Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानन्यायाधीशको लफडा : के हो चुरो कुरो भेउ पाउन गाह्रो भो? सजिलोसित बुझ्‍न यो पढ्नुस्

Posted on March 15, 2018March 15, 2018 by Salokya

प्रधानन्यायाधीश गोपाल पराजुलीको पद खुस्क्यो पनि भन्या छ, अनि त्यही प्रधान न्यायाधीशले बहालवाला तथा नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई शपथ पनि खुवाएको छ। जन्ममितिको के लफडा भयो पनि भन्या छ अनि परीक्षा नियन्त्रण कार्यालयले ६३ वर्ष उमेर पुगेको भनेर दिएको कागजको आधारमा ६५ वर्ष भएर पदमुक्त कसरी हुने हो? यो सब नबुझेर अन्यौलमा हुनुहुन्छ? सजिलोसित बुझ्न यो ब्लग पढ्नुस्।

के हो जन्ममितिको लफडा?
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिको लफडा छ भनेर त तपाईँलाई थाहै होला। यो जन्ममिति अघिपछि हुँदा अरुलाई केही फरक नपरे पनि जागिरमा भने ठूलै असर पर्छ। ६५ वर्षको उमेरमा अवकाश पाइने हुनाले जन्ममिति पुरानो भयो भने छिट्टै अवकाश पाइन्छ। अब उनको जन्ममिति के के छ त्यो हेरौँ।

उनको नागरिकताको जन्ममिति : २००९/४/२१ (लिँदा उमेर २१ वर्ष पुगेको लेखेको आधारमा)
टेस्ट (एसएलसीअगाडि दिने परीक्षा)को क्यारेक्टर सर्टिफिकेटमा जन्ममिति : २०१०/१/१६
नागरिकताको प्रतिलिपि लिंदाको जन्ममिति: २०१०/१/१६
अरु प्रमाणपत्रहरुमा पनि : २०१०/१/१६ (फरक एक वर्षभन्दा कम)
आज भएको खुलासा : एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्रमा जन्म मिति २०११/१/१३ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज यही व्यहोराको पत्र पठायो। (जन्ममितिमा फरक एक वर्षभन्दा बढी)

सार्वजनिक भएका अघिल्ला जन्ममितिहरुको फरक एक वर्षभन्दा कम थियो। अब अहिले एक वर्षभन्दा बढी भयो।

त्यसैले न्यायपरिषद् ऐन २०७३ को तल रहेको व्यवस्थामा पहेँलो लगाएको लागू भयो-

यो लागू हुने हो भने प्रधान न्यायाधीश गएको साउन २१ गते नै अवकाशमा जानुपर्ने हो।

के प्रधानन्यायाधीशलाई न्यायपरिषद्ले हटाउन सक्छ त?

संविधानमा त्यस्तो व्यवस्था छैन। नेपालको संविधानको धारा १३१ मा प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशको पद रिक्त हुने अवस्था उल्लेख छ। न्यायपरिषदले न्यायाधीशलाई शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी सिफारिशसम्म गर्न सक्छ। तर प्रधान न्यायाधीशको हकमा संवैधानिक परिषद्ले नै सिफारिश गर्नुपर्छ।

तर उपदफा खमा उमेर ६५ वर्ष पूरा भएमा पदमुक्त हुने पनि उल्लेख छ। अहिले न्यायपरिषद् सचिवालयले उमेर ६५ वर्ष साउनमै पुगिसकेकोले उनी पदमा नरहेको जानकारी दिएको छ। कुन आधारमा त? न्यायपरिषद्को सचिवालयको पत्रमा सचिव नृपध्वज निरौलाको ‘सचिवस्तरीय निर्णयानुसार’ भनिएको छ।

सचिवले अध्यक्षलाई बर्खास्त गर्न पाउँछ त?

न्यायपरिषद्का सचिवले के के गर्न पाउने भन्ने न्याय परिषद् ऐन २०७३ मा प्रष्ट उल्लेख छ।

ऐनमा गरिएको व्यवस्था अनुसार न्याय परिषद्का सचिवको काम परिषद्ले गरेको निर्णय कार्यान्वयन गराउने र निर्णय सम्बन्धित व्यक्ति वा निकायलाई जानकारी गराउने हो। यहाँ त परिषद्ले गरेको निर्णय नभई स्वयं सचिवले गरेको निर्णय सम्बन्धित व्यक्ति र निकायलाई जानकारी गराइएको छ।

अझ रोचक त के भने सचिवले ऐनमै नभएको अधिकार प्रयोग गरी आफ्नै अध्यक्ष अर्थात् प्रधानन्यायाधीशको पद खोसेको छ। न्यायपरिषद्‍मा अध्यक्ष प्रधान न्यायाधीश नै हुन्छन्।

सचिव र प्रधानन्यायधीशको लफडा के हो त?

सचिव नृपध्वज निरौला र प्रधान न्यायाधीश गोपाल पराजुलीबीच व्यक्तिगत ‘इगो’ छ। यो विषय पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसित पनि गएर ठोक्किन्छ। सुशीला कार्कीले प्रधानन्यायाधीशबाट अवकाश पाउनुभन्दा एक साताअघि सर्वोच्चमा एउटा रिट दर्ता भएको थियो। रिटका निवेदक थिए –अधिवक्ता विकास गिरी। विपक्षीमा थिए सुशीलापछि प्रधान न्यायाधीश हुने पालो भएका गोपाल पराजुली। भावी प्रधानन्यायाधीशको रिट दर्ता गर्ने अदालतका प्रशासन प्रमुख (रजिष्ट्रार) थिए हालका न्याय परिषदका सचिव निरौला।

प्रधानन्यायाधीश कार्की पराजुलीको सुरुको नागरिकता अनुसार मिति कायम गर्न चाहन्थिन्। अर्थात् २००९ साउन २१। पराजुली चाहन्थे प्रतिलिपि नागरिकताको मिति – २०१० वैशाख १६। तर मुद्दा हाल्ने गिरी सम्पर्कमै आएनन् कार्कीको अवधिसम्म। पराजुली प्रधानन्यायाधीश बनिसकेपछि उनले मुद्दा फिर्ता लिए। सर्वोच्चका रजिस्ट्रार रहेका निरौलालाई आफ्नो सेवा बाहिरको कार्यालय बेपत्ता आयोगमा सरुवा गरियो। कार्की पक्षको भन्दै पराजुलीले उनलाई सधैँ कर्नरमा पारिरहे। यही मौकामा अस्ति माघ १७ गते मात्रै न्याय परिषद् सचिव बनेका निरौलाले प्रधान न्यायाधीशलाई नै पदमा नरहेको जानकारी गराइदिए आफ्नै एकल निर्णयबाट। विस्तृत बुझ्न यहाँ क्लिक गरी पढ्नुस्

सचिवले जानकारी गराउन पाउँदैनन् त?

न्याय परिषद् ऐन २०७३ को माथि राखिएको दफा ३१ मा पदमा नरहेको जानकारी गराउने उल्लेख छ। पक्कै पनि सचिवले यो जानकारी गराउन पाउँछन्। तर सचिवले न्यायपरिषद्को निर्णयअनुसार जानकारी गराउने हो। सचिवले आफै सचिवस्तरीय निर्णय गर्ने हो भने न्यायपरिषद्को बैठकै बस्न जरुरी हुन्न।

पराजुली आफै न्यायपरिषद्का अध्यक्ष हुने हुनाले उनले आफ्नै पद जाने निर्णय कसरी गर्लान् भन्ने पनि प्रश्न उठ्छ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलाशमा नबसी पदमुक्त भइसकेको भनी विद्रोह गरेको र त्यसपछि अन्य न्यायाधीशहरु पनि यसैगरी विदामा बस्न थालेको अवस्थामा न्यायालयलाई विवादमुक्त बनाउनबाट बचाउन कि त प्रधानन्यायाधीशले आफै राजीनामा दिनुपर्थ्यो। कि भने संसदले महाभियोग प्रस्तावको सूचना दर्ता गर्नुपर्थ्यो। दर्ता हुने बित्तिकै पद निलम्बित हुने नजिर बसालिसकिएको छ।

सचिवले लेखेको पत्रको आधारमा प्रधानन्यायाधीश पदमुक्त हुन्छन् कि हुँदैनन्, त्यो भोलि बिहीबार बिहान थाहा हुनेछ। कार्यकारी अधिकार भएको प्रधानमन्त्रीले संविधानमा लेखिएको व्यवस्था अनुसार प्रधानसेनापति हटाएको पत्र लेख्दा त प्रधानसेनापति बर्खास्त नभएको र थमौती भएको इतिहास हामी माझ छँदैछ, के अब प्रधानन्यायाधीशको कुर्सीमा पराजुलीलाई हटाएर अर्का वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बसेर सर्वोच्च अदालतको पेशी तोक्लान् त?

न्यायालयमा भाँडभैलोको यो दृश्य अनुपम छ, यो ऐतिहासिक पनि हुँदै हो। यसलाई मिस नगर्नुस् है।

4 thoughts on “प्रधानन्यायाधीशको लफडा : के हो चुरो कुरो भेउ पाउन गाह्रो भो? सजिलोसित बुझ्‍न यो पढ्नुस्”

  1. Dev says:
    March 15, 2018 at 11:36 am

    Thank you Salokyaji for making my life easier. Love the way you present it.

    Reply
  2. Pingback: सर्वोच्चमा दुई प्रधानन्यायाधीश, अदालतकै वेबसाइटमा यो दुर्लभ दृश्य हेर्ने सुनौलो अवसर नछुटाउनुस् « Mysansar
  3. Nirmal says:
    March 15, 2018 at 8:48 am

    यस्तालाई हटाउने मात्र होइन, कारवाही गर्नपर्छ| प्र न्यायाधीश जस्तो अति गरिमामय पदमा रहेर उनले राष्ट्र लाई लज्जित बनाए|
    उमेर बढाएर ज्येष्टतम भएका निर्वाचित सांसद यादवले शपथ ख्वाउदा त्यो नक्कली हुने भनेर यादव बाहिरिने तर अर्का व्यक्ति प्र न्यायाधीशले बर्खास्त हुन अघि नवनिर्वाचित ख्वाएको शपथ कसरि मिल्यो त?
    कीर्तेले गरेको काम कसरि कीर्ते नहुने? पराजुलीले न्याय व्यवस्था र यस प्रतिको आस्थालाई धुलोमा मिलाए| त्यतिकै अरु मुद्दाहरु मुल्तबी राखेर कसरि धनी धनाढ्यका केसहरु फास्ट ट्रयाक मा पारे त्यो अनुसन्धान गरेर कारवाही हुनपर्छ|
    डा गोबिन्द केसीले चर्को आवाज नउठाएको भए यो पनि केहि दिन पछि साम्य भएर जाने थियो| डा केसीलाई धन्यवाद| त्यस्ता हुनपर्छ नागरिक भनेको|

    Reply
  4. madan bajracharya says:
    March 15, 2018 at 4:25 am

    कुनै पनि व्यक्तिले जन्म मिति खुलेको कुनै पनि मान्यता हुने डकुमेन्ट चाहे त्यो नागरिकता होस् बा शैछिक सर्टिफिकेट होस् तेसमा आफ्नो जन्म मिति सहि छ बा छैन भन्ने कुरा तेस्तो डकुमेन्ट पाउना साथ् थाह हुने कुरा हो/ तेस्तो डकुमेन्टमा आफ्नो जन्म मिति गलत भयको थाह भयर पनि तत्कालै नसच्याउने व्यक्तिको आशय सहि हुने कुरा बिस्वास समेत गर्न सकिंदैन/ नपाउने पद बा लाभ लिन को लागि कसैले आफ्नो सर्तिफिकेतामा भयको सहि जन्म मिति बदल्ने प्रयास गर्नु र झुठो जन्म मिति भयको डकुमेन्ट देखायर जागिर लम्ब्याउने बा नपाउने अवसर पाउन खोज्नु सुनको जलप मात्रै लगायको सिक्कालाई सुद्ध सुनको सिक्का भनेर बेच्नु जस्तै हो/ यस्तो गर्नेलाई ढाटेर बा अरुलाई भ्रमित पारि नपाउने कुरा पाउन खोज्नेलाई जुन सजाय हुन्छ तेस्तै सजाय दिनु पर्छ/

    गलत जन्म मिति नसच्याउन्दा व्यक्तिको परिवारको नाता र उसको परिवारको अरु सदस्य अर्थात उसको भाई बहिनि बा दिदि बहिनीको जन्म मितिमा समेत बिबाद उठ्छ/ जन्म मिति धात्नेको बुबा मा मुमा को हो भन्ने प्रश्न उठ्न सक्छ, उसको भाई बा बहिनि भन्दा कान्छो पनि हुन् सक्छ र उसको सन्तान को बाउ “उ” नभयको देखिन सक्छ/

    जन्म मिति ढाट्नु र नक्कली सर्टिफिकेट बनाउनु उस्तै उस्तै अपराध हो/ तेसैले जन्म मिति धात्नेलाई नक्कली सर्टिफिकेट पेस गरेर नपाउने पद बा लाभ लिनेलाई जे सजाय हुन्छ तेस्तै सजाय दिनु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme