भर्खरै सम्पन्न निर्वाचन प्रतिनिधि सभाको लागि मात्र हैन, प्रदेश सभाको लागि पनि भएको थियो। नेपालको इतिहासमै पहिलो पटक भएको प्रदेश सभाको निर्वाचन खासमा प्रतिनिधि सभाको निर्वाचनले छायाँमा पर्यो। देशभरका मतदाताले केन्द्रमा सरकार बनाउन र प्रदेशमा सरकार बनाउन सँगै मत दिएका हुन्। प्रदेश र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना पनि धमाधम हुँदैछ। अहिलेसम्मको मतगणना अनुसार कसले कति सिट ल्याउँछन्, त्यसको अपडेट माइसंसारमा पढ्न सक्नुहुन्छ। प्रदेश सभामा प्रतिनिधि सभाको भन्दा आधा कम अर्थात् १.५ % मात्रै थ्रेसहोल्ड राखिएको छ। त्यसैगरी भाजक अङ्क पनि अघिल्लो संविधानसभामा राखिएको १.४ को ठाउँमा १ राखिएको छ। त्यसैले साना दलले पनि प्रदेश सभामा भने सिट ल्याउन सक्ने सम्भावना हुन्छ। तर प्रदेश सभामा सिट संख्या भने थोरै हुन्छ समानुपातिकमा।
बिहीबार बिहान १ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार प्रदेश सभाहरुमा प्रमुख पाँच दलबाहेक विवेकशील साझा, राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल संघीय समाजवादी पार्टीले पनि सिट पाउने देखिन्छ। यो बिहीबार बिहानको गणनाको आधारमा प्रोजेक्सन हो। थप मत गन्दा उल्लेख्य मत ल्याउन सके सिट अझ बढ्न सक्छ। मत त्यही अनुपातमा धेरै नआए सिट घट्न वा नपाउन पनि सक्छ। उदाहरणका लागि यसअघि नयाँ शक्तिले प्रदेश ३ मा सिट पाउने देखिएको थियो। तर रसुवामा बाहेक अन्यत्र उल्लेख्य मत ल्याउन नसकेपछि नयाँ अपडेटमा सिट पाउने देखिएन।
प्रदेश सभामा उपस्थिति देखाउन सक्ने दुई दल त्यति नाम सुनिएको हैन। पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने माग गर्दै आएका विभिन्न लिम्बुवान पार्टी सम्मिलित संघीय लिम्बुवान पार्टी नेपाल विभाजित भएर बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देनले गरेका छन्। त्यस्तै संघीय समाजवादी पार्टी नेकपा एमालेबाट गृहराज्य मन्त्री भइसकेका रिजवान अन्सारी नेतृत्वको हो। संघीय समाजवादी हुँदै फोरमसँगको एकताबाट असन्तुष्ट अन्सारी बस चिह्न लिएर चुनाव लडेका थिए। मुस्लिमहरुको भोट यसले धेरै आकर्षित गरेको छ।
कुन प्रदेशमा के छ त स्थिति?
प्रदेश १
समानुपातिक सिट ३७ वटा। एमाले १५, कांग्रेस १३, माओवादी ५, फोरम २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राप्रपा १। (1425793 मत गनेको आधारमा)
प्रदेश १ मा प्रत्यक्ष निर्वाचितहरु
प्रदेश २ :
समानुपातिक सिट ४३ वटा। एमाले ८, कांग्रेस १२, माओवादी ५, फोरम ९, राजपा ८, नेपाल संघीय समाजवादी पार्टी १। (981187 मत गनेको आधारमा)
प्रत्यक्ष निर्वाचितहरु
प्रदेश ३ :
समानुपातिक सिट ४४ वटा। एमाले १७, कांग्रेस १४, माओवादी ८, विवेकशील ३, राप्रपा २। (1404143 मत गनेको आधारमा)
प्रत्यक्ष निर्वाचितहरु
प्रदेश ४ :
समानुपातिक सिट २४ वटा। एमाले १०, कांग्रेस ९, माओवादी ३, जनमोर्चा १, नयाँ शक्ति १। (845923 मत गनेको आधारमा)
प्रत्यक्ष निर्वाचितहरु
प्रदेश ५ :
समानुपातिक सिट ३५ वटा। एमाले १३, कांग्रेस १३, माओवादी ६, फोरम २, राजपा १। विवेकशील १। (1321068 मत गनेको आधारमा )
प्रत्यक्ष निर्वाचितहरु
प्रदेश ६ :
समानुपातिक सिट १६ वटा। एमाले ६, कांग्रेस ५, माओवादी ४, राप्रपा १। (390139 मत गनेको आधारमा)
प्रत्यक्ष निर्वाचितहरु
प्रदेश ७ :
समानुपातिक सिट २१ वटा। एमाले ८, कांग्रेस ९, माओवादी ४। (515415 मत गनेको आधारमा)
प्रत्यक्ष निर्वाचितहरु
गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।
*यसअघिको गणनामा प्रदेशमा समानुपातिक सिटको संख्या नै गलत परेकोमा सच्याइएको छ।