Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिलाले गर्ने हिंसाबाट पीडित पुरुष

Posted on January 21, 2018January 19, 2018 by Salokya


-विजय ज्ञवाली-

राम थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय गर्ने उनको सपना थियो। नेपाल फर्कँदा पो थाहा भो, उनकी श्रीमतीले त दुई वर्षअघि नै अरुसित विवाह गरिसकेकी रहिछन्। श्रीमतीले छोरी जिम्मा लगाएर आधा सम्पति लिएर सम्वन्ध विच्छेदको बाटो समातिन्। आफूले कमाएको पैसा फिर्ता नपाएपछि राम यति बेला छोरीलाई अरुको जिम्मामा छोडेर फेरि मलेसिया हिँडेका छन्।

लोग्नेमान्छे भएर रुनु हुन्न.. गीतले पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् भन्ने आम मानिसको विचार चित्रण गर्छ। त्यसैले होला, समाजमा पुरुषविरुद्ध हिंसा बारे खासै चर्चा सुनिँदैन। हुनत घरेलु हिंसा पीडित हुने महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ। तर हिंसा यस्तो विषय हो जसमा तुलना हुनु हुँदैन। हिंसा जुन रुप र जुन किसिमले आए पनि यसको निन्दा हुनुपर्छ। महिला हिंसाको समाचार हामी प्रत्येक दिन पत्रपत्रिकामा देख्छौँ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुनिँदैन। के पुरुषहरु हिंसाबाट पीडित छैनन् होला त?

जापानको प्रसिद्ध पत्रिका जापान टाइम्समा परदेशीहरुको मानसिक स्वास्थ्य सम्बन्धी लेख छापिएपछि मलाई धेरै इमेलहरु आए। ती इमेलमध्ये एकजना जापानमा बस्ने अमेरिकन पुरुषले इमेलमा आफ्नो पीडा पोखेका थिए। जापानी महिलासँग विवाह गरेका उनले लगातार ५ वर्षसम्म श्रीमती र ससुराले दिएको मानसिक र शारीरिक पीडा उल्लेख गरेका छन्। जापानको कानुनी प्रक्रियाको जटिलता र त्यसमा पर्दा आफ्नी छोरीसित अलग हुनु पर्ने अवस्था आउने डरका कारण उनले यो पारिवारिक हिंसा सहेर बसेका रहेछन्।

हुँदाखाँदाको अमेरिकाको जागिर छोडेर छोरीको लागि जापानमा आएर बसेका उनले २ पेज लामो इमेलमा आफ्नो पीडा र सन्तान मोहबारे उल्लेख गरेका छन्।

विज्ञान (नाम परिवर्तन)ले खासै पढेका थिएनन्। त्यसैले सामान्य व्यवसाय गरेर जीवन चलाउँथे। घर परिवारको सल्लाहमा उनको एक जना निजी कार्यालयमा काम गर्ने केटीसित विवाह भयो। उनको व्यवसाय राम्रो थिएन तसर्थ उनको कमाई भन्दा श्रीमतीको कमाई बढी थियो।

सुरुमा जीवन राम्रै चलेको थियो। कहिलेकाहीँ श्रीमतीको मुखबाट रक्सीको गन्ध आए पनि यसलाई उनले सामान्य रुपमा लिएका थिए। तर पछि त्यो क्रम बढेर गयो। श्रीमतीको गर्भ रहेकोमा खुसी भएका उनी त्यति बेला झस्किए जब उनले थाहा नपाई श्रीमतीले गर्भपतन गराइन्।

पछि स्थिति झन् बिग्रेर गयो। राति ढिलो आउने, रक्सी खाएर आउने, थाहा नदिइकन २/४ दिन हराउने क्रम सुरु भयो। उनले स्थिति सम्हाल्ने क्रममा काठमाडौँको एउटा नाम चलेको गैर सरकारी संस्थाको सल्लाह लिए । त्यो संस्थामा दुवैलाई बोलाएर सम्झाउने प्रयास गरियो। तर परिणाम उल्टो निस्कियो। मेरो सार्वजनिक बेइज्जत गर्ने भन्दै उनी हिंसामा उत्रिन्।

केटा मान्छेले सम्बन्धविच्छेद गर्ने कुरा सारै लामो प्रक्रिया देखेपछि उनी विरक्तिए र अध्यात्मक क्षेत्रमा उनको प्रवेश भयो। उनी आजकाल योग गुरु भएका छन्। श्रीमती आजकल विदेशमा बस्छिन्। पछिल्लो पटक मसँग कुरा हुँदा उनले गुनासो पोखे- न श्रीमती फर्कन्छिन् न सम्बन्ध टुक्र्याउनेमा राजी छिन्। बरु तैँले बिहे गरे जेल हाल्छु भनेर धम्की फोनबाट दिन्छिन्।

पुरुषविरुद्ध हिंसाको पहिचान
पुरुषविरुद्ध हिंसालाई शारीरिक र मानसिक हिंसा गरी विभाजन गरेर हेर्न सकिन्छ। पुरुषमाथि हुने भौतिक रुपको हिंसालाई शारीरिक हिंसाको रुपमा लिन सकिन्छ।

शारीरिक हिंसाको पहिचान सजिलो भएतापनि मानसिक हिंसाको पहिचान गर्न सजिलो छैन। सरल रुपमा भन्नु पर्दा पुरुषलाई मानसिक वा मनोवैज्ञानिक रुपमा आघात पुराउने हिंसालाई मानसिक हिंसाको रुपमा लिनु पर्छ।

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा कानुनले दिएको अधिकारलाई प्रयोग गरी दिने मानसिक हिंसालाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ। यस बाहेक नामर्द , नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहारा जस्ता शब्दको प्रयोगलाई पनि पुरुषविरुद्धको हिंसाको रुपमा लिन सकिन्छ। यस प्रकारको हिंसा सधै महिलाबाट नै हुनु पर्छ भन्ने छैन, पुरुषले पुरुषलाई गर्ने हिंसा पनि पुरुषविरुद्धको हिंसा हो।

किन आउँदैन पुरुष हिंसा बाहिर ?

१. कानुनको जटिलता – नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सजिलो छ पुरुषको निम्ति त्यति सजिलो छैन। कानुनले महिलालाई दिएको कानुनी अधिकारको पक्ष पुरुषको भन्दा बलियो छ। कानुनले पुरुष हिंसाको बारेमा प्रस्ट उल्लेख गरेको छैन। पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्था मा गा. बि .स कार्यालयबाट सुरु गर्नु पर्ने हुन्छ। महिलाको हकमा भने त्यो लागु हुदैन। महिलालाई कानुनी रुपमा सहयोग गर्ने धेरै संघसंगठन भएता पनि पुरुषको हकमा भने सारै कम छन्। महिलाले दायर गरेका मुद्दाहरुमा फैसलाहरु छिटो भएको तर पुरुषको हकमा भने एक वर्ष भन्दा बढी लाग्ने कुरा कानुन विदनै स्वीकार गर्छन।

२. पुरुष अहम र लोकलाज – नेपालमा पुरुष हरु सामाजिक रुपमा बलियो छन। महिलाहरु पुरुषको नियन्त्रणमा छन् भने आम मानसिकताका कारण म पत्नी पिडित छु र म पत्नीबाट हुने हिंसाबाट पिडित छु भन्न नेपाली पुरुष तयार हुदैनन। यसलाई पुरुष प्रधान समाजमा लोक लाज को रुपमा लिन सकिन्छ। समाजले पत्नीबाट नियन्त्रित पुरुष लाई जोइटिग्रे जस्ता शव्दले सम्वोधन गर्ने परिपाटीका कारण यस्ता घटनाहरु बाहिर आउन पाउदैनन।

३. छोराछोरीसित टाढा हुनुपर्ने त्रास –पुरुष हिंसाका घटना बाहिर नआउनुमा अर्को कारण परिवारको बिखन्डन पश्चात छोरा छोरी सित अलग हुनु पर्ने डरलाई पनि लिन सकिन्छ। कानुनत : छोरा छोरीमा बाबुको भन्दा आमाको बढी हक लाग्ने भएकाले छोरा छोरीको मायाको कारणले पनि यस्ता घटना बाहिर आउन पाउदैनन।

४. पुरुष हिंसा बारे जानकारीको अभाव- कस्तो प्रकारको हिंसालाई पुरुष विरुद्धको हिंसा भन्ने बारेमा चेतनाको अभाब मात्र होइन कानुनी रुपमा नै परिभाषा को अभाब छ। शारीरिक हिंसाको बारेमा केहि हद सम्मको चेतना भएता पनि धेरै पुरुष हरुमा मानसिक हिंसाको बारेमा जानकारी पाईदैन। हिंसा पहिचानको अभाबमा पनि धेरै पुरुष विरुद्धको हिंसा बाहिर आउन पाउदैन।

५. पुरुषलाई सजिलै दोष जान सक्ने सामाजिक वातावरण -नेपाली ग्रामिण क्षेत्रमा महिला हिंसाको विरुद्धका कार्यक्रम पुग्न नसकेता पनि सहरी क्षेत्रमा यस्ता कार्यक्रमहरु व्यापक रुपमा गरिने गरिन्छ। महिला हिंसाको बारेमा सहरी क्षेत्र यति धेरै संवेदनशील देखिछन् कि कुनै पनि घटनामा सजिलै पुरुषप्रति दोष जाने अवस्था छ। कुराको गम्भीरतामा नपसी सजिलै पुरुष नै सर्बमान्य दोषी हुनु पर्ने डरका कारण पनि यस्ता घटना बाहिर आउन पाउदैनन।

पुरुषविरुद्ध हिंसाको मानसिक प्रभाव
पुरुषविरुद्ध हिंसाबाट पिडित पुरुषहरु विभिन्न प्रकारका मानसिक बिचलनबाट पिडित हुन्छन। जस्तो कि आत्मा विश्वासको कमि , अनिन्द्रा,लज्जा बोध ,आफु दोषीको अनुभव गर्नु ,बेचैनी ,डर ,एक्लोपन र रित्तो पन ,रक्शि र लागु पदार्थ को कुलत , टोलाउने, यौन अरुचि ,काममा अल्छि पन र काममा तल्लो स्तरको प्रदर्शन आदि। गम्भीर अवस्थामा अपराध गर्ने र आत्महत्याको बाटो रोज्ने गर्छन। पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव परिवारभित्र छोरा छोरीलाई पनि पर्दछ। यस्ता पुरुष विरुद्धको हिंसालाई नजिकबाट हेरेका बालकहरु पछि गएर हिंसा र बलात्कारका घटनामा संलग्न भनेको कुरा खोजले पुस्टि गरेको छ।

लैगिक समानता अपरिहार्य छ। तर धेरै मनिस हरु मा यसको बुझाई मा प्रस्टता पाईदैन। महिला अधिकार र महिला विरुद्ध को हिंसा को नारा को अगाडी लैगिक समानताको सहि अर्थ छाया मा परेको देखिन्छ। महिला हिंसा विरुद्ध को लडाई र पुरुष हिंसा विरुद्ध को लडाई एक अर्को विरुद्ध को लडाई होइन। यो सिंगो हिंसा विरुद्ध को लडाई हो। हिंसा सधै निन्दनीय छ तसर्थ यसको अन्त हुनु पर्छ।

(क्लिनिकल साइकोलोजिस्ट ज्ञवाली हाल जापानमा अध्ययनरत छन्। उनलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ)

[तपाईँले पनि हिंसाबाट पीडित पुरुष कोही देख्नुभएको वा चिन्नुभएको छ ? पुरुषको नाम नखुलाई आफ्नो अनुभव सुनाउने मन भए तल कमेन्टा लेख्नुस्]

Jan 2, 2014 मा पहिलो पटक प्रकाशित

2 thoughts on “महिलाले गर्ने हिंसाबाट पीडित पुरुष”

  1. simit gauchan says:
    January 26, 2018 at 12:34 pm

    श्रीमतीको नाममा सम्पत्ति जोड्नेको समस्या यस्तै हुन्छ , श्रीमतीलाई बिश्वास गर्नु नै हुदैन त्यहि पनि विदेश बाट त झनै गर्नु हुदैन , विदेश बाट जति कमाउछ कि आफ्नै नाममा राख्नु होइन भने आमा बाबाको नाममा राख्नु अनि आवस्यक मात्र श्रीमतीलाई दिनु भए यस्तो समस्या ज्यान गए आउदैन !!! यत्रो सामाजिक संजालमा बिदेशमा रहेको श्रीमानको कमाइ लिएर श्रीमती फरार भन्ने खबर सुन्दा सुन्दा पनि विदेश बाट बिश्वाश गरेर सबै सम्पत्ति श्रीमतीको जिम्मा छोड्नु नै पुरुष हिंशाको मुख्य कारण हो !

    ठिक्क खाए सब चिज मिठो
    धेरै खाए गुण पनि तितो

    त्यहि भएर सिमा नाघेर बिश्वास गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो !

    Reply
  2. Muk says:
    January 24, 2018 at 10:07 pm

    अपवाद सबैतिर हुन्छ । त्यो अपबाद लाई चिनेर उस्को हारबाट छुट्याउन सके धेरै समस्याको समाधान पनि हुन्छ ।

    क्लिनिकल साइकोलोजीस्ट ज्ञवालीजीको माथिको लेख निकै उच्च स्तरीय र चेतनामुलक छ । यस सन्दर्भमा मेरो राल्फ भन्ने एउटा साथिको याद आयो । केही बर्ष अघिसम्म उ र म संगै फ्रेसेनियस भन्ने एउटा कम्पनीमा SAP विज्ञको रूपमा काम गर्ने गर्दथ्यौं । त्यो कसर्नका विश्वभरीका सवै शाखाहरूमा आइपरेका समस्या हल गर्ने जिम्मा हाम्रो ग्रूपको थियो । त्यो काममा वेलाबखतमा समयको दवाव त हुन्थ्यो नै तर पनि उल्फट्याङ्ग कुरा गरेर हास्ने फुर्सद पनि काफि हुन्थ्यो ।

    त्यो मेरो साथी राल्फ छुट्टीमा सधैं क्यानाडाको एकान्त ठाउतीर गएर क्याम्पीङ र हाइकीङ्ग गर्ने गर्छ । तेता भालु भेटिन्छ रे । सुरुसुरुमा उ भालु देखि डराउँथ्यो रे । तर कालान्तरमा एउटी भालुसंग उस्को घनिष्टता पनि बिकास भएछ । कुनै खानेकुरा खान दिएर सान्त भए पछि उ भालुलाइ सुम्सुम्याएर आनन्द लिन्थ्यो रे । भालु पनि घरेलु हुँछन् र सोझो मान्छे राम्ररी चिन्छन् रे ।

    राल्फ अर्को सीजनमा जाँदा त त्यो भालुसंग त्यसका दुइटा बच्चा पनि संगै आउन थालेछन् । बच्चाहरू ले पनि उसलाइ चिनेझै गरेर उ संग खेल्थेरे |

    पछि चाइ तीनीहरूबाट छुटकारा पाउन उस्लाइ धौ धौ परेछ I ती त पल्केर उस्को त्रीपाल छोडेरै नजाने रे के । उ छँदा भलादमी भएर बस्ने रे दिउसो निस्केको बेला उस्को खानेकुरा कहा लुकाएर राखेकेको छ त्यहीं बाट झिकेर खाइदिने रे । अन्त चर्न जानै छोडे रे

    अन्तत उस्को खानेकुरा सकिन आँटेछ I अति भएपछि रिसाएर धपाउँछु यिनिहरुलाइ भनेर एस्सो हात उठाएको थियो रे बुढी भालुले त उस्लाइ समातेर बेस्करी लठ्ठीले हिर्काएर पिटिछ I ती बच्चाहरूलाई चाइ माया लागेछ छेक्न गएरे । दुखेको तोडले उ बेस्सरी कराएछ I उस्को भाग्यको कुरा हो कुन संयोगले त्यहां एउटा रेन्जर टुप्लुक आइपुगेर उसलाइ बचाए छ । रेन्जरलाइ देखेप६ी चाइ फेरी ती भालुहरु अचम्म संग भलादमी पाराले गए रे । त्यहाँको सिस्टम अनुसार त्यो रेन्जरले राल्फलाइ भालुको पिटाइ खाएको प्रमाणपत्र बनाइदिएछ ।

    यस्तो हुन्छ प्रमाणपत्र भनेको देखिस भनेर गौरबका साथ देखाउँछ उ त । अझ मलाइ गिज्याएर तेरो पनि छ कि यस्तो, रे । मेरो पालो, छ मेरो पनि भनेर मेरो एउटा अरूलाइ नदेखाएको कागज देखाइ दिए । मेरी स्वास्नीले मलाइ पिटेर अति भएपछि पुलीस बोलाउँदा पुलिसले मलाइ त्यो कागज लेखेर दिएको थियो । त्यो देखेपछि राल्फ हाँसेन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme