Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राससको यो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो पुरस्कार दिने हो कि

Posted on March 4, 2018March 4, 2018 by Salokya

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले हिजो राति एउटा गजबको समाचार सम्प्रेषण गरेको छ। हेडलाइनमै ‘गौतम बुद्धको जन्मस्थलको अकाट्य प्रमाण पेश’ छ। समाचारको सुरुवात यसरी हुन्छ- ‘शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन्।’ अकाट्य भनेको काट्नै नसकिने हो। यस्तो काट्नै नसकिने के प्रमाण चाहिँ नेपालीले पेश गरेछन् त? दोस्रो लाइनमा त्यसबारे उल्लेख छ। 

समाचारको दोस्रो लाइनमा लेखिएको छ- ‘बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो।’

लौ गजब। ७५ हजारभन्दा बढी नेपालीले धम्मपद वाचन गरेपछि गौतम बुद्धको जन्म नेपालमा भएको प्रमाणित हुने रहेछ? किन चाहियो त त्यसो भए पुरातत्वविद्हरु? त्यो अशोक स्तम्भ पनि उखेलेर फ्याँकिदिए हुने रहेछ। युनेस्कोले बुद्ध जन्मस्थल भनेर विश्व सम्पदा सूचीमा पनि किन राखिरहनु पर्‍यो? भिड जम्मा भएर धम्मपद वाचन गर्‍यो भने बनिहाल्ने रहेछ प्रमाण त्यो पनि अकाट्य।

फेरि  यो अकाट्य कसरी भयो? राससले एक पटक बुझाइदिए हुन्थ्यो। ७५ हजारको ठाउँमा ७६ हजार जना भेला भयो भने त काटिँदैन? भरे एक लाख जना कतै भेला भयो भने पनि हाम्रै ७५ हजार जनाको प्रमाण चाहिँ अकाट्य हुन्छ?

राससमा समाचार कसले लेख्यो थाहा नपाइने रहेछ। तर राससको बुलेटिनमा समाचार कसले सम्पादन गरेको हो, उसको नाम भने कम्पाइल्ड न्युजको फाइलमा हुने रहेछ। त्यसमा दुई जनाको नाम रहेछ। दुईमध्ये कसले यो सम्पादन गरेका हुन्, त्यो चाहिँ उनीहरु नै जानुन्।

राष्ट्रवादले ओतप्रोत यस्तो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो सम्मान दिनुपर्ने हो खासमा। खै के पो गर्छन्।

राससले लेखेपछि सकिगो। रेडियो नेपालले पनि त्यही न्युज राखेछ। शायद समाचारमा पनि यसरी नै बजेको पो थियो कि।

खासमा कुरो के हो?
यो सबैभन्दा धेरै मानिस एकै ठाउँमा भेला भएर एउटै कुरा पढेको रेकर्ड हो। गिनिज बुकमा रेकर्ड उल्लेख हुँदा यसै भनेर उल्लेख हुन्छ- बुद्ध नेपालमा जन्मेको भनेर हुने हैन। Most people reading aloud simultaneously – single location क्याटेगोरीमा नेपालका मान्छेहरुले बुद्धको वचन धम्मपद पढेको भनेर गिनिज बुकमा लेखिने हो। यसमा बुद्ध जन्मेको कुरा कहाँबाट आयो? कहाँबाट आयो बुद्ध जन्मको अकाट्य प्रमाणको कुरा?

कतिपय भेडाबुद्धिहरुलाई भारतले बुद्ध भारतमा जन्मेको भनेर यसैगरी रेकर्ड राखेको र त्यसलाई नेपालले तोडेको भन्ने भ्रम रहेछ। यो सत्य हैन। यो क्याटेगोरीको रेकर्ड अहिलेसम्म भारतको थियो भन्ने चाहिँ सत्य हो। फेब्रुअरी २, २०१४ मा रविशंकरको आर्ट अफ लिभिङ फाउन्डेसनले भारतको थ्रीस्सुरस्थित वादाक्कुन्नाथम मन्दिरमा १६ औँ शताब्दीका कवि पून्थानको कविता पढेका थिए ४६ हजार ६ सय ६० जनाले। गिनिज बुककै आधिकारिक साइटमा यसबारे जानकारी हेर्न क्लिक गर्नुस्।

6 thoughts on “राससको यो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो पुरस्कार दिने हो कि”

  1. madan bajracharya says:
    March 5, 2018 at 4:10 pm

    जुन बेला सन् १९४५मा मात्रै “देस” भनेर अंग्रेजले स्थापना गरियको भारतमा बुद्ध भारतमा जन्मेको भनेर बिस्व भरि महा झुठ बोले तब नेपाल चुप बसे/ बुद्ध नजन्मेको देसहरुमा बुद्धको जति मान सम्मान दियको छ तेती सम्मान बुद्धलाई नेपालले दियको छैन/ बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा पनि बुद्ध जन्मेको नेपालकै पहलमा स्थापित भयको होईन/ बुद्धलाई नेपालमा नेपालको राजा नेता र शासकहरुले बिस्नुको अवतारको रुपमा मात्रै मानेको छ र उनीहरुको निमित बुद्ध भन्दा बुद्ध धर्म र बुद्ध धर्मको अनुयाई मास्न खोज्ने शंकराचार्य नै बढी मान्यवर छ/ अहिले बुद्ध जन्मेको लुम्बिनी नेपालमा भयको हो हॊईन भन्ने प्रचार को आशय पनि लुम्बिनीमा बिस्वको अरवौं बुद्धिस्टहरुको धार्मिक पर्यटन बात हुन् सक्ने आम्दानि कुमल्याउन मात्रै हो/

    Reply
  2. Alikhit says:
    March 5, 2018 at 2:50 pm

    नेपाली प्रेसकाे दिवालियापन देखेर टिठ पाे लाग्यो

    Reply
  3. जीवनकुमार शाक्य says:
    March 5, 2018 at 9:59 am

    शाक्यमुनी बुद्ध अथवा भगवान बुद्धलाई अग्रदुत भनिएको पनि छ कस्को दूत हो वहाँ ? वहाँ कसैको दूत होईन कसैको सन्देश लिएर आउनुभएको वा जानुभएको होईन । वहाँ स्वयम् अग्रनायक हुनुहुन्छ । अकाट्य प्रमाण त लुम्बिनीमा भएको अशोक स्तम्भ र माईलस्टोन छँदैछ ।

    Reply
  4. Milan says:
    March 4, 2018 at 9:30 pm

    मान्छे को संख्या हावा ताल मा भनेर कहाँ मान्छ ?
    मलाइ त पत्यार लागेन/

    Reply
  5. Raj says:
    March 4, 2018 at 4:49 pm

    रासस, नेपालको राजनीतिक पार्टीहरुको गफ र समाचारमा विश्वास राख्ने भेडाबुद्धिहरुको जनसंख्या धेर्रै ठुलो छ (८०% देखि ९०%). तेस्सैको फल हो नेपाल विश्वमा गरिब र भ्रस्टाचार राष्ट्रमा दरिएको छन्. जय भेडा !!!!!

    Reply
  6. Dhrona says:
    March 4, 2018 at 1:41 pm

    हुन त यो तपाईंको निजी ब्लग भएकोले यसमा भएमा विचारहरु सबै तपाईंकै आफ्ना निजी हुन । तपाईंको विचार बढी यथार्थपरक, अनुसन्धानमूलक र अरुभन्दा भिन्नै हुने कारणले पनि होला म तपाईंको ब्लग नियमित पढ्छु (सन् २००६ देखि) ।

    तर आजभोलि तपाईंको लेखमा सकारात्मक भन्दा पनि नकारात्मक कुराहरुलाई धेरै केन्द्रित गरेजस्तो लाग्छ । गलत कुरालाई गलत भन्नु तपाईंको ठूलो साहस हो र यो कुरा मैले माइसंसार देखिराखेको पनि छु तर सहि वा गलत भनेर प्रष्ट नभएको कुराहरुमा पनि सोझै एकपक्षलाई राम्रो र अर्को पक्षलाई नराम्रो भन्न मिल्दैन होला ।

    सन्दर्भ माथिको लेख, हुन त म पनि तपाईं जस्तै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर धेरै ठाउँमा कराउदै हिड्न पर्दैन भनेर सोच राख्ने मान्छे हु तर अरुले हिजोको कार्यक्रम गर्दैमा उनीहरुलाई बुद्‍धु ‘फूल’ भनिहाल्नु उपयुक्त हुन्थेन होला । (तथापी तपाईंले यसलाई पुष्टि यथेष्ट जानकारीहरू उपलब्ध गराउनुभएको छ)

    यस्तो सानो कुरामा आफ्नो महत्पूर्ण उर्जा नखर्चिनुभएको भए हुन्थ्यों बरु “नवराज काण्ड”, “लोकमान के गर्दैछन्”, ‘चुरामणि, गोपालको के हुँदै छ’, ‘प्रहरी र सेनामा हुने भ्रष्टाचार’, ‘नेताहरुको कुशासन’ लगायतका त्यस्तै विषयमा तपाईंको खोजि लेख हेर्न चाहन्छु ।
    मेरो विचार !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme