पोखराबाट बागलुङ जाने बाटोमा ४५ किलोमिटर कालोपत्रे सडक यात्रा गरेपछि पर्वत जिल्लाको डिमुवा पुगिन्छ। डिमुवाबाट जिपको बाटो डेढ घण्टा वा पैदल साढे दुई घण्टा जतिमा चित्रे गाउँ पुगिन्छ। शरीरमा निस्किएको पसिना माथि पुग्दासम्म चिसो भैसक्छ। चिसो हावाले मनै आनन्द हुन्छ। समुद्र सतहबाट १६०० मिटरको उचाइमा अवस्थित यहाँका होमस्टेहरुले एक पटकमा ५० जनासम्म पाहुनालाई खान बस्न ब्यबस्था गर्न सक्छन्। सादा खाना रु १५०, मासु खाना रु २५० र सुतेको प्रति व्यक्ति रु १०० मा पाउन सकिन्छ। स्थानीय स्वाद, आमा समूहको नाच, अन्नपूर्ण हिमशृंखला, स्थानीयको सत्कारले तपाइँलाई चित्रेले लामो समयसम्म बिर्सन दिन्न।
जैविक विविधताको अवलोकन तथा अध्ययनको लागि यो क्षेत्र अब्बल छ। सुनाखरी प्रशस्त छन्। चराहरुको लागि स्वर्ग मानिन्छ।
पन्चासे वनको उत्तर/पश्चिम तिरको यो गाउँमा गुरुङ, दलित तथा बाहुन छेत्रीको बसोबास रहेको छ। होमस्टे भने गुरुङ समुदायद्वारा संचालित छ।
पोखराका ऋषि बराल र पर्वतका सोम शर्माले प्रशंसा गरिरहँदा मलाई चित्रे गाउँप्रति शुरुमा कुनै चाख बढेको थिएन। एकै रातको बसाईले उनीहरु जस्तै म पनि प्रभावित भएँ।
चित्रे घुम्ने योजना अपर्झट बनेको थियो। हुनत यस्तै योजनाहरु सफल पनि हुन्छन्। अपर्झटको योजनाले क्यामरा घरमै छुटेको थियो। मोबाइलले खिचेका केही तस्विरहरु भए पनि हेरौं।
गाउँबाट १५ मिनेटको दुरीमा रहेको सानिदहबाट देखिएको अन्नपूर्ण हिमशृंखला। गाउँको पृष्ठभूमिमा पनि हिमाल प्रस्ट देखिन्छ।
यस क्षेत्रमा रहेका गुरुङ, ब्राह्मण, दलित सबैको घर ढुंगाले छापिएका र रातो माटोले पोतिएका हुन्छन्।
गाउँ मुनि बेशीमा रहेको धानखेत।
गाउँबाट देखिने साँझको दृश्य।
अन्नपूर्ण र धौलागिरी हिमशृंखला दुवै सहजै देख्न सकिन्छ।
औषधीजन्य बिरुवा तथा झारहरु।
क्षेत्रफलको हिसाबले सानो भए पनि जैविक विविधतामा यो क्षेत्र धनी मानिन्छ।
स्वदेशी तथा बिदेशी पर्यटन बिकाश तथा गाउँलेलाई आत्मनिर्भर बनाउन अरू धेरै ठाउँलाई नमुना बनोस।