Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसदको पहिलो बैठकमा देखिएका रमाइला दृश्य

Posted on March 6, 2018March 6, 2018 by Salokya


प्रधानमन्त्री केपी ओलीले अब भाइबाट शपथ लिनुपर्ने भयो भनेर व्यङ्ग्य हानेपछि नागरिकतामा ८० वर्षका सबैभन्दा पाका सांसद तर साँच्चिकैको उमेरमा चाहिँ ६५ वर्षमात्र भएका महेन्द्र राय यादव आउन नसक्ने भन्दै गयल भइदिए। त्यति नगरेको भए उनले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने र सांसदहरुलाई शपथ दिलाउने निश्चित थियो। संसदको सुरुवात नै गलत कामबाट हुने खतरा थियो। धन्न त्यो भएन। यादव अनुपस्थित भएपछि साँच्चिकैका पाका सांसद महन्थ ठाकुरले आइतबार सुरुमा राष्ट्रपतिसँग शपथ लिए। त्यसपछि आइतबारै सांसदहरुलाई शपथ खुवाए। सोमबार संसदको पहिलो बैठकको अध्यक्षता पनि उनैले गरे। पहिलो बैठकमा पनि रमाइला दृश्य देखिए।

अघिल्लो संसदमा दलहरु बस्दै आएको स्थान फेरिएको थियो। सत्तापक्षमा पहिले कांग्रेस बस्थे। अहिले एमाले र माओवादी बसेका छन्। प्रतिपक्षीको बेञ्चमा भने कांग्रेस, फोरम र राजपाका नेताहरु बसे।

प्रतिपक्षीहरु बस्ने लहरको पहिलो लहरको कुर्सीमा सोमबार मात्रै कांग्रेस संसदीय दलको नेता चुनिएका शेरबहादुर देउवा, त्यसपछि उपनेता विजयकुमार गच्छदार र शशांक कोइराला बसेका थिए। शशांकसँगै राजपा नेता राजेन्द्र महतो र उनीसँगै फोरम अध्यक्ष उपेन्द्र यादव बसेका थिए। संसदीय दलको चुनावमा हारेका प्रकाशमान सिंह भने दोस्रो लहरमा थिए।

नियमै आएको छैन नियमापत्ति?

महन्थ ठाकुरले बैठक मज्जाले सञ्चालन गरे। रमाइलो त उनले नेमकिपाका सांसद प्रेम सुवाललाई दिएको जवाफमा रह्यो।

संसदमा इमान्दार प्रतिपक्षीको भूमिकामा नेमकिपा रहने गरेको विगत छ। अघिल्लो संसदमा नेमकिपाका सांसदको संख्या धेरै थियो। तर यस पटक प्रतिनिधि सभामा मात्र एक जनाको प्रतिनिधित्व छ- प्रेम सुवाल। अघिल्लो संसदमा पनि उनी थिए।

संसद सञ्चालन गर्नका लागि प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित गर्न ठाकुरले प्रस्ताव राख्ने बित्तिकै सुवालले आसनबाट उठेर नियमापत्ति जनाएका थिए। अनि सभामुखको आसनमा रहेका ठाकुरले जवाफ दिए- कुन नियम अन्तर्गत गर्नुभएको छ? नियमै आएको छैन !

बस्नुस् बस्नुस् माननीय जी भन्दै उनले निर्देशन दिए। सुवालको माइक पनि अन भएन। खासमा सुवालले छलफलै नगरी पारित गर्न खोजियो भनेर आपत्ति जनाउन खोजेका थिए। तर छलफल त अब राष्ट्रिय मान्यता प्राप्त दल भनेर पाँच वटा दलसँग मात्रै हुने हो। सुवाल नेमकिपाका भए पनि संसदमा स्वतन्त्र सांसदको हैसियत हुनेछ।

ढिला आएका देउवा

राष्ट्रिय गानमात्र हैन सहिदका लागि मौन धारणसमेत गरेर सभा सञ्चालन भइरहेका बेला प्रतिपक्षी नेता शेरबहादुर देउवा आइपुगेका थिए। उनका लागि अगाडिको कुर्सी नै खाली थियो। उनी दलका उपनेता विजयकुमार गच्छदारसँगै बसे। देउवासँगै सत्ता पक्षको बेन्चमा प्रधानमन्त्री केपी शर्मा ओली थिए। दुई बीच हँसिमजाक भयो। पछाडि बसेका मिनेन्द्र रिजाल, सुजाता कोइराला र प्रकाशमान सिंहसमेत हाँसे।

बैठक स्थगित भएपछि पनि देउवा-ओलीबीच कुराकानी भयो। कुरा हुँदै गर्दा  रक्षा मन्त्री ईश्वर पोखरेलले देउवालाई नमस्ते गरे। देउवाले नमस्ते फर्काएपछि हात अगाडि बढाए, मिलाए। त्यसपछि बल्ल प्रधानमन्त्री ओलीसित देउवाले हात मिलाए। त्यसपछि झलनाथ खनाल र माधव नेपाल पनि आएर ह्यान्डसेक गरे। प्रचण्ड त्यसपछि मात्रै आए।

2 thoughts on “संसदको पहिलो बैठकमा देखिएका रमाइला दृश्य”

  1. उज्ज्वल गोंगबा says:
    March 6, 2018 at 7:12 am

    ए बाबा हो!! सुजातालाई कसरि र किन सांसद बनाएको कांग्रेसले? उनको देन के हो? राष्ट्र लाई दिने उनको क्षमता र प्रतिभा के हो? कि नेकाले राष्ट्र गन्ति गर्दैन? खालि व्यक्ति र परिवार जात मात्र गन्छ?
    बाऊ सभापति हुँदा माधव नेपालको सरकारमा त्यस्सै मन्त्रि पड्काएकि र डेपुटी प्र म माग्दै बाउसंग रोईकराई गरे भनेर मेडियामा पढ्न पाइएको थियो| परराष्ट्र मन्त्रि हुँदा बाउलाई दंगाएर माधव नेपाल प्र म को हैसियतमा भारत जाँदा समेत जान मानिनन| नेकाले बिर्से पनि नेपाली जनताले यो बिर्सेको छैन केरे| मुलुक व्यक्ति र परिवारको पकडमा मात्र हुँदा ज्ञाने कसरि खुस्कियो राजनीतिमा बसेर तलब भत्ता खाने कसैले यो पाठ सिके हुन्छ|
    मुलुकको हितलाई सर्बोपरि राख्ने कि व्यक्ति हितलाई? यस्तो परम्परा कायमै राखिने भएर होला देउबा सरकारले कुनै जन हितकारी रेकर्ड नै नभएकोलाई राष्ट्रिय सभामा मनोनित गरे| धन्न यसलाई ओली सरकारले उल्टाए| तर सट्टामा ओभर रिप्रेसेजेण्ट भएकालाई नै घुस्याए|
    जो आए पनि कानै चिरेको भन्या जस्तै|
    अब ओली सरकारले देउवा सरकारले नियुक्ति गरेका बेकामे राजदुत फिर्ता बोलाएर आफ्नैलाई नियुक्ति दिन चाप परेका होला | आफ्नोलाई होइन, काम गर्न सक्ने क्षमता भएका र स्वच्छ छवि भएकालाई स्थान देऊ| खाईपाई रमाई आएकाले सर्बोच्चमा गएर थमाउने डर छ भने हाललाई अर्को मुलुकमा साटोफाटो गरिदिन पर्छ, उदेश्य पुरा हुन् त्यो पहिले कदम हुनेछ|
    ओली सरकारले जनहित र मुलुक हितमा काम गर्न सकून, त्यस्तो हुनसके नेका डाइनोसुर बन्न बेर छैन| वाम गठबन्धन हाम गठवन्धन नहोस| मन्त्रीमंडलले पूर्णता पाएपछि पहिलो २० दिन मन्त्रालयहरुमा देउबा सरकारको मन्त्रिहरुले बिगारेको काम सुल्टाउदैमा लाग्छ|
    हेरौ, गफैले देश हाँकेर चल्ने होइन केरे| सकारात्मक परिवर्तनको जनतालाई फील पनि हुनपर्यो| देखिन पर्यो| भोलि आफैमा गठवन्धन भित्रै मारामार हुने होइन? त्यस्तो नहोस|
    यो मुलुकले राहत पाउन पर्छ, धेरै दुख पायौ, सह्यौ| ओभर टु यु सम्मानीय प्र म!!

    Reply
  2. Tika Gautam Utsuk says:
    March 6, 2018 at 6:24 am

    Gaijatra

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme