Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बौद्ध भिक्षुले मात्र घण्टी बजाउने बुझेछन् प्रचण्डले

Posted on October 12, 2017 by Salokya

प्रचण्डले दुई दशकभन्दा लामो समयपछि खै के कुरा बुझेर हो यो वर्षदेखि टीका लगाउन र लगाइदिन थालेछन्। त्यसअघि टीका लगाउने भन्ने कुराप्रति उनी नकारात्मक नै थिए। त्यही भएर लगाएनन्। हिजोको उनको एउटा भाषणले उनलाई बौद्ध भिक्षु पनि त्यति राम्रो नलाग्ने भन्ने बुझियो। हुन पनि बौद्ध धर्म शान्ति चाहने। बुद्ध शान्तिका प्रतिक। उनी हिंसात्मक आन्दोलनमा विश्वास गर्ने, १७ हजार मारिएको आन्दोलनका सुरुवातकर्ता। हिंसा र अहिंसाबीच यसै पनि अन्तर्विरोध हुने नै भयो। हिजो नेकपा संयुक्त आफ्नो पार्टीमा एकीकरण हुने समारोहमा उनले बौद्ध भिक्षुबारे नकारात्मक कुरा ओकले। भने, घिसापिटा तरिकाले घण्टी बजाइमात्र रहन्छन् बौद्ध भिक्षु।

सुन्नुस् उनले के भने? तल भिडियो नखुले यहाँ क्लिक गर्नुस्–

उनले कहाँ देखेका हुन् बौद्ध भिक्षुले घण्टी बजाइरहेको, त्यो त भनेनन्। घण्टी त हिन्दु बाहुनहरुले पनि बजाउँछन्। बिहान बिहान पूजाआजा गर्दा घरघरमै पनि बज्छन् घण्टी। शायद् उनको घरमा पूजाआजा हुँदैन, त्यसैले नदेखेका होलान्। तर हिन्दु बाहुनहरुले पूजा गर्दा घण्टी बजाएको त देख्नुपर्ने हो, देखेका रहेनछन् शायद्। उनले भैँसी पूजा गर्दा बाहुनले घण्टी बजाएनन् होला शायद्।

बुद्ध धर्मका सबै बौद्ध भिक्षुले घण्टी बजाउँदैनन् भन्ने कुरा प्रचण्डलाई पत्तै रहेनछ। बौद्ध धर्ममै पर्ने थेरवादका अनुयायीहरुले त घण्टी बजाउँदै बजाउँदैनन्। महायानी पूजकहरुले त्यो पनि विशेष पूजामा मात्र कहिलेकाहीँ घण्टी बजाउने हो। प्रचण्डले बुझ्नु पर्ने कुरा हो यो।

बौद्ध भिक्षुसँग जोडेर उनले आफ्ना पूर्वगुरुहरु वैद्य बा र मोहनविक्रम सिंहलाई पनि बौद्ध भिक्षु सरह घण्टी बजाइरहेको भने। उनले भने, ‘न समाजमा कुनै परिवर्तन छ, न जीवनमा कुनै आवेग छ, न कुनै आक्रोश छ, उहाँहरु चलिराख्नुभएको छ, चलिराख्नुभएको छ’

यहाँ पनि प्रचण्ड चुकेछन्। बौद्ध भिक्षु भनेको काम नलाग्ने मान्छेका रुपमा बुझेछन् उनले। बिचरा उनलाई तटस्थ भाव equanimous बारे पत्तै रहेनछ। कसैलाई गाली गर्दा पनि आक्रोश मनमा राखेर नभई equanimous भई गर्न सकिन्छ भन्ने बुझ्न प्रचण्डले विपश्यना ध्यानको एक कोर्स गर्नुपर्छ, जुन शायदै उनले सक्लान्।

तर नेताले नबुझ्ने कुरा प्वाक्क बोल्न भने पाइन्न। देशका बौद्ध समुदायको त्यसरी चित्त दुखाउन पाइँदैन। बुद्ध वाज बर्न इन नेपाल भनेर मात्र हुन्न, बौद्ध धर्मावलम्बीको सम्मान पनि गर्नुपर्‍यो।

8 thoughts on “बौद्ध भिक्षुले मात्र घण्टी बजाउने बुझेछन् प्रचण्डले”

  1. nimesh says:
    October 15, 2017 at 10:28 pm

    १७ हजार जन हत्याका मतियारले बुद्धधर्म र बौद्ध भिक्षुहरुलाई के बुझला र !!!???

    Reply
  2. jeevan khanal says:
    October 15, 2017 at 1:55 pm

    १७ हजारको हत्या र बाैद्ध भिक्षुलाई हेला गर्ने काम ठिक होइन। तर प्रचण्डलाई क्षमाको अवसर दिनुपर्छ। के थाहा यी पनि नयाँ नेपालका अङ्गुलीमाल बन्ने पो हुन्। पुष्पकमल दाहाललाई विपश्यना ध्यान जान सुझाव! १० दिनको विपश्यना बसेपछि थाहा हुनेछ जनयुद्ध ठूलो रहेछ कि मनयुद्ध!

    Reply
  3. ratan says:
    October 13, 2017 at 10:23 pm

    “शान्ति प्रेमी बौद्ध भिक्षुहरुलाई प्वाक्क प्वाक्क बोलेर यस्तो अपमान गर्ने यो बाहुन
    लाइ अब चुनाबमा थुक्क थुक्क”:– एक व्यक्तिको बारेमा कमेन्ट हान्दा एउटा समुदाय कै अपमान गर्ने आफु पनि शान्ति प्रेमी नै परियो कि ?

    Hypocrisy भन्ने शब्द छ एउटा, त्यसको अर्थ के रहेछ, dictionary मा हेर्नु होला |

    Reply
  4. prithvi says:
    October 13, 2017 at 5:11 pm

    बुद्ध धर्म मा कहिले पनि बिवाद हुन सक्दैन, संसार को सबै भन्दा बैज्ञानीक र शान्ती बादी धर्म एउटा कुनै छ भने बुद्ध धर्म नै हो, तर धर्म निरपेक्ष देश मा वाक स्वतन्त्रता पनि छ, बुद्ध धर्म को कुनै परम्परा लाई इन्कित गरेर अलिकती पनि एक शब्द पनि बोल्नै नपाईने भन्ने पनि हैन, हुन त नेपाल मा गाली नै गर्ने हो भने हिन्दू धर्म छदै छ नि ! हिन्दू धर्म लाई बाहुनबादी, भ्रस्ट, पुरातनबादी, धोतीबादी, र हिन्दू देवता हरु लाई तथा नाम गाली गर्दै मन्दिर भात्काउदै गाइकाटेर खाए पनि हुन्छ, तेसो गर्दा प्रगतिशिल होइन्छ र झन चुनाव जितिन्छ; हामी हिन्दू हरु हिन्दू धर्म बिरुद्ध नै लागि परेका छौ ।

    Reply
  5. Shankar says:
    October 13, 2017 at 12:48 pm

    खे केहो गाठे कुरो बुझिनसक्नु पो छ , पहिले पहिले कांग्रेसी काट थे पछि गिरिजा , देउवा नै बाबुराम , प्रचण्ड का साथि भए र हितैसी हुन् पुगे | एमाले तेस्रो लिंगीका हरुको पार्टी भन्थो बाबुराम अब ढिलो गरिभायेपानी आफु पनि तेस्रो लिंगी नै भएको था पाएछ अब |
    पहिला मठ मन्दिर तोडे , आजकाल तेतै चहारेको देखिन्छ | पुजा गर्ने , टिका लगाउने त् सामान्य अब बिस्तारै धार्मिक प्रबचन पनि दिन थाल्नेछन |
    अहिले भिक्षु को बारे बोले , अर्थ को अनर्थ भयो ,भोलि सिब लिङ्ग को बारे बोल्ला | सुगा पण्डित

    Reply
  6. Hirababu chandal says:
    October 13, 2017 at 6:40 am

    चीनमा जाँदा लुम्बिनी र बौद्ध धर्मको नाउँमा धन राशि माग्ने अनि ठुलठुलो प्रोजेक्ट बनाउने, र अहिले शान्ति प्रेमी बौद्ध भिक्षुहरुलाई प्वाक्क प्वाक्क बोलेर यस्तो अपमान गर्ने यो बाहुन
    लाइ अब चुनाबमा थुक्क थुक्क ठिक पार्नु पर्छ|

    Reply
  7. कपिल प्रधान says:
    October 13, 2017 at 6:33 am

    डाहाडे हत्यारा छविलाल ले आफुले आफ्नो रुद्रघन्टी हल्लाई हल्लाई जे मुख मा आयो त्यही ओकलेको चाहिं ख्याल गरेनछ / १५ हजार भन्दा बढी निर्दोष जनताको हत्यारा यो छविलाल आज पुर्व पन्च हरु संग पार्टी मा चिकेन र पुलाउ घिचेर बंगुर झैं सुम्लेर त्यसको व्यभिचारी रक्सिबाज छोरालाई छोटा राजकुमार बनाएको छ /

    Reply
  8. Madhu Kapali says:
    October 12, 2017 at 7:25 pm

    सहि भन्नु भो सालोक्यजीले! हाम्रा नेताजीले बोल्नु अघि अलि अध्ययन गर्नु पर्ने हो; तर त्येस्तो देखिएन/ ज्ञान नभएको बिषयमा प्रवचन दिएपछि यस्तै हुन्छ; हैन र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme