Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरा नगएको धेरै भयो? यी हुन् पोखरामा देखिएका १० परिवर्तन

Posted on November 11, 2017November 11, 2017 by Salokya


पोखरा नगएको धेरै वर्ष भइसकेको थियो। गएको हप्ता छोटो समयका लागि पोखरा जाँदा पहिलेको पोखरा र अहिलेको पोखरामा केही फरक देखियो। के-के फरक देखियो त? हेरौँ।

१) फरक बिन्दबासिनी मन्दिर

पोखराको पहिचान हो बिन्दबासिनी मन्दिर। बिन्दबासिनी मन्दिर भन्ने बित्तिकै सानो चिटिक्क परेको गोलो मन्दिर दिमागमा आउँछ। तर अहिले भने त्यो मन्दिर नै छेकिने गरी संरचना बन्दै रहेछ।

त्यहाँ राखिएको प्रचार सामाग्री अनुसार प्रदक्षिणा पथ रहेछ त्यो बन्दै गरेको। कसैलाई राम्रै लाग्ला, मलाई भने मौलिक स्वरुप बिगारेको देख्दा भद्दा लाग्यो। यस्तो बन्दै रहेछ अब-

२) हर्न बज्दैन अहिले

पोखरामा भएको सकारात्मक परिवर्तन चाहिँ त्यहाँ अहिले हर्न बजाउन लागेको रोक रहेछ। काठमाडौँमा वैशाख १ गतेदेखि हर्न बजाउन रोक लागेको थियो। बरु काठमाडौँमा अहिले हर्न फाट्टफुट्ट बज्ने गरेको छ तर पोखरामा भने हर्न निषेधको राम्रोसित पालना भएको देखियो। विदेशमा जस्तै पोखरामा पनि कान आनन्द आउने भएछ।

३) चिप्लेढुंगाको संरक्षण

पहिले पोखरामा आउँदा चिप्लेढुंगा ठाउँको नाम चाहिँ थाहा हुन्थ्यो, ढुंगो कुन भनेर चाहिँ खोज्नै पर्ने स्थिति थियो। अहिले भने चिप्लेढुंगाको वरपर बार लगाएर त्यहाँ चिप्लेढुंगा लेखेर समेत राखिएछ। मुन्तिर चिप्लेढुंगाबारे श्रुतिकथा पनि नेपाली र अङ्ग्रेजीमा राखिदिएको भए पर्यटकलाई अझ राम्रो हुन्थ्यो।

४) सोलार लाइटले झलमल्ल

पोखराका मुख्य सडकहरु सोलार लाइटले झिलिमिली भएका रहेछन् अहिले। कुनै सोलारको खम्बामा त तिब्बतबाट डोनेसन आएको भनेर समेत लेखिएको रहेछ। अहिले पोखराका सडक अँध्यारो नहुने भएछ।

५) डुंगाको स्वरुप फरक

पहिले भए तालबाराही जानका लागि एउटा डुंगामा बसेर जाने गरिन्थ्यो। अचेल भने दुई वटा डुंगा जोडेर बनाइएका डुंगा चलाइने रहेछ। ती डुंगामा बस्ने सिटसमेत रहेछ। अनि छाना पनि बनाइएको रहेछ। भाडामा लिएर चलाउने डुंगा सिङ्गल भए पनि मन्दिर चाहिँ यस्तै डुंगामात्रै लगिने रहेछ।

६) लाइफज्याकेट अनिवार्य

अचेल फेवातालमा बोटिङ गर्न लाइफ ज्याकेट अनिवार्य बनाइएको रहेछ। लाइफ ज्याकेट १० रुपैयाँ प्रति पिस धरौटी राखेर लिनुपर्ने रहेछ। अनि फेवातालमा डुंगा चढ्नका लागि लाइन बस्नका लागि फलामे सिट पनि बनाइएको रहेछ।

७) जाम हुन थालेछ

काठमाडौँ जस्तो अति त हैन हल्का जाम हुन थालेछ अहिले पोखरामा। जाम हुने मुख्य ठाउँमा चाहिँ पृथ्वीचोक पनि पर्ने रहेछ।

८) केएफसी खुलेछ

पोखरामा पनि केएफसी खुलेछ। धेरै वर्षसम्म काठमाडौँको दरबारमार्गमा मात्र खुम्चिएको केएफसीले काठमाडौँ बाहिर पोखरामा पहिलो शाखा खोलेको हो।

९) नाइट लाइफ

पोखराको लेकसाइडको नाइट लाइफ पहिलेभन्दा रमाइलो भएछ। सोलार लाइटको उज्यालो त छँदैछ नयाँ नयाँ रेस्टुरेन्ट र क्लबहरु थपिएछन्। हुक्काका लागि प्रख्यात ब्रान्ड कोयलाको पनि पोखरामा उपस्थिति भएछ। आफूलाई फरक देखाउन उसले ठूलो बेलुन राखेको रहेछ जुन टाढाबाट समेत देखिन्छ।

१०) शालिक गायब

पोखराका मुख्य मुख्य चोकमा रहेका शालिकहरु गायब भएका छन्। अमरसिंह चोकमा रहेको अमर सिंह थापाको शालिक, जिरो किलोमिटरको शालिक हटाइएको छ। पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक त उहिले नै हटाइएको थियो। त्यसपछि त्यहाँ शहिद लखन थापाको शालिक राखिएको थियो। महानगरले त्यो शालिक हटाएपछि ठूलो विरोध भयो र अहिले शालिक पुनः त्यहीँ राखिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme