Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको कुरा सुनेर राजपाल यादव दङ्ग, अरु बलिउड कलाकारले दिएनन् बाल?

Posted on April 8, 2018April 8, 2018 by Salokya

नेपाली नेताहरुको पछाडि अक्सर देखिने अनुहार कसको हो? पक्कै पनि ऋषि धमला। तर यस पटक दिल्लीमा प्रधानमन्त्री केपी ओलीको एउटा भिडियो क्लिपमा धमला हैन, राजपाल यादव देखिए। हिन्दी फिल्म हेर्नेहरुले राजपाल यादवलाई नचिन्ने कुरै भएन। अचेल ओरालो लागेका यी कमेडी आर्टिस्ट प्रधानमन्त्रीले टिभीका लागि बाइट दिँदै गर्दा छेउमा उभिएर दङ्ग परी हेरिरहेका देखिन्छन्। त्यसो त हाम्रा प्रधानमन्त्री पनि कम्ता हसाउँदैनन्। कमेडियनले समेत इर्ष्या गर्नुपर्ने ‘सेन्स अफ ह्युमर’ छ उनमा। पिएम ओलीको पछाडि बसेर राजपाल यादव साइड एक्टर बन्दै ‘एक्सप्रेसन’ दिइरहेको दृश्य गजब छ। हेर्नुस् त भिडियो।

प्रधानमन्त्रीले ‘इन्डिया इन्भाइटेड मि एन्ड आइ भिजिटेड इन्डिया’ भनिरहँदा राजपाल दङ्ग छन्। लास्टमा त मुन्टो बटारेर हाँस्छन्।

भिडियो हेर्नुस्-

राजपाल यादव कसरी पुगे त त्यहाँ?

‘नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न’ भन्दै प्रधानमन्त्रीको ५० जनाभन्दा ठूलो जम्बो प्रतिनिधिमण्डलमा कलाकारलाई पनि समावेश गरिएको थियो। महानायकको उपाधि दिइएका राजेश हमाल र दिनेश डिसी।

नेपालले बलिउड कलाकारसितको कार्यक्रम बनाए पनि भारत सरकारले बनाएको औपचारिक कार्यक्रममा त्यो समावेश थिएन। नेपाली प्रधानमन्त्रीको कार्यक्रम भन्दै हान्निएर आमिर खान, अमिताभ बच्चन आदि आउने कुरा भएन क्यारे। सलमान खान त त्यसै पनि जेलमै थिए। यताबाट महानायक लगेर के गर्नु, उताबाट सहनायक समेत आइदिएनन्। कट्रिना कैफ, दीपिका पादुकोण, प्रियङ्का चोपडाहरुले पनि बाल दिइनन्। नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्ने महान् उद्देश्य खेर जाने भयो।

अब के गर्ने त भन्दा भारतीय व्यापारिक समुदायसित भेट गर्ने दिन (जुन भ्रमणको पहिलो दिन शुक्रबार थियो), त्यही दिन होटलको साइडमा अचेल ओरालो लागेका केही कलाकारलाई बोलाइयो। राजपाल यादवको हातमा अचेल केही फिल्म छैन। शायद् उनले ओलीको सेन्स अफ ह्युमर बारे केही सुनेका थिए कि, आएछन् भेट्न।

अरु बलिउड कलाकारले बाल नदिएपछि जे छ त्यसैमा सन्तुष्ट हुनै पर्‍यो। राजपाल यादव बाहेक अरु एक जना पनि भेटिइन्- सुनीता अहुजा। चिन्नु भएन? गोविन्दालाई त चिन्नु हुन्छ नि। गोविन्दा क्या गोविन्दा। हो, उनकै पत्नी। नेपाली मूलकी भनेर पनि समाचार आउने गर्छ गोविन्दा पत्नीको बारेमा। तर हेर्नुस् त उनले इन्स्टाग्राममा लेखेको पारा-

Prime minister of katmandu पो रे। काठमाडौँका मेयर जत्तिको हैसियत ठानेछन् कि के हो बिचरीले। नेपाली मूलकी भएको भए कम्तिमा नेपाल भन्ने देश छ भन्ने त थाहा हुन्थ्यो होला नि।

राजेश हमालसित अचेल कुनै फिल्म छैन। आफ्नो इन्टिग्रिटी कायम राख्ने कलाकार मध्येमा पर्छन् उनी। तर यसपालि प्रधानमन्त्रीसितको भ्रमणमा डुकुलण्ठक जत्तिकै भए बिचरा। उनले सोचेका होलान्, पिएम लेभलको भिजिट भएपछि अलि नाम चलेका कलाकारहरु आउलान्, यसो फिल्म इन्डस्ट्रीको बारेमा बातचित गरौँला। तर….

माथिको भिडियोमा हेर्नुस् त राजेश हमाल ट्ववाँ परिरहेका छन् पछाडि। बरु राजपाल यादवको एक्सप्रेसन गजबको।

अनि अर्का कलाकार दिनेश डिसीले चैँ के गरे त?

काठमाडौँबाट उड्नुअघि राजेश हमालसँग सेल्फी खिचेर फेसबुकमा हाले।

अनि दिल्ली पुगिसकेपछि नेपाली प्रतिनिधिमण्डललाई राखिएको ताज महल होटल लोकेशन राखेर टिभीमा समाचार हेरिरहेको फोटो पोस्ट गरे फेसबुकमै।

भारतीय कलाकारसित भेटेको कुनै पनि पोस्ट फेसबुकमा छैन। राजपाल यादवलाई भेटेको पनि फेसबुकमा पोस्ट छैन।

समाचार त ‘भेटमा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पु‍र्‍याउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ’ भनेर पनि आएको थियो। एक हातले ताली बज्दैन ब्यारे। बलिउडले नै बाल नदिएपछि कसरी छलफल गर्नु त नि।

त्यसो त हाम्रा पिएमज्यु बलिउड कलाकार भनेपछि हुरुक्कै हुनुहुन्छ जस्तो छ। पहिलो पटक पिएमका रुपमा भारत भ्रमण गर्दा पनि मुम्बईमा बलिउड कलाकारसित भेटघाटको कार्यक्रम थियो। धन्न त्यतिबेला मनीषा कोइरालाका कारण केही कलाकार आएका थिए।

यो पनि पढ्नुस्-
प्रम ओलीको अघिल्लो भारत भ्रमणका १२ रमाइला किस्सा जुन तपाईँले पत्तै पाउनु भएन

9 thoughts on “ओलीको कुरा सुनेर राजपाल यादव दङ्ग, अरु बलिउड कलाकारले दिएनन् बाल?”

  1. Shankar Pasman says:
    April 22, 2018 at 4:38 am

    धमला और राजपाल मे क्या फरक है/ आखिर दोनो हि जोकर है/

    Reply
  2. Anjali says:
    April 11, 2018 at 10:20 am

    जोकरको कुरा सुनेर अर्को जोकर दङ्ग नभय को हुने

    Reply
  3. Pingback: भ्रमण सफल भएको भन्दै प्रम ओलीको १६ बूँदे प्रेस नोट, मुख्य बूँदा नै छुटेछ « Mysansar
  4. tirtha ram says:
    April 8, 2018 at 10:51 pm

    कमेडियन को कुरा सुनेर कमेडियन दंग नपरे को दंग पर्ला नि हो !

    Reply
  5. नीरज says:
    April 8, 2018 at 10:06 pm

    ए…काठमान्डू कै पीएम भन्दिछ? हाम्रो संघीयता मज्जाले बुझेकी रहिछ| कुरै सक्किगो नी|
    मुलुकलाई लथालिङ्ग छाडेर कैले कुमाउ र कैले बलिवूड कलाकारको घुमाउ मा किन पर्नु पर्यो|
    बिहानै गएर बेलुकी फर्कन पर्ने बेलामा यी सब नचाईने लफडा, समय र पैसाको बर्बादी किन?

    यो वाम गठबन्धनले अहिले सम्म शेरबहादुर र कमलेको कर्तुतलाई उल्ट्य़ाउन ठिकै छ तर स्थायी सरकारको हिसाबले जनतालाई राहत महसुस हुने खालका काम तुरन्त गर्नपर्यो|
    माओवादी एमाले एकता, एमाले भक्तलाई ध्यानमा राखेर सरुवा बढुवा, भारत भ्रमण र त्यसपछि चीन भ्रमणको एजेण्डा मै अल्झाई राख्ने हो भने जनतामा अहिले नै शुरु भएको बित्रिष्णा दिनहु बढेर जानेछ|
    काठमान्डू मेयर नभएको महानगर बराबर छ| मेयर र उपमेयर राजनीति गर्न र गफ मै व्यस्त छन, नत्र भने शहरको यस्तो धुलो मुलो र बिग्रदो हालत हुने थिएन|

    Reply
  6. Sisir says:
    April 8, 2018 at 8:06 pm

    दिनेश डि सि अखिल को कर्याकर्ता को हैसियतले गाको होलान् । नत्र यिनी पनि लगभग बेरोजगार हुन् ।

    Reply
  7. Navin Rayamajhi says:
    April 8, 2018 at 7:04 pm

    राजपाल यादब आजको समयमा फ्लप अभिनेता हो, उ सँग कुनै काम नभएको बर्षौ भइसक्यो, एउटा ठगि काण्ड मा परेपछि यादब लगभग ए ग्रेड को सिनेमा बाट निस्कासित जस्तै छन. यो प्रकरण एउटा नाटक मात्र हो.

    Reply
  8. Laxman says:
    April 8, 2018 at 11:05 am

    हेहे..हसाउने हसायो yaar

    Reply
  9. Laxman says:
    April 8, 2018 at 10:54 am

    Hehe. Sarai hasayo yaar!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme