माइसंसारमा पहिलो चरणको मतदान र दोस्रो चरणको मतदानको दिन राखिएको भर्चुअल मतदानको परिणाम र त्यसको आधारमा परिणामको पूर्वानुमान गरिएको छ। भर्चुअल मतदान भएकोले यसले देखाएको परिणाम र त्यसको संकेत मिल्नै पर्छ भन्ने हुन्न।
पहिलो संविधानसभा निर्वाचनमा माइसंसारमा यस्तै खालको मतदान गर्दा माओवादीको पक्षमा धेरै मत देखिएको थियो। त्यो निर्वाचनमा माओवादी नै पहिलो ठूलो पार्टी बन्यो पनि। त्यसैगरी दोस्रो संविधान सभा निर्वाचनमा भने कांग्रेसमा सबैभन्दा धेरै मत देखिएको थियो। नभन्दै वास्तविक परिणाममा पनि कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। तर यस पटक भने विवेकशील साझा पार्टीमा सबैभन्दा धेरै भोट आएको छ जुन वास्तविक परिणाममा पनि प्रतिबिम्बित हुन सम्भव छैन। किनभने दलको स्वरुपै बनिनसकेको विवेकशील साझा सबैभन्दा ठूलो दल कुनै हालतमा हुने देखिन्न। तर के यसले समानुपातिकमा यो दलले उल्लेख्य सिट ल्याई/ तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरी चार जना सांसद समानुपातिकमा पठाउने संकेत गर्छ?
यो पोलमा कुन देशबाट भोट गरिएको भनी ट्रयाक गरिएको थिएन। तर विदेशमा बसेका नेपालीले भोट गरेको अनुमान गर्न सकिन्छ। विदेशमा बस्ने नेपालीलाई एउटा चमत्कार चाहिएको छ र उनीहरुको यो नयाँ दलप्रति आकर्षण धेरै देखिएको छ। तर समस्या के छ भने उनीहरु मतदाता हैनन्। उनीहरुको मत गनिँदैन। उनीहरुको मतले हारजितको निर्क्यौल हुँदैन। यद्यपि, उनीहरुले आफ्ना नेपालमा रहेका परिवारका सदस्य, आफन्तलाई प्रभावित गर्न भने सक्छन्। कतिको प्रभावित गर्न सके, त्यो परिणामले देखाउने छ।
के विवेकशील साझा राष्ट्रिय दल बन्ला?
राष्ट्रिय दल बन्नका लागि कम्तिमा प्रतिनिधि सभातर्फको एउटा प्रत्यक्ष सिट र देशभर खसेका सदर मतमध्येबाट तीन प्रतिशत (३ लाखको हाराहारीमा) मत ल्याउनु पर्ने हुन्छ। विवेकशील साझाको सबैभन्दा प्रभावशाली उम्मेदवार रवीन्द्र मिश्र हुन्। अर्का नेता उज्ज्वल थापाको पनि केही प्रभाव छ। तर मिश्रको अगाडि उनी फिका देखिएका छन्। सामाजिक सञ्जालको प्रचार र मिडियाले असाध्यै साथ दिएका हुनाले रवीन्द्र मिश्रको माहौल बनेको प्रष्ट देखिन्छ। तर के त्यो माहौल मटपेटिकामा प्रतिबिम्बित होला?
केही तथ्याङ्क हेरौँ। काठमाडौँ क्षेत्र नम्बर १ मा २०६४ सालको निर्वाचनमा प्रकाशमान सिंहले १४ हजार १४८ मत ल्याएका थिए जुन उनका निकट दुई प्रतिस्पर्धी एमालेका प्रदीप नेपाल (६७८९ मत) र नेकपा माओवादीका राममान श्रेष्ठ (४८३६ मत) को जोड्दासमेत बढी थियो। अहिलेको निर्वाचनमा वाम गठबन्धनका रुपमा एमाले र माओवादी मिलेका छन्।
दोस्रो पटकको संविधानसभा निर्वाचन २०७० मा प्रकाशमान सिंह १५ हजार १३८ मतका साथ विजयी भएका थिए। यो निर्वाचनमा आफ्ना सबै विपक्षी उम्मेदवारको मत जोड्दा पनि प्रकाशमान सिंह अगाडि थिए। २०७० मा प्रचण्डपुत्री रेणु दाहालको दोस्रो स्थानमा ४०६४ मत थियो भने एमाले चौथो स्थानमा ३५०१ भोट थियो। तेस्रो स्थानमा भने राप्रपा नेपालका भरतमणि जंगमले ३७३२ मत ल्याएका थिए। रमाइलो कुरा के भने अहिलेको निर्वाचनमा माओवादी र एमाले वाम गठबन्धनमा छन् भने राप्रपा र कांग्रेसको लोकतान्त्रिक गठबन्धन छ।
पछिल्लो पटक भएको स्थानीय तहको मतदानमा यो क्षेत्रमा पर्ने वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा पनि कांग्रेस नै सबैभन्दा अगाडि ८ हजार ८४२ मत छ। तर एमाले पनि धेरै पछाडि भने छैन। एमाले मात्र १२८ मतले पछाडि अर्थात् ८ हजार ७१४ मत छ। यहाँ माओवादी केन्द्रको मत २ हजार २७४ र राप्रपाको १ हजार ५०४ छ। संघीय समाजवादी फोरमको भोट ७३५ रहेको छ।
यो तथ्याङ्क हेर्दा यो क्षेत्र प्रकाशमान सिंहको सेफजोनका रुपमा रहेको देखिन्छ। तर पनि उनी यसअघिका निर्वाचनमा विरलै देखिने घरदैलो गर्न व्यस्त भए। यो रवीन्द्र मिश्रकै सामाजिक सञ्जालमा देखिएको लहरका कारण हुनसक्छ।
काठमाडौँ १ मा ४२ हजार ४१८ मत छ। पहिलो संविधानसभा र दोस्रो संविधानसभाको मत हेर्दा प्रकाशमानले आफ्नो भोट ब्यांक कायमै राखेको देखिन्छ। २०६४ को निर्वाचनमा देशैभर माओवादीले लहर ल्याँदा पनि ऊ यो स्थानमा तेस्रो बन्न बाध्य भएको थियो। २०७० मा गणेशमान पुत्र Vs प्रचण्डपुत्रीको भिडन्त हुँदा पनि प्रकाशमानले आरामदायी जित हासिल गरे।
स्थानीय तहमा भने भोट घटेको छ। त्यतिबेला पाएका ८ हजार मतलाई कांग्रेसप्रति प्रतिवद्ध मतको रुपमा व्याख्या गर्न सकिन्छ। तर त्यति भोट जितका लागि पर्याप्त हुँदैन। स्थानीय तहमा दलहरुबीच आन्तरिक असन्तुष्टि धेरै थियो। वाम गठबन्धनको कारण कांग्रेसीहरुबीचको त्यस्तो असन्तुष्टि हटाएर पुरानो भोट ब्यांक कायम राख्न सफल भयो भने प्रकाशमानको जित सुनिश्चित छ।
रवीन्द्र मिश्रको जित सुनिश्चित त्यतिबेला हुन्छ जब उनले २०७० सालको निर्वाचनमा एमाले र माओवादीमा खसेका सबै मत आफ्नोतर्फ एकोहोरो सोहोरेर कांग्रेसको पक्षमा गएको भोटसमेत आफ्नोमा आकर्षित गर्न सक्छन्। एमालेको त यो क्षेत्रमा उम्मेदवार छैन। यो क्षेत्रमा रहेका एमालेका शुभचिन्तकमात्र हैन कार्यकर्ताले समेत मिश्रलाई भोट हाल्ने र त्यसैगरी आफ्नै उम्मेदवार रहेको अवस्थामा पनि माओवादीका कार्यकर्ता र शुभचिन्तकले समेत रवीन्द्र मिश्रलाई भोट हालेमा पनि २०७० सालको निर्वाचनको परिणाम अनुसार प्रकाशमान सिंहकै हात माथि हुन्छ। मिश्रले थपिएका मतदाताहरुको मतसहित कांग्रेसको पक्षमा पनि गएको भोट आफूमा ल्याउन सके उनी विजयी हुनेछन्। तर पार्टीको स्वरुपै ग्रहण गरिनसकेको विवेकशील साझाको लागि यो लक्ष्य कठिन देखिन्छ। किनभने आज मतदानको दिन क्षेत्र नम्बर १ का कति बुथहरुमा विवेकशील साझाको उपस्थिति समेत थिएन। कांग्रेसी कार्यकर्ता नै धेरै खटिएका देखिन्थे। तर के नपत्याउने खोलाले बगाउला- परिणाम प्रतीक्षा गरौँ।
मिश्र पराजित भएमा विवेकशील साझाको राष्ट्रिय पार्टी बन्ने लक्ष्य पूरा हुँदैन। तर समानुपातिकतर्फ चार जना सांसद पठाउने आशा भने कायमै रहन्छ। यसका लागि यो दलले देशभर खसेका कूल मतमध्ये ३ प्रतिशत ल्याउनु पर्छ। त्यो भनेको लगभग ३ लाख हुन्छ।
अघिल्लो संविधानसभामा राप्रपा नेपालको गाई चिह्न र हिन्दुत्व र राजतन्त्रको लहर आउँदा ६ प्रतिशतभन्दा बढी मत आएको थियो। अहिले त्यो किसिमको लहर तराजुको ग्राउन्डमा देखिएको छैन। तर सामाजिक सञ्जाल र विदेशमा बस्ने नेपालीबीच चाहिँ लहरै आएको छ। के त्यो लहरले ३ प्रतिशत मतको खड्गो काट्ला? काटेमा मुमाराम खनालसहित चार जना सांसद दलको हैसियतले हैन, स्वतन्त्र सांसदको हैसियतले संसदमा जानेछन्।
एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो
विवेकशील साझाको बारेमा यत्रो चर्चा गरिसकेपछि अब त्यसबाहेक भर्चुअल मतदानको परिणामबाट पूर्वानुमान गरौँ। यो लगभग स्थानीय तहको परिणामसँग मिल्छ। एमालेको सूर्य चिह्नमा सबैभन्दा धेरै मत आएको छ। दोस्रोमा कांग्रेसको रुख छ भने तेस्रोमा माओवादीको हसिया हथौडा रहेको छ।
नतिजा हेर्नुस्-
भर्खर रबिन्द्र मिस्र ले हारेको र कुख्यात तस्कर दीपक मनाङे ले जितेको समाचार हेरे ! नेपाली जनता लाई बिकास, न्याय, शान्ती, स्वच्छ प्रशाशन र बिकास चाहिएकै रहेनछ ।
रन्जु दर्शना र किशोर थापाले ल्याएको मत पनि उल्लेख गरेको भए अहे बढी सान्धर्भिक हुन्थ्यो कि?
हो फचेबूक बाट वोट दिने वा चै जित्ने थियो. क गर्ने?
विवेकशील साझाप्रति देखिएको आकर्षणमा मैले ओठे भक्ति ज्यादा देखेको छु। यो दुःखको कुरा हो। धेरैले अनलाईनमा आदर्श छाॅट्छन् तर यथार्थमा अर्कै गर्छन्। तर आशा गरौँ यो नयाँ दलले राष्ट्रिय मान्यता पाओस् र अन्य दलकालागी चुनौती बनोस्। शुभकामना सहित।