Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काग कति बाठो, पत्याउनै गाह्रो हुने ६ उदाहरण

Posted on October 17, 2017October 17, 2017 by Salokya


हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आजदेखि सुरु भएको छ। पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवर्द्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका। हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन। तिहारको विशेषता नै यही हो। दीपावली र दीवाली त लक्ष्मीपूजालाई मात्र जनाउने शब्द हो। तिहार आजदेखि सुरु भयो र सुरुमा गरियो कागको पूजा। यसो हेर्दा लाग्न सक्छ, यो व्यर्थको कालो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्। नपत्याए भित्र केही उदाहरण पढ्नुस्। 

कागले तपाइँको अनुहार सम्झन सक्छ

​कागको समूहमा गएर कुनै एउटा कागलाई हेर्नुस्। अर्कोपटक त्यही समूह भेट्दा तपाइँले पहिले हेरेको काग खोज्नुस्। अहँ, पत्ता लगाउन गाह्रो छ, किनकी ती सबै काला र उस्तै हुन्छन्। तर तपाइँले पहिले हेरेको कागले भने तपाइँलाई चिन्छ। सिएटल विश्वविद्यालयका विद्यार्थीहरुले कागमाथि गरेको अध्ययन अनुसार कागले मान्छेको अनुहार चिन्छ।

अध्ययनका क्रममा विश्वविद्यालयका वैज्ञानिकले ७ वटा कागलाई समातेर उनीहरुमा एउटा चिनो लगाएका थिए। कागलाई समाउँदा र चिनो लगाउँदा वैज्ञानिकले छालाकै रंगको मास्क लगाएका थिए। समूहमा छोडिएका ७ वटा कागले जतिपटक मास्क लगाएका ती वैज्ञानिकलाई देखे उनीहरुमाथि खनिए। यो अध्ययनले कागले हरेक मान्छेलाई चिन्छ भन्ने मात्र पत्ता लागेन, कागले बदला लिन्छ भन्ने पनि पत्ता लाग्यो।

अध्ययनका क्रममा त्यस्तै मास्क लगाएर अन्य (जो काग समाउने र चिनो लगाउने काममा समावेश थिएनन्) व्यक्तिहरुलाई कागका अगाडि घुमाइयो तर कागले कुनै प्रतिक्रिया जनाएनन्।

​

कागले षडयन्त्र थाहा पाउँछन्

त्यसो भए ती वैज्ञानिकहरुमाथि काग किन खनिए त? यहाँसम्म कि जुन कागलाई समातिएको थिएन ती कागले पनि मास्कधारी वैज्ञानिकमाथि धावा बोले। कारण सजिलो थियो, समातिएका कागले अरु कागलाई त्यो कुरा भने। वैज्ञानिकहरुले के पत्ता लगाए भने कागले ‘का का’ गर्दै हल्ला मात्र गरेका हुँदैनन्, उनीहरुले एकआपसमा कुरा गरिरहेका हुन्छन्। उनीहरुको आफ्नै भाषा हुन्छ।

अध्ययनकै क्रममा देखियो कि एउटा समूहको कुनै कागले तपाइँलाई कहिल्यै देखेको छैन तर समूहको कुनै एउटा कागलाई तपाइँले केही नराम्रो गर्नुभएको छ भने तपाइँलाई सबै कागले चिन्छन्। किनकि तपाइँको बारेमा एउटा कागले अरु सबै कागलाई बयान गरिसकेको हुन्छ।

यो समूहमा मात्र नभएर जेनेरेसनसम्म पुग्छ। त्यसैले तपाइँले एउटा कागलाई ढुंगा हानेर धपाउनु भएको छ भने त्यसको सन्तानसम्मले तपाइँलाई चिन्छ। त्यतिमात्र हैन, कागले तपाइँलाई नदेखि पनि तपाइँले कागविरुद्ध गरेको षडयन्त्र आवाजबाटै थाहा पाउँछ।

सम्झनाशक्ति

क्यानडाको ओन्तारियो प्रान्तको चथाम् भन्ने ठाउँमा कागहरुले आफ्नो बसोबास सुरु गरे र आफ्नो बसाइँसराइको रूट त्यही राज्यलाई बनाए। फार्मिङका लागि प्रख्यात ठाउँमा लाखौंको संख्यामा कागहरुको आवजतावत हुन थाल्यो। त्यसले फार्मिङमै असर गर्‍यो। फलस्वरुप त्यहाँका मेयरले सबै काग मार्ने घोषणा गरे। त्यो बेला चथाम्‌मा कम्तिमा ६ लाख काग रहेको अनुमान गरिएको थियो। ६ लाख मध्ये कम्तिमा ३ लाख काग मार्ने योजना थियो।

तर काग समुदायले यो षडयन्त्र थाहा पायो। काग मार्ने घोषणा भएकै दिन शिकारीहरु काग मार्न हिँडे तर जम्मा एउटा मात्र काग मार्न सके। त्यो वर्ष राज्यले त्यही एउटा कागभन्दा बढी मार्न सकेन।

एउटा काग मरेको हल्ला काग समुदायमा यति छिटो फैलियो कि सबै कागहरु त्यहाँबाट भागे अथवा शिकारीले ताक्ने निशानाभन्दा माथिबाट उडन थाले। ६ लाख कागमा जम्मा एउटाको मात्र मृत्यु भयो। कालान्तरमा त्यो एउटा काग मरेको स्थानबाट सबै काग बसाइँ सरे। त्यो एउटा काग मरेको वर्षौंपछि पनि बसाइँसराइको क्रममा समेत कुनै पनि काग पहिला काग मारिएको स्थान वरिपरी गएका छैनन्।

उपकरण र समस्या समाधान

कागमाथि अध्ययन गर्ने शोधकर्ताहरुले प्रारम्भिक चरणमा एउटा तारमा मासुको टुक्रा बाँधेर कागले कसरी समस्या समाधान गर्छ भनेर हेरे। हुनत, कागको बारेमा एउटा कथा नै छ, गाग्रोमा रहेको आधा पानी खान नपाएपछि ढुंगा टिपेर गाग्रोमा भर्दै पानी माथिसम्म ल्याएर खाएको कथा। तर यो कथाको वैज्ञानिक पुष्टि भएको छैन र यसैलाई आधिकारिक पनि मानिँदैन। पछिल्लो चरणमा कागको एक प्रजातिमाथि गरिएको अनुसन्धानले भने कथासँग मिल्दोजुल्दो तथ्य पत्ता लागेको छ।

यो अध्ययनमा कागलाई एउटा साना साना ढुंगा भएको कोठामा राखिएको थियो। त्यही कोठामा पानी भएको ट्यूबमा कागले नभेट्ने गरी गड्यौला राखियो। यो अध्ययनको क्रममा दुईवटा कागले दुईपटक ट्रिक पत्ता लगाउन प्रयास गरे र अरु दुईवटा कागले पहिलो प्रयासमै सफलता प्राप्त गरे। यसको सबैभन्दा महत्वपूर्ण कुरा कागले आफ्ना गल्ती र खराब प्रयास मात्र पत्ता लगाएनन्, उनीहरुले ट्युबबाट बढी पानी बाहिर निकाल्न र गड्यौला भेटिने गरि ठूला साइजका रोडा समेत हाले।

योजना

धेरैलाई योजनामा खासै चाख हुँदैन किनकी योजना बनाएपछि काम गर्नुपर्छ। मानिसमात्र नभएर प्राय: जनावरले योजना बनाउँछन् तर यी सबैमा काग अगाडि छ। काग अवसरवादी चरा हो, त्यसैले यसलाई चोरको रुपमा चिनिन्छ। कागले कुनै कुरा खानेकुरा खाइरहेको छ भने उसले जहिले पनि अर्को कागबाट लुकाउँछ। यदि अरु कसैले देखेको वा हेरेको थाहा पायो भने यसले आफूसँग केही नभएको अभिनय गर्छ। अझ उसले खानेकुरा आफ्ना खुट्टातिर लुकाएको नाटक गर्छ तर वास्तविकतामा उसले खानेकुरा आफ्नो छातीमुनि लुकाएको हुन्छ। जब काग खानेकुरा बोकेर उड्छ तब अर्को हेरिरहेको काग उसलाई पछ्याउन थाल्छ। उसलाई थाहा हुन्छ कहिलेकाहीं बाठो हुँदा बल्ड्यांग खानसक्छ। यसले काउन्टर र इन्काउन्टरको स्थिति पैदा गर्छ।

सिक्ने क्षमता

कागले मान्छेहरुको व्यवहारलाई नजिकबाट नियालेको हुन्छ र प्राय: त्यसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छ। केहीले कागले फुटपाथमा विष्टा खसाउँदाको उचाइको बारेमा अध्ययन गरेका छन्। तर कतिपय अवस्थामा उनीहरुले गुरुत्वाकर्षणको नियम अनुमान नगरी बस, कारको माथि विष्ट्याइदिन्छन् र हामीलाई उनीहरुको विष्टा सोहोर्न लगाउँछन्।

यी कागहरु बाटोमा विष्ट्याउनु पर्दा ट्राफिक बत्तीको पनि याद गरिरहेका हुन्छन्। त्यसको समय, स्पीड सबै कुरा कागले नजिकबाट नियालेका हुन्छन्। उनीहरु ठ्याक्क रातो बत्ती बलेको बेला कारमाथि वा हरियो बत्ती बलेको बेला पैदलयात्री माथि विष्ट्याइदिन्छन् जसका कारण मान्छेहरुले कागमाथि आक्रमण गर्ने समय नरहोस्। यदि तपाइँलाई ड्राइभिङको अनुभव छ भने तपाइँलाई थाहा होला, जम्मा १० प्रतिशत मान्छेहरुसँग मात्र यो गतिसँग तालमेल गर्नसक्ने क्षमता हुन्छ। (स्रोतः क्रायक्ड)

यो भिडियोमा एउटा कागले कसरी ओखर खान्छ भनी देखाइएको छ। ओखर फुटाएर खान कागले आफ्नो चुच्चोले सक्ने कुरा हैन। त्यसो भए उसले के उपाय अपनाउँछ त ?

जापानको एउटा सहरमा बीबीसीले खिचेको यो भिडियोमा देख्‍न सकिन्छ, कागले विभिन्न उपाय अपनाएको छ। सुरुमा कागले ओखर आकाशबाट सडकमा बजारेर फुटाउने आइडिया निकालेको छ। अर्को कागले गाडीको पाङ्ग्राले किचेर ओखर फुटाएर खाने आइडिया निकालेको छ। गाडीको पाङ्ग्राले ओखर फुट्दा पनि त्यो खान गुडिरहेको गाडीले किच्ने डर भएकोले जेब्रा क्रसमा लगेर ओखर खसाल्ने अनि ट्राफिक लाइटमा गाडी रोकिएपछि खान जानेसम्मको बुद्धि कागले लगाएको छ।

देख्‍नुभो त काग कति बुद्धिमान !

8 thoughts on “काग कति बाठो, पत्याउनै गाह्रो हुने ६ उदाहरण”

  1. Deep Sharma says:
    October 22, 2017 at 3:42 pm

    काग कतिसम्म चलाख हुन्छ हेर्नुस भिडियो

    https://www.youtube.com/watch?v=cbSu2PXOTOc

    Reply
  2. Suresh says:
    October 20, 2017 at 12:14 am

    हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन।……
    यो चै अलिक भन्न मिल्दैन. किनभने भारत मा बस्ने नेपाली भासी हरु सबैले यो सबै तिहार मनाउछन. अरु देश मा पनि बस्ने नेपाली भासी हरु ले काग तिहार देखि लिएर सबै तिहार मनाउछन.

    Reply
  3. shashwat says:
    October 18, 2017 at 1:39 am

    MAF PAUN SALOKYA SIR ! राम्ररी PADHENA भने येस्तई हुन्छ !

    Reply
  4. shashwat says:
    October 17, 2017 at 10:54 pm

    ब्रो येसो क्रेडिट दिएर लेखे हुन्छ नि . सरासर सारिएको लेख लाइ क्र्याकेद. कम बाट.

    Reply
    1. Salokya says:
      October 17, 2017 at 11:07 pm

      ब्रो पढ्नुपर्‍यो नि लिङ्कब्याकदेखि क्रेडिट सब छ। हेर्न छुटाउने अनि गुनासो गर्ने त भएन नि हजुर

      Reply
  5. Utsab KC says:
    October 17, 2017 at 11:41 am

    Yo chai ali biswas lagena, kunai time ma mero auta sathi le “barakhi” bareko thiyo, i guess he was only 14-15 then, he destroyed auta kag ko nest because of some reason I forgot, tyo kaag le uslai tyo seto luga na fukalunjel harek choti bato hid da attack garthyo tara usle seto luga fukalera normal luga launa thaleko din dekhi nai uslai tyo kaag le attack garena!!! Aba Samyog le usle seto luga fukalekai din tyo kaag morya vaye chai khai!!!!

    Reply
  6. Shankar says:
    October 17, 2017 at 5:26 pm

    काग ले धेरै बाठो भएकोले आची खान्छ भनेको चै के हो कुन्नि??

    Reply
  7. Rahar Nembang says:
    October 17, 2017 at 8:18 am

    Hoho kaag le chincha. Maile ni jamanama kaag ko gud vatkai deko thiye. Paxi samma thungna lai khedauthyo malai. Tes paxi ti kaag haru kata gaye patto vayena. Gharbar vatke paxi biraktiyera katai lagey holan.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme