Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली पत्रकारिताको अर्को रस्सेन्द्र भट्टराई काण्डमा नेपाल म्यागेजिनका सम्पादकले मागे माफी

Posted on February 25, 2018 by Salokya

रस्सेन्द्र भट्टराई कान्ड थाहा नहुनेका लागि यो पृष्ठभूमि जरुरी छ। २०६० सालमा एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन। कस्तो थियो त्यो समाचार? विस्तृत विवरण यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

जुन १४, २०१६ मा रिपब्लिकाले यही कान्ड सम्झाउने एउटा अर्को नमूनाको खुलासा गरेको थियो। पात्र थिए गेट कलेजकी अध्यक्ष मीना सिंह खड्का। नेपाल म्यागेजिनले अपत्यारिलो दावीसहित मीनासिंह खड्काबारे प्रोफाइल छापेको थियो। मिसेल ओबामाले फोन गरेको, हिलारी क्लिन्टनको चुनावी अभियानलाई सघाएको, ४० वर्षअगाडि ४६ हजार कमाइ भएको, अमेरिकास्थित हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट फरकफरक दुई विषयमा दुई वटा पिएचडी हासिल गरेको आदि। यो खुलासापछि उनको बारेमा कान्तिपुर पब्लिकेसनको नेपाल म्यागेजिनले छापेको लामो प्रोफाइल यो समाचारपछि बिना सूचना डिलिट गरिएको थियो।

दलदलमा फुलेकी कमल — मीनासिंह खड्का शीर्षकको प्रोफाइललाई नागरिकन्युजको समाचारपछि बिना कुनै सूचना डिलिट गरिएको थियो। तर, अनलाइनको आर्काइभमा भने यो लेख सुरक्षित थियो। त्यसलाई यहाँ क्लिक गरी पढ्न सकिन्छ।

यो प्रोफाइलमा पनि अनेकौँ अपत्यारिलो दावी गरिएको छ। जस्तै

  • १९ वर्षकी हुँदा त युनिभर्सिटी अफ कोलकाताबाट भाषाविज्ञानमा गोल्ड मेडलसहित स्नातकोत्तर गरिसकेकी
  • अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो । तर मैले कहिल्यै मतलब गरिनँ।
  • एकसाथ अमेरिकी, फ्रेन्च र जापानी दूतावास अनि पिसकोरले जागिर दिएका थिए उनलाई । कारण थियो, भाषा । अंग्रेजी, जापानिज, हिन्दी, बंगाली, मारवाडी, गुजराती, पन्जाबी, तिब्बती, भोजपुरीलगायत नौ भाषा आउँछ उनलाई ।
  • रमेशनाथ पाण्डेले गोरखापत्र र नयाँ सन्देशमा उनका बारेमा समाचार नै छापे, सबैभन्दा धेरै कमाउने महिला भनेर । आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । अहिले उनी आफ्नो तलब आफैँ तय गर्छिन् । एउटा लेक्चरको पाँच हजार अमेरिकी डलरसम्म लिएको बताउँछिन् ।
  • उनकै पहलमा सन् १९८१ मा क्यालिफोर्निया युनिभर्सिटीमा स्कुल फर इन्डिपेन्डेन्ट स्टडिज अफ साउथ एसिया (सिसा) विभाग खोलियो । शेर्पा, गुरुङ, मगर, तामाङ, नेवारी, कुमारी, दसैँ, तिहारलगायत आठ संस्कृति र पर्वको अध्ययन सुरु भयो । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए।
  • मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । त्यसबेला उनी वल्र्ड कलेज वेस्ट, स्ट्यान्डफोर्ड, क्यालिफोर्नियामा काम गर्दै थिइन् । कोलम्बिया युनिभर्सिटीले बोलाइहाल्यो । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । सन् २००९ मा युनिभर्सिटी अफ टोकियोमा पनि उनले दक्षिण एसिया विभाग खोलिन् ।
  • तीन वर्षअगाडि उनी हार्वर्डको पूर्णकालीन प्राध्यापक भइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले π
  • हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । किनकी, हार्वर्डको दक्षिण एसिया विभागमा जो थिइन्।

खुलासाको दुई वर्ष पुग्नुअघि नेपाल म्यागेजिनका सम्पादक प्रशान्त अर्यालले आज आइतबारको अंकमा माफी मागेका छन्। कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नुअघि नेपाल म्यागेजिनको आफ्नो अन्तिम अंकमा नोटबुक स्तम्भमा अनुभवहरु सुनाउने क्रममा उनले यो विषयका लागि माफी मागेका हुन्।

‘हुँदै नभएको मान र पगरी भिराएर बढाइचढाइ प्रकाशन गरिएको त्यस सामग्रीबारे हामी पाठकहरुसँग माफी माग्न चाहन्थ्यो। त्यसका निम्ति उपयुक्त समयको पर्खाइमा थियौँ,’ उनले लेखेका छन्।

कसरी भयो त यस्तो गल्ती? उनका अनुसार काठमाडौँको एक नाम चलेको कलेजले महिनाको पाँच लाख रुपैयाँ पारिश्रमिक दिइरहेको आधारमा प्रोफाइल उतार्दा त्यत्रो पारिश्रमिक दिनेले उनको पृष्ठभूमि चेक गरेकै होला भन्ने भएर।

योसँगै अर्को रस्सेन्द्र भट्टराई काण्डको अन्त्य भएको छ।

 

1 thought on “नेपाली पत्रकारिताको अर्को रस्सेन्द्र भट्टराई काण्डमा नेपाल म्यागेजिनका सम्पादकले मागे माफी”

  1. Ram Rai says:
    February 25, 2018 at 11:36 pm

    धन्यबाद यो लेखको लागि पनि, सालोक्यजि| यी महिला मिनाजिको पनि वास्तविक योग्यता र background कस्तो रैछ र त्यति जनालाई सफलतापुर्बक ढाँटेर नेपालमै भएपनि कलेज प्रिन्सिपल पडकाउन सफल भैछन, बास्तबिकता जान्न रुचि भयो हामी जस्ता लाटासोझा पाठकलाई! कतै त्यो पनि पाइञ्छ कि? यत्तिकै गुगल गर्दा त खास भेतिएन एउटा युतुब भिडियो अन्तर्वार्ता बाहेक/ कतै यी लक्ष्मन सिंह खड्का कि आफन्त त होइनन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme