फुलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। जङ्गल, बाटो, फुलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस् वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरूलाई आनन्दित बनाइरहन्छ। फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट बिरुवा हुँदै फुलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध छर्यो र सबैलाई आकर्षित गर्यो। त्यसैले होला नारायण गोपालले गाएको कालजयी गीतमा “ म त लाली गुराँस भएछु वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…भनेर गीतकार कविले भनेका छन्।
कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन्। नेपालको लाली गुरॉस, जापानको साकुरा र चेरी, बेलायतको गुलाब, फ़्रान्सको कमल जस्तै प्रिय र प्रसिद्ध छ टेक्सासमा वसन्तमा फुल्ने जंगली ब्लु बनेट (Blue bonnet) फूल। आजभोलि अमेरिकाको टेक्सासका रनबन र मानिसहरूका मनहरूमा ढकमक्कै फुलेको छ टेक्सस राज्यको राष्ट्रिय फूल (state flower) ब्लु बनेट ! यसको वैज्ञानिक नाम Lupinus texensis हो । अधिकांश फूलहरु निलो रङ्गका भए पनि अन्य रंगहरुमा पनि र मुख्यतया अरू पॉच प्रकारमा यस प्रजातिका फूलहरु जस्तै Lupinus subcarnosus, L. havardii, L. concinnus, L. perennis, L. plattensis) भएका रंगिबिरंगी प्राकृतिक वनफूल ब्लु बनेटको सुन्दरताले वसन्तमा टेक्सासका हाईवे छेउ, चरन र वनजंगलहरु मनमोहक हुन्छन्।
मार्चको दोस्रो हप्ता देखि फूल्न थालेर अप्रिलको दोस्रो हप्ता सम्ममा उत्कर्षमा पुग्ने वा फक्रिने यो फूलको मुस्कानले स्वर्गमय देखिन्छन वनजंगल, पार्क उद्यान, बाटोघाटो अनि कतिपय घरका ब्याकयार्ड र आँगनहरू समेत र मन पुलकित बनाएर रमाउछन मानिसहरू यो मौसममा। मानिसहरू टेक्ससको पहिचानसँग जोडिएको छ भनेर गर्व गर्छन् यो वनफूल प्रति। ब्लु बनेट फूलको नामबाट विभिन्न स्थानको नामांकन ,यससँग सम्बन्धित मेलापर्व र कविता, गीतसंगीत साथै व्यापारिक ट्रेडमार्कहरू समेत देख्न र अनुभव गर्न सकिन्छ यहॉ।
टेक्सासका राजमार्ग र सडकहरूको सुन्दरता क़ायम राख्न यो फुललाई राज्य र जनस्तरबाट संरक्षण र संबर्द्धन गरिएको कुरा प्रत्येक वर्ष सम्बन्धित निकायले विभिन्न जंगली प्रजातिका फूल, बोटबिरुवाहरू रोप्न र हुर्काउन गरेको प्रयासबाट बुझ्न सकिन्छ। साथै विभिन्न विश्वविद्यालयहरूका वनस्पतिशास्त्री र फूलप्रेमीहरुको अध्ययन अनुसन्धान र अवलोकनमा समेत ब्लु बनेट प्रयोग गरिन्छ। टेक्ससको आन्तरिक पर्यटन प्रबर्द्धनमा त यसको योगदान कम छैन।
मार्चको पहिलो सप्ताह पछि वसन्तको बिदा र विशेष गरेर शनिवार र आइतबार छुट्टिका दिन हिँडडुल गर्ने मानिसहरू सवारी रोकेर हाईवेका छेउछाउमा फूलेका ब्लु बनेट फूल हेर्न र तस्बिर खिच्न व्यस्त देखिन्छन । धेरै ब्लु बनेट फूल्ने क्षेत्रहरूमा सपरिवार, साथीभाइ र प्रेमी प्रेमिकाहरू क्याम्पिन्ङ्ग र पिकनिक गर्न निकै लामो दुरीबाट वा अन्य राज्यहरूबाट पनि भ्रमण गरेर नाचगान र खानेपिउने गरी रमाउँछन् र काममा बिदा नमिल्नेहरु समेत आफ्नै कार्यस्थल वा कार्यालयको नजिकैका पार्क र वरिपरि फूलेका ब्लु बनेट फूलहरुसंग बसेर लन्च खाने र तस्बिर खिच्ने गरी प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन् ।
सपरिवार,आफ्ना बालबालिका र पाल्तु जनावारहरुको समेत ब्लु बनेट फूलमा तस्बिर खिचेर कलात्मक फ्रेममा सजाएर घरमा राख्न र सामाजिक सञ्जालमा सेयर गर्न अमेरिकनहरू पनि निकै शौखिन छन्। यो पंक्तिकार स्वयम् पनि प्रत्येक वर्ष परिवार र साथीभाइसँग एक दिन यो फूल र प्रकृतिसँग रमाउने गरेको छ। बाहिरी ऑखाले र मनले हाम्रै हिमाली भेगको लाली गुंरास,पहाडी खण्डको टांकी फूल, तराई फाँटको तोरी फूल र हाम्रा वनपाखामा फुल्ने प्याउली र सुनाखरी खोजेपनि चेतनाको ऑखाले यिनै ब्लु बनेटमा ती फूलहरु फूलिरहेको हेर्ने र रमाउने प्रयास गर्दैगर्दा मनले फेरि भन्छ “फूलको आँखामा फूलै संसार!”
फूलको चर्चा गर्दैगर्दा अमेरिकीहरू फूल,बोटबिरुवा र हरियालीका पारखी हुन्छन् भन्न कन्जुस्यॉई गर्नु हुँदैन। प्राय: सहरहरूका प्रत्येक घरले एक वा दुई छायाँ वा शीतल दिने बोटबिरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम,अधिकांश घरहरूमा फुलबारी र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरू, सड़क छेउमा बोटबिरुवा र तिनीहरूको संरक्षण संबर्द्धनमा जनता र स्थानीय सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास उल्लेखनीय छ ।
र अन्त्यमा ब्लु बनेटले छर्ने सौन्दर्यता र आनन्द कालो गोरो, एसीयन अमेरिकन, धनी, गरिब, ठुलो, सानो, ख्याति प्राप्त, सामान्य व्यक्ति सबैलाई एकैनासको छ। विभेदकारि छैन र फुलले विभेद गर्दैन पनि। त्यस्तै सबैमा यो फूल हेर्ने,उसको समीपमा जान चाहने ईच्छापनि उस्तै छ सत्यम् शिवम् सुन्दरम् जस्तै।
यो अस्तित्वको सृजना र प्रकृतिको नियम विचित्रको छ । हरेक प्राकृतिक चिजहरूको स्वभाव अद्वितीय र सुन्दर छ। यो ब्रम्हाण्ड, यो चराचर जगतलाई अनुभूत गर्ने हो भने, अन्तरमुखी भएर चेतनाको भित्री नयनले हेर्ने भने परमात्मा यही छ, स्वर्ग यही छ । सत्य यही छ। प्रेम करुणा यही छ। चिरस्थायी आनन्द यसैमा छ। खाँचों छ त केवल यो अस्तित्व र जीवनको विज्ञान र रहस्य बुझ्ने दिव्यचक्छु, चेतना र ज्ञानको अनि यो जीवन सुन्दर र प्रेमिल बनाउने कलाको!
अमेरिकाको बखान गरेर बेला बेला लेखि रहनु हुन्छ तर यौटा सामान्य ज्ञान को कमी देखियो लेखकमा…यौटै लेख दिट्ठो दुइटा पत्रिकामा दिनु हुन्न भन्ने…कि फलानोमा प्रकाशित भैसकेको छ र यहा पुन प्रस्तुत गरिएको छ भन्नु पर्यो….सेतोपती अनलाइनमा एई लेख दुरुस्त छापिएको छ…विज्ञानमा त plagiarism को केश हुन्छ यस्तो भयो भने र लेखक कालो सुचीमा पर्छ र लेख छापाबाट हट्छ (retract हुन्छ).. पत्रिकाको लेख मा त्यो नियम लागु हुन्न? मलाई तेती जानकारी भएन यो बिषयमा….सलोक्यजी ले कुनै बेला plagiarism वाला ब्लग नि लेखे जस्तो मान्या थिए र..
रमाइलो लेख