Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँले पढ्न छुटाउनु भएको त छैन नि अप्रिल फूल ब्लग

Posted on April 1, 2018March 30, 2018 by Salokya

[माइसंसारले आफ्नो स्थापना कालदेखि नै अप्रिल फूलको ब्लग तयार पारी रमाइलो गर्ने गरी आएको छ। हरेक ब्लगमा यो अप्रिल फूल ब्लग हो भनेर लिङ्क राखेर सूचना दिइए पनि कतिपय कपिपेस्ट वेबसाइटले कपि गरेर साँच्चिकै जस्तो समाचार बनाएर हाले। कतिपय अवस्थामा त पत्रिकाले पनि साभार गरे। अचेल अरु बेला पनि अप्रिल फूलकै जस्तो फेक न्युजहरु अनलाइनमा देख्न पाइने भएकोले यसपालि अप्रिल फूलको ब्लग हाल्न मन लागेन। बरु पुरानो अप्रिल फूल ब्लगहरु सम्झनाका लागि हाल्न मन लाग्यो। तपाईँहरुले छुटाउनु त भएन? रमाइलो गरौँ]

दुई वर्षमा काठमाडौँ-लुम्बिनी रेल तयार हुने, चिनियाँ राष्ट्रपतिको विशेष पहल, रेलमार्ग निर्माणका लागि ६ हजार आर्मी आउने, चिनियाँ डकुमेन्टको अनुवादसहित

चिनियाँ योजनाले मूर्त रुप लिने हो भने अबको दुई वर्षमै नेपालीले काठमाडौँबाट लुम्बिनीको यात्रा रेलबाट गर्न पाउने भएका छन्।

चीनले तिब्बतको ल्हासाबाट २५० किलोमिटर पर सिगात्सेसम्म ल्याइसकेको रेल्वे ट्रयाकलाई सन् २०२० सम्ममा नेपालको उत्तरी सीमा केरुङ पुर्‍याउने योजना बनाएको छ। केरुङबाट काठमाडौँ र त्यहाँबाट लुम्बिनी रेलमार्ग त्यसपछि मात्रै बन्ने अनुमानविपरीत काठमाडौँबाट लुम्बिनी रेलमार्गलाई पहिल्यै तयार पारी काठमाडौँ-केरुङ रेलमार्ग त्यसपछि मात्रै बनाउने गरी २०२० पछि तिब्बतबाट लुम्बिनी सीधै रेलबाट जोड्ने योजना बनेको हो। केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।

रेलमार्ग निर्माणका लागि ६ हजारदेखि ७ हजार ५ सय चिनियाँ पिएलए (सैनिक) नेपाल पठाउने निर्णय शुक्रबार भएको चिनियाँ सरकारको आधिकारिक वेबसाइट http://www.gov.cn/ ले जनाएको छ।

यससम्बन्धी विस्तृत डकुमेन्ट चिनियाँ भाषामा सोही साइटमा राखिएको छ। माइसंसारका बेइजिङस्थित पाठक विजय सिलवालले डकुमेन्टको नेपालीमा अनुवाद गरी दिएको जानकारी अनुसार राष्ट्रपति सि जिनपिङको विशेष पहलमा यो निर्णय भएको हो। बिहीबार 中央军事委员会 अर्थात् सिएमसी (सेन्ट्रल मिलिट्री कमिसन) को बैठकमा सिले यस्तो निर्देशन दिएका हुन्। चिनियाँ राष्ट्रपति सि नै सिएमसीका चेयरम्यान हुन्। अघिल्ला प्रधानमन्त्री केपी ओलीले गरेको सहमतिलाई हालैको चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले कार्यान्वयन गर्ने वचनवद्धता दोहोर्‍याएपछि चिनियाँ राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन्। यद्यपि उनको यो निर्णयलाई नेसनल पिपल्स कांग्रेसको स्टायन्डिङ कमिटीले अनुमोदन गर्न बाँकी छ।


तर पनि राष्ट्रपतिको विशेष पहलमा गरिएको निर्णयलाई स्टायन्डिङ कमिटीले सामान्यतया अनुमोदन नगर्ने भन्ने हुँदैन। चीनमा सिएमसीले त्यहाँको पिएलए (सेना) को कमान्ड र कन्ट्रोल गर्छ भने नेसनल पिपल्स कांग्रेसको स्टायन्डिङ कमिटीले त्यसको सुपरीवेक्षण गर्छ।
गएको चैत १४ गते चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री प्रचण्डले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए। त्यसको जवाफमा चीनका राष्ट्रपति जिनपिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्भव छ चिनियाँ सेना नेपाल आउन?

तपाईँले एउटा चर्चित गीत सुन्नुभएको होला- नबोले नि माया लाग्दो रैछ सान्नानी. चाइना कम्पनी, चाइना कम्पनी।

गीत रचना गर्ने सरुभक्तका अनुसार पोखरा-बाग्लुङ सडक निर्माण गर्न पोखरामा चिनियाँहरु बस्दाको पृष्ठभूमिमा यो गीत तयार भएको थियो। त्यतिबेला सडक बनाउन चिनियाँ सैनिकले क्याम्प नै खडा गरेका थिए। चीनले पोखराबाट बाग्लुङमात्र हैन, सुर्खेतसम्म नै जोड्ने योजना बनाएको थियो। यो योजनाबारे तत्कालीन राजा वीरेन्द्रले भाषणमै भनेका थिए– ‘हामीले दोलालघाट–धनकुटा सडकको सर्भे र निर्माणका लागि मित्रराष्ट्र भारतसँग सैद्धान्तिक सहमति गरेका छौं। यस्तैगरी मित्रराष्ट्र चीनको सहयोगमा पोखरा र सुर्खेतलाई जोड्ने पहाडी राजमार्ग निर्माणका लागि प्रारम्भिक सर्वेक्षण भइरहेको छ।’

तर भारतको आपत्तिपछि राजमार्गले पोखराबाट सुर्खेत हैन, बाग्लुङसम्म मात्रै जोड्न सक्यो। भारतले आपत्ति जनाउनुको प्रमुख कारण चिनियाँ सैनिक यो योजनामा सहभागी हुनु थियो भनिन्छ।

इन्द्रावती तेस्रो जलविद्युत आयोजना बनाउँदा पनि चिनियाँ सैनिक नै आएको विश्वास गरिन्छ। तामाकोशी जलविद्युत आयोजनामा पनि चिनियाँ प्रशस्त छन्। तर यी ठाउँमा सिभिलियनका रुपमा चिनियाँ सैनिक आएका हुन्। पोखरा- बाग्लुङ हाइवे बनाउँदा पनि सिभिलियन रुपमै चिनियाँ सैनिक आएका थिए। यस पटक भने चिनियाँ सरकारको आधिकारिक वेबसाइटमा संख्या नै तोकी चिनियाँ सैनिक नै नेपाल पठाउने सार्वजनिक भएको छ। यसलाई अर्थपूर्ण मानिएको छ।

एकाएक बनेको योजना हैन

काठमाडौँबाट लुम्बिनीसम्मको रेलमार्गको योजना रातारात बनेको हैन। केपी ओली प्रधानमन्त्री हुँदा नै केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको डिपीआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पार्न चाइना रेलवे इन्टरनेसनललाई जिम्मा दिइएको खबर त्यतिबेला नै आएको थियो। चिनियाँ कम्पनीले प्रतिवेदन नेपालको रेलवे विभागमा २ सय ३६ नम्बरमा दर्ता समेत गरिसकेको छ।

सरकारले काठमाडौंबाट गल्छी हुँदै बेत्रावती–मैलुङ्ग–रसुवागढी–केरूङसम्मको सडकलाई दुई वर्ष भित्रमा डबल लेन बनाउने दुई वर्षे योजना अघि बढाइसकेको छ । जस अन्तर्गत बेत्रावती–मैलुङ्ग–हाकुवेसी खण्डलाई अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ। उसले दुई वर्ष भित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ।
कान्तिपुरका अनुसार चिनियाँहरूले केरूङबाट नेपालको राजधानीलाई जोड्ने सबैभन्दा छोटो बाटो पहिल्याउने क्रममा काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी–टोखादेखि नुवाकोटको छहरे–त्रिशुली हुँदै रसुवाको बेत्रावती–हाकुबेशी–मैलुङ्ग–रसुवागढीबाट केरूङ पुग्ने बाटोलाई प्राथमिकता दिएका थिए।

त्यही योजनाअनुसार नेपाल सरकारले काठमाडौंदेखि नुवाकोटको छहरे खोलासम्मको ३४.२ किमी सडक खण्डलाई डबल लेनमा विकास गर्ने र यस अन्तर्गत रहेको टोखादेखि नुवाकोटको छहरेसम्म ४.१७५ लम्बाईको सुरूङ मार्ग निर्माण समेत गर्न लागेको हो ।

बेत्रावती–मैलुङ्ग–हाकुबेशीको बाटो सेनाले निर्माण गर्ने र काठमाडौं–छहरे–वेत्रावतीसम्म पुग्ने बाटो सुरूङसमेत बनेपछि काठमाडौंबाट केरूङसम्मको लम्बाई एक सय किलोमिटरभन्दा कम बन्न आइपुग्छ ।

सुरूङ मार्गको मात्र लागत करिब ५ अर्ब रूपैयाँ अनुमानित छ । सुरूङ मार्ग भने चीनियाँ कम्पनीले निर्माण गरिदिने प्रस्ताव राखेको छ। चिनियाँ कम्पनीले नै सुरूङको सम्पूर्ण प्राविधिक आफैं ल्याएर निर्माण गर्ने योजनासहित काम अघि बढाउन लागिएको समाचार कान्तिपुरले असार १०, २०७३ मा प्रकाशित गरेको थियो। हेर्नुस् समाचार

यही सडकमार्गको छेउबाट प्रयोग गरेर चीनले काठमाडौंमा रेलमार्ग सजिलै ल्याउन सक्ने भएकोले अहिले तत्काललाई काम थालिहाल्न काठमाडौँबाट लुम्बिनीको रेलमार्ग बनाउने तयारी थालेको हो। डिपिआर केरुङ पोखराको पनि बने पनि चीनको प्राथमिकता पोखरालाई अहिले जोडिहाल्नेमा नभई सीधै लुम्बिनी पुर्‍याउनेतर्फ छ। त्यो पनि दुई वर्षभित्र।

कताबाट बन्दैछ काठमाडौँ-लुम्बिनी रेलमार्ग?


काठमाडौँबाट लुम्बिनी रेलमार्गको स्टार्टिङ प्वाइन्ट चिनियाँ सरकारको वेबसाइटमा राखिएको डकुमेन्ट अनुसार टोखा हुनेछ। टोखाबाट केरुङ पुग्ने बाटो पनि अहिले बन्दै गरेकोले त्यही बाटोबाट २०२० सम्म चीनको सिगात्सेबाट केरुङ रेल आइपुग्ने र त्यसपछि केरुङबाट टोखा रेल ल्याउने योजना देखिन्छ। टोखाबाट भने छत्रे देउराली, जीवनपुर, भूमिस्थान, पीडा, शक्तिखोर, गैँडाकोट, देवचुली, देउराली, मैनाघाट, धुर्कोट हुँदै लुम्बिनी पुग्ने रेलमार्गको म्याप चिनियाँ डकुमेन्टमा देखिन्छ। (हेर्नुस् चिनियाँ सरकारको वेबसाइटमा राखिएको डकुमेन्ट- चिनियाँ नबुझ्नेका लागि केही महत्त्वपूर्ण अंश विजय सिलवालले नेपाली भाषामा पनि अनुवाद गरेर राखिदिएका छन्। कृपया यहाँ क्लिक गरी हेर्न नछुटाउनुस्)

हेटौडामा गैँडा सुटिङका लागि दौडाइएको, दुर्घटना भएपछि गुपचुप, सुन्नुस् अडियो
hetauda2 हेटौडाको सडकमा गएको सोमबार मच्चिएको गैँडा आतंकबारे नयाँ तथ्य खुलेको छ। गैँडा खासमा एउटा विदेशी फिल्मको सुटिङका लागि नियोजित रुपमा दौडाइएको भए पनि अनियन्त्रित पशुले मान्छे नै मारेपछि घटनालाई गुपचुप राख्न खोजिएको दावी गरिएको छ।

घटनाबारे डब्लुडब्लुएफ (वर्ल्डवाइड फन्ड फर नेचर) ले गरेको अनुसन्धानका क्रममा यो तथ्य खुलेको हो। डब्लुडब्लुएफले विश्वव्यापी प्रचारमा आएको यो घटनापछि अनुसन्धान गर्न नेपालस्थित कार्यालयलाई निर्देशन दिए लगत्तै काम सुरु गरेको थियो।
hetauda
माइसंसारलाई प्राप्त अडियोमा विदेशी फिल्मका निर्देशक श्रीनिवास सुन्दरराजन र नेपालमा सुटिङको व्यवस्थापनको जिम्मा लिएका अधिकारीबीच कुराकानीले पनि यसलाई पुष्टि गरेको छ।

प्राप्त जानकारी अनुसार हलिउडको जुमान्जी फिल्मको शैलिमा भारतको तमिल भाषामा बन्न लागेको फिल्मको सुटिङका लागि एक सिङ्गे गैँडा सडकमा दौडिएको दृश्य सुटिङ गर्न यो तयारी गरिएको थियो। जुमान्जी सन् १९९५ मा रिलिज भएको रबिन विलियम्स र क्रिस्टिन डन्स्ट अभिनित फिल्म थियो।

राष्ट्रिय निकुञ्जको जंगलबाट ल्याइएको गैँडालाई सडकमा एकछिन दौडाएर सुटिङ सम्पन्न गर्ने र त्यसपछि गैँडालाई पुनः त्यहाँबाट लगी जंगलमा छाड्ने सहमति भएको थियो।

निकुञ्ज प्रशासनका केही व्यक्तिलाई विश्वासमा लिएर गरिएको यो काम त्यतिबेला नसोचिएको मोडमा पुग्यो, जब सुटिङ भन्ने थाहा नपाएका हेटौडावासीले होहल्लाका साथ गैँडालाई लखेटे। होहल्लाका कारण गैँडा पनि बिच्किन पुग्यो। अनियन्त्रित गैँडाले सुटिङ टिमले सोच्दै नसोचेको ठाउँमा गएर एक वृद्धालाई हानेर ज्यान समेत लियो भने केही घाइते पनि भए।

गैँडा नबिच्किएको भए शालिक चोकबाट दायाँ मोड्ने बित्तिकै जालले छोपेर निकुञ्ज लगिने थियो। सहायक सडक हुँदै मुख्य सडकमा दौडिएको दृश्य नै सुटिङका लागि पर्याप्त थियो।

सुन्नुस् निर्देशक र नेपालीबीच भएको कुराकानीको अडियो-

के छ अडियोमा ? (नेपाली रुपान्तर)
फोनको घण्टी…
आवाज १ : हलो…हलो…मैले सुन्न सकिनँ…हेलो…
आवाज १ : किन किन ?
आवाज २ : किन हुनु नि अब।
आवाज १ : जे हुनु भइसक्यो।
आवाज २ : मैले पहिले नै भनेको थिएँ। सबै जिम्मा तपाईँहरुको थियो।
आवाज १ : हो, त्यो त। हामीले सबै तयारी गरेका थियौँ। तर नसोचेको घटना भयो।
आवाज २ : किन पूर्व तयारी गर्नुभएन ? त्यो….(अस्पष्ट आवाज) टोलीलाई पहिलेबाटै तयार राखेर शालिक कट्ने बित्तिकै गैँडालाई नियन्त्रणमा लिनु पर्दैन थियो?
आवाज १ : त्यतिबेला गैँडालाई लोकलहरुको आवाजले साह्रै नै बिच्काइसकेको थियो। गैँडा बिच्केको अवस्थामा जंगलको बाघ त अगाडि पर्न सक्दैन। उनीहरु त मान्छे। डराए।
आवाज २ : प्लान बि सोच्नु पर्दैन थियो?
आवाज १ : यस्तो होला भन्ने अनुमानै गरिएन।
आवाज २ : किन भएन ? सहरको बीचमा सुटिङ थियो। बासिन्दाहरु पक्कै हुन्थे।
आवाज १ : दिउँसो भएकोले सडकमा उति मान्छे नहुने अनुमान थियो। क्यामेराहरु हामीले सबै लुकाएरै खिचेका थियौँ। तपाईँलाई थाहै छ अहिलेसम्म यो सुटिङ थियो भन्ने समाचार कतै आएको छैन।
आवाज २ : अनि विश्वभरका मिडियामा त्यति छिट्टै समाचार कसले दिएको ?
आवाज १ : अनि समाचारमा त सुटिङ भनेर आएको छैन नि त।
आवाज २ : हेर्नुस् मिस्टर, म तपाईँलाई प्रष्ट भन्छु। हामीले सुटिङअघि नै गरेको कानुनी कागजमा पनि सबै दायित्व तपाईँले बेहोर्ने कुरा थियो। सब कुरा तपाईँ नै सल्टाउनुस्।
आवाज १ : त्यसको चिन्ता लिनु पर्दैन
आवाज काटिन्छ….

सुन्नुस् अडियो-

Biswas
ह्वाटस एप र ओकुलस किनेपछि फेसबुक मालिक मार्क जुकरवर्गको नजरमा नेपाली कम्पनी परेको छ। फेसबुकका संस्थापक मार्क जुगरबर्गले नेपाली कम्पनी क्यास अन एड एक बिलियन डलर (करिब एक खर्ब रुपैयाँ)मा खरिद गर्ने डिल गरेका छन्।

सिलिकन भ्यालीबाट प्रकाशित हुने प्रविधि पत्रिका आइकनले क्यास अन एड खरिद सम्वन्धि समाचार ब्रेक गरेको छ। क्यास अन एडका अध्यक्ष विश्वास ढकालले आफ्नो फेसबुक स्टाटसबाट त्यसको पुष्टि पनि गरेका छन्।

status
क्यास अन एडले मोबाइलको रिङटोनमा बिज्ञापन बज्ने विश्वमै नयाँ एप्स डेभलप गरेको छ। सँगसँगै कम्पनीले लक स्क्रिनमा समेत विज्ञापन डिस्प्ले गर्छ। अबको आम्दानी मोबाइल हो भन्ने बुझेका जुकरवर्गले ह्वाट्स एपलाई १९ अर्ब डलरमा खरिद गरेका थिए। उनले गेमिङ प्रविधि ओकुलस पनि दुई अर्ब डलरमा खरिद गरेका हुन्।

जुकरबर्गले क्यास अन एडका अध्यक्ष विश्वास ढकालसँग सिलिकन भ्यालीमा नयाँ डिल गरेको आइकनले लेखेको छ। डिलअनुसार क्यास अन एडको ‘भ्यालुएसन’ वापतको एक अर्ब डलर मध्ये ५० करोड संस्थापकहरुले नगद लिएका छन् भने ५० करोड डलर बराबरको फेसबुकको ‘स्टक’ पाएका छन्। यससँगै क्यास अन एडका अध्यक्ष ढकाल फेसबुकको बोर्डमा पनि रहने बताइएको छ।

म अहिले सबै कुरा बताउन सक्ने अवस्थामा छैन्, तर हाम्रो सपना साकार भएको छ’ क्यास अन एडका अध्यक्ष ढकालले स्काइपमार्फत् संक्षिप्त कुराकानीमा भने, ‘म अहिले तपाईंलाई यति मात्रै भन्न सक्छु, नेपालको एउटा सामान्य कम्पनीले आज विश्वकै नम्बर एक प्रविधि कम्पनी बन्ने होडमा रहेको फेसबुकसँग सहकार्य गरेको छ।’

गत वर्ष सञ्चालनमा आएको क्यास अन एडले सुरु देखिनै राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। फेसबुक संस्थापक जुगरवर्गले विभिन्न च्यानलमार्फत् छ महिनादेखि क्यास अन एड बोर्डसँग कुरा गर्दै आएका थिए। क्यास एण्ड एडको प्यारेन्ट कम्पनी एफवान सफ्टको केही हिस्सा गत वर्ष क्यानेडियन कम्पनीलाई बिक्री गरिएको थियो।
एफवान सफ्ट खरिद गर्ने क्यानेडियन कम्पनीको बोर्डमा रहेका पिटर ए थिलले जुकरवर्गसँग हावार्ड विश्वविद्यालयमा सँगै अध्ययन गरेका थिए। उनैले क्यास अन एडलाई फेसबुकसम्म पुग्ने बाटो खोलिदिएका हुन्।

फेसबुकले आफ्नो बाटोमा चुनौती देखेका कम्पनीहरुलाई एकपछि अर्को गर्दै अक्वायर गर्दै गएको छ। साथै प्रतिस्पर्धी रुपले अघि आउन नसक्ने क्षेत्रलाई बन्द गर्न पनि पछि परेको छैन। केही समय अघि मात्र फेसबुकले आफ्नो इमेल सेवा बन्द गर्दा ह्वाट्सएप र अकुलसलाई आफ्नो स्वामित्वमा ल्याइसकेको छ।

अझ इन्स्टाग्राम त त्यस अघिनै फेसबुक मातहत आएको थियो। याहु, गुगल, माइक्रोसफ्ट जस्ता जायन्टहरुसँग इमेलको बजारमा झगडा गरिरहनु भन्दा तन्नेरी पुस्तालाई आकर्षण गर्ने नयाँ प्रविधि र कम्पनी अक्वायर गर्ने रणनीति जुगरबर्गले लिंदै आएका छन्।
facebook
टेलिभिजन र प्रिन्ट मिडियाको गिर्दो बजार तथा भद्दा विज्ञापन प्रति उपभोक्ता अरुचि बढिरहेका बेला क्यास अन एडले विकास गरेको मोवाइल विज्ञापन प्रविधिले विश्वमा अर्को तहल्का पिट्ने उनको विश्वास छ। यस्तो तहल्का सन् २००० पछि फेसबुकले सामाजिक सञ्जालमा पिट्दै आएको छ। फेसबुकको आम्दानी पनि विज्ञापनबाट आउने गरेको छ, मोवाइल विज्ञापनलाई ट्याप गर्न क्यास अन एड उपयुक्त विकल्प हुने पनि आइकनले लेखेको छ।

क्यास अन एडमा अहिले ७० जना कर्मचारी कार्यरत छन्, उनीहरु मध्ये केहीलाई सिलिकन भ्यालीमा लगिनेछ भने केही कर्मचारीलाई काठमाडौंमै काम गर्ने वातावरण बनाइने बताइएको छ। फेसबुकले खरिद गरेपछि क्यास अन एड विश्वका सबै देशमा लाइभ गरिनेछ। अहिले नेपालमा मात्रै सञ्चालन हुने क्यास अन एड ढकालको टिमले भारत, मलेसिया, इन्डोनेशिया, श्रीलंका र अष्ट्रेलियामा लाइभ गर्ने तयारी गरिरहेको थियो।

सामाजिक सञ्ञालमा पछिल्लो समय फेसबुकका लागि टाउको दुखाइ बनिसकेको ह्वाट्स एप खरिद गरेको थियो। ह्वाट्सएप प्रति युवापुस्ताको बढ्दो संलग्नता देखेपछि प्रतिस्पर्धीको खुट्टा तान्ने खेल खेल्नु भन्दा मेलमिलापको तुरुप फाले जुगरबर्गले। संस्थापकहरु टम कोउम र ब्रियन अक्टोमलाई चार अर्ब डलर नगदसहित १३ अर्ब डलर बराबरको फेसबुक सेयर र बाँकी तीन अर्बको सीमित स्टक छुट्याइ १९ अर्ब डलरमा जुगरबर्गले ह्वाट्सएप डिल सम्पन्न गरेका थिए।

१८ महिना अघि ब्रेन्डन इर्बीले सुरु गरेको ओकुलस दुई अर्ब डलरमा किन्न सम्झौता पनि फेसबुकले हालै मात्र गरेको थियो। आरामदायी र प्राकृतिक दृश्य पस्किने आकुलस रिफ्टले स्टेरोस्कोपिक ‘थ्रीडी इमेज’ बनाउने गर्छ। जुन थ्रीडी चलचित्र र थ्रीडी टेलिभिजन भन्दा उत्कृष्ट छ। थ्रीडी गेमलाई अझ सरल बनाउन ओकुलसको विकल्प नभएको बुझ्ने बित्तिकै जुगरबर्गले यो कम्पनी किन्ने फैसला गरेका थिए।

एक अर्ब प्रयोगकर्ता रहेको फेसबुकका संस्थापक जुगरबर्ग अहिले २९ वर्ष पुग्दैछन्। २६ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्तिका मालिक उनी विश्वका २१ औं धनी हुन्। उनको डिल सूचीमा अब विश्वका कुन आईटी कम्पनी पर्लान् भन्ने जानकारी अहिलेसम्म आएको छैन। तर, जुगरबर्गसँग सफल डिल गरेर तन्नेरी ढकालको टिमले छोटो समयमा देखाएको सफलताले भने आइटी मार्फत विनोद चौधरी पछिको दोस्रो डलर अर्बपति नेपाली छिट्टै जन्मनेमा भने विश्वास गर्न सकिन्छ।

हेर्नुस् आइकन म्यागेजिनमा छापिएको समाचार जस्ताको तस्तै

[अपडेटः कृपया यसबारे विस्तृत जान्न माथिको लिङ्कमा क्लिक गरी फोटो र अन्तिमसम्म ध्यान दिएर पढ्न अनुरोध छ। लिङ्कमा धेरैले क्लिक नगरेको जस्तो देखियो।]

चन्द्रमामा पुग्ने भयो पहिलो नेपाली
Karishma With Her Daughter विज्ञान तथा प्रविधिको मामिलामा नेपाल भलै पछाडि होस् तर पहिलो पटक एक नेपालीले चन्द्र धरातल टेक्ने भएका छन्। चन्द्र धरातलमा छायाँकन गरिने कोकाकोलाको महत्त्वाकांक्षी विज्ञापनका लागि विश्वका ६० देशभन्दा बढी देशबाट छानिएका २० कलाकारहरुमा एक नेपाली कलाकार पनि परेका हुन्। ती कलाकार अरु कोही नभएर नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर हुन्। अभिनेत्री करिश्मा मानन्धरका पति विनोद मानन्धर र कोकाकोलाको नेपाली उत्पादक बोटलर्स नेपाल लिमिटेडले आज एक संयुक्त करिश्मा आफ्नी छोरीका साथ। पत्रकार सम्मलेन गर्दै यो कुराको जानकारी दिएका हुन्।

कोकाकोला कम्पनीले हरेक वर्ष नयाँ-नयाँ थिममा विज्ञापन बनाउने गरेको छ र यही क्रममा उसले आफ्नो सर्वाधिक महत्त्वाकांक्षी योजना अन्तर्गत यो विज्ञापनको अवधारणा तयार पारेको थियो। यस विज्ञापनका लागि कोकाकोलाले २५० मिलियन डलरको बजेट छुट्याएको छ। यसमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई तिर्नुपर्ने रकम जोडिएको छैन।

अवधारणा अनुसार विश्वका ६२ देशबाट त्यहाँका सर्वाधिक चर्चामा रहेका कलाकारहरुको नाम छनौट गरिएको थियो। त्यसपछि त्यसमध्येबाट ३० जनालाई पहिलो चरणका लागि छनौट गरिएको थियो। ३० मध्ये विभिन्न शारीरिक र मानसिक परीक्षणहरुपछि २० जनालाई अन्तिम उम्मेदवारका रुपमा छनौट गरिएको थियो।

कोकाकोलाले आफ्नो वार्षिकोत्सवका दिन मात्रै यससम्बन्धी अ‍ौपचारिक घोषणा गर्ने भएकोले अहिलेसम्म यो कार्यक्रमका बारेमा समाचार अत्यन्तै गोप्य राखिएको थियो। र, आज कोकाकोला उत्पादन हुने विश्वका सबै देशका स्थानीय उत्पादक र मुख्य उत्पादकले एकै पटक पत्रकार सम्मेलनमार्फत् यस सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्।

अन्तिम उम्मेदवारका रुपमा छनौट भइसकेकाहरुलाई यही सेप्टेम्बर महिनादेखि विशेष तालिम दिइने भएको छ। यसका लागि उनीहरुलाई यसै साता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यात्रीहरुलाई प्रशिक्षण दिने केन्द्रमा लगिँदैछ।

आफ्नी धर्मपत्नी चन्द्रमामा जान लागेकोमा कस्तो अनुभव गरिरहनु भएको छ त भनी सोधिएको प्रश्नको जवाफमा विनोद मानन्धरले खुसी लागिरहेको बताइन्। टेलिकन्फरेन्समार्फत पत्रकार सम्मेलनमा उपस्थित करिश्माले चाहिँ सुरुमा चन्द्रमामा जाने कुरा सुन्दा डर र रोमाञ्च लागेको भए पनि चन्द्र धरातल टेक्ने पहिलो नेपाली हुने गौरव प्राप्त हुने कुराले आफूलाई हौसला बढेको बताइन्। हाहाहा अप्रिल फूल !!!

1 thought on “तपाईँले पढ्न छुटाउनु भएको त छैन नि अप्रिल फूल ब्लग”

  1. Rajendra Adhikari says:
    April 1, 2018 at 5:47 am

    अप्रिल फुल बल्ग नलेखेर राम्रो गर्नु भयो , वर्तमान परिप्रेख्क्षेमा ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme