Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्या रोमाञ्चक नेपालको जित ! तर यो जित्दैमा विश्वकप खेल्न पाउने हैन है, त्यसका लागि त फेरि अर्को प्रतियोगिता जित्नुपर्छ

Posted on February 15, 2018February 15, 2018 by Salokya


क्रिकेटमा हारजितको टुङ्गो अन्तिम बल नफाल्दासम्म हुन्न भन्ने भनाई आज वर्ल्ड क्रिकेट लिग डिभिजन २ को नेपाल र क्यानाडाबीचको खेल हेर्नेहरुलाई राम्रैसित महसूस भयो होला। नेपालले रोमाञ्चक जित हात पार्‍यो। खेल कतै लाइभ थिएन। त्यसैले क्रिकइन्फोको टेक्स्ट लाइभमा भर पर्नु बाध्यता थियो। बल-बलको अपडेट कति महत्त्वपूर्ण हुन्छ भन्ने रिफ्रेस गरी गरी बस्नेहरुलाई सोध्नु पर्छ। सोमपाल कामीलाई सातौँ विकेटका रुपमा गुमाउँदा नेपालको स्कोर १४२ रनमात्रै थियो। १४४ रन बनाउँदा वसन्त रेग्मीको आठौँ विकेट र १४४ रन छँदा आरिफ शेखको नवौँ विकेट गुमेपछि करण केसी र सन्दीप लामिछाने क्रिजमा थिए। ४२ बलमा ५१ रन जितका लागि आवश्यक थियो।

४८ ओभर सकिँदासम्म नेपाललाई १२ बलमा २१ रन जितका लागि आवश्यक थियो। एक विकेटमात्र बाँकी। ४९ औँ ओभरको चौथो बलमा करणले छक्का र त्यस लगत्तै अर्को बलमा चौका हानेपछि अन्तिम ओभरका ६ बलमा जितका लागि नेपाललाई ८ रन आवश्यक थियो। बलिङमा थिए परवेज। पहिलो चार बल डट गयो। अब दुई बलमा ८ रन नेपालका लागि कठिन लक्ष्य बन्दै थियो तर असम्भव भने थिएन। परवेजले फ्याँकेको अन्तिम ओभरको पाँचौँ बल नेपालका लागि निर्णायक बन्दै थियो। उनको बलमा करणले यसरी ब्याट घुमाए कि डिपमा रहेका फिल्डरको टाउको माथिबाट बलले बाउन्ड्री काट्यो। यो छक्कापछि बलर दबाबमा आए। अब अन्तिम बलमा नेपाललाई दुई रन आवश्यक थियो। एक रन बनाए खेल ड्र हुन्थ्यो। छैटौँ बल परवेजले वाइड हाने। स्कोर बराबर भयो। अन्तिम बलमा करण केसीले एक रन मात्रै लिएनन् नेपाललाई जिम्बाबेमा हुने वर्ल्ड कप क्वालिफायरमा समेत पुर्‍याए जहाँ टेस्ट खेल्ने राष्ट्रहरु वेस्ट इन्डिज, जिम्बाब्वेसहित १० राष्ट्रसँग प्रतियोगिता छ।


यो जितसँगै नेपाल समूह चरणको खेल सकिँदासम्म समूहको शीर्ष स्थानमा रहन सफल भयो।

जिम्बाब्वेमा हुने प्रतियोगितामा छानिएपछि नेपाली टिमको खुसी

The ecstasy of reaching the @cricketworldcup qualifier! ??

Inside the Nepal dressing room moments after they pulled off perhaps the greatest comeback in World Cricket League history to beat Canada by one wicket on the final ball! #WCL2 pic.twitter.com/ovQbLS1bnz

— ICC (@ICC) February 14, 2018

विश्वकप खेल्न पाइन्छ त?
सन् २०१९ मा हुने विश्वकप क्रिकेटका लागि जिम्बाब्वेमा हुने क्वालिफायर्स खेल्नका लागि नेपालले पहिलो मौका वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा शीर्ष चार स्थानमा पर्न नसक्दा गुमाइसकेको थियो। यही च्याम्पियनसिपमा पुछारमा रहेका चार टिम केन्या, युएई र नामिबियासँगै नेपाल डिभिजन २ मा रेलिगेट भएको थियो। तर नेपालका लागि अझै एक मौका थियो, डिभिजन थ्रीबाट बढुवा भएर आएका दुई टिम क्यानाडा र ओमानसमेत ६ टिमसित अर्को प्रतियोगिता खेल्ने। यसमा शीर्ष दुईमा रहन सकेमात्र क्वालिफायर्सका लागि छनौट निश्चित हुन्थ्यो।

नेपालले चार खेलमा तीन मात्रै जित्न सक्यो। यस्तो अवस्थामा आज क्यानडासँगको पाँचौ खेलमा जित छनौटका लागि महत्त्वपूर्ण थियो। अन्तिम ओभरको अन्तिम बलसम्म कसले जित्ने निश्चित नभएको यो रोमाञ्चक खेलमा अन्ततः नेपाल एक विकेटले विजयी भयो।

अब के हुन्छ त?
नेपाल अर्को महिना जिम्बाब्वेमा हुने वर्ल्ड कप क्वालिफायर प्रतियोगिता खेल्न छनौट भयो। मार्च ५ देखि २५ सम्म हुने यो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्रहरु वेष्ट इन्डिज, जिम्वाब्वे, अफगानिस्तान, आयरल्याण्डसँगै वर्ल्ड क्रिकेट लिगको शीर्ष चार स्थानमा रहेका नेदरल्याण्ड्स, स्कटल्याण्ड, हङकङ र पपुवान्युगिनी समेत छन्। आजको खेलबाट नेपाल र युएई छानिएपछि प्रतियोगिता खेल्ने १० वटै राष्ट्रको टुङ्गो लागेको छ।

यो प्रतियोगिताको शीर्ष दुई स्थानमा रहन सकेमात्र नेपाल सन् २०१९ मा हुने विश्वकप खेल्न पाउनेछ। यो विश्वकपमा १० टिमले मात्रै खेल्नेछ। आयोजक इङ्गल्यान्ड बाहेक सात टिम आइसिसीको वन डे इन्टरनेसनलको र्‍याङ्किङमा माथि रहेका टिमहरु हुन्- अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिका। बाँकी दुई टिम यही क्वालिफायर जित्ने र उपविजेता हुनेछ।

कोसित हुन्छ नेपालको खेल?
नेपालको खेल कोसित हुन्छ टुङ्गो लाग्न नेपालले डिभिजन २ को युएईसँग फाइनल जित्छ कि हार्छ भन्ने परिणामबाट हुन्छ। नेपाल जिते समूह एमा हुन्छ र आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र वेष्ट इन्डिजसँग पर्छ। नेपाल हारे समूह बीमा हुन्छ र जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पर्छ।

२७ फेब्रुअरीमा वार्म अप म्याच हुनेछ युएईसित। त्यसपछि डिभिजन २ जिते वेस्ट इन्डिजसँग र उपविजेता बने हङकङसित मार्च १ मा खेल हुनेछ। बाँकी खेल कहिले हुने हुन्, यहाँ छ विस्तृत विवरण

ब्याटिङमा सुधार नगरेसम्म यही हिसाबले नेपाल विश्वकपमा छनौट हुन गाह्रो छ। अन्तिम बलमा निकालेका जितहरुको मद्दतबाट नेपाल क्वालिफायरसम्म पुग्न सफल भएको छ। यो ऐतिहासिक जित हो सबै नेपालीले गर्व गर्नुपर्ने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme