माइसंसारको इमेल [email protected] मा कतारबाट रमन पुडासैनीले आफ्नो जिज्ञासा राखे- के पूर्व राजा ज्ञानेन्द्र फागुन २९ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाउँछन्?
एकछिन त लाग्यो- के वाहियात प्रश्न सोधिरा होला। कहाँ नेपाल अधिराज्यका राजा, कहाँ गणतन्त्र नेपालका राष्ट्रपति। कल्पना पनि कति गर्न सकेको होला। एकछिन पछि लाग्यो, सम्भावनाको बारेमा सोधेर के बिग्रियो त। मेरो काम त उनको जिज्ञासालाई समाधान पो गरिदिनु हो त। त्यसैले यो ब्लग लेख्दैछु। के साँच्चै पूर्वराजा ज्ञानेन्द्र गणतन्त्र नेपालको राष्ट्रपतिको उम्मेदवार बन्न पाउँछन्?
तपाईँहरुलाई थाहै होला, निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। फागुन २३ गते अर्थात् भोलि बुधबार उम्मेदवारी दर्ता गर्ने दिन हो। वाम गठबन्धनको आवश्यक मत रहेकोले जसलाई उनीहरुले उम्मेदवार उठाउँछन् उही राष्ट्रपति हुने निश्चित छ। तर उम्मेदवार बन्न भने अरुले पनि पाउँछन्। जित्ने नजित्ने कुरा बेग्लै हो।
को बन्न पाउँछन् राष्ट्रपति?
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार यी ५ शर्त पूरा गरेको हुनुपर्छ-
(१) सबैभन्दा पहिला त नेपाली नागरिक हुनुपर्यो, त्यो पनि वंशजको आधारमा। अर्थात् बुबा नेपाली नागरिक भएको आधारमा पाएको नागरिकता हुनुपर्यो।
(२) कम्तिमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्यो।
(३) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्यो।
(४) कुनै सङ्घीय कानूनले अयोग्य नभएको हुनुपर्यो।
(५) कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्यो। “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।
कस्ता मानिसहरु अयोग्य हुन्छन् त उम्मेदवार बन्न?
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको।
यो सब प्रावधान हेर्दा अयोग्यताको कुनै पनि बुँदाले ज्ञानेन्द्रलाई छुँदैन। तर योग्यतासम्बन्धी पाँच शर्तमध्ये ३ नम्बरको शर्त बाधक हुनसक्छ। पहिलो शर्तमा वंशजको आधारमा नेपाली नागरिक हुनुपर्ने उल्लेख छ। ज्ञानेन्द्रका पिता र माता दुवै नेपाली नागरिक नै हुन् भन्नेमा शंका छैन। तर राजाले नागरिकता शायद् लिएका छैनन् होला। राजपरिवारका कुनै सदस्यले नागरिकता लिएको समाचार हामीले पहिले कहिल्यै सुनेनौँ। तर पोहोर ज्ञानेन्द्रकी नातिनी अर्थात् पारस-हिमानीकी छोरी पूर्णिकाले नागरिकता लिएको खबर मिडियामा आएको थियो
नागरिकता नागरिकले लिने हो, उनी त राजा पो त। तर वीरेन्द्रको हत्या हुनुअघि उनी राजा थिएनन्, नागरिक नै थिए। त्यही आधारमा नागरिकता ज्ञानेन्द्रको छ नै भनेर मान्ने हो भने पनि अर्को एउटा शर्त उम्मेदवारीका लागि बाधक बन्नेछ। त्यो हो- कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने।
ज्ञानेन्द्रको नाम मतदाता नामावलीमा समावेश छैन। धीरेन्द्र शाहकी छोरीहरुको नाम मतदाता नामावलीमा भए पनि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युवराज पारस, पूर्व युवराज्ञी हिमानी कसैको नाम मतदाता नामावलीमा छैन। मतदाता नामावलीमा नाम नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न ऐनले रोक्छ। त्यसैले ज्ञानेन्द्र राष्ट्रपतिका उम्मेदवार बन्न पाउँदैनन्।
त्यसो भए तपाईँ बन्न पाउनु हुन्छ त?
तपाईँको मतदाता नामावलीमा नाम छ र माथिका सबै योग्यताका शर्त पूरा हुन्छन् भने सक्नुहुन्छ। तर त्यसका लागि तपाईँले ५ जना प्रस्तावक र ५ जना समर्थक तयार पार्नुपर्नेछ। प्रस्तावक र समर्थक जो पायो त्यही भएर हुन्न, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि भोट हाल्ने मतदाता नै हुनुपर्छ। त्यो भनेको प्रतिनिधि सभाका सांसद भए पनि भयो, प्रदेश सभाका सांसद भए पनि भयो। यसरी १० जना पाउनु भयो भने तपाईँ उम्मेदवार बन्न पाउनु हुन्छ।
तपाईँलाई पनि यस्तै कुनै जिज्ञासा छ भने हाम्रो इमेल [email protected] मा वा हाम्रो फेसबुक पेजमा मेसेज गरेर सोध्न सक्नुहुन्छ। प्रश्न रोचक भए ब्लगमार्फत् यसैगरी जवाफ दिने प्रयास गरिनेछ।
उम्मेदवार त् पारस पनि हुन सक्छ होला.| तर उनलाई त स्वास्नी ले पनि पत्यौदिन होलि|
अनि नागरिकता नभई मालपोतमा कसरि नामसारी उद्योग दर्ता सेयर सम्भव भयो होला नि ?
उमेश जी, राजाले नागरिकता लिएका छैनन् भन्नु भयो तर त्यो नहोला, नेपालको संबिधान अनुसार पासपोर्ट लिन नागरिकता नै चाहिन्छ तर, “जधौ सरकार हजुरको जो आज्ञा” ले चल्ने ठाउमा नागरिकता नभए पनि पासपोर्ट बन्न सक्छ…. किन उनि संग पस्स्पोर्ट हुनुपर्छ भने उनि विदेश अबस्यै गएका छन् पासपोर्ट नबोकी कुनै पनि इमिग्रेसनले श्री ५ को जय होस् भनेर नारा लगाएनन होला
…..खयर तपाइलाइ आएको प्रश्नको उत्तर मज्जाले बुझिने गरि दिनु भयो म समेत धेरै अल्लाद्दित भए!
सलाम सर जी
keep informing people ! Big salute
नागरिकता त नागरिकले पाउने हो, उनी त नागरिक थिएनन्, राजा थिए त्यतिबेला। श्री ५ को सरकार रहेको बेला त नारायणहिटी दरबारमा नै पासपोर्ट आइपुग्यो होला। तर अहिलेको एमआरपी चाहिँ गणतन्त्र आएपछि सुरु भएको हो। शायद् पुरानै पासपोर्टको नम्बरका आधारमा नयाँ एमआरपी बनेको हुनुपर्छ भन्ने मेरो अनुमान हो।
सांसदहरु दलको व्हिप मान्न बाध्य छन् / दलले गलत कुरामा मत दिन भने गलत कुरामा नै मत दिनु पर्छ उनीहरुले/ रास्त्रपतिको प्रस्तावक समर्थक बन्न र चुनावमा आम नागरिकले मत दिन पाउंदैन प्रतिनिधि बा प्रदेश सभाको सांसदनै हुनु पर्ने भने पछि घुमाइ फिराई देसको ठुलो ठुलो पदहरुमा राजनैतिक दलकै व्यक्ति नियुक्त हुने बने जस्तै देसको रास्ट्रपति पदमा पनि तेस्तै गरेको देखिन्छ/
उहिले स्पस्ट सब्दमा देसको सार्वभौम सट्टा र संबिधान राजाको हुकुम अनुसार हुने भनेको थियो भने इनिहरुले कुरा घुमायर देसको सारव्भौम सट्टा र संबिधान ठुला दलहरुको केहि ठुला दलहरुको हुकुम अनुसार हुने बनायको छ/ उहिले राजाको हुकुम अनुसार अहिले ठुला नेताको निर्देशन अनुसार नहुने काम पनि हुने हुने काम पनि नहुने; त् के यो लोकतन्त्र नै हो?
अरु कुरा त बुझियो तर उमेर हदको कुरा बुझेन. किन ४५ बर्ष काटेको हुनुपर्ने ? ४५ बर्ष मुनिकाले किन उम्मेदवारी दिन नपाउने ? बरु ६५ बर्ष भन्दा माथिकाले रास्ट्रपति चुनाव लड्न नपाउनु गर्नु नि . नेपालको रास्ट्रपति बन्न त पढनै नपर्ने रैछ त . शैछिक योग्यता त केहि पनि नचाहिने रैछ त ! अचम्मको देश !