Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनाव अगाडि पड्काउने, चुनावको दिन सुस्ताउने, दोस्रो चरणको मतदान पनि सहज सम्पन्न

Posted on December 8, 2017December 8, 2017 by Salokya

४५ जिल्लामा भएको दोस्रो चरणको मतदान पनि सहजै सकियो। जम्मा दुई वटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भयो। जबकि चुनावमा १५ हजारभन्दा बढी मतदान केन्द्र थियो।

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशपछि प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको बेग्लाबेग्लै मतपत्र बनाएको हुनाले मत दिन सजिलो पनि भयो। मतपत्र सानो आकारको थियो। साथमा उम्मेदवार नभएकाहरुको चिह्न पनि त्यसमा थिएन। तर समानुपातिकतर्फको मतपत्र भने ज्यादै लामो थियो। एक त एउटै पानामा प्रतिनिधि र प्रदेश सभाका लागि दुई वटा मतपत्र राखिएको, अर्को उम्मेदवारकै नभएका चुनाव चिह्नको पनि भारी।

६७ प्रतिशत मतदान
निर्वाचन आयोगका अनुसार प्रारम्भिक जानकारी अनुसार देशभर कूल ६७ प्रतिशत मतदान भयो। सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भयो।

दुई केन्द्रमा मतदान किन स्थगित?
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य आज स्थगित भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो । सो मतदान केन्द्रमा केही दिनभित्रै पुनः मतदान गर्ने व्यवस्था मिलाइने छ ।

शव बोकेरै मतदान
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन्। हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरे।

जसले आफ्नै लागि भोट हाल्न पाएनन्
झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूm उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाएनन्। उहाँले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाउनुभएन । उहाँको मतदाता नामावली रौतहटमा छ ।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाउनुभएन । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामावली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाउनुभएको हो ।

काठमाडौँमा मतदाता नामावलीमा नाम रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला काठमाडौँबाटै मतदान गर्दै हुनुहुन्छ । उहाँले प्रदेश नं ४ अन्तर्गत नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । उहाँले नवलपरासीबाट आफू काठमाडौँमा मतदानका लागि आएको जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाउनुभएन । उहाँले काठमाडौँ क्षेत्र नं ७ बाट मतदान गर्नुभयो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उहाँको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आपूmले आफैँलाई मतदान गर्न पाउनुभएन ।

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न पाउनुभएन ।

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार डा. प्रकाशशरण महत, काँग्रेसबाट कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा. आरजु देउवा, भक्तपुर क्षे नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाउनुभएन ।

काँग्रेसका तर्फबाट उम्मेदवाहरू डा. महतले नुवाकोटमा मतदाता नामावलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामावली रहेका कारण डा. राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाउनुभएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा मतदाता नामावली नाम भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । पश्चिम रुकुममा मतदाता नामावली रहेका नेकपा (माओवादी केन्द्र)का नेता अनिलकुमार शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्छ भने रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदी काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिनुभएको छ ।

माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफँैलाई मतदान गर्न पाउनुभएन । उहाँहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिनुभयो ।

काठमाडौँ क्षेत्र १ का उम्मेदवार शर्माले भन्नुभयो, “आफ्नो मत आफँैलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ ।”

आज बिहान मोरङबाट मतदान गर्नुभएका संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले आफूले आफूलाई मतदान गर्न नपाएको सन्दर्भमा भन्नुभयो, “जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो ।”

सर्लाहीका मतदाता तथा राजपा नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले “कानुनी तथा व्यावहारिक कारण आज मतदान गर्न सकिएन, तर पनि म लाखौं मतदाताको बीचमा छु, त्यसैमा खुशी छु” भन्नुभयो ।

ललितपुर भैंसीपार्टीका मतदाता तथा विवेकशील साझा पार्टीका अध्यक्ष्य रविन्द्र मिश्र काठमाडौँ क्षेत्रं १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले पनि आपूmलाई मतदान गर्न पाउनुभएन ।

3 thoughts on “चुनाव अगाडि पड्काउने, चुनावको दिन सुस्ताउने, दोस्रो चरणको मतदान पनि सहज सम्पन्न”

  1. Shankar says:
    December 9, 2017 at 3:34 am

    तेसैले त् देश को यो हालत छ | आम नागरिक बनेर डिस्कस गर्ने हो भने तपाइँ आफुलाई मावोबादी ,कांग्रेस , राजा , एमाले कसैको पनि हैन भन्न सक्नुपर्छ |र म नेपालि नागरिक मात्र हुन् भन्न सक्नुपर्छ | तपाइँ ले माथि कहा मैले महेन्द्रको समर्थन गरेको देख्नु भो ?
    तपाइँ कुनै पार्टीको जागिरे हुनुहुन्छ बा एउटा कसैले मदद ले तपाइको चुल्हो बलेको छ भने तपाइँ पक्कै पनि निस्पक्ष्य भएर बोल्न सक्नु हुन्न |
    तपाइको आसय राजा को पालामा घुस खायो , बहुदल मा घुस खायो अब यो गाँड तन्त्रमा मेरो मामा छ , मैले घुस खान पाउनुपर्छ भन्ने हो ?

    Reply
  2. Shankar says:
    December 8, 2017 at 4:19 pm

    मतदान न हुने कुरै छैन , जग्गादलाली गरेर बसिरा हरुलाई , गुण्डागर्दी गरेर बसिरा हरुलाई, राजनीतिलाई पेसा बनाएका हरुलाई जागिर खानु परेन ? माथि तह मा इन्डियाको नियन्त्रण छ , जसले स्थिर सरकार बन्न , देश विधिबाट चल्न दिदैंन न भए उसलाई बेलाबखत ठाडो हस्तछेप गर्न मिल्दैन | माथि नै भ्रस्ट बनाइ दि सकेपछि , तल जसले पनि घुस को लागि हात थाप्ने नै भयो |
    हामि जनतालाई मालपोत मा , अदालत मा, भन्सार मा घुस न ख्वाई कहिले काम हुन्छ ?
    त्यो सग चासो हुन्छ ,

    Reply
    1. राजन says:
      December 8, 2017 at 9:22 pm

      त्यो त महान राष्ट्रबादी भनाउदा महेन्द्रको पालामा पनि घुसको बिगबिगी थियो ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme