Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के तपाईँलाई थाहा छ? पशुपतिको छायाँ दर्शन पनि हुने गर्छ, यस्तो हुने रहेछ

Posted on January 31, 2018 by Salokya


तपाईँहरुमध्ये धेरै पशुपतिनाथको मन्दिर पुगिसक्नुभएको होला र मन्दिरभित्र रहेको शिवलिङ्ग पनि दर्शन गरिसक्नुभएको होला। तर के तपाईँले पशुपतिको छायाँ दर्शन गर्नुभएको छ? धेरैलाई छायाँ दर्शनको बारेमा थाहै छैन होला। मैले पनि अहिलेसम्म देखेको थिइनँ। सुनेको चाहिँ थिएँ तर कस्तो हुन्छ थाहा थिएन। वर्षमा एकपटक मात्र गरिने भएकोले धेरैलाई थाहा नभएको पनि हुनसक्छ। राम्रो खालको पात्रो (जस्तै तोयनाथ पञ्चाङ्गको पात्रो) छ भने त्यसमा लेखिएको हुन्छ कुन दिन यस्तो छायाँ दर्शन हुन्छ भन्ने। माघ शुक्ल चतुर्दशीको दिन छायाँ दर्शन गराइन्छ। सम्झन सजिलोका लागि स्वस्थानी व्रत कथा जुन दिन टुङ्गिने हो, त्यसको अघिल्लो दिन। हिजो अर्थात् मंगलबार थियो यो वर्षको छायाँ दर्शन। पहिलो पटक गरियो छायाँ दर्शन। यसो गरिने रहेछ।

सबैभन्दा पहिला पशुपतिको मूलद्वार अर्थात् शिवको वाहन नन्दीको विशाल मूर्ति भएको ठाउँ अगाडिको ढोकामा राखिएको भर्‍याङमा चढेर शिवलिङ्ग दर्शन गरियो। यो दिन विशेष पूजा गरी शिवलिङ्गलाई सजाएर मुकुट लगाइने रहेछ। स्थानीय धोबीखोलादेखि पूर्व तथा बाग्मती नदीदेखि पश्चिममा जन्मिएका स्थानीय नेवार समुदायले यो कार्यको समन्वय गर्ने परम्परा रहेछ।

विशेष देखिएको थियो शिवलिङ्ग। विशेष किसिमको शृङ्गार थियो, शिवलिङ्गमा आँखा बनाइएको थियो र माथिपट्टी कपडाको मुकुट लगाइएको थियो। पशुपतिनाथ मन्दिरभित्र फोटो/भिडियो खिच्न निषेध हुनाले यो हेर्न आफै पुग्नुपर्छ।

छायाँ दर्शन भने त्यहाँ गरिने हैन रहेछ। यसका लागि मन्दिरको दक्षिण ढोका जानु पर्ने रहेछ। यो ढोकाको बाहिर तलपट्टी वर्गाकार तामाको पाता रहेछ जसलाई धर्मशिला भनिन्छ। त्यसैमा पानी भरिने रहेछ। त्यही पानीमा पशुपतिनाथको मूर्तिको छायाँ देखिँदो रहेछ। दुई जना प्रहरी ढोकाको दायाँ बायाँ उभिएका थिए, उनीहरुले दर्शन गर्न आउनेहरु सबैलाई ऊ त्यहाँ पानीमा छायाँ हेर्नुस्, देख्नुभयो भन्दै सोधिरहेका थिए। कोही कोही पानी छोएर ढोग्न खोज्थे, प्रहरी त्यसो नगर्न सम्झाउँथे।

छायाँ दर्शन दिउँसोदेखि साँझ आरती नहुँदासम्म गरिन्छ। हामी साँझतिर पुगेका थियौँ। धेरै भिड थिएन, त्यसैले दुई पटक लाइन बसेर छायाँ दर्शन गरियो।

छायाँ दर्शनका दिन पूर्व युवराज पारस शाह पनि पशुपति मन्दिर पुगेका थिए।

पशुपतिनाथ मन्दिर हिन्दूहरुको लागि पवित्र तीर्थ स्थल मानिए पनि बौद्ध धर्मावलम्बीहरुले पनि बोधिसत्व अवलोकितेश्वरका रुपमा मान्ने गर्छन्। वर्षमा एक पटक बौद्ध धर्मावलम्बीहरुलाई पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा बोधिसत्वको मुकुट राख्न दिइन्छ। छायाँ दर्शनको दिन राखिने मुकुट र यो मुकुट फरक हो। बोधिसत्वको मुकुट राखिने दिन बखुमद अष्टमी हो। यसलाई मुखाष्टमी पनि भन्ने गरिन्छ। यो मुकुटमा पञ्चबुद्ध अंकित हुन्छ। यो वर्ष गएको मंसिर १० गते यो परम्परा अनुसारको पूजा सम्पन्न भइसकेको छ।

3 thoughts on “के तपाईँलाई थाहा छ? पशुपतिको छायाँ दर्शन पनि हुने गर्छ, यस्तो हुने रहेछ”

  1. सिर्जने says:
    February 1, 2018 at 11:13 pm

    यमुनाजी,
    छाया दर्सन गरेमा पारश जस्तै पराक्रमी पुत्रलाभ हुनेछ भनेर शिब पुरानको चौथो अध्यायमा लेखिएको छ 🙂 अस्तु |

    Reply
  2. Monica Pandey-Maskey says:
    February 1, 2018 at 2:54 am

    पारस शाह अचेल के काम गर्छ ?

    Reply
  3. yamuna niroula says:
    January 31, 2018 at 10:02 pm

    छाया दर्सन गर्नाले केके पुण्य प्राप्त हुने , कुन ,कुनआसिरबाद प्राप्त , या अरु के भनिएको छ , त्यो पनि लेख्नु भएको भए, सारै सुन मा सुगन्धा हुनेथ्यियो नि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme