– राजु अधिकारी –
बिहानको आठ जति बजेको थियो, उनीहरु हतार हतारमा यताउता गर्दै केहि कुरा गर्दै थिए। मैले उनीहरुको कुरा र हाउभाउ हरु बुझ्दैनथे। उनीहरु प्राय दिमागबाट निस्केका तरंगहरुबाट कुरा गर्थे। थोरै मात्रै कुराकानी उनीहरुको हाउभाउ र स्पर्श बाट हुन्थ्यो। तर मैले उनीहरुको हाउभाउ पनि बुझ्दैनथे। उनीहरुको भाषा मानव समुदाय भन्दा निकै भिन्दै थियो, उनीहरुको श्रबणशक्ति थिएन, त्यसैले उनीहरु बोल्दैनथे र अरु बोलेको पनि सुन्दैनथे।
मलाई एउटा पिंजडा जस्तो बाकसमा बन्द गरेर राखिएको थियो तर बाहिर भै रहेका सबै दृश्य र उनीहरुको क्रियाकलाप मैले देख्न सक्थेँ। मलाइ केहि दिन अघि म बस्ने बिशाल फार्म बाट त्यहाँ ल्याइएको थियो। तर त्यहाँ किन ल्याइएको थियो भन्ने मा म अनभिज्ञ थिएँ। यसभन्दा अगाडी मैले मजस्तै बयस्कहरुलाई उनीहरुले फार्मबाट बाहिर लागेको देखेको थिएँ। तर त्यहाँ बाट त्यसरी बाहिरिए पछि कुनै पनि मानिस हरु फेरी फर्केर फार्म मा आएका थिएनन। त्यसैले मलाइ भित्रभित्रै निकै डर लागिरहेको थियो। मेरा साथीहरु, मैले मन पराएकी मेरी प्रेमिका, मेरा फार्मका दाजुभाई दिदीबहिनीहरुलाई मैले फेरी कहिल्यै भेट्न पाउने छैन भन्ने सोंचाईले मेरो आंग जिरिंग हुन्थ्यो, मेरो मुटु दुख्थ्यो अनि निधारबाट पसिना चुहिन्थ्यो। म रोएँ कराएँ, त्यहाबाट मलाइ फार्ममा फिर्ता लगिदिनको लागि आग्रह गरें तर म जति रोए कराए पनि उनीहरु वास्ता गर्दैनथे किनभने हाम्रा हाउभाउ र बोलि उनीहरुको दिमागले बुझ्न सक्दैनथ्यो। केहि नलागी म अन्त्यमा केहि नकाराई टोलाएर पिंजरा भित्र बसेको थिएँ।
म हुर्केको फार्मका साथीहरुको जानकारी अनुसार मेरो र उनीहरु सबैको जन्म एउटा बिशाल ह्युमन ह्याचरीमा (औद्यौगिकरुपमा ठुलो मात्रामा मानव उत्पादन गर्ने कारखाना) भएको थियो, जन्मेको केहि महिना मै मलाइ त्यहाँबाट त्यो फार्ममा सारिएको थियो। मेरो बाल्यकाल र बयस्क काल सबै त्यहि फार्ममा भएको थियो। त्यो फार्म निकै नै ठुलो थियो र त्यहाँ मानिसहरुलाई जिउनको लागि चाहिने सबै कुराहरु उपलब्ध थिए। मेरो बाल्यकाल निकै खुशीमा बितेको थियो। बाहिरी संसारको बारेमा मलाइ केहि पनि थाहा थिएन र थाहा पाउने रहर पनि थिएन। त्यो फार्ममा ल्याइएको केहि महिना भित्रै अधिकाश पुरुषहरुलाई बन्ध्याकरण गरिन्थ्यो र मैले प्राप्त गरेको जानकारी अनुसार उनीहरुलाई मासुको रुपमा प्रयोग गरिन्थ्यो। बन्ध्याकरण नगरिएका केहि पुरुस र महिलाहरु को प्रजनन बस्तु संकलन गरेर ह्याचेरीमा लगिन्थ्यो र त्यसै बाट अन्य मानिसहरु उत्पादन गरिन्थ्यो। म थोरै भाग्यमानी मध्यको एक थिए किनभने मेरो बन्ध्याकर्ण गरिएको थिएन तर केहि बर्ष मेरो प्र्जजानन बस्तु निकालिसके पछि मलाइ परीक्षन गरियो र भविष्यको प्रजननको लागि अनुपयुक्त प्रमाणित गरियो। हामिजस्ता अनुपयुक्तहरु अनुपयुक्त ठहरिएको केहि दिन भित्रैमा त्यहाँ बाट हराउंथे, उनीहरुलाई कहाँ लगिन्थ्यो भन्ने कसैलाई थाहा हुदैनथ्यो, उनीहरु फेरी कहिल्यै फर्केर आउदैनथे। म पनि त्यसैको शिकार भएको थिए।
किम्बदन्ती अनुसार मानव जाति पृथ्बीमा सर्वोत्तम जाति थियो। हजारौ बर्ष देखि हाम्रा पुर्खाहरुले पृथ्बीमा एकछत्र राज गरेका थिए। उनीहरुलाई रोक्न सक्ने कुनै अन्य शक्ति पृथ्बीमा थिएन। आफ्नो शक्ति र बुद्धिको दुरुपयोग गरेर मानिसहरुले पृथ्बीको बातावरण बिगारे। अनेक जीवजन्तुहरु मानिसको ब्यबहारले गर्दा सधैंको लागि लोप भए, मानिसहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्मम तरिकाले अन्य जन्तुहरुको बिनास गरे। आफ्नो अत्यधिक जनसंख्या लाई नियन्त्रण गर्न र उनीहरुलाई पालनपोषण गर्न अनेक अनैतिक र अप्राकृतिक तरिकाहरु अपनाए। विज्ञानको विकास संगै मानिसले आफु नै भगवान जस्तो गरेर कसैको डर नमानी सृस्टिको नियमलाई नै चुनौती दिन थाले।
बिज्ञान र प्रविधिको तिब्र विकास र बिलासिनताको मादले गर्दा मानव जातिले आफ्ना बच्चाहरु आमाको पेटमा होइन की ‘ह्युमन ह्याचरी’ मा बनाउन थालेको धेरै भैसकेको थियो। लैंगिक समानता, जन्मपुर्वका रोगबाट हुने मृत्यु को रोकथाम, चाहे अनुसारको जनशक्ति उत्पादन, प्रसव पिडा बाट मुक्ति आदि अनेक कारण हरुले गर्दा पृथ्वीका अधिकाश मानवहरु तिनै ‘ह्याचरी’ का उत्पादन थिए। ‘ह्याचरी’ बाट उत्पादित मानिसहरु प्राय निरोगी हुन्थे किनभने गर्भ मै छंदा उनीहरुको ‘जिन’ र ‘डी एन ए’ आबश्यकता अनुसार परिबर्तन गरिन्थ्यो र रोगसंग लड्ने क्षमताको बिकास गरिन्थ्यो। जनशक्तिको आबश्यकता अनुसार दिमागका तन्तु हरुलाई गर्भमानै परिमार्जन गरेर आबश्यक जनशक्ति उत्पादन गरिन्थ्यो। यदि गणितीज्ञको आबश्यकता छ भने त्यसको लागि चाहिने दिमागको तन्तु गर्भमै बढाइन्थ्यो र जन्मेको शिशु गणितीज्ञ हुन्थ्यो। त्यस्तै सैनिकको जरुरत भयो भने निडर बनाउने इन्जाईम बढाउने दिमागी तन्तु गर्भ मै छंदा राखिन्थ्यो। त्यसैले त्यो बेला पृथ्बीमा निकै प्रायोजित र योजना अनुसार मानब जातिको उत्पादन गरिथ्यो। जनावर हरु पनि त्यहि रुपमा ब्यापारिक प्रयोजनका लागि उत्पादन गरिन्थे। मानवले खाने मासुजन्य पशुहरुलाइ त्यहि अनुसार ठुलो मात्रामा उत्पादन गरिथ्यो। मानिस हरु आफै बच्चा जन्माउन स्वतन्त्र त थिए तर प्राय सबै जनाले सुरक्षित र सजिलो उपाए रोज्थे। ह्याचरी मा गएर आफ्नो विर्य र डिम्ब प्रदान गरे पछि उनीहरु बच्चा लिन गए पुग्थ्यो। उनीहरुले आफ्नो सन्तान लाई के बनाउने भनेर पनि चयन गर्न सक्थे तर यदि योजनाको कोटा सिमित छ भने उनीहरुले आफ्नो भाबी बच्चाको लागि की त अर्को पेशा चयन गर्नु पर्थ्यो की त कोटा उपलब्ध हुँदा सम्म पर्खिनु पर्थ्यो। त्यसै गरि छोरा वा छोरि जन्माउने भनेर पनि चयन गर्न सकिन्थ्यो तर त्यो पनि कोटा अनुसार चल्थ्यो।
प्रविधिले मानिसलाई देवता बनाएको थियो, उसले पनि आफुलाई देउता नै सम्झन लागेको थियो। मानिसमा अहंकारले सिमा नाघिसकेको थियो। सृस्टिकर्ता ब्रह्मा अब तिनै ‘ह्याचरी’ का प्राबिधिक हरु थिए, मानिसको भाग्य लेख्ने भावीहरु पनि त्यहिं काम गर्ने बैज्ञानिकहरु थिए।
प्राय सबै जसो कुरामा योजना अनुसारको र बैज्ञानिक प्रविधिको उत्पादन हुने हुनाले संसारमा रोगको प्रकोप कम भएको थियो, मानिसको आयु बढेको थियो, खाद्यान्नको कमि थिएन। यस्तो लाग्थ्यो मानबजाति निकै सुखमा थियो।
तर एकपटक एउटा ह्याचारिमा भएको प्राबिधिक त्रुटिले गर्दा त्यो ह्याचरीबाट निस्केका बच्चाहरु मानव भन्दा निकै भिन्न निस्के। ह्याचारिको ढोका खुल्दा सुर्यको किरण र बायुमंडलको नाइट्रोजन ह्याचारिका ‘क्युब’मा छिर्दा त्यहाँ बिकसित भैरहेका बच्चाहरुमा अचानक एउटा अनौठो एमिनो एसिड (जीवित बस्तुको शरीरमा पाइने एक प्रकारको अम्ल) उत्पादन भयो र सबै बच्चाहरुमा उत्परिवर्तन (म्युटेसन) भएर अर्कै प्रजातिका जिबहरु बन्न पुगे। उक्त एमिनो एसिडको प्रभाव एती छिटो भयो की अर्को दिनमै ह्याचरी बाट अचानक हजारौं को संख्यामा नया जीवहरु ह्याचरी फोडेर एक साथ निस्के। ह्याचरी बाट निस्के पछि उनीहरु अन्य बच्चाहरु भन्दा तिब्र गतिमा बढ्न थाले। त्यस प्रक्रिया लाई वायुमंडलमा भएको नाइट्रोजनले उत्प्रेरकको (क्याटलिस्ट) काम ग-यो र उनीहरुको क्रम विकास (इभोल्युसन) निकै छिट्टो भयो। नाइट्रोजनको प्रभावले उनीहरु यति छिटो परिबर्तन भए की, उनीहरु मानिसहरु भन्दा बलिया, ठूलो आकारका, बुद्धिमान र भिन्नै आकारमा बिकशित भए।
उनीहरुको टाउको चारै दिशातिर हेर्न सक्ने गरि बिकसित भयो। पछाडी पनि एउटा आँखा निस्क्यो, अगाडिका दुइ आँखा र पछाडीको उक्त आँखाले उनीहरुले चारै दिशामा एकै चोटी हेर्न सक्थे। उनीहरु पानीमा पनि सजिलै तैरिन सक्थे भने आकाशमा पनि सजिलै चराहरु जस्तै उड्न सक्थे।
उनीहरु एक आपसमा दिमाग को तरङ्ग को माध्यमबाट कुरा गर्थे। उनीहरु लाई आफ्नो बच्चा पैदा गर्न मानवको जस्तो महिला र पुरुषको आबश्यकता थिएन, एक्लैले बच्चा पैदा गर्न सक्थे। आफ्नो इच्छा अनुसार उनीहरुले जुनसुकै बेला आफ्ना सन्तान पैदा गर्न सक्थे।जन्मेका बच्चाहरु लाई मानिसका बच्चाहरु जस्तो हुर्काउनु पर्दैनथ्यो, जन्मेको केहि समयमै उनीहरु स्वरक्षाको लागि समर्थ हुन्थे।
ह्याचरी फोडेर निस्केको केहि समयमै उनीहरुले आफ्नो छुट्टै समूह बनाए, अनि तिब्र रुपमा आफ्नो जनसंख्या बढाएर तुरुन्तै मानव जातिलाई नै संकटमा पार्न थाले।
केहि समय पछि मानिस र उनीहरुको बिचमा युद्ध भयो तर उनीहरुको सामु मानिसको केहि लागेन। मानवले गरेका प्राबिधिक विकास र प्रतिरक्षाका हतियारहरुले पनि उनीहरुको केहि बिगार्न सकेन बरु त्यसले मानिसको अस्तित्व नै संकटमा प-यो। केहि उपाय नलागे पछि आत्मसमर्पण गर्नु बाहेक मानिस संग अरु केहि बिकल्प रहेन। उनीहरुले मानवले बिकसित गरेका प्रबिधि हरुलाई अझैं परिमार्जन गरेर त्यसलाई पछि मानिसकै नियन्त्रण र संहारको लागि प्रयोग गरे।
कुनै जंगल वा ओढारमा लुकेर बसेका मानिसहरु बाहेक सबै मानिसहरु सबै उनीहरुकै बन्धक बने। उनीहरुको बन्दक बन्नबाट बचेका केहि मानिसहरु वन्यजन्तु जस्ता भएर लुकेर बस्न थाले। हजारौं बर्ष पृथ्बीमा एकछत्र राज गरेको मानव जाति नसोचेको सानो घटनाले गर्दा केहि बर्षमै मालिकबाट दाश बन्न पुग्यो।
मानिसलाई उनीहरुले बन्धक मात्र बनाएन बरु आफ्नो आहारको रुपमा पनि प्रयोग गर्न थाले। मानिसको शरीरमा पाइने अत्यधिक कार्बन उनीहरुको शारीरिक सामर्थ्यको लागि अत्याबश्यक थियो।यसको अलावा उनीहरुलाई मानिसको मासु शुध्द र रोग रहित थियो र उनीहरुको लागि शक्तिको श्रोत थियो।
उनीहरुलाई आफ्नो उत्पत्ति कसरी भएको थियो भन्ने थाहा थिएन त्यसैले उनीहरु आफ्नो उत्पत्ति कुनै अदृश्य दैबी शक्तिले गरेको ठान्थे। त्यसैले उनीहरुले उनिहरुद्वारा नै आविस्कार गरिएका काल्पनिक देवतालाई पुजा गर्थे। ती देवताको खुशिका लागी उनीहरुले आफ्नो मनपर्ने खाना र अन्य प्रिय बस्तुहरु उनीहरुलाई चढाउने गर्थे।
मानब राजको समयमा एकताकाको ह्युमन ह्याचरी उनिहरुको लागि मासु कारखानामा परिणत भएको थियो। ह्याचरीबाट मानिसहरु उत्पादन गरेर उनीहरुले खाद्यान्न, कठिन शारीरिक कामहरु, आफ्ना बैज्ञानिक परिक्षणहरुको लागि प्रयोग गर्थे। त्यसो गर्दा मानवलाई कति पिडा हुन्थ्यो भन्ने उनीहरुलाई के थाहा? उनीहरुको लागि त मानिस केवल बस्तु थिए- उनीहरु पृथ्बीमा जिउनको लागि उनीहरुका देवताले बनाइदिएका बस्तुहरु, खानाका स्रोत थिए, मनोरंजन का साधनहरु थिए।
मैले त्यो सोंच्दै गर्दा दुइजना भुसतिघ्रे आएर मलाइ थुनेर राखेको पिंजरालाई बोकेर उनीहरुको गाडीमा राखे अनि अगाडिको सिटमा गएर बसे। गाडी ले आफ्नो बाटो ततायो। मैले देखेँ- उनीहरु सबैमा निकै उल्लास थियो, लाग्थ्यो त्यहाँ कुनै चाडको आयोजना भएको थियो, सबैको मुहारमा खुशी चम्किएको थियो, उनीहरुका बच्चाहरु खुशीले उफ्रिरहेका थिए । म भने अब के हुने हो भन्ने डरले निकै चिन्तित थिएँ।
केहि छिनमै उनीहरु आफ्नो गन्तब्य मा आइपुगे र गाडी रोके, तिनै दुइजना भुस्तिघ्रेले म बसेको पिंजरालाई पुन गाडीबाट निकाले । मैले यताउता नजर घुमाए । त्यहाँ मैले जे देखें त्यो दृश्यले मलाइ थरर कम्पन आयो। रिस, डर, पिडा एकै पटक भरिएर आयो, म बोल्न सकेन , न त कराउन नै सके, मेरा आखाँ मा आँशु टिलपिल गरे बिस्तारै गालाबाट खसे । मेरो त्यो पिडा कसैलाई वास्ता थिएन, मलाइ राखेको पिंजरा घिसारेर लाइनमा राखियो ।त्यो ठाउं तिनीहरुको मन्दिर थियो जहाँ उनीहरुले आफ्नो देवता लाई खुशी पार्न म जस्ता मानिसहरुको हत्या गरेर रगत चढाउने गर्दा रहेछन, म पनि त्यहि बली चढिने पालो मा लाइनमा बसालिएको थिए । मैले अगाडी हेरे, करिब २०-२५ वटा पिंजराहरु मेरो अगाडी थिए, एउटा पिंजरा लगेपछि लगभग दश मिनेट पछि अर्को पिंजराको पालो आउंथ्यो अनि शीर छेदन गरिएका म जस्ता मानव लाई घिसारेर उनीहरुका मालिकले आफ्नो घर लगेर पक्वान बनाएर खान्थे । मैले आफ्नो जातिको त्यो दुर्दशा देख्न सकिन र हातले आखाँ छोपेर रोएँ।
हरेक मिनेटमा म मर्ने समय नजिकिदै थियो। जीवनमा पहिलो पटक मैले मृत्युलाई त्यति नजिकबाट देखेको थिएँ। मृत्यु कति डर लाग्दो हुँदो रहेछ भन्ने मैले त्यो बेला महशुस गरें। मैले मेरा फार्म का साथीहरु सम्झे, त्यहाँका कलिला बालबालिका सम्झे, तिनीहरुको पनि कुनै दिन त्यहि हबिगत हुने छ भनेर। मलाइ त्यहाँबाट भागेर आफ्ना जातिकाहरुलाई त्यो बर्बरताको बारेमा सुचित गर्न मन लाग्यो तर म असहाय थिए, म पिजरामा बन्दि थिए। मैले इश्वर संग प्रार्थना गरे, कहाँ को न्याय हो यो भनेर उनलाई सोधेँ तर मलाइ उत्तर दिने कोहि थिएन। मलाइ त्यहाँ सहयोग गर्ने कोहि थिएन, सबै आआफ्नै ताल र सुरमा थिए। मेरो पिंजरा अगाडी बढ्दै गयो, लगभग म दशौं नम्बरमा हुँदा उनीहरुको जातिको एउटा पुजारी आएर मेरो टाउकामा जल सिंचित ग-यो अनि मेरो टाउकामा हात राखेर आँखा चिम्लिएर केहि मन्त्र मनमनै उच्चारण गर्न थाल्यो।
उसको स्पर्श संगै उसका मनका भावना हरु मेरो दिमागमा प्रवाहित भए, उसका सोंचाईहरु, उसका उदेश्यहरु सबै मलाइ छर्लंग भयो तर म आफ्ना विचारहरु उसमा प्रवाहित गर्न असमर्थ थिए- मानब जातिमा त्यो शक्ति थिएन।
उसले मनमनै उसको देवता लाई पुकारिरहेको थियो र भन्दै थियो- हे भगवान हाम्रो परिवार र हाम्रो जातिको खुशीको लागि हामीले मानवको रगत हजुरलाई अर्पण गर्दै छौं। आशा छ हजुरले त्यसलाई स्विकार्नु हुनेछ पृथ्बीमा हाम्रो अस्तित्व र बर्चश्व कायमै राख्न हामीलाई बरदान दिनुहुनेछ। हामीबाट कुनै गल्ति भएको भए हामीलाई अज्ञानी सम्झी क्षमा दिनुहोस….
तर उसलाई थाहा थिएन की उसले पुजा गर्ने उसका भगवान, उसका सृष्टिकर्ता मेरा पुर्बजहरु थिए, उनीहरुकै देनले उ आज यो संसारमा राज गरिरहेको थियो, उसलाई के थाहा की उसले आफ्नो देवता लाई खुशी बनाउन लागि रगत चढाउन लागेको मानिस उनै देवता क सन्तान थिए’, कसरी आफ्नै सन्तानको रगत ले उसका देवता खुशी हुन्थे? उसले बलि दिन लागेको मानिसमा देवांश थियो, बास्तबमा उसले स्वय आफ्नो देवताको बलि दिन लागेको थियो। तर उसको देवता पिंजरामा बन्द थियो, असहाय थियो, न त उसलाई सहयोग गर्न सक्थ्यो न त आफुलाई नै।
मलाइ उसको अज्ञानता र मुर्खता देखेर दया लागेर आयो तर उसलाई सम्झाउन म संग कुनै उपाय थिएन, म भित्र भित्रै कराएँ, चिच्याएँ तर केहि लागेन, उसले बुझेन। मैले मेरो देवतालाई पनि पुकारे, उनलाई गाली गरे- यो कहाँको न्याय हो जिउंदै मानिसलाई काल नआउंदै देवतालाई खुशी पार्ने बहानामा हत्या गर्ने, कसले दियो उनीहरुलाई त्यो अधिकार र कुबुध्दि? किन तिमी रोक्दैनौ यो बर्बरता, किन दिदैनौ उनीहरुलाई सद्बुध्दि?…..
मेरो पालो नजिकिदै थियो , म अझै छटपटीमा थिएँ।
त्यसै बीच पछाडी बाट आएको आवाजले मलाई झसङ्ग बनायो- ‘हैन के टोलाएर बसी राखेको?’
म वर्तमानमा आउंदै उनीतिर फर्केर मुसुक्क हास्दै उनलाई भने- ‘मेरो नयाँ पुस्तकको कथाको बारेमा सोंच्दै थिएँ’
‘फेरि त्यहि किताबको कुरो। किताब लेखेर खान पुग्ने भए किन मन्दिर धाई जागिर पाउँ भनेर देवता लाई भाकल गर्नु पर्थ्यो? भगवानको कृपाले बल्लबल्ल जागिर मिलेको छ। छिटो गर्नुस, आज मन्दिरमा बलि चढाउनेको भिड पनि होला , केटाकेटी पनि मासु खान आत्तिएका छन् छिटो गएर छिटो फर्कनु पर्छ।‘
आँगनमा मसिनो दाम्लोले बाँधेर देवता लाई ‘चढाउन’ राखेको भर्खरको बाख्राको पाठोलाई मैले पुलुक्क हेरेँ। लाग्थ्यो उसले पनि कारुणिक अनुहारमा मलाइ हेर्दै मसंग केहि पुकारा गरिरहेको थियो।