Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार वर्षमा मुगुकी ‘मेस्सी’ सुनकली कस्ती भइन्?

Posted on February 19, 2018February 19, 2018 by Salokya


चार वर्षअघि माइसंसारमा एउटा ब्लग निकै लोकप्रिय भएको थियो। ब्राजिलमा विश्वकप फुटबल भइरहँदा नेपालको गरिब जिल्ला मुगुमा फुटबलले ल्याएको परिवर्तनबारे ब्लग थियो त्यो। पत्रकार भोजराज भाटले मुगुको भोक, गरीबी, अभावमा संघर्ष गर्दै हुर्किरहेका चेलीको जनजीवनलाई फुटबलसित जोडेर एउटा डकुमेन्ट्री बनाएका थिए- सुनकली, जुन देशविदेशमा निकै रुचाइयो। फेरि केही महिनापछि रसियामा विश्वकप हुँदैछ। त्यो डकुमेन्ट्रीकी मूलपात्र सुनकली र अरु खेलाडीहरुको अवस्था कस्तो होला? आउनुस् आजको ब्लगमा फलोअप गरौँ। माथि तपाईँले देख्नुभएको फोटोका सबै अनुहार ‘सुनकली’कै हुन्।

तपाईँलाई याद होला त्यतिबेलाको ब्लगमा मुगुवासीको एउटा चिन्ता उल्लेख थियो। केटाले गर्न नसकेको काम केटीले गरेपछि गाउँबासीमा छोरीलाई हेर्ने दृष्टिकोण नै फेरिएको थियो। उनीहरु भन्थे- ‘हामीलाई खुशी लाग्यो, तर यहाँकी केटीहरु ३० वर्षसम्म खेलाडी भइरहेको भए हाम्रो ठूलो छाती हुन्थ्यो। पुनः विजेता हुन्छन् कि भन्ने आश बाँकी रहन्थ्यो। हाम्रो चलनमा १८–१९ वर्षमै पोइल जान्छन्। यति चाँडै उमेरमा पोइल गएपछि हाम्रो नाम कसले राख्ने? चिन्ताको विषय यो हो।’

भन्छन् नि अन्डरडग टिम। हो, त्यस्तै थियो त्यो मुगुको टिम। अकस्मात् आएर कपै जितिदिएको थियो। यसले मुगुमा ठूलै हङ्गामा भएको थियो। हिनता मुटुको कुनामा लुकाएर बाँचिरहेका मुगुवासीहरुलाई गर्वले शिर ठाडो गर्ने एउटा मौका यसले दिएको थियो। आज चार वर्षपछि मुगुले राष्ट्रव्यापी प्रतियोगिता पहिलो पटक जितेको कीर्तिमान राख्ने त्यो महिला फुटबल टिमको अवस्था कस्तो छ त? सबै खेलाडीको बिहे भइसकेको छ, तीन जनाबाहेक। सुनकली ती मध्ये एक हुन् जो अहिले एलए (काठमाडौँको लिटिल एन्जलस स्कूल) मा पढिरहेकी छिन्।

मुगु जिल्लाकै इतिहासमा एलएमा पढ्ने यसअघि जम्मा तीन जना थिए- सबै धनाढ्य। सुनकली भने यो घरकी छोरी हुन्-

त्यो देखिएको सेतो घरको पनि एउटा कोठामात्र सुनकलीको परिवारको हो।

मुगुबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद गोपाल बम सुनकलीको परिवारलाई काठमाडौँमा खिचेको सुनकलीको फोटो उनको परिवारलाई देखाउँदै।


यो सुनकलीको गाउँमा फुटबल खेल्दाको फोटो। यो चार वर्षको बीचमा उनी सात समुद्र पार स्पेनसमेत पुगिन्। र त्यहाँको क्लब एथलेटिक बिलबाओको कृत्रिम घाँसे मैदानमा फुटबलसमेत खेलिन्-

हिउँ उनका लागि नयाँ थिएन। हिउँ परेको बाटोमै उनी जान्थिन् घाँसडोको गर्न। तर युरोपको हिउँ बेग्लै थियो, उनले त्यहाँको पनि अनुभव गरिन्। फुटबल खेल्न कैलाली जाँदा उनले पहिलो पटक जिल्ला बाहिर खुट्टा टेकेकी थिइन्।

मुगुको विकट बामा गाउँकी लजालु किशोरी सुनकली युरोपमा कन्फिडेन्ट देखिएकी थिइन्।

यी हुन् राष्ट्रिय प्रतियोगिता जित्ने तीन खेलाडी जो अहिले काठमाडौँमा पढ्दै छन्-

अहिले सुनकली मुगु जिल्लाकै आदर्श बनेकी छिन्। त्यहाँ किशोरीहरु फुटबल खेलमा झन् आकर्षित भइरहेका छन्। ती किशोरीहरुको आइडल अहिले मेस्सी हैन। को जस्तो बन्न चाहन्छौ भनेर सोध्दा उनीहरु भन्छन्- सुनकली दिदी जस्तो।

ह्वाट नेक्स्ट त?

अब के?

के सुनकली जस्ता खेलाडी फेरि मुगुले पाउन सक्छ त? मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्लामध्येमा पर्ने मुगुबाट कुनै महिला टिम विदेशमा फुटबल खेल्न जाने हैसियत होला त? विश्वकप नजिकिँदैछ, अर्बौं डलरको चमकदमक हुँदैछ। व्यापारसित जोडिएको फुटबललाई साँच्चिकै खेल भावनामा ‘प्यासन’ का साथ खेल्ने मुगुकी किशोरीहरुले कतै आफ्नो प्रतिभा देखाउन पाउने अवसर आउला त? माइसंसारको अर्को ब्लग भोलि।

पुरानो ब्लग सम्झनाका लागि
विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !
नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?

1 thought on “चार वर्षमा मुगुकी ‘मेस्सी’ सुनकली कस्ती भइन्?”

  1. Buddhi Purja says:
    February 19, 2018 at 3:05 am

    Congratulations Messi छोरी अगाडी बढ्नु सफलताको कामना chha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme