Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोचेभन्दा शान्त रह्यो मतदान, कहाँ के-के भयो दिनभर? ६ महत्त्वपूर्ण घटना

Posted on November 27, 2017 by Salokya

एकै चरणमा मतदान भएको भए यतिबेला मतगणना भइरहेको हुन्थ्यो र हामी कुन ठाउँमा कसको अग्रता रह्यो, को पछि पर्‍यो त्यसको अपडेट सुन्दै हेर्दै बसिरहेका हुन्थ्यौँ होला। तर दुई चरणमा मतदान हुने भएकोले मंसिर २१ गते साँझ ५ बजेपछि मात्रै मतगणना सुरु हुनेछ।

पहिलो चरणको मतदान हुनुअघि बमले आतंक मच्चाए पनि अधिकांश बम पटाका खाले मात्र थिए। नुवाकोटमा रामशरण महतलाई लक्षित गरी पड्काइएको बम चाहिँ अलि शक्तिशाली थियो, गाडी नै कुच्चिएर पल्टिने गरीको। तर मतदानको दिन भने सोचेभन्दा शान्त रह्यो। ४४६५ मतदान केन्द्र मध्ये जम्मा दुई मतदान केन्द्रको मतदानमात्रै स्थगित भयो।

स्थगित भएका मतदान केन्द्र दुवै रुकुम पश्चिम जिल्लाका हुन्। रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ५ को रत्न मा.वि. ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको हो। रत्न निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो। यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने छ। रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुनेछ। किनभने मतपत्र जल्दा ती स्थानमा तीतर्फको मात्र जलेका थिए।

मतपेटिका ल्याउँदै गर्दा विस्फोट
नुवाकोटमा मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट भयो। विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो। मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा विस्फोट भएको थियो तर कुनै मानवीय र भौतिक क्षति भने भएन।

दोलखामा पाँच राउन्ड हवाई फायर
हरेक निर्वाचनमा दोलखामा कुनै न कुनै अप्रिय घटना भइरहन्छ। यस पटक पनि भयो। तर हवाई फायरमै घटना टुंगियो। बैत्येश्वर गाउँपालिका–७ मार्वुमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मत हालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गर्‍यो। यस्तै गौरीशंकर गाउँपालिकाको सुरीमा वाम गठबन्धनका कार्यकर्ताले काँग्रेसका कार्यकर्तालाई लखेटेर मतदान केन्द्र कब्जामा लिन खोजेपछि केही बेर दुबै पक्षबीच झडप भयो। सोही गाउँपालिकाको जुँगुमा काँग्रेसका गाउँ सभापति ज्ञानबहादुर जिरेललाई कुटपिट गरेर मतदानस्थलबाट भगाएका थिए। दोलखा भिरकोटमा बुथ कब्जा गर्न खोज्ने वाम गठबन्धनका युवालाई प्रहरी नियन्त्रणमा लिए। तामाकोसी गाउँपालिका–१ एक्लेबारीस्थित वडा कार्यालयमा रहेको बुथमा वाम गठबन्धनले ल्याएका केही युवाले बुथ कब्जा गर्न खोजेपछि, प्रहरी नायब उपरीक्षकको कमाण्डमा रहेका प्रहरीले सात जना युवालाई पक्राउ गरे।

मतदान अधिकृतलाई कारबाही
लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परे। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपानेलाई राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन्। मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए। उनले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ। सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको थियो। मतदान केन्द्रमा विवाद भएपछि दुई घण्टाभन्दा बढी मतदान रोकिएको थियो ।

१०० नाघेका तीन मतदाता
नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन्। मतदाता परिचय पत्रमा उनको जन्म मिति विसं १९५९ साल चैत १० गते लेखिएको छ। यस्तै सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि मतदान गरे। यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरे।

तिङ्लामा नो भोट
यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले यस पटकको निर्वाचनमा पनि कोही पनि मतदानका लागि गएनन् । तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन्।

4 thoughts on “सोचेभन्दा शान्त रह्यो मतदान, कहाँ के-के भयो दिनभर? ६ महत्त्वपूर्ण घटना”

  1. रिमाल says:
    November 29, 2017 at 1:07 pm

    दोलखामा पाँच राउन्ड हवाई फायर : यो अलि सत्य खबर थिएन, यथार्थमा ने.का ले सेना र प्रहरीको बलमा अन्तिम क्षणमा बुथ कब्जा गर्ने प्लान गरेर सामान्य बिबाधमा एका-एक हवाइफाएर गरेर सर्बसाधारणलाइ मतदानकेन्द्रबाट भगाएको थियो र काँग्रेसका नेता तथा एजेण्टहरू जनतामाथि ढुङ्गामुडा गरी सेना/प्रहरीलाइ सहयोग गरिरहेका थिए तर बाम गठबन्धनका युबासामू उनिहरूको केही लागेन र ने.का का नेता कार्यकर्ताहरू बुथछोडेर भागेका थिए । यसको फूटेज हामी सँग सुरक्षित छ ।

    Reply
  2. Gags says:
    November 28, 2017 at 1:03 am

    सबै मिसन पत्रकारिता गरिराखेका छन्, राजनीतिका आधारमा

    Reply
  3. दिपेन्द्र says:
    November 27, 2017 at 11:58 am

    यो वामे पाठक परेछ । All other भनेको कुन ? यी सब मिडियामा आएको समाचार हुन्
    http://www.nagariknews.com/news/31203/
    http://thahakhabar.com/news/27150

    Reply
  4. Gags says:
    November 27, 2017 at 11:05 am

    Is this news or your personal opinion sir?
    All the other news portal say Nepali Congress tried to capture booth and did violence against other parties.
    ……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme