Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!

Posted on March 21, 2018March 23, 2018 by Salokya

वास्तवमा नेपालीहरुलाई ‘मुर्गा’ बनाउन साह्रै सजिलो छ। चिट्ठा पर्‍यो भनेर फेसबुक, भाइबर, इमेलमार्फत् कसैले भन्दा पत्याइहाल्छौँ हामी। अनि त्यही चिट्ठाको रकम लिन ट्याक्स तिर्नुपर्ने भनी उल्टो आफैले पैसा पठाएर ठगिन्छौँ हामी। भर्दै नभरेको चिट्ठा पर्दैन भनेर सामान्य लजिकसमेत लगाउन सक्दैनौँ हामी। एउटा यस्तै मान्छे मुर्गा बनेछन् चन्द्रमाको जग्गा किन्ने नाममा। तर उनले मिडियालाई नै मुर्गा बनाइदिएछन् ठूल्ठूला गफ दिएर। अनि त्यही पत्याएर छापिएछ अनलाइनहरु र युट्युब च्यानलहरुमा। चन्द्रमामा किनेको जग्गा नेपालमा प्लटिङ गरी बेच्ने त हैनन्? अरु थप मान्छे जग्गा किनेर मुर्गा बन्ने त हैनन् भन्ने डरले यो विषयमा विस्तृत ब्लग लेख्न मन लाग्यो। सबैभन्दा पहिला उज्यालो अनलाइनमा यो ब्लग लेख्दै गर्दा होमपेजको मुख्य समाचारका रुपमा ठूलो महत्वका साथ ठूलै स्थान ओगटेको समाचार हेर्नुस्-

लेखिएको छ- ‘इच्छाशक्तिमा विश्वास गर्ने जोशीले एकदिन आफूले चन्द्रमामा नेपालको राष्ट्रिय झण्डा फहराउने इच्छा व्यक्त गर्नुभएको छ।’हे दैव ! इच्छा त कसको के के हुन्छ के के, कसैलाई सूर्यमा नै राष्ट्रिय झण्डा फहराउने इच्छा होला। कसैलाई सूर्य निलिदिने इच्छा होला, आखिर पुराणका कथामा हनुमानले निलेकै हुन्। इच्छाको कुरा यस्तै हो, भित्रको समाचार पढ्नुस् अझ रमाइलो छ। 

समाचारको लिडलाइनमा लेखिएको छ-

उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…’ नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ ।

सार्थक तुल्याएको भनेपछि साँच्चिकै उडेर चन्द्रमा छोयो कि भन्ने लाग्न सक्ला तपाईँलाई। तर हैन रहेछ। के रहेछ कुरा दोस्रो अनुच्छेदमा खुलाइएको छ-

उहाँले सानैमा आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको छ । अहिले उहाँ चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक हुनुभएको छ भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य हुनुभएको छ नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक हुनुभएको छ ।

सानैमा चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको छ रे। कसरी त भन्दा चन्द्रमाको ८० रोपनी जमिनको मालिक भएर रे। जमिनको मालिक हुँदैमा चन्द्रमामा पुग्न सक्ने सपना सार्थकताको द्वारमा कसरी पुगिँदो रहेछ, अलमलमा परियो। चन्द्रमामा जान त रकेट चाहिन्छ। रकेट भनेको नेपालले अहिलेसम्म बनाउन सकेकै छैन, केही डलर तिरेर चन्द्रमाको कथित जग्गा किन्दैमा विदेशी रकेटले लाँदैन कुनै नेपालीलाई। हो, दुई वटा कम्पनीले ६ वर्षअघि चन्द्रमामा पर्यटनको अफर गरेका थिए। तर त्यसका लागि एउटा सिटका लागि १५० मिलियन अमेरिकी डलर लाग्ने भनिएको थियो। क्लिक गरी पढ्नुस् इकोनोमिस्टको समाचार। त्यो भनेको साढे १५ अर्ब रुपैयाँभन्दा बढी हो। जोशीको बाउ बाजेको सम्पति जोड्दा पनि त्यति रकम पुग्दैन होला। जेनतेन जुटाइहाले पनि चन्द्रमामा नेपालको राष्ट्रिय झण्डा फहराउने इच्छा भने पूरा हुनेछैन। किनभने त्यति रुपैयाँमा ती कम्पनीले चन्द्रमाको धरातलमा ओराल्दैन, चन्द्रमा वरपर उडाउँछ मात्र।

समाचारमा ‘अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा’  भनिएको छ। गलत हो। कतै होडबाजी चलेको छैन। सबै जोशी जस्तो मुर्गा हुँदैनन्। कोही मुर्गा भइहाले पनि त्यो देशका मिडिया जोशीले जस्तो मुर्गा बनाउने खालका हुँदैनन्।

समाचारमा नेपाली नागरिक जोशी ‘अहिले चन्द्रमाका समेत नागरिक हुनुभएको छ’  भनिएको छ। ए रातामकै, के अचम्म हो यो। चन्द्रमा भनेको कुनै देश हो र नागरिकता बाँड्न? त्यसो त जग्गा नै बेचेर मुर्गा बनाउन सक्नेले नागरिकता पनि नबेच्ला कसरी भन्नु।

समाचारको तेस्रो अनुच्छेद झन् रमाइलो छ। लेखिएको छ-

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेको सुन्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेलै मभित्र हामी नेपाली पनि एकदिन त्यहाँ कसो पुग्न नसकिएला भनी कौतुहलता जागेको थियो ।’

बिचरा जोशीले सानैमा जे सुनेका थिए, त्यही गलत रहेछ। युरी गाग्रिनले चन्द्रमामा प्रारम्भिक पाइला टेकेका थिएनन्, गाग्रिन त पृथ्वी बाहिर अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति थिए। सन् १९६१ को अप्रिल १२ मा भोस्टोक अन्तरिक्ष यानबाट उनले पृथ्वीको कक्ष (अर्बिट) घुमेका थिए। चन्द्रमामा पहिलो पाइला टेक्ने त निल आर्मस्ट्रङमात्रै हुन् सन् १९६९ को जुलाई २१ मा।

समाचारको चौथो अनुच्छेदमा लेखिएको छ-

१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गर्नुभएका भएका जोशीलाई त्यहाँसम्म पुग्न उहाँका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुनुहुन्थ्यो ।

यसमा फेरि चन्द्रमाको नागरिकता लिएको कुरा उठाइएको छ। उनलाई चन्द्रमाको जग्गा किन उक्साउने चाहिँ भाञ्जा स्वराज सागर प्रधान रहेछन्। समाचारका अनुसार अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य रे उनी। हैट, नासा भनेको सर्वदेशीय संगठन हो र त्यहाँ नेपाल, भारत, चीन जस्ता देशको तर्फबाट सदस्य हुनलाई ! यसो खोजिहेरेको त उनी नासा हैन नासोको चाहिँ सदस्य रहेछन् फेसबुकमा उल्लेख भए अनुसार

उच्चारण गर्दा उस्तै भन्दैमा नासा र नासोलाई एउटै भन्नु न्युरोड र न्युयोर्कलाई एउटै भने सरह हो। नासो भनेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीको छोटकरी रुप हो।

समाचारमा १० एक्री जमिनको मालिक भएको भनिएको छ। के रहेछ यो एक्री भनेको दिमाग खियाएँ, पत्ता लागेन। समाचारमै प्रमाणपत्र पनि राखिएको रहेछ त्यहाँ हेर्दा पो थाहा भयो acres लाई पो एक्री भनिएको रहेछ। एकडलाई एक्री भनिएको रहेछ भनेर यही हेर्दा थाहा भो।

 

अब समाचारका बाँकी दुई अनुच्छेद पढौँ-

संसारभरीका मानव जातिले सधैँ देख्दै र पुज्दै आएको चन्द्रमाको जमिनलाई दश प्रकारले विभाजन गरेर विश्व मानव कल्याणका लागि बेचविखन गर्ने नीति ‘लुना सोसाइटी इन्टरनेशनल’ ले लिएको देखिन्छ । यसप्रकारको कार्य संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघबीच भएको समझदारी अनुरुप सन् १९८० देखि नै हुँदै आएको थियो ।

त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउनु हुन्छ । जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उहाँको अनुमान छ ।

समाचार पढ्दा लाग्छ जमिन बेच्ने काम सन् १९८० देखि अमेरिका र तत्कालीन सोभियत संघबीच भएको समझदारी अनुरुप भएको हो। यो गलत हो। दुई देशबीच चन्द्रमाको जग्गा बेच्ने कुनै समझदारी भएको छैन। दुई देशले बेच्न पनि पाउँदैन। चन्द्रमा कुनै एउटा वा दुइटा देशको मात्र अधिकार छैन।

समाचारको अर्को अनुच्छेद पढौँ जसमा उनले कसरी जग्गा किनेको भन्ने विवरण छ-

‘एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बन्नुभएको प्रमाण–पत्र पाउनुभएका जोशीले हाललाई आफ्नो सानोबेलादेखिको सोख मात्रै पूरा भएको ठान्नुभएको छ ।

जर्मनीमा रहेछन् उनका छोरा। उनैले क्रेडिट कार्डबाट बुबाको नाममा पैसा बुझाएछन् अर्थात् मुर्गा बनेछन्। कति पैसा लाग्छ त? समाचारमा एक एक्री (हाहा एक्री पो रे वास्तवमा एकड) बराबर ३ हजार रुपैयाँ पर्ने भनिएको छ। त्यसको साइटमा हेर्दा यस्तो रहेछ-

१० एकडको १९० डलर अर्थात् अहिलेको विनिमय दरमा साढे १५ १९ हजार रुपैयाँ चानचुन पर्ने रहेछ। हैट, साढे १५ १९ हजारको फोकटिया कथित चन्द्रमाको जग्गा किनेर लाखौँको प्रचार गरेछन् यी महोदयले। मान्नुपर्ने हो क्षमतालाई चाहिँ। जर्मनीमा बस्ने छोराको  खर्च भएको १५० डलर पनि वसुल भयो होला।

समाचारको अर्को अनुच्छेद पढौँ झन् रमाइलो छ-

वास्तवमा संसारभरीका ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त ‘दि लुना रजिष्ट्री’ ले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, माइक जगर, निकोल किड्म्यान, क्लाइन्ट इष्टउड, हारिसन फर्ड, विलियम सान्टर, पेट्रिक स्टेवर्ड, स्टीभ ओजनेक लगायत भारतका सिने कलाकार शहारुख खानले समेत चन्द्रमाको नागरिकता साथै जमिन किनिसकेको प्रचारमा आइसकेको अवस्थामा आफू पनि सोही अनुरुप चन्द्रमाका नागरिक साथै जमिनका मालिक बन्न पुगेकामा नेपाली नागरिक जोशी गौरव गर्नुहुन्छ ।

जोशीले आफूले आफैलाई महान् ठान्दै गौरव गरेका रहेछन् यसमा। संसारभरका ३० करोड मानिसहरुले चन्द्रमामा जमिन किनेको भनिएको रहेछ जसको कुनै आधिकारिक तथ्याङ्क छैन। चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त दि लुना रजिस्ट्री भनिएको छ, चन्द्रमाको जमिन कारोबारमा कसैको अधिकार छैन। चाहनु हुन्छ भने तपाईँले पनि एउटा अफिस खोलेर जग्गा कारोबार गरेर बेचे हुन्छ। अहिले चन्द्रमाको कारोबार गर्ने थुप्रै वेबसाइटहरु अमेरिका, बेलायत, रुसका छन्।  बस्, मुर्गा पाउनु पर्‍यो। समाचारमा भारतीय सिने कलाकार शाहरुख खानले समेत चन्द्रमाको नागरिकताका साथै जमिन किनिसकेको उल्लेख भएको रहेछ। शाहरुख खान मूर्ख हुन् र आफ्नो कमाई चन्द्रमाको जमिन किन्न? अस्ट्रेलियाको कुनै एक जना केटी फ्यानले चाहिँ किनिदिने रहेछन्। पढ्नुस् हिन्दुस्तान टाइम्सको समाचार

त्यसपछिको अनुच्छेदमा भने सुरु हुन्छ जोशीका पचाउन गाह्रा गफ-

चन्द्रमाका नागरिक साथै जमिनका मालिक समेत बन्न पुगेपछि जोशीले अब आफूले अन्तरिक्ष विज्ञानको थप अध्ययन र त्यसमार्फत् देशको नाममा गर्न सकिने योजना बनाउन थाल्नुभएको छ । त्यसका लागि उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई पत्राचार गरिसक्नुभएको छ । विश्वमा नेपालको पनि आफ्नै अन्तरीक्ष योजना छ भन्ने देखाउन चाहनु हुन्छ उहाँ । त्यस मामिलामा नेपाल र नेपाली पनि पछाडि परेको छैन भनेर देखाउने आफ्नो चाहना रहेको उहाँ बताउनुहुन्छ।

यो हावा र फोकटिया जग्गा प्रमाणपत्र र नागरिकता पाएपछि जोशीले अन्तरिक्ष विज्ञानको थप अध्ययन गर्न थाले रे। अध्ययन गर्न त राम्रै हो। तर त्यसमार्फत् देशको नाममा गर्न सकिने योजना बनाउन थालेको गफ चाहिँ अति नै भो है। त्यसका लागि के गरे रे भन्दा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई पत्राचार गरिसके रे। हाँस्नुस्। फेरि अर्को इच्छा प्रकट भएको छ- विश्वमा नेपालको पनि आफ्नै अन्तरीक्ष योजना छ भन्ने देखाउन चाहनु हुन्छ उहाँ ।

समाचारको अर्को अनुच्छेद पनि कम्ता रमाइलो छैन है। पढ्नुस्-

लुना सोसाइटी इन्टरनेशनलले ८–१० वर्षत्रिभै पृथ्वीका मानवलाई पर्यटकका रुपमा रकेटमार्फत् चन्द्रमामा पठाउन सकिने योजना बनाइरहेको जानकारी गराइरहेको छ । त्यस प्रकारका योजनामा गुगल सफ्टवेयरमार्फत् चन्द्रमाको भूअवस्थाको समेत सूक्ष्म अध्ययन गर्नुका साथै र ‘भर्चुअल रकेट’ को समेत अभ्यास गरिरहनुभएका जोशी आफू पनि चन्द्रमा पुग्ने निश्चित जस्तै रहेको बताउनुहुन्छ । इच्छाशक्तिमा विश्वास गर्ने जोशीले एक दिन आफूले चन्द्रमामा नेपालको राष्ट्रिय झण्डा फहराउने इच्छा व्यक्त गर्नुभएको छ ।

गुगल सफ्टवेयरमार्फत् चन्द्रमाको भूअवस्थाको सूक्ष्म अध्ययन गरिरहेको रे। कति हाँस्चु। अझ भर्चुअल रकेटको समेत अभ्यास गरिरहेका रे। के भन्या हो त्यस्तो खै। वास्तविक रकेट त बनाएको बनायै हो नेपाल सिङ्गो देश लाग्दा पनि बनाउन गाह्रै पर्छ होला। त्यसैले जोशी जस्ताले बनाउने भनेको भर्चुअल अर्थात् कम्प्युटरमा बनाउने रकेटमात्रै हो। तर भर्चुअल रकेटको अभ्यास गरेर आफू पनि चन्द्रमा पुग्ने निश्चित जस्तै कसरी भयो? प्रश्नको जवाफ कसले खोज्ला? इच्छाशक्तिमा विश्वास गर्दैमा डोकोमा पानी चाहिँ अड्दैन है ब्रो।

समाचारका अर्को दुई अनुच्छेदले चाहिँ उनको मनसाय देखाउन खोजेको जस्तो लाग्यो-

ललितपुरको सानेपामा बसोबास गरिरहनुभएका जोशीले चन्द्रमा जमिन किनेको कुरा गर्दा सुरुमा साथीभाइले नपत्याएर ‘गफाडीको गफ’ ठानेको रमाइलो अनुभव पनि बटुल्नु भएको छ । त्यसो हुनुमा चन्द्रमाको जमिन खरिद सम्बन्धी जानकारीको कमी भएकोले भन्नुहुन्छ उहाँ । वास्तवमा चन्द्रमाको जमिन खरिद गरेपछि त्यसको सम्झौता अनुसार त्यहाँबाट कुनै पदार्थ पृथ्वीमा ल्याउन मात्रै नहुने अनुमति लिएर जे पनि गर्न हुने रहेछ ।

भाडामा दिन मिल्ने, बेचबिखन पनि गर्न सकिने र आफ्नो इच्छा अनुसार उत्तराधिकार प्रदान समेत गर्न सकिने साथै त्यसका लागि आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिने जग्गाधनीहरुलाई जानकारी गराइएको छ।

अन्तिम लाइन पढ्दा त उनले किनेको ८० रोपनी जग्गामा नाफा खाएर यतै बेच्न लागेका वा भाडामा दिन लागेका त हैनन् भन्ने शंका उब्जन सक्छ।

यो रमाइलो समाचार डिलिट होला भन्ने डरले मैले अर्काइभमा सेभ गरिराखेको छु। पढ्नलाई यहाँ क्लिक गर्नुस्।  

अझ बढी रुचि लागे चन्द्रमाका जग्गाधनी रमेश जोशीको फेसबुक हेर्न यहाँ क्लिक गर्नुस्। पूरै बधाई खाइराछन् उनी। तपाईँ पनि गएर बधाई दिने कि 🙂

उज्यालोबाटै कपिपेस्ट गरी यो समाचार दिएर जनतालाई भ्रम छरेका अरु अनलाइनहरु-

अनि यो युट्युब च्यानलसित भएको गफ सुन्नुस्

यो पनि पढ्नुस्-
चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ

30 thoughts on “चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!”

  1. sikdel... says:
    March 28, 2018 at 8:21 am

    मलाई नि ४ आना कित्ता कट गरेर बेच्ने हो कि …….. चन्द्रमामा बस्ने सारै रहर छ ……

    Reply
  2. dor prasad says:
    March 28, 2018 at 2:18 am

    अब नया कुरो, रमेश जी मंगल ग्रह मेरो हो १ कठ्ठाको १० अमेरिकन दोल्लर को डर रे बेच्दै छु , तपाइको क्रेडिट कार्ड पनि छाहिदैन मै संसार को उमेश जी लै दिए हुन्छा

    https://www.usnews.com/news/articles/2013/03/25/meet-the-man-who-owns-the-moon

    from this article
    ====
    “In the early 1980s, Hope, then unemployed for about a year, thought he’d be a good property owner and could make a living by managing real estate. He looked out the window and saw more unclaimed property than he could possibly fathom—the moon. He remembered a tidbit from a political science course he took in college—the 1967 United Nations Outer Space Treaty said no country could own the moon, but it says nothing about individuals.”

    Hope wrote a letter to the United Nations saying the moon was his and asked the group to come up with a legal reason why an individual could not claim ownership of the moon.

    He never heard back.

    “I sent the United Nations a declaration of ownership detailing my intent to subdivide and sell the moon and have never heard back,” he says. “There is a loophole in the treaty—it does not apply to individuals.”

    Since then, he’s sold more than 611 million acres of land on the moon. Individual, one-acre lots sell for $19.95 ($36.50 after a “lunar tax” and shipping and handling of the deed) and there are discounts for larger plots.

    According to Tanja Masson-Zwaan, president of the International Institute of Space Law, the United Nations never responded because the treaty applies to both countries and its citizens, she told National Geographic.

    ===
    अब नया कुरो, रमेश जी मंगल ग्रह मेरो हो १ कठ्ठाको १० अमेरिकन दोल्लर को डर रे बेच्दै छु , तपाइको क्रेडिट कार्ड पनि छाहिदैन मै संसार को उमेश जी लै दिए हुन्छा

    Reply
  3. Pingback: सुटुक्क सच्याइयो चन्द्रमामा जग्गा किन्ने पहिलो नेपालीको समाचार « Mysansar
  4. Alokya says:
    March 23, 2018 at 11:40 pm

    हसायो यो सालोक्यजी ले.

    अर्को कुरा, Take a close look at that certificate. The letters at the bottom “Officially registered and recorded” and the signature seem copied and pasted. Notice a different white background on them, slightly different (in sharpness) to the rest of the white background of the certificate.

    Reply
  5. Aakash says:
    March 23, 2018 at 2:06 pm

    १० एकडको १९० डलर अर्थात् अहिलेको विनिमय दरमा साढे १५ हजार रुपैयाँ चानचुन पर्ने रहेछ। हैट, साढे १५ हजारको फोकटिया कथित चन्द्रमाको जग्गा किनेर लाखौँको प्रचार गरेछन् यी महोदयले।

    १९० डलर बराबर १९ हजार चानचुन जति हुनु पर्ने होइन र ! तर कुरो प्रस्ट पारीदिनू भएकोमा धन्यवाद !

    Reply
    1. Salokya says:
      March 23, 2018 at 8:20 pm

      ९ टाइप गर्दा ५ हुन गएछ। धन्यवाद। गल्ती सच्याइएको छ।

      Reply
  6. Sailendra Thapa says:
    March 22, 2018 at 11:29 am

    सालोक्य गर्छन “खोज” पत्रकारिता, अरु येस्ता पत्रकार गर्छन “भोज” पत्रकारिता (भोज खाएपछि) जे पनि छाप्दिने .

    Reply
  7. Anonymous says:
    March 21, 2018 at 5:42 am

    Great analysis…. Thanks

    Reply
  8. Khagendra says:
    March 21, 2018 at 11:16 am

    सहि दनक भेट्यो यस्ले

    Reply
  9. Anonymous says:
    March 21, 2018 at 4:56 am

    यस्तो मिडिया लाई बन्द गर्नु पर्छ

    Reply
  10. Anonymous says:
    March 21, 2018 at 4:16 am

    यी अब। चंद्रमाको जग्गा दलाली बनंचन

    Reply
  11. Ramesh Kumar Joshi says:
    March 21, 2018 at 8:35 am

    माइसन्सार परिवार,

    कोम्मेंट्स को लागि धन्येबाद/ लेखेको सब्दमा तुत्री हुन सकिएला/ सच्चाउने अवसर दिनु भयो खुसि लग्यो. दगुर्ने मान्छे लड्छ यो उसको लागि अगाडी बढ्ने अवसर हो/ बिस्वाश छ यो एक दिन सत्य साबित हुनेछ/

    Reply
    1. Sisir says:
      March 21, 2018 at 8:22 pm

      तपाईंको comment अनुसार अहिले सम्म त हावा गफ रहेछ। अलिकति लाज मन्ने गर्नुस। छि छि छि।

      Reply
    2. Ananda says:
      March 21, 2018 at 8:44 pm

      Nepal ko sagarmatha ma jhanda gadnus yehi kafi chha.

      Reply
  12. Anonymous says:
    March 21, 2018 at 2:07 am

    राष्ट्रबादी मिडिया हरुको कारामात

    Reply
  13. Anonymous says:
    March 21, 2018 at 2:05 am

    GaafaI tA ho jatti ladaya pani bhayp

    Reply
  14. Anonymous says:
    March 21, 2018 at 12:24 am

    La aajai bata mangal graha ko jagga bechnu parxa ki kya ho…. hatha ko Rs. 10 ma…

    Reply
  15. Anonymous says:
    March 20, 2018 at 11:54 pm

    Malai ni 4 aana jati bechnu paryo hajur. Ghar banayera basnu paryo utai

    Reply
  16. Anonymous says:
    March 20, 2018 at 11:47 pm

    Good job mysansar … u r aleays enlightening these kind of hawadari kura … thats why i like ur site… keep on exposing ….

    Reply
  17. Pingback: चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ « Mysansar
  18. Anonymous says:
    March 20, 2018 at 11:08 pm

    मैले नि मंगल ग्रहमा जग्गा किनेको छु यो मान्छे लाई बेच्नु पर्‍यो कसरी सम्पर्क गर्ने होला ?

    Reply
  19. Anonymous says:
    March 20, 2018 at 10:50 pm

    हाहाहा यो सम्चार पढ्दा पढ्दै कति हांसियो।उज्यालोले लेखेसि त होला भनेर पत्याइएको गांठे।

    Reply
  20. Rakesh says:
    March 21, 2018 at 4:13 am

    Hawa guff dinalai 32 dollar ma 1 acre kineko bhaye bhai halthyo kina 190 dollar kharcha garera 10 acre kineko hola aba tetro jaggama parkhal lagauna eta kaha bata lyaune hola Joshi Ji

    Reply
  21. Anonymous says:
    March 20, 2018 at 10:19 pm

    Kasto mahango certificate kinnu bhayechha mahasayele

    Reply
  22. Anonymous says:
    March 20, 2018 at 10:04 pm

    केहि जान्ने बुज्ने होलान यिनीहरु त भनेर मैले बिश्वाश गरेका मान्छे हरु समेत फेसबूक मालिक ले 4/5 मिलियन चिठ्ठा मा बाड्ने झुठो कुरा हरु शेयर गरेको देख्दा पो हासो लाग्छ

    Reply
  23. Anonymous says:
    March 20, 2018 at 9:51 pm

    Mysansar को बिष्लेषण अथवा तर्क संगत प्रस्तुती मन पर्छ मलाई।।

    Reply
  24. Anonymous says:
    March 20, 2018 at 9:49 pm

    Haha kada ayo dai

    Reply
  25. Anonymous says:
    March 20, 2018 at 9:39 pm

    नेपाल मा जग्गा पयेनन

    Reply
  26. Ram s says:
    March 21, 2018 at 3:23 am

    समाचार अल्लि चाडो आयो/ आज बल्ल २० मार्च गयो नत्र १ अप्रेल को दिन लाई शुहाउने सामग्री रहेछ

    Reply
  27. Anonymous says:
    March 20, 2018 at 9:26 pm

    नेपालमा जंगल बढी भयर हावा बढी लाग्या हुन् कि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme