Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनि ब्याज चाहिँ कति जम्मा भइसक्यो त एनआरएन सा’ब?

Posted on November 16, 2017 by Salokya

१० वर्षअघि एक फिलिपिनो युवतीको कुवेतमा हत्या भयो। आरोप लाग्यो नेपाली युवती डोल्मा शेर्पा माथि। त्यहाँको अदालतले डोल्मालाई मृत्युदण्ड सुनायो। त्यहाँको कानुन अनुसार पीडितले ब्लडमनी पाएमा आरोपीलाई माफ गर्न सक्छ। अर्थात् मृत्युदण्डबाट नेपाली युवती जोगिन सक्छ। २०६४ साल फागुन ५ गते नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाले एउटा अनौठो वक्तव्य निकाले। यसअघि कहिल्यै यस्तो वक्तव्य पढ्न पाइएको थिएन। यसअघि सरकारले बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका लागि मात्र चन्दा सहयोग रकमको आह्वान गर्थ्यो। त्यो दिन भने उनै डोल्माको सहयोगका लागि सरकारले ४ लाख रुपैयाँ सिड मनी राखेर बाँकी रकम सहयोग गर्न अपील गरिएको थियो।

यस्तो थियो विज्ञप्ति-

प्रेस विज्ञप्ति
एक फिलिपिन्सकी महिलाको हत्यामा आरोपित भै कुवेतको तल्लो अदालतद्वारा मृत्यु दण्डको फैसला सुनाइएकी सिन्धुपाल्चोक निवासी डोल्मा शेर्पाले कुवेतकै पुनरावेदन अदालतमा पुर्पक्षका लागि कानूनी उपचार खोजिरहेकी छन् । नेपाल सरकारका प्रतिनिधिले कुवेतको भ्रमण गरी संबन्धित पदाधिकारीहरु तथा डोल्मा शेर्पालाई समेत भेटघाट गरी उनको जीवन रक्षाका लागि यथासक्य सहयोग पुर्याउने प्रतिबद्घता व्यक्त भएको छ । हाल कुवेती अदालतद्वारा नियुक्त वकील मार्फत् डोल्माको मुद्दा पुनरावेदन अदालत समक्ष विचाराधीन छ तापनि उनको प्रतिरक्षा गर्न सक्षम वकीलको नियुक्ति हुन नसकेकोले सो को लागि पर्याप्त आर्थिक श्रोत जुटाउन नेपाल सरकार लागिपरेको कुरा र्सार्वजनिक भएकै छ । वर्तमान अवस्थामा डोल्माको कम्जोर आर्थिक पारिवारिक पृष्ठभूमि भएकाले प्रतिरक्षार्थ वकीलको सेवा वापत र मृतकको परिवारलाई दिइने क्षतिपूर्ति रकमसमेतका लागि निजलाई मोटामोटी रुपमा ने.रु. ५० लाख जति रकम लाग्ने बुझिएकोमा नेपाल सरकारले उनलाई सघाउन ने.रु. ४ लाखको सीड मनिको प्रवन्ध गरिसकेको छ । निजको जीवन रक्षार्थ आवश्यक अरु रकम संकलन मानवीयताको आधारमा नेपाल सरकारको उच्चतम प्राथमिकतामा परेको तथ्य हृदयङ्गम गर्दै यस दिशामा स्वदेश तथा विदेशका सम्पूर्ण इच्छुक महानुभाव, संघ/संस्था/संगठन/समाज आदि सबैलाई सक्दो रकम प्रदान गरी अविलम्व डोल्माको प्रतिरक्षा वकील नियुक्त गर्ने र क्षतिपूर्ति रकमको व्यवस्था गर्ने काममा सहयोग गर्न नेपाल सरकार यसै विज्ञप्ति मार्फत् हार्दिक अपील गर्दछ ।

हीराबहादुर थापा
प्रवक्ता,
परराष्ट्र मन्त्रालय
मितिः २०६४/११/०५

यही आधारमा ब्लडमनी जुटाउन संसारभरबाट रकम उठाउन थालियो। यसका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नै पहल गर्‍यो। ‘डोल्मा शेर्पा बचाउ अभियान’ नाममा एनआरएनकै पहलपछि थुप्रै रकम जम्मा भयो। ५० लाख रुपैयाँ जति उठेको अनुमान मिडियामा आएको छ। तर हिसाब पारदर्शी भएन। ब्लड–मनी, वकिल खर्चसहितमा लागेको हिसाब कटाएर पनि झन्डै ३२ लाख रुपैयाँ बाँकी रहेको भनी एनआरएनकै भित्रियाहरुले कुरा खुस्काए पनि जानकारी दिने कोही भएन। डोल्माका नाममा उठेको पैसा एनआरएनको कल्याणकारी कोषमा राखिएको भनिन्थ्यो। पछि आएर आधिकारिक रुपमा थाहा भयो, पैसा सानिमा बैंकमा राखिएको रहेछ। गएको असोज २८ देखि काठमाडौंमा भएको एनआरएनको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा डोल्माका नाममा उठेको रकम उनलाई हस्तान्तरण गर्ने गरी निर्णय हुँदै गरेको जानकारी एनआरएनका तत्कालीन अध्यक्ष शेष घलेले गराएका थिए। आठौँ सम्मेलनबाट पदाधिकारीहरु निर्वाचित भएको समाचार आयो। तर अहँ, डोल्मा शेर्पालाई रकम हस्तान्तरण गरेको समाचार कतै पनि आएन। अहँ, आउँदै आएन। किन त ? एनआरएनको अाइसीसी मिटिङ बस्नै सकेन। पदाधिकारीको मिटिङमा यो विषयमा कुरै मिल्न सकेन।

अकस्मात् एनआरएनका प्रवक्ता भूषण घिमिरेको नाममा एउटा विज्ञप्ति आयो-

विज्ञप्तिमा अभियानका क्रममा ३७ लाख ४९ हजार ७४१ रुपैयाँ जम्मा भएको, त्यसबाट तीन लाख मात्रै खर्च भएको,८ फेब्रुअरी २००९ मा एनआरएनको अन्तराष्ट्रिय समन्वय परिषदले डोल्माको छोराको अध्ययनका लागि अध्यक्षकोष संकलन गर्न ३ लाख दिने र बाँकी ३१ लाख ४९ हजार ७४१ रुपैयाँ संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गरी यस्तै खाले अन्य काममा प्रयोग गर्ने निर्णय गरेको उल्लेख छ।

त्यसअनुसार ३ लाख डोल्माको छोरालाई हस्तान्तरण भइसकेको छ भने बाँकी रकम एनआरएनको खातामा छ भनिएको छ। ८ वर्षसम्ममा त्यो रकमको ब्याज कति भयो, त्यसको हिसाब किताब छैन। ब्याज नआउने खातामा पैसा राखिएको हो कि ब्याज आएको जति खाएर मास्न पाइने गरी खातामा राखिएको हो भन्ने प्रश्नको पनि जवाफ छैन।

अब त्यो रकम कस्तो अवस्थामा प्रयोग गर्न पाउने हो, कसैको लहडमा जे गरे पनि पाइने हो कि कुनै निर्देशिका बनाएर त्यस अनुसारमात्र खर्च गर्न पाइने हो, त्यो पनि स्पष्ट छैन। ५० लाखको कुरा आएकोमा ३७ लाख जम्मा भएको भनिएको छ, पैसाको कुरामा कसले कति सहयोग गर्‍यो भन्ने हिसाब किताब त पक्कै होला, सार्वजनिक गर्नुपर्ने माग नगर्दै पारदर्शिताका लागि हिसाबकिताब देखाइदए भएन?

4 thoughts on “अनि ब्याज चाहिँ कति जम्मा भइसक्यो त एनआरएन सा’ब?”

  1. purushottam nepal says:
    November 18, 2017 at 11:59 am

    सबैतिर स्याल नै स्याल , सबै को धन देखे पछि र-यालै र्याल , छि कति घिन लाग्दो ब्यबहार ? सरकारलाई पाठ सिकाउनु पर्नेमा यी nrn का स्यालहरु पनि चोक्टा लुछ्न पछि परेनन् थुक्क !

    Reply
  2. Kishor says:
    November 16, 2017 at 7:38 pm

    Nepali ho ki bideshi, hatyara lai subidha ko kura garda malai laaj lagchha. Uni bachin despite the crime, please save that money and only help innocent life. We should never reward a criminal.

    Reply
  3. Sunil, London says:
    November 16, 2017 at 3:40 pm

    शेष घले ले के भने त्यो मलाई थाहा भएन….डोल्मा ले हत्या गरेकै हो यसमा शंका गर्ने ठाउँ रहेन….एक जना नेपालीले बिदेशमा गएर मान्छे नै मार्दा पनि सहानुभूति प्रकट गर्दै पैसा जम्मा गरेर उनलाई नेपाल सम्म फर्काउन सहयोग गर्नु लाई चानचुने कुरा भन्न मिल्दैन..के कुनै नेपालीले नेपाल मा कसैको हत्या गर्यो भने, कसैले पैसा उठाएर उसलाई सहयोग गर्ला त ? तर विदेश गएर कसैको हत्या गर्ना साथ उसले त्यो सुबिधा पाउनु पर्ने ?
    ठिकै छ एकपटक उनले सहयोग पाइन् र नेपाल फर्की सकिन , अब उनलाई जीवनयापन गर्न का लागि त्यो बाकी पैसा दिने निर्णय गर्ने विद्वान लाई के भन्ने ? के मान्छे मार्ने लाई पेन्सन को व्यवस्था ? शेष घले धनि छन् , त्यस्ता मान्छे लाइ पैसा वितरण गर्न उनले एउटा निजि संस्था आफ्नै पैसाले खोलिदिए हुने नि……
    हालै साउदी अरब मा ट्रक दुर्घटनामा (हत्या गरेका हैनन्) एकजना नेपालीले ब्लड मनि तिर्नु पर्ने र निज निकै गरिब भएको कुरा पढेको थिए , त्यो पैसा यस्तै कार्यमा खर्च गरे हुन्न र ?
    यसरि पैसा उठाउदै हत्या गर्ने हरुलाई नेपाल फर्काउदै लाखौ रकम वितरण थाल्यो भने अरु नेपालीले पनि धनि हुने सपना देख्दै त्यस्तै कार्य गर्न थाल्लान, सजग रहनु पर्यो ….
    उमेश जी लाई एउटा प्रश्न , संखुवासभा तिर का एकजना अनिश खालिंग राई भन्नेले पनि ब्लड मनि तिरेर बचेको पैसा बैंक मा राखेर ब्याज खादै छन् अरे , कसैले भेट्न खोजे सम्पर्कमा आउनै नखोज्ने र सम्पर्क भै हालेमा त्यो पैसा संस्थाको नाम छ भन्ने जवाब दिनेगरेको जानकारी पाएको छु , त्यो कुन संस्था हो पत्ता लगाउने जिम्मा तपाइको….
    NRN ले कपिलवस्तु तिरका ति ट्रक दुर्घटना मा पर्ने गरिब नेपालीको घर मा सम्पर्क राखी उनलाई नेपाल फर्काउन का लागि यो पैसा प्रयोग गरे आफ्नो इज्जत पनि जोगिन्थ्यो, कसैको उद्धार पनि हुन्थ्यो र भविष्यमा आपतविपत मा परेका का लागि सहयोग रकम उठाउने बाटो पनि खुल्थ्यो…

    Reply
  4. Saroj says:
    November 16, 2017 at 1:59 am

    NRNA kun chara ko naam ho yo….literally bhannu parda jata pani thagi kai dhanda huncha…NRNA yestai chorharuko Association ho…janani janmabhumishcha swargadapi gariyesi ta ukhan ho….jata bhaye pani j bhaye pani ma chai jay desh…jay nepal

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme