Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नामिबियालाई उसकै मैदानमा नेपालले हराउँदाका पाँच रोमाञ्चक पल

Posted on February 8, 2018 by Salokya

आइसिसी वर्ल्ड क्रिकेट लिगमा निराशाजनक प्रदर्शनपछि डिभिजन टुमा घटुवा भएको नेपालले पहिलो खेलमा नामिबियालाई उसकै मैदानमा पराजित गर्दै रोमाञ्चक जित हात पार्‍यो। नेपालको ब्याटिङको सदाबहार खराब पारा हेर्दा डिभिजन टुबाट पनि घटुवा भएको खबर सुन्न पाइने संकेत देखिन्छ। त्यस्तो सुन्न नपरोस् भन्ने कामना गर्दै यो खेलका पाँच रोमाञ्चक पल हेरौँ-

१) वसन्तको छक्काले पल्टिएको पासा
४७ औँ ओभरको चौथो बलमा सोमपाल कामी आउट भइसकेपछि नेपालसित मात्र एक विकेट बाँकी थियो। सोमपालको ठाउँमा  सन्दीप लामिछाने ब्याटिङका लागि आए। अर्को छेउमा वसन्त रेग्मी कायमै थिए। सन्दीले पहिलो बल डिफेन्ड गरे, दोस्रो बल बलरतिर प्लेब्याक गरे। कुनै रन बनेन। ४७ औँ ओभर नामिबियाले विकेटसहित मेडन राख्न सफल भयो। 

४८ औँ ओभरमा ब्याटिङको पालो वसन्तको। नेपाललाई १८ बलमा १८ रन आवश्यक थियो। पहिलो चार बलमा कुनै रन बनेन। पाँचौँ बलमा वसन्तले दुई रन लिए। छैटौँ बलमा कुनै रन बनेन। ४८ औँ ओभरको समाप्तिमा नेपाललाई १२ बलमा १६ रन आवश्यक भइसकेको थियो। 

४९ औँ ओभरमा स्ट्राइकिङ रोटेसन भएर सन्दीप ब्याटिङमा थिए। पहिलो दुई बलमा कुनै रन बनेन। तेस्रो बलमा सन्दीपले एक रन लिएर वसन्तलाई ब्याटिङमा पठाए। त्यही थियो नेपालको विजयका लागि खेलको टर्निङ प्वाइन्ट। चौथो बलमा वसन्तले नेपाली इनिङ्सकै पहिलो छक्का हानिदिए। बलिङ गरिरहेका बर्गर शायद नर्भस भए, अर्को बल वाइड फाले। लगत्तै वसन्तले एक रन लिए र सन्दीपलाई ब्याटिङमा पठाए। उनले ओभरको अन्तिम बलमा कुनै रन बनाएनन्। 

 २) अन्तिम ओभरमा वसन्तको ब्याटिङ
अन्तिम ओभरमा नेपालले जितका लागि छ बलमा सात रन बनाउनु पर्थ्यो। पहिलो बलमै वसन्तले दुई रन लिए। अब जितका लागि पाँच बलमा पाँच रन आवश्यक थियो। दोस्रो बलमा वसन्तले चौका ठोकिदिए। स्कोर टाइ भयो। जितका लागि नेपाललाई चार बलमा एक रन आवश्यक भयो।बलिङ गरिरहेका फ्राइलिङ्कले लेग साइडमा वाइड बल फ्याँकेपछि नेपाल विजयी भयो।   

३) पहिलो ओभरमै विकेट
नेपालले बलिङ गर्ने क्रममा पहिलो ओभरमै नामिबियाले ३ रन जोड्दा विकेट लिन सफल भएको थियो। नेपालको ब्याटिङ भने झन् खराब भयो। नेपालको स्कोरबोर्डमा सून्य रन छँदा नै ओपनर दीलिप नाथ आउट भए १.१ ओभरमा। 

४) ८०/४ बाट ८१/६
नामिबियाले ८० रन बनाउँदा चौथो विकेट गुमाएको थियो। १२.६ ओभरमा यो विकेट सन्दीप लामिछानेले लिएका थिए। त्यसपछि १४ औँ ओभर पारस खड्काले र १५ औँ ओभर सन्दीपले मेडन राखे।  १६ औँ ओभरको अन्तिम बलमा पारसले नामिबियाको पाँचौँ विकेट लिए। १७ औँ ओभरको चौथो बलमा एक रन दिएका सन्दीपले पाँचौँ बलमा नामिबियाको छैटौँ विकेट लिन सफल भए। 

५) सन्दीपको फिगर
आइपिएलमा दिल्ली डेयरडेभिल्सले किनेका सन्दीप लामिछाने म्यान अफ दि म्याच भए। उनले ८.२ ओभर बलिङ गर्दा दुई मेडन राख्दै १८ रन दिए भने चार विकेट लिए। नेपालका तर्फबाट सोमपालले तीन विकेट लिएका थिए भने वसन्त रेग्मी, पारस खड्का र शरद् भेषावकरले एक एक विकेट लिए। 

के छ नेपालको स्थिति?
यो खेल जितेर नेपालले डिभिजन टुको अङ्क तालिकामा २ अङ्कसहित खाता खोलेको छ। अझै नेपालले शुक्रबार ओमान, आइतबार युएई, सोमबार केन्या, बुधबार क्यानडासित खेल्नुपर्नेछ। सबै खेल सकिएपछि अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा रहन सके नेपाल सन् २०१८ को विश्वकपको क्वालिफायर्स खेल्न योग्य हुनेछ। क्वालिफायर्स प्रतियोगिता १० टिम बीच हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टिम मात्र सन् २०१९ को क्रिकेट विश्वकप खेल्नेछ।

डिभिजन टुको अन्तिम दुई स्थान अर्थात् पाँचौँ र छैटौँ भएमा नेपाल डिभिजन थ्रीमा थप घटुवा हुनुपर्नेछ।

1 thought on “नामिबियालाई उसकै मैदानमा नेपालले हराउँदाका पाँच रोमाञ्चक पल”

  1. chundi says:
    February 15, 2018 at 11:33 pm

    क एकदम ठुलो विकास को फन्को मरे को जस्तो लट्ठी ले बल्ल लै हेनेको त होनी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme