Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् नेपालका हुन नसकेका राष्ट्रपतिहरु, थपिँदै कुमारी लक्ष्मी राईको नाम

Posted on March 8, 2018March 8, 2018 by Salokya


हुन नसकेका राष्ट्रपतिको नाम लिँदा सबैभन्दा पहिला त प्रचण्डकै नाम लिनुपर्छ। भित्ते राष्ट्रपति भनेर उनलाई खुब उडाइयो। अर्को नाममा गिरिजाप्रसाद कोइराला पनि आउँछ। पहिलो राष्ट्रपति हुन खोजेका कोइरालालाई नरोकेको भए हुन्थ्यो भनेर प्रचण्ड अहिले पनि बेलाबेलामा भाषण गरिहिँड्छन्। यस पटक हुन नसकेका राष्ट्रपतिका रुपमा झलनाथ खनालको नाम आउँछ। यी त राष्ट्रपति हुने इच्छा भएर पनि नपाएकाहरु भए, यहाँ चाहिँ उम्मेदवार नै भएर अनि उम्मेदवारी दर्ता गरेर पनि राष्ट्रपति हुन नसकेकाहरुलाई सम्झन लागेको। जित्नेहरुको मात्र इतिहास लेखिन्छ, यी बिचरा हार्नेहरुको पनि केही लेखिदिउँ न भनेर।

१) रामराजाप्रसाद सिंह

नेपालमा अहिलेसम्म राष्ट्रपति चुन्नका लागि दुई पटक निर्वाचन भइसकेको छ। मतदान भने तीन पटक भइसकेको छ। पहिलो राष्ट्रपति चुन्नका लागि पहिलो मतदानमा कोही निर्वाचित नभएपछि दोस्रो पटक मतदान गर्नुपरेको थियो। दोस्रो पटकको निर्वाचनमा कांग्रेसका रामवरण यादव राष्ट्रपति निर्वाचित भए। यो निर्वाचनमा पराजित भएका थिए माओवादीका उम्मेदवार रामराजा प्रसाद सिंह। यादवले ३०८ मत र रामराजाको मत २८२ रहेको थियो। मतदानमा राप्रपा नेपालका चार सभासदले भाग लिएका थिएनन्। सिंहको मृत्यु भइसकेको छ।

२) केबी गुरुङ

दोस्रो राष्ट्रपति चुन्नका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पूर्व महामन्त्री कुलबहादुर (केबी) गुरुङले उम्मेदवारी दिए। पहिलो राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपा नेपालले दोस्रोमा विद्या भण्डारीलाई भोट हालेका मात्र हैनन्, पार्टी अध्यक्ष कमल थापा समर्थकसमेत बसेका थिए। भण्डारीले ३ सय २७ मत प्राप्त गरेका थिए भने गुरुङले भने २ सय १४ मत पाएका थिए।

३) कुमारी लक्ष्मी राई

तेस्रो राष्ट्रपति चुन्नका लागि आगामी फागुन २९ गते हुन लागेको निर्वाचनका लागि बुधबार मनोनयन पत्र दर्ता भयो। औपचारिकतामात्र बाँकी रहेको यो निर्वाचनमा जम्मा दुई जना उम्मेदवार हुने भए- सत्तारुढ वाम गठबन्धनको तर्फबाट विद्या भण्डारी र कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई। राईले हुन नसक्ने राष्ट्रपतिको रुपमा नाम लेखाउने निश्चित भयो। काँग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद् नेत्री राई शहीद दिवानसिंह राईकी छोरी हुन्। उनको जन्म २००६ साल असार १८ गते भोजपुरको छिनामखुमा भएको हो

४) लक्ष्मीलाल चौधरी

पहिलो संविधान सभामा साना १३ दलका तर्फबाट चौधरीले उम्मेदवारी दिएका थिए। तर पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए।

५) नारायण महर्जन

संविधान बनिसकेपछि भएको राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट नारायण महर्जनको उम्मेदवारी पनि दर्ता भएको थियो। महर्जन पार्टीका केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष थिए। तर उनले पछि नाम फिर्ता लिएका कारण उनका लागि मतदान भएन।

1 thought on “यी हुन् नेपालका हुन नसकेका राष्ट्रपतिहरु, थपिँदै कुमारी लक्ष्मी राईको नाम”

  1. prithvi says:
    March 9, 2018 at 2:47 am

    एउटा कुरो, प्रचण्डपथ भनेको के हो? भारत सग मिलेर उग्रबादी कुरा गर्दै नेपालि को सर्वनाश गरेर अकुत सम्पत्ति कमाइ अन्त्य मा ढुलमुले एमाओबादी मा बिलय हुनु हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme