हो। यी सबै भोलि बुधबारदेखि अवकाश पाएर घर जाँदैछन्। त्यसो नभएको भए एआइजीमध्येबाट एक जना आइजी छानिन्थे। तर सबै एकै पटक घर जानुपर्ने भएपछि डिआइजीमध्येबाट एक जनालाई आइजी नियुक्त गर्नुपर्ने भयो।
एसएसपीबाट डिआइजीमा बढुवा हुँदा यस्तो थियो अङ्क
सिद्धान्ततः १२ जनै डिआइजी आइजी हुनसक्छन्। तर ब्याच अनुसार ज्येष्ठता र वरिष्ठता हेर्दा तीन जनाबीच मुख्य प्रतिस्पर्धा थियो- सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की।
२०४५ सालमा भर्ना भएका रमेश खरेल हरेक पटक बढुवा हुँदा पहिलो नम्बरमा थिए। तर एसएसपीमा बढुवा हुँदा भने उनी खनालसँग ०.६२२४ अङ्कले पछाडि परे। त्यसो त प्रहरी नियमावलीमा यो कार्यसम्पादन मूल्याङ्कन नम्बरमात्रै आइजी नियुक्तिको आधार हैन। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तीका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्याङ्कन गर्नुपर्छ।
तर सिलवाल vs चन्द मुद्दामा सुशीला कार्कीले यसैलाई प्रमुख बनाइदिइन्। पछि अङ्क गणनामा सुशीला कार्की नेतृत्वको इजलासले नै गलत गणना गरेको फैसला सर्वोच्चले नै गर्यो र १.७३३ अङ्कले प्रकाश अर्याल अघि भएको भन्दै उनको आइजी नियुक्ति सदर भयो। अहिले पनि त्यही नजिर कायम गर्दै ०.६२ अङ्कले अघि रहेका खनाल आइजी बन्न पुगे।
सुरुमा खनाल र पुष्कर कार्कीबीच आइजीका लागि प्रतिस्पर्धा हुने मानिएको थियो। रमेश खरेल सिनबाट आउट भइसकेको झैँ भएको थियो। तर अन्तिमतिर आउँदा खरेल पनि पावरफूल भएर देखिए। प्रधानमन्त्री चर्चा कमाउन चाहने। फन्डाका लागि रमेश खरेल राम्रा पात्र। खरेल प्रधानमन्त्रीको रोजाइमा थिए।
उता पुष्कर कार्की शितल निवासको रोजाइमा थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र कार्की नाताले दिदीभाइ भएको र फुपूको छोरा भएकाले राष्ट्रपति भण्डारीले कार्कीलाई आइजी बनाउन केपी ओलीलाई निकै दबाब दिएको खबर पनि देखियो।
माओवादीले लत्तो छाडेको भए खरेल र कार्कीमध्ये एक आइजी हुने निश्चित थियो। तर प्रेमकुमार राईलाई गृहसचिव बनाएको, सचिव सरुवामा माओवादी मन्त्रीहरुलाई पत्तै नदिएको भन्दै असन्तुष्ट माओवादी मन्त्रीहरुले मोर्चा कसेर प्रचण्डलाई दबाब दिएका थिए। प्रचण्ड वरिष्ठता अनुसार पनि हुने र आफ्नो रोजाइको पनि भएकोले खनाललाई आइजी बनाउनु पर्ने पक्षमा थिए। उनकै निर्देशन अनुसार मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइजीमा खनालको नाम प्रस्ताव गरे। तर एमाले मन्त्रीहरु र प्रधानमन्त्रीले मानेनन्।
बुधबार मध्यरातसम्म आइजी र एआइजीहरु अवकाशमा जाँदै थिए। त्यत्रो झण्डै दुई तिहाई बहुमत भएको सरकारले एक महिना अघि नै गर्नुपर्ने निर्णय अन्तिम समयसम्म गर्न नसकेको भनी आलोचना हुन थालिसकेको थियो। ओलीले त्यसपछि प्रचण्ड र गृहमन्त्रीसँग साँझ बैठक डाके। त्यो बैठकमा वरिष्ठता अनुसार नगर्दा सिलवाल र चन्दको लफडा प्रचण्डले सम्झाएपछि प्रधानमन्त्री पनि अन्ततः खनाललाई नै आइजी बनाउन राजी भए। प्रधानमन्त्री हुँदा देउवाको दबाबमा अरुको रोजाइमा आइजी नियुक्त गर्न बाध्य प्रचण्ड यस पटक भने आफ्नो दबाबमा प्रधानमन्त्रीलाई आफ्नो रोजाइको आइजी नियुक्त गर्न सफल भए। आइजी भन्ने पद चाहिँ खासमा कुर्सी बाहिर बस्नेको चाहनामा पाउने पद हुनपुग्यो।
खनालले अब २१ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। यदि खनालको ठाउँमा रमेश खरेल आइजी भएको भए पनि खनाल आइजी हुनसक्थे। अवधि भने कम हुन्थ्यो। २०४५ सालमा प्रहरीमा प्रवेश गरेको हुनाले खरेलले २०७५ सालमा अवकाश पाउँथे। अर्थात् १० महिना खरेल आइजी हुन्थे त्यसपछि ११ महिना वरिष्ठ एआइजीबाट बढुवा भएर खनाल आइजी हुन्थे।
तर अब नक्सालमा (ख) रेल रोकिने भएको छ। उनी र पुष्कर कार्की अब एआइजी हुँदै अवकाशमा जाने छन्।
खरेल काम थोरै र धेरै स्टन्टबाज हो| गुन्डाहरु समात्यो, सार्बजनिक मुद्दा लगायो, ३०दिन जति थुन्यो अनि हिरो बन्यो| रिअल केश सल्भ गरेको केहि था पाईएन| खनालले केहि राम्रा केश सल्भ गरेको छ|
अघिल्लो चोटी पनि सिलवाल मिडिया स्टन्टबाज हो| एसपी हुँदासम्म राम्रो छबि नभएपनि तेस्पछि बाट आफ्नो पहिचानमा सुधार गरेको हो| कुनै नेताको रोजाईमा नहुदा नहुदै पनि लास्टमा भाग्यले आइजी भएको प्रकाश अर्यालनै बास्तवमा त्यो ब्याचको बेस्ट क्यान्डीडेट हो |
जो भए नि काम गरे भो जे गर्दा नि हल्लै बढी के नेपाल मा
फुपुको छोरा मामाको छोरा काका भतिजा ज्वाई ससुरो यसरि नै चलेको छ खस आर्यको रजाई
जे हो जसो होस् यो कुरा मलाइ चित्त बुझेन किनकि मेरो बिचार मा खरेल हुनु पर्ने थियो आइ जी पी /
पुरानो रेकर्ड अनुसार पनि/ डी आइ जी हुनु भन्दा अगाडी नम्बर २ मा भए पनि डी आइ जी भए पछि को पनि त कार्य प्रगति र कार्य शैली को मुल्यांकन हुनु पर्यो नि. के तेस्को मुल्यांकन हुनु पर्दैन र? यदि हाल सम्म को कार्य प्रगति र कार्य शैली को आधारमा हो भने त ठिकै ओ नत्र मेरो विचारमा न्याय संगत लागेन माई त.