Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ

Posted on March 21, 2018 by Salokya

उज्यालो अनलाइनले चन्द्रमामा जग्गा किनेर मुर्गा बनेका एक नेपालीको बारेमा बनाएको अतिरञ्जित समाचारको चिरफार मैले यहाँ गरेको छु। पढ्न छुटाउनु भएको भए क्लिक गर्नुस्- चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव! रमेशप्रसाद जोशी त खुद्रे दलालको फेला परेका हुन्। मुख्य दलाल अर्कै हुन्। मुख्य दलालको सफलताबाट प्रेरित भएर अरु खुद्रे दलालहरु जन्मिएका हुन्। माथिको फोटो डेनिस होपको हो। उनी हुन् मुख्य दलाल। उनको लुनार एम्बेसी नामको कम्पनी छ। सन् १९८० देखि चन्द्रमाको जग्गा बेच्न थालेका उनले एक अर्ब जग्गा बेचेर मान्छेलाई मुर्गा बनाइसके। अमेरिकाको एबिसी टेन टिभीसित कुरा गर्दै उनले भनेका छन्, विगत २३ वर्षदेखि मेरो कमाईको स्रोत यही मात्र हो।

यी नामी दलालले चन्द्रमा मात्रै हैन, आठ वटा ग्रह र तिनमा चन्द्रमाको जग्गासमेत बेच्छन्। एबिसी टेनले उनको बारेमा भर्खरै एउटा फिचर गरेको छ जसमा उनले भनेका छन्, म तपाईँलाई साढे दुई लाख डलरमा प्लुटो ग्रह बेच्छु र त्यसका लागि ३० वर्षसम्म फाइनान्स गर्छु।

सन् १९८० मा अहिलेका यी अन्तरिक्ष दलाल हलिउडका एक कलाकार थिए संघर्ष गरिरहेका। त्यतिकैमा उनको डिभोर्स भयो। पैसा थिएन। के बन्ने भन्ने निश्चित थिएन। उनले जग्गा बेच्ने निधो गरे। तर समस्या के थियो भने उनको नाममा कतै जग्गा थिएन। त्यही बेला उनले चन्द्रमातिर हेरे, अहो त्यहाँ त धेरै जग्गा हुन्छ। उनको खुराफाती दिमागले चन्द्रमाको जग्गा बेच्ने आइडिया जन्मायो।

तर यो कसरी सम्भव भयो त?

एउटा लुपहोलले। लिनफिल्ड कलेजमा पढ्दा उनले सन् १९६७ को अन्तरिक्ष सन्धि (स्पेस ट्रिटी) को क्लास लिएका थिए। त्यो सन्धिमा कुनै पनि देश वा सरकारले चन्द्रमा वा अन्य अन्तरिक्षका ग्रह, चन्द्रमाको स्वामित्व दावी गर्न सक्दैन। देशले पो नपाउने, व्यक्तिले किन नपाउने? उनको खुराफाती दिमाग यसैमा चल्यो। उनले संयुक्त राष्ट्र संघलाई आफ्नो दावी गर्दै पत्र लेखे।

एबिसी टेनलाई उनले भनेका छन्, ‘म युएनलाई जानकारी मात्र गराइरहेको थिएँ म के गर्दैछु भनेर, अनुमति मागेको हैन। त्यसैले मैले युएनलाई पत्र लेखेर मैले स्वामित्व लिन लागेको बताएँ। तर उनीहरुले जवाफ दिएनन्।’

त्यही आधार बनाएर उनले चन्द्रमा लगायतका ग्रह उपग्रहका जग्गा बेचिरहेका छन्। किन्नेहरुलाई मुर्गा बनाइरहेका छन्। एबिसी टेनलाई युसी डेभिसका कानुन सम्बन्धी प्रोफेसर अनुपम चान्दलरले भनेका छन्, उनको काम गैरकानुनी हैन। तर उनले यस्तो कुरा बेचिरहेका छन् जसमा उनको स्वामित्व छैन। युएन वा कुनै पनि देशको सरकारको सेलेस्टियल बडीमा अधिकार हुने वा अधिकार दिने कुरा नभएकोले अदालतमा गए उनको दावी खारेज हुने चान्दलर बताउँछन्।

७० लाख जनालाई उनले चन्द्रमाको जग्गा बेचिसकेका रहेछन्। उनीहरुको अधिकार रक्षाको निम्ति भन्दै उनले ग्यालेटिक गभरमेन्ट समेत बनाएका छन्।

त्यति सजिलै उनले कमाएका भने हैनन्। १५ वर्षसम्म त उनले केही पनि कमाएनन्। अहिले भने अरु कपिक्याट कम्पनीहरुले उनीसँग प्रतिस्पर्धा गरिरहेका छन्। यस्तै एउटा कपिक्याट कम्पनीसँग एक जना नेपालीले अलिकति के जग्गा किनेका थिए, मिडियामा हिरो बनाइयो। धन्न कुन दिन प्रधानमन्त्रीले बोलाएर सम्मान गर्लान् भन्ने डर भइसक्यो।

होपले अन्तर्वार्तामा आफूले मजाका लागि यो गरेको बताएका छन्। यसले विश्वभर घुमेर रेडियो र टिभीमा अन्तर्वार्ता दिन सक्षम बनाएको छ उनलाई।

उनको कम्पनी हो लुनार एम्बेसी यसले $22.49 मा एउटा प्लट बेच्छ।

नेसनल जोग्राफीमा प्रकाशित चन्द्रमाको स्वामित्व कसको शीर्षकको लेखमा नेदरल्यान्डसमा रहेको International Institute of Space Law का अध्यक्ष Tanja Masson-Zwaan ले भनेकी छिन्, ‘चन्द्रमा माथि होपको दावी कानुनी छैन। राष्ट्रसंघको सन्धि सरकारलाई सँगै उनीहरुका नागरिकहरुलाई पनि लागू हुन्छ।’

तर उनका अनुसार पैसा कमाउन कुनै ठाउँको स्वामित्व नै आफ्नो हुन जरुरी छैन, तर स्पष्ट कानुनी ढाँचा भने हुनुपर्छ। सन् १९७९ को अलग्गै मून एग्रिमेन्टले चन्द्रमाको प्राकृतिक स्रोतहरुको व्यवस्थापन सम्बन्धी नियम बनाएको छ। तर त्यो सन्धि १३ देशले मात्रै अनुमोदन गरेको छ। नेपालले समेत त्यसलाई अनुमोदन गरेको छैन। यहाँ क्लिक गरी हेर्नुस् विवरण।

होप त ठूलै चन्द्र जग्गा दलाल भइसके। उनले बेलायतका Francis Williams लाई चन्द्रमाको जग्गा बेच्ने अधिकार दिएका छन्। उनले https://www.moonestates.com/ नामको छुट्टै वेबसाइट बनाएर चन्द्रमाको जग्गा बेचिरहेका छन् जसबारे सिएनएनले सन् २००८ मा समाचार बनाएको थियो। यसबाट एक एकड किन्न ४०.९५ पाउन्ड पर्छ।

लुनार ल्यान्ड नामको अर्को वेबसाइट छ जसमा एक एकड २९.९५ डलरमा बिक्रीमा राखिएको छ। उज्यालोमा आएको समाचारमा चन्द्रमाको जग्गा किन्ने मुर्गाले लुना सोसाइटी इन्टरनेसनल बाट जग्गा किनेका रहेछन्। यस्ता दर्जनौँ वेबसाइट इन्टरनेटमा भेटिन्छन् जसले चन्द्रमाको जग्गा बेच्छ।

पपुलर साइन्समा नासाका डेपुटी डाइरेक्टर अफ इन्टरनल अफेयर्सका रुपमा काम गरिसकेका अवकाश प्राप्त वकील स्टेफन इ. डोयलले भनेका छन्, अहिलेका लागि चन्द्रमा समुद्र जस्तो हो। सबैले प्रयोग गर्न पाउँछन् तर कसैले स्वामित्व लिन पाउँदैनन्। तपाईँ चन्द्रमामा जान सक्नुहुन्छ, चन्द्रमाको माटो लिन सक्नुहुन्छ तर त्यहाँको जमिनमा वृत्ताकार चिह्न लगाएर त्यति जग्गा मेरो हो भन्न पाउनुहुन्न।

तपाईँलाई पनि उज्यालो जस्तो मिडियाले प्रचार पनि गरिदिने, सस्तोमा पनि पाइने भएकोले चन्द्रमाको जग्गा किनौँ किनौँ लागेको भए phys.org को कुरा पनि पढ्नुस्- तपाईँले चन्द्रमाको जग्गा किनेको कुनै पनि प्रमाण पृथ्वीको कुनै पनि देशले मान्यता दिँदैन। हो, तपाईँ चन्द्रमामा उडेर जानु हुन्छ र त्यहाँ बस्न चाहनुहुन्छ भने तपाईँलाई कसैले रोक्ने छैन। त्यसको लागि जग्गा किनेकै हुनुपर्छ भन्ने चाहिँ छैन। एकदमै बढी गर्मी १०० डिग्री सेल्सियसदेखि एकदमै जाडो माइनस १७३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने र पृथ्वीको भन्दा १६.५ डिग्री कम गुरुत्वाकर्षण हुने ठाउँ त्यसमाथि चन्द्रमाको त्यो धुलो, प्रशिक्षण प्राप्त अन्तरिक्ष यात्री भन्दा अरु कोही पनि त्यहाँ धेरै समय बस्न चाहँदैनन्। तपाईँ त्यस्तो ठाउँको जग्गा किनेको हावा लालपूर्जा देखाएर कसलाई फूइँ लाउनुहुन्छ? नेपालमा फूँइ लगाउन त कम्प्युटरबाट फर्जी कागज यत्तिकै बनाए भो नि, डलर तिरेर किनिरहनु पर्छ र?

7 thoughts on “चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ”

  1. dipak ashrunjali says:
    March 26, 2018 at 9:53 am

    धन भाको बुद्धि नभाको त्यो जोशी मुर्गो।

    Reply
  2. sagar says:
    March 25, 2018 at 4:59 pm

    नेपालको प्रधानमंत्री बन्ने खुबी भएको मान्छे रहेछ | ठगि र चोरी गर्न खप्पिस | नेपाली मुर्गालाई रत्नपार्कको डिलमा तातो घाममा दिनभर मुर्गा बनाएर राख्नु पर्यो |

    Reply
  3. prithvi says:
    March 23, 2018 at 1:46 am

    एउटा कुरो मैले नबुझेको, मान्छे किन चन्द्रमा मा जग्गा किन्छन? किन्ने लाइ के फाइदा? लौन कसैले मलाइ ग्यान दिउ, सालोक्य जी, किन होला ?

    Reply
  4. Amrit Koirala says:
    March 21, 2018 at 11:50 am

    सालोक्य, पुरै आर्टिकल लाई नेपाली मा अनुबाद गरेको लागि धेरै धन्यवाद . this i take as good works towards the humanity. really appreciated.

    Reply
  5. Anonymous says:
    March 21, 2018 at 3:25 am

    Lol

    Reply
  6. Anonymous says:
    March 21, 2018 at 2:31 am

    gatilai jagga kineko rahecha ta murga haru le

    Reply
  7. Pingback: चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव! – Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme