-मनोज बाबु पनेरु-
म भित्तो हेरिहरहेको छु। कोठाको भित्तोमा टाँसेर राखिएको टेबलमा बिराजमान ल्यापटको स्क्रिनमा। फेसबुकको भित्तो। यो डिजिटल भित्तोमा मधुर प्रकाश सहित टल्किएको प्रश्न, “तपाईको दिमागमा के छ ?” यो निकै सोचनीय र घोचनीय प्रश्न हो। साँच्चै मेरो दिमागमा के छ। म आफैलाई खोतल्न थाल्छु। केही छिन अगाडि म भबिष्यका योजनाहरुको बारेमा सोचिरहेको थिएँ। फत्ते गर्नुपर्ने कर्महरु सम्झेर मन पुरै अल्छी मानिरहेको थियो। बोर लागेर ल्यापटप अन गरेको हुँ। सामान्यतया बोर लागेको बेला ल्यापटप खोल्नु भनेको फेसबुक खोल्नु हो। यसपाली पनि भएको त्यही थियो।
भित्ताहरु सदियौदेखि मानिसको लागि लेख्ने–कोर्ने ठाउँ ठहरिदै आएका हुन् । प्राचिन गुफाका भित्ताहरुमा प्रचिन मानवले अंकित गरेका शिकार, संघर्ष, उत्सुकताहरु । भित्ताहरु आफैमा निर्जीव हुन् तर तिनमा कुदिएका चित्र, चिन्ह वा अक्षरहरुले ति भित्ताहरुमा ज्यान फुकिदिएका हुन्छन् । सदियौ पछाडि कुनै पुरातत्वविदहरुले ति भित्तालाई सजिब व्याख्या गरिदिन्छन् । अनि ति भित्ताहरु व्यक्त हुन्छन्, पुरातत्वविदका अनुमानहरुमा ।
आफ्नै जीवनकालमा आफ्नै गाउँ शहरका भित्ताहरुमा लेखिएका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका, संघियता, समानुपातीक, समाबेसीता । आफ्नै बुता अनुसार तथा म बरिपरीकाको धारणा अनुसार मैले बुझेथे । ति युगका आवाजहरु भनिन्थे । कति पुरा भए कति बाँकी छन् लाग्छ हिसाब अझै बेरुजु छ ।
स्कुल–कलेजका शौचालयका भित्ताहरुमा अंकित चिन्ह र उद्गारहरु उमेरका आवेगहरु थिए । त्यसको आयाम पनि मैले महशुस गरेको हुँ । कहिले–कहिले सहभागी पनि भएको हुँ ।
आज, आधुनिक प्रबिधीले ठड्याएको फेसबुकको भित्तो छ । म निरन्तर कोरिरहेको छु । हेरि रहेको छु । कहिले आबेग, कहिले मत, कहिले तर्क, कहिले कुण्ठा, कहिले रिस, कहिले उत्सुकता, कहिले गुनासो, कहिले निराशा, कहिले अडम्बर, कहिले दार्शसनिकता, कहिले अनुमान, कहिले चाकरी आदी इत्यादी, अनन्त । फेसबुका भित्ताहरुमा फोटाहरु, चित्रहरु पनि प्रशस्तै राखिन्छन् । तिनका नि अर्थ, राख्दाका भाव र राख्नुका कारण विभिद छन् । एउटा समानता छ । तिनले धेरै “लाइक्स्” पाउँछन् ।
फेसबुकले मिसिल बनाएर राखिदिएको छ वितेका समयहरुलाई । र म आफैलाई आफ्नै मिसिलहरुमा खोजिरहेको छु । आज भन्दा सात, आठ वा तीन बर्ष अगाडिको म, फेसबुकमा पहिलोपटक कोरेको म । क्रम मिलाएर हेरे पनि भयो, उसै हेरे पनि भयो । एउटा छुट्टै रमाईलो छ यसमा । बेला बेला लाग्छ के म त्यही हुँ । कि त्यो अरु कोही नै थियो । अनि म अहिले अरु कोही हुँ । यसमा आफैलाई हेर्दा लाग्छ । यस भित्र, म छु पनि । म छुइन पनि । म हुँ पनि । म हुइन पनि । तर पनि अझै म, मैपनि । किनकी यो मेरो नामको भित्तो हो । कतिले त मलाई यही भित्तैमा मात्र पनि चिनेका छन् । कति समानता होला यो भित्तोको म र त्यो भित्तो बाहिरको ममा । साच्चै छक्क लाग्छ । यो भित्तोको म जतिकै खुशी छु त म ? यो भित्तोको म जतिकै बुझ्की छु त म ? यो भित्तोको म जति कै परोपकारी छु त म ? यो भित्तोको म जतिकै निस्वार्थी–निश्पक्ष छु त म ? यो भित्तोको दार्शनिक बुझाईको मजतिकै गहिरो बुझाइकु छु त म ? के यो भित्तोको म जतिकै सुन्दर छु त म ? यि उत्तर दिने–हुने अपेक्षा बेगर गरिएका प्रश्नहरु हुन् ।
समयले दुःख हराउने होइन सम्झनामात्र भुलाउने हो । न त समयले खुशी वा दुःख ल्याइदिने हो । समयले ल्याइदिने भनेको परिवर्तन मात्र हो । त्यो समय परिवर्तन भएको होइन । म आफै परिवर्तन भएको हुँ, पक्कै । त्यही प्राचिन गुफाको भित्तो जस्तै, भित्तो हो यो । परिवर्तीत, त्यही भित्तो हो यो । यो आजको भित्तो जुनमा म निरन्तर कोरिइरहेको छु । कुनै डीजीटल उत्खननमा अचानक भेटिएमा मेरो भित्तो हेरेर के अर्थ लगाइँदो हो कुन्नि ?
स्टुटगार्ट, जर्मनी