Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रकाश दाहालको मृत्यु : गाली गर्नेलाई गाली, ‘मृत्युपछि नानाभाँती भन्नु हुँदैन!’

Posted on November 19, 2017November 19, 2017 by Salokya


आइतबार एकाबिहानै फैलिएको खबरलाई धेरैले सुरुमा त फेसबुकमा देखिने फेकन्युज ठाने। हुन पनि उनीमात्र हैन कयौँ नेताको मृत्युको खबर यसैगरी फेकन्युज बनाएर फेसबुकमा छ्याप्छ्याप्ती बनाइएको थियो। तर यो रियल न्युज थियो। साँच्चिकै प्रचण्ड पुत्र प्रकाश दाहालले धर्ती छाडिसकेका थिए। मृत्युको बखत उनको निकटमा कोही भएन। बिहानै उठ्ने छोरा ढिलासम्म नउठेपछि हेर्न गएकी आमाले उनलाई अचेत फेला पारेकी रहिछिन्। दुई सुरक्षाकर्मीले अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको थियो। अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउँछन् नर्भिकका डाक्टरहरु।

आइतबारको दिन फरक थियो। अरु बेला प्रचण्ड र उनका छोरा प्रकाश दाहाललाई गाली गर्नेहरु नै आज भने गाली गर्नेहरुलाई गाली गरिरहेका देखिन्थे। नेपाली समाजको एउटा चलन छ- मरिसकेपछि मरिसकेको मान्छेका बारेमा नानाभाँती भनिँदैन। उसको राम्रो गुणको मात्र स्मरण गरिन्छ। नराम्रो गुणलाई छायामा पारिन्छ। त्यसैले सोसल मिडियामा आज उनको नराम्रो पक्षको बारेमा अलिकति पनि लेख्नेहरुले मानवीयता नभएको भन्दै निकै गाली खाए। अर्काको छोरो मारिँदा कस्तो भयो होला भनेर लेख्नेहरुलाई यो सही बेला हैन भनेर सामाजिक सञ्जालका मोरल पुलिसहरुले उपदेश दिने काम गरे।

पिताको पीडा

प्रचण्डले एक्ला छोरा प्रकाशलाई गुमाउनु चार वर्षअघि छोरी ज्ञानु दाहाललाई क्यान्सरबाट गुमाएका थिए। प्रकाश निकै पटक विवादमा मुछिए। एक पटक त प्रचण्डले उनलाई घरबाटै टाढा राख्ने निर्णय गर्नुपरेको थियो। धुलिखेलको फोटो, तीन वटा बिहे, सगरमाथा चढ्नलाई सरकारी सहयोग, सरकारले दिने घोषणा गरेको पदक आदि कयौँ विषयमा उनको नाम मुछियो।

४० वर्ष पनि नपुग्दै प्रचण्ड पुत्रले धर्ती छाडे। पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव थिए प्रकाश। प्रचण्डका धेरै कार्यक्रमहरुको फेसबुकबाट लाइभ गर्दै उनले पत्रकारहरुलाई समाचार संकलनका लागि सजिलो बनाइदिन्थे। शीर्ष नेताहरुका महत्वपूर्ण भेट र छलफलका फोटो पोस्ट गर्दिन्थे, सहमति र सम्झौताहरुलाई फोटो खिचेर हालिदिन्थे- प्रचण्डका छायाँसरहका उनी धेरैको समाचार स्रोत थिए।

छोराको मृत्युको खबर पाउँदा उनी झापामा थिए। आज चुनाव प्रचारका क्रममा उनले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम थियो। हेलिकप्टरबाट काठमाडौँ झरेका उनी सीधै अस्पताल नगई निवास पुगे। किनभने त्यहाँ पत्नी सीता दाहालको अवस्था नाजुक थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालबाट चिकित्सकको टोली जानु परेको थियो। यता सौता भित्र्याएर आफूलाई दुःख दिए पनि पतिको माया! पतिको शव देखेपछि सृजना त्रिपाठी अस्पतालमै बेहोस् भइन् र उनलाई त्यहीँ उपचार गराउनु पर्‍यो।

प्रचण्डलाई पिताको रुपमा गाह्रो थियो। उनले पार्टी कार्यालय पेरिस डाँडामा छोराको शरीरमा पार्टीको झण्डा ओढाए। आर्यघाटमा छोराको चितामा दागबत्ती दिने क्रममा समेत उपस्थितहरुलाई आभार प्रकट गर्न हात हल्लाउनु पर्ने पीडा पुत्रको निधनले मर्माहत् पिता प्रचण्डलाई थियो।

हल्लैहल्ला

एकाबिहानै सुरुमा हल्ला ‘फूड प्वाइजनिङ’ भएर मृत्यु भएको भन्ने थियो। पछि चोट लागेको अवस्थामा भेटिएको भनेर अर्को हल्ला भयो। जस्तासुकै हल्ला चले पनि त्यसको आधार भने थिएन। तर हट्टाकट्टा देखिने र पहिले कहिले सिरियस बिरामी भएको वा अस्पताल भर्ना भएको खबर कहिल्यै नसुनेको भएर मान्छे अचम्ममा भने पर्ने नै भए। पोस्टमार्टम भएन भनेपछि फेरि अर्को हल्ला। हुन पनि हल्लाका लागि तथ्य किन चाहियो, जे गरे पनि भयो हल्ला त।

भएको चाहिँ के?

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार प्रकाश दाहाललाई सडन कार्डियक अट्याक भएको हो। उनको मृत्यु सडन कार्डियल डेथ हो। मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले गरेको ट्विट अनुसार Heart Attack (हृदयघात) र Sudden Cardiac Arrest पर्यायवाची शब्द हैनन्।

पोस्टमार्टम किन गरिएन भन्नेलाई पनि उनले जवाफ दिएका छन्- २. SCA को कारण अटोप्सीबाट लगभग खुट्टिन्न। ३. SCA भनेपछि अन्य कुनै कुराको शंका नभई अटोप्सी गरिन्न।

डाक्टर भट्टका अनुसार मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रस्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो। हुनपनि अस्पतालमा ल्याउनु तीन घण्टा जति अघि नै उनको मृत्यु भइसकेको अनुमान डाक्टरहरुले गरेका छन्।

अस्पतालको विज्ञप्ति-
नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड”का सुपुत्र प्रकाश दाहालको देहान्त
काठमाडौं, मङ्सीर ०३, ०७४ । ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” का सुपुत्र प्रकाश दाहाल अचेत भई आज बिहान ५ः५० बजे दुई सहयोगीका सहयोगमा नर्भिकको आकस्मिक कक्षमा पु¥याइनु भएको थियो । तत्कालै आकस्मिक कक्षका चिकित्सकहरू डा. रविन्द्र प्रसाद यादव, डा. विमलेश श्रेष्ठ, नर्सिङ्ग स्टाफहरू एवम् स्वास्थ्य प्राविधिकहरूको टोलीद्वारा चिकित्सा जाँच गर्दा उहाँ पूर्णतया बेहोस् भइसक्नुभएको, हात–गोडाका सबै भाग निलो र कडा भईसकेको, शरीर पूरै चिसो भएको, श्वास–प्रश्वास पूर्णतया नरहेको, आँखाको नानी पुरै सुन्निएको (फुलेको), आँखामा प्रकाश (टर्च लाइट) पार्दा कुनै प्रतिक्रिया नआएको र ई.सी.जी. गर्दा सोको नतिजामा मुटुको गतिविधि पूर्णतया शुन्य पाइएको थियो । तत्पश्चात् उपचाररत चिकित्सकीय टोलीद्वारा उहाँलाई बिहान ५ः५९ बजे देहान्त भइसकेको घोषणा गरियो । चिकित्सकीय टोलीको प्रतिवेदन अनुसार हस्पिटल पु¥याउनुपूर्व नै उहाँको आकस्मिकरुपमा हृदयगति बन्द Sudden Cardiac Arrest भएका कारण देहान्त भएको बताइएको छ ।

भवदीय,
आर. पी. मैनाली
नायव महाप्रबन्धक – संस्थागत संचार
नर्भिक इन्टरनेशनल हस्पिटल

17 thoughts on “प्रकाश दाहालको मृत्यु : गाली गर्नेलाई गाली, ‘मृत्युपछि नानाभाँती भन्नु हुँदैन!’”

  1. Pingback: सन् २०१७ मा सबैभन्दा बढी पढिएका १७ ब्लग « Mysansar
  2. prithvi says:
    November 25, 2017 at 8:10 am

    प्रचण्ड को अकुत सम्पत्ति खानेहरु जत्ति भने पनि छन् ! दुइ दुइ वटा बैध अबैध बुहारी हरु छन्, छोरा पट्टिकै दुइ दुइ वटा नाति हरु छन्, अरु छोरी पट्टि त कति होलान ! छोरा मर्दा पनि कडै आवाज मा बोल्दैछ, जनता का छोरा छोरी लाइ कसरि मारेको थियो, किन सहानुभूति गरोस, मान्छे त क्रुर दानव नै रहेछ

    Reply
  3. Hari says:
    November 23, 2017 at 12:39 pm

    Rip

    Reply
  4. Sushil says:
    November 22, 2017 at 12:29 pm

    प्रकाशको गल्ति भनेर कसले भनेको छ र? त्यो त प्रचण्डले आफ्नो मान्छे अल्पायु मै जाँदा कस्तो हुन्छ भन्ने स्वाद पायो भनेर पो त….कांग्रेस र एमालेका दुइचार जना नेताले साइन गरेर सारा द्वन्द पीडितले आफ्नो पिडा भुल्छन भन्ने गलत मानसिकता नपालौं….तपाईंपो पिडित नहुनुहोला, अरु हुन्छन नि…..

    Reply
  5. prime says:
    November 22, 2017 at 9:26 am

    जानु यहि कुरा चिन को जनता हरु लै माओत्से संग किन सोधेनन भनि सोध्नु ….अर्जिन्तिना का गुए भारा संग सोध्नु ….. स्टालिन संग किन सोध्न ………त्यो युद्ध थियो जुन लडियो यहि युध को परिणाम आज सोसिअल मेडिया यति स्वन्तन्त्र छ ….यसकै परिणाम आज हामी यति स्वन्तन्त्र छौँ

    Reply
  6. Rabi says:
    November 21, 2017 at 10:58 am

    जन युद्ध को बेला हजारौं आमाहरुको कोख खालि हुदा कस्तो पिडा ति आमा हरुलाई परेको थियो त्यस्तै पिडा प्रचण्ड ले भोग्नु परेको छ l जनयुद्ध को मुख्य नेताको हैसियतले जो जसले अपराध गरेता पनि त्यसको जिम्मा प्रचण्ड ले लिनु पर्छ l यो जन्म को नराम्रो काम को प्रतिफल अर्को जन्म मा भोग्नु पर्छ भनिन्थ्यो तर यहि जन्म मा त्यो पनि आफै ले भोग्नु पर्यो l अब प्रचण्ड ले कसैको लागि भनेर धन सम्पत्ति जोड्नु पर्ने स्थिति रहेन l त्यसैले अब पश्चाताप गरि देशको हित को लागि देश बिकाशमा ध्यान दिनु पर्छ l अनि मात्र प्रकाश को आत्मा ले शान्ति पाउने थियो होला l किनकि देश भन्दा ठुलो अरु केहि छैन l

    Reply
  7. Shankar says:
    November 21, 2017 at 2:37 am

    हैन प्रिथ्बिजी
    ”यो के भन्न खोजेको? सत्यकुरा लेख्नु पर्छ, प्रकाश दाहाल होनहार असल व्यक्तित्व थिए, वहा र प्रचण्ड ज्युलाई मेरो शास्टाङ्ग प्रणाम छ” फेरी तपाइँ नै भन्नुहुन्छ
    ”गरिब सोझा साझा जनता लाइ घोची घोची पिटी पिटी मार्ने प्रचण्ड लाइ आज दैव लाग्यो ! अर्का लाइ मार्न खेलवाड सोच्ने ले आझ बुझे होलान पिडा भनेको के हो भनेर ! पुत्र शोक सबै भन्दा पिडाजनक हुन्छ ”

    तपाइँ ले तारिफ गरेको कि बिरोध ? हुन् त् हामि आम मान्छे ले जे गरे पनि कसैलाई के मतलब र तैपनि |

    Reply
  8. Arun says:
    November 21, 2017 at 2:23 am

    माने यो जनान्दोलन ले मर्न नसकेको प्रकाश लाई माने यो Acute Cardiac Attack ले मर्यो. अब हाम्रो अर्को जनान्दोलन मा यो ACA लाइ प्रयोग गरेर अघाडी बढ्नु हाम्रो पार्टीलाई हित हुनेकुरा हाम्रो थामयाई छ.

    Reply
  9. prithvi says:
    November 20, 2017 at 5:17 pm

    प्रकाश भुजेल ले फेसबुक मा लेखेको मन पर्यो: प्रकाश दाहालको अल्पायुमा भएको मृत्यु दुखद छ। त्यो भन्दा पनि दुख लाग्दो छ हाम्रो सामाजिक बनावट। प्रकाश दाहाल अल्पायुमा मर्नु हुन्थेन। तर प्रकाश दाहाल यो देशको सभासद,मन्त्री, फिल्मी नायक, प्राध्यापक, बैज्ञानिक, कुनै दलको नेता, सेना, पुलिस केही पनि थिएनन। प्रकाशको मृत्युमा देखिएको शोकको तमासाले हाम्रो समाजको चरीत्र शक्तिको पुजा गर्ने र रमीता हेर्ने भन्ने प्रमाणीत गर्दैन र ?
    राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, बिदेशी कुटनैतिक नियोगका कर्मचारी सबैलाई धैर्य धारण गर्ने शक्ति मिलोस ! गणतन्त्रमा पनि हामी युवराज नै खोज्छौं।

    Reply
  10. yubraj khatiwada says:
    November 20, 2017 at 10:21 am

    पुत्र शोक लाई शक्ति मा बदलेर देश को मुहार फेर
    देश का लाखौ युवा ले राष्ट्र पिता को सम्मान दिनेछन
    “हार्दिक समबेदना “

    Reply
  11. Shankar says:
    November 20, 2017 at 8:23 am

    अब प्रचण्ड ले सबै नेपालि का छोरा , छोरीलाई पनि आफ्नै जस्तो ठानेर इमान्दार भएर अगि बढे उसको राजनीतिक अनुभब काम आएको ठहर्छ र उसको छोरालाई हार्दिक समबेदना पनि हुन्छ |
    मृत्यु ले बेलाबखत ग्यान दिलाएको धेरै उदाहरण छ , रावण, दुर्योधन , अशोक, चन्द्र गुप्त आदि |
    तर न राम्रो चक्र मा फसेको मान्छे चै मृत्यु देखेर बदलिएला भन्नु पर्दैन | हेरौ आगे के हुन्छ |

    Reply
  12. prithvi says:
    November 20, 2017 at 3:37 am

    प्रचण्ड पुत्र मरेको तीन घण्टा पछी मात्र अस्पताल पुगेछन, यदी कुनै कारण ले अलिकती मात्र सास छदै पुगेको र डक्टर हरुले जती प्रयास गर्दा पनि बचाउन नसकेको भये त्यहा भएका सबै डक्टर लाई चण्ड मुण्ड हरु ले कुटेर धुजा धुजा पारीदिने थिए, डक्टर हरु को ज्यान बाच्यो, भाग्यमानी रहेछन । जे भए पनि दिवंगत आत्मा ले शान्ति पावोस !
    उमेश जी, माइ संसार ज्यु , मेरो कमेन्ट कृपया प्रकाशित गरिदिनु होला भन्ने अनुरोध गर्दछु, तपाइँ निर्भिक पत्रकार हो, तपाइलाइ पनि थाहा छ मैले लेखेको कुरा शत प्रतिशत सहि हो भनेर . सत्यकुरा लेख्नु पर्छ, प्रकाश दाहाल होनहार असल व्यक्तित्व थिए, वहा र प्रचण्ड ज्युलाई मेरो शास्टाङ्ग प्रणाम छ, तपाइँ लाइ पनि . यो प्रकाशित गरिदिनु है?

    Reply
  13. Prakash-EDM Canada says:
    November 19, 2017 at 11:31 pm

    मेरो बिचॉरॉ Acute Cardiac Attack र Chronic Maoist Attack दुबै बाट मर्ने युवाहरु र वहॉको परीबार प्रती सहानुभुती राख्नु पर्दछ। सबै अल्पायुमा म्रीत्यु सामना गरेका युवा हरुको आत्माले सान्ती पाओस!

    Reply
  14. prithvi says:
    November 19, 2017 at 10:47 pm

    आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो ! आखिर धनि गरिब शक्ति शालि जे भनेर घमण्ड गरे पनि जाने बाटो उही हो ! गरिब सोझा साझा जनता लाइ घोची घोची पिटी पिटी मार्ने प्रचण्ड लाइ आज दैव लाग्यो ! अर्का लाइ मार्न खेलवाड सोच्ने ले आझ बुझे होलान पिडा भनेको के हो भनेर ! पुत्र शोक सबै भन्दा पिडाजनक हुन्छ ! हाम्रो सनातन हिन्दु संस्कृति क्षमाशील छ ! जे भए पनि श्रद्धान्जली !

    Reply
  15. Robbie Rana says:
    November 19, 2017 at 4:38 pm

    मरेको लाशमाथि राजनीति गर्न खोज्नेहरुलाई के नै भन्न सकिन्छ र। धन्य रहेछ तिम्रो आत्मा !

    Reply
  16. पल्लवी लिम्बू says:
    November 19, 2017 at 4:29 pm

    हो त्यही सस्कार त हामी नेपाली को देशी पहिचान हो त।

    Reply
  17. Ram C Neupane says:
    November 19, 2017 at 4:20 pm

    पुस्पकमल दाहाल(प्रचण्ड)को छोरा प्रकाशकै कारण जनयुद्धमा १७००० मान्छे मरेका होइनन । तत्कालिन माओवादीले नेत्तृत्व गरेको जनयुद्धमा १७००० मान्छे मरेकामा तत्कालिन सरकार,राज्यका सम्पुर्ण संयन्त्र, जनयुद्ध गर्ने दल सबै जिम्मेवार छन । प्रकाशका गुण अवगुणका बिषयलाई लिएर मृत्यु पछि यति धेरै आक्रामक बन्नु र मृत्युमा रमाउनु कोहि कसैलाई आवश्यक छैन।कोहि ब्यक्ती छन् दन्दकालमा राज्य र माओवादी दुबै पक्ष बाट गलत तरिकाले मारिएका तर समिक्षा गर्ने समय होइन। #हार्दिक #समबेदना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme